‘खगेन्द्र संग्रौला कुनै जीवनी लेख्न लायक मान्छे हो र ?’ (भिडिओ)
प्रशंसाको राँकोले उज्यालिएको खगेन्द्र संग्रौलाको दिव्य मुहार र चुनावी अनुहार
‘पुस्तक लेखनको बीचमा खगेन्द्र दाइसँग लामो समय संगत गरेको एक व्यक्तिलाई पटक पटक फोन गरेँ । एसएमएस गरेँ । तर, प्रतिउत्तर आएन । वैकल्पिक नम्बर खोजेर धेरै पटक फोन गर्दा बल्ल फोन उठ्यो । मैले ‘खगेन्द्र दाइसँग केही वर्ष सहकार्य गर्नुभएको छ, तपाईँसँग केही सोध्न मन छ’ भन्दा उहाँले भन्नुभयो, ‘खगेन्द्र संग्रौला कुनै जीवनी लेख्न लायक मान्छे हो र ? म किन बोलूँ, भो नभेटौँ ।’
‘एक बागी, खगेन्द्र संग्रौलाको साधना र संघर्ष’ नामक जीवनीका लेखक उज्ज्वल प्रसाईँले विमोचन कार्यक्रमका दौरान यसरी सुनाए आइतबार,प्रज्ञा डबलीमा ।
संग्रौलाका साथी तथा प्रसाईँका जानकारीकार ती व्यक्तिले कुन नियतले प्रसाईँमाथि प्रश्नको तीर फ्याँके, त्यो उनै जानुन् । तर, गम खाएर सोच्दा एउटा प्रश्नको चाहिँ जति कनीकुथी जवाफ खोज्दा पनि धीत मर्दैन, ‘अरूको जीवनी, आत्मकथामाथि उछित्तो काढ्ने संग्रौलाले आफ्नै जीवनी लेख्न चाहिँ प्रसाईँलाई कसरी अनुमति पत्र थमाउन सके ?’
झनै प्रसाईँले त संग्रौलाको जीवनको आरोह–अवरोहलाई नेपाली समाजलाई हेर्ने आँखी झ्याल नै भनिदिए । प्रसाईँले कार्यक्रममा बोल्दै भनेका छन्, ‘एउटा विन्दुमा पुगेर के ठम्याएँ भने खगेन्द्र दाइको जीवनलाई एउटा आँखीझ्याल बनाएर नेपाली समाजलाई हेर्ने कोसिस गरौँ, कस्तो देखिँदो रहेछ ।
र खगेन्द्र दाइलाई एउटा झ्याल बनाएर नेपाली समाजलाई पर्खने, बुझ्ने, नेपाली इतिहासलाई बुझ्ने सामान्य प्रयत्न गर्न थालेँ । गर्दै जाँदा एउटा ढड्डो किताब तयार भयो ।’
प्रसाईँले संग्रौला एक्लो व्यक्तिलाई सिंगो नेपाली समाजको आँखीझ्याल कुन आँट र हिम्मतले बनाइदिए, त्यो उनै जानुन् । तर, ७५–७६ वर्षका संग्रौलाको रुचिको मेनुमा प्रशंसाका पुलिन्दा पर्दैनन्, आलोचना र प्रश्न बढी रुचाउँछन् । तैपनि प्रसाईँको मुखरविन्दुबाट ‘आँखीझ्याल’ शब्द निस्कँदै गर्दा दर्शकदीर्घामा विराजमान संग्रौला मुसुमुसु हाँसिरहेका थिए । आँखा चिमचिम गरिरहेका थिए, जो उनको पारदर्शी चश्माबाट प्रष्टै देखिन्थ्यो ।
सधैँ आलोचना रुचाउने संग्रौलाले त्यस घडीमा प्रशंसा रुचाएको देख्दा दङ खानु स्वाभाविक थियो । खैर, संग्रौलाले कार्यक्रममा भनेका थिए, ‘यो पुस्तक पढिसकेपछि के लाग्यो भने हरेक मान्छे अन्तर्विरोधको कुञ्ज हो । हरेक मान्छेको जीवन अत्यन्त जटिल संरचना हो । र जीवनको सौन्दर्य त्यही जटिल संरचनामा छ ।’
आज त्यही जटिल वा अन्तर्विरोधका कारण हुनुपर्छ, संग्रौला आफ्नो प्रशंसामा पहिलोपटक पुलकित भएको देखियो । संग्रौला पत्रकार तथा लेखक नारायण वाग्ले, गायिका झुमा लिम्बु लगायतको लहरमा बसेका थिए । दुवै खुट्टा हल्लाइरहेका थिए । र आफ्नो प्रशंसामा ध्यानस्थ थिए ।
वक्ताहरू सविन निङ्लेखु, उषा श्रेष्ठ, डा. महेश मास्केहरुले प्रशंसाको राँको नै सल्काए उनको लागि । उक्त राँकोको रापमा संग्रौलाका प्रश्नहरु विलुप्त भइगए । उनको अनुहारमा सिर्फ मुस्कान मात्रै देखिएको थियो । र करिब दुई घण्टाको कार्यक्रममा न संग्रौला बसेको ठाउँबाट टसमस भए, न उनको अनुहारको चहक हरायो ।
पाँच सय पेजको पुस्तकमा प्रसाईँले संग्रौलालाई मियो बनाएर नेपाली समाजलाई पर्गेल्न प्रयास गरेको बताए । संग्रौलाजस्ता कति मान्छेको श्रजना र श्रमले नेपाली समाज यहाँसम्म आइपुग्यो, त्यो चाहिँ भन्न छुटाए ।
प्रसाईँ स्वयं पनि ‘खगेन्द्र संग्रौला कुनै जीवनी लेख्न लायक मान्छे हो र ?’ भन्ने प्रश्नका कारण विचलित चाहिँ भएका रहेछन् । उनले भने, ‘आखेरी कसले निर्धारण गर्छ कसको जीवनी लेखिनुपर्छ र कसको पर्दैन ? जो जीवनी लेख्न लायक हो र को होइन ? निर्धारण गर्ने कसले ? जाँचिदिने कसी के ? प्रश्न मेरो मनमा अहिले पनि छँदै छ ।’
आफ्नो जीवनीको विमोचनमा प्रशंसाको भुंग्रोले सेकिएका संग्रौलाको प्रशंसामा कार्यक्रम सञ्चालक नेपाली कांग्रेसका महामन्त्री गगन थापाले खुलेर बोले । निर्वाचनको रनाहमा मुलुक होमिएको वेला, आफ्नै निर्वाचन प्रचारप्रसारकै प्लेटर्फमका रूपमा उनले पनि त्यसलाई प्रयोग गरे । संयोग नै मान्नुपर्छ,संग्रौला पनि गगन थापाको निर्वाचन क्षेत्रकै मतदाता हुन् र थापाको लागिथथ २०७० सालमै मत मागेर हिँडेका थिए ।
सम्भवतः थापाले कार्यक्रम चलाउन छाडेको दसकौँ भइसकेको हुनुपर्छ । भाषण मात्रै गरेर हिँड्ने थापा पक्कै पनि संग्रौलाप्रतिको सम्मानकै कारण कार्यक्रम चलाउन आइपुगेको हुनुपर्छ । चुनावको मुखमा पत्रकार, लेखकहरूको बीचमा कार्यक्रम चलाउनुको आन्तर्य थापाले नै बुझुन् ।
बीचमा कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि पुलुक्क आइपुगेका थिए । सम्भवतः चुनावको रनाह थिएन भने दर्शकको रूपमा यस्ता कार्यक्रममा सिंहको उपस्थिति विरलै देख्न पाइने थियो ।
कार्यक्रम चलाउँदै थापाले भनेका थिए, ‘मजस्ता थुप्रो कालो कांग्रेसीहरुले खगेन्द्र संग्रौलासँग भएको पाठशालाभित्रको सत्संगबाट असीमित प्रोत्साहन पाएका छौँ । नेपाली समाजलाई बुझ्ने एउटा चस्मा हामीले पायौँ । त्यस कारण हामीले उसलाई गुरु मान्यौँ । उसले हामीलाई शिष्य मान्यो कि मानेन, थाहा भएन । उनले हामीलाई प्रश्न गर्न सिकाए । तर, हाम्रा प्रश्न पनि उनीतिर रहे ।’
कांग्रेसका कार्यकर्ताले थापातिरै चाहिँ प्रश्न गर्न सिक्लान् कि नसिक्लान्, त्यसको जवाफ समयले पक्कै दिने नै छ । तर, प्रशंसा र महान्ताकै सवालमा प्रसाईँले भनेका थिए, ‘यो पुस्तक खगेन्द्र संग्रौला कुनै महान् व्यक्ति हो भन्ने ठम्याइबाट आएको होइन । उनको महानता देखाउने उनकै सृजनाहरू छन् । अर्को फूलबुट्टा भरिरहनु पर्दैन ।’
यो पुस्तक मेरो समयको पुस्तक हो : संग्रौला
मलाई प्रारम्भमा जीवनी लेख्ने प्रस्ताव आएको थियो, मेरो लेख्ने कुरा के नै छ र ? मैले सबै कर्म गरिसकेको छु । मेरा कर्मप्रति अब अरुले चिन्तन गर्ने, प्रश्न गर्ने, केलाउने, निन्दा गर्ने, प्रशंसा गर्ने कुरा भयो । पुस्तकको आकार देखेपछि पाठकलाई लाग्न सक्छ, यस्तो सानो मान्छेको यस्तो ठूलो जीवनी कसरी हुन्छ ? यो त औकात नमिल्ने कुरा भयो । पुस्तकमा प्रवेश गरिसकेपछि तपाईँको सत्य, तपाईँको विमतिको जवाफ त्यहीँबाट पाइन्छ ।
यो पुस्तक कुनै व्यक्ति विशेषको दिनचर्यामा, उसका जीवनका घटनाहरूको इतिवृत्तको वर्णनमा, उसको वरिपरिका सम्बन्धहरूको सेरोफेरोमा छैन । यो पुस्तक मेरो समयको पुस्तक हो । यो मेरो समयको कथा हो । समयको विशाल क्यानभासमा एउटा सानो मान्छे छ । जो समयको प्रवाहको एउटा अंश मात्रै हो । यो मेरो समयको एउटा अर्थ राजनीति, संस्कृति, परिवर्तनका भेलहरू, छालहरू भएको इतिहास हो ।
मैले आफ्ना निबन्धहरूमा आफ्नै जीवनका संस्मरणहरू लेखेको छु । मेरो जीवनी लेख्ने कुरा जब उठ्यो, मलाई लाग्यो, मैले भन्न बाँकी अब के छ ? जीवनीप्रति मेरो सहमति थिएन । उज्ज्वल प्रसाईँले अत्यन्त कष्टसाध्य अनुसन्धानको माध्यमबाट मेरो जीवनका विभिन्न पाटाहरू, पक्षहरू, आयामहरू, देखिएका÷नदेखिएका पाटाहरू उधिनेर निकालेका छन् । यो सबै पढेपछि मलाई के लाग्यो भने उज्ज्वल प्रसाईँले अनुसन्धानको माध्यमले खगेन्द्र संग्रौला भन्ने सानो मान्छेको पुनः आविष्कार गरेका छन् ।
जीवनलाई दुई किसिमले हेर्न सकिन्छ, एउटा आफ्नो आँखाले हेर्ने । अर्को, आरुको आँखाबाट आफू हेरिने । आफ्नो आँखाले आफैँ हेर्ने भनेको आफूले आफूलाई राम्रो मको रूपमा हेर्ने हो । मलाई यो पुस्तक पढिसक्नुभन्दा अगाडि म राम्रो नै म हुँ भन्ने लाग्थ्यो । धेरै असंगति नभएको । धेरै बेमेल कुरा नभएको । धेरै खाल्डाखुल्डी नभएको जस्तो लाग्थ्यो । यो पुस्तक जब पढेँ, असङ्गतिहरूको डंगुर छ । भनाइ र गराइको बीचमा बाझो छ । आदर्श र आचरणको बीचमा असंगति छ । धेरै भद्रगोलहरू छन् । यो पुस्तक मेरो लागि आफैँ एउटा पाठशाला जस्तो लाग्यो ।
अहिले म आफैँले आफैँलाई पढिरहेको छु । सिंगै जीवन बुझिँदैन । जीवन भनेकै जीवनलाई बुझ्ने प्रयत्न हो जस्तो लाग्छ । जीवनमा धेरै कुरा बुझिसकेर पनि बुझ्न धेरै कुरा बाँकी रहन्छ । जीवनका सबै कुरा बुझिसक्ने हो भने जिउनुको कुनै प्रयोजन रहँदैन । जीवनलाई बुझ्ने प्रयत्न आफैँ एउटा काव्य हो । त्यो आफैँमा एउटा सौन्दर्य हो । यो पुस्तक पढिसकेपछि के लाग्यो भने हरेक मान्छे अन्तर्विरोधको कुञ्ज हो ।
०००
पुस्तकको नाम ः एक बागीः खगेन्द्र संग्रौलाको साधना र संघर्ष
लेखक : उज्ज्वल प्रसाई
प्रकाशक : वेला पब्लिकेसन्स
पेज : ४७६
मूल्य : रु ९४५
पश्चिमाको आदेशपालक, विशेषगरी हिन्दू धर्मावलम्बी, देशभक्त नेपाली र अझ बढी एमालेको विरोध गर्दैमा यत्रो प्रशंसा ? यस्तो विरोधै गरेको भरमा महान मान्ने हो भने त हाम्रो गाउँको राइले कामी दाइ यी भन्दा चर्का एमाले विरोधी । अझ चुनावताका हुनुपर्छ काँग्रेसीले खुवाईदिएको २ डबकाले गाउँ नै थर्काउने । खाएको ३ घण्टासम्म उनको रामायण गाउँभरी सुनिन्थ्यो । गाउँमा एमालेले जितेको बेलामा त झन आक्रामक हुन्थे राईलोकामीदाइ । काँग्रेसले जितेको समयमा भने डवका बढेर २ बाट ४ पुग्थ्यो तर विरोध एक रत्ति सुनिदैनथ्यो । खायो लुसुक्क घरभित्र छिर्यो । अनि राईलोमामीदाइलाई महान क्रान्तिकारी भन्यो भने म त भन्थें तिनै काँग्रेसले र काँग्रेसमध्ये पनि डवकाको जोहो गरिदिनेले प्रशंसा गरिदिदैंमा उसको खेतालालाई म किन क्रान्तिकारी भनुँ । म त तिनलाई ट्ववाकें मात्र भन्छु जो आफ्नो दैनिक ट्ववाकको जोहो गर्न यो सब गरिरहेछन् ।
यो कालो काँग्रेसी पक्कै पागल हुनुपर्छ ।
मूल्य चै चर्को भो। कुन्साङ काकाको मान्यता बिपरित देखियो। अतु कुरा त नपढेसम्म भन्न सकिएन।