भोजपुरमा ‘धारा’ ब्युँताउने तयारीमा कांग्रेसका चापागाईँ, मुख्यमन्त्रीलाई पर्ला भारी ? – Nepal Press

भोजपुरमा ‘धारा’ ब्युँताउने तयारीमा कांग्रेसका चापागाईँ, मुख्यमन्त्रीलाई पर्ला भारी ?

भोजपुर । मुख्यमन्त्री राजेन्द्र राईविरूद्ध बागी उठेर उम्मेदवारी फिर्ताको घोषणा गरेका कांग्रेस नेता उत्तम चापागाईंले पुन: उम्मेदवारी ब्युँताउने भएका छन् । धारा चुनाव चिन्हबाट स्वतन्त्र उठेका चापागाईँले कात्तिक ४ गते राति विज्ञप्ति निकालेर उम्मेदवार निष्क्रिय पारेको जानकारी गराएका थिए । उनी नेपाल तरूण दलका निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कांग्रेस महासमिति सदस्य हुन् ।

स्थानीयस्तरका नेता-कार्यकर्ताबाट दबाब बढेपछि ‘कथाले मागेको’ निष्कर्षसहित उनी उम्मेदवारी सक्रिय पार्दै प्रचारप्रसारमा जाने तयारीमा लागेको कांग्रेस भोजपुरका एक प्रभावशाली नेताले जानकारी दिए ।

‘कांग्रेसमा लामो समयदेखि त्याग र संघर्ष गरेको युवा नेता उहाँले बाध्यताले उम्मेदवारी दिनुभएको थियो । उम्मेदवारी फिर्ता लिएपनि हाम्रा स्थानीय कार्यकर्ताले चुनाव बहिष्कारको अभियानसहित चेतावनी दिन थाले । जनाधार नभएको पार्टीलाई भोट नहाल्ने भन्दै दबाब छ । त्यसैले उहाँ जिल्ला आउँदै हुनुन्छ ‘, ती नेताले नेपाल प्रेससँग भने ।

हालैको स्थानीय चुनावमा गठबन्धन छँदै पनि पहिला जितेको साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकाको नेतृत्व गुमाउनुको पीडाको जवाफ मंसिर ४ मा दिने भन्दै कांग्रेसका नेता-कार्यकर्ता एकजुट हुन थालेको बताइएको छ । स्थानीय चुनावमा साल्पासिलिछोमा अघिल्लोपटक जितेका महेश राई पराजित भएका थिए । त्यस्तै षडानन्दमा कांग्रेसकै वीरबल राईलाई एमालेका सुरेन्द्र उदाशले हराए ।

धरातल विचार नगरेको, केन्द्रले न्यायोचितरूपमा टिकट नबाँडेको भन्दै कार्यकर्ताको भावनाअनुसार उम्मेदवारी दिएको चापागाईँले बताएका थिए ।

भोजपुर प्रदेशसभा १ मा गठबन्धनबाट राजेन्द्रकुमार राई साझा उम्मेदवार छन् । राई नेकपा एसका सचिव एवं प्रदेश १ का मुख्यमन्त्री हुन् । चापागाईँले उम्मेदवारी फिर्ता गरेपछि राईले सामाजिक सञ्जाल मा ‘धन्यवाद मित्र !’ लेखेका थिए । मतदानको दिन नजिकिँदै जाँदा उनको थप सक्रियताले गठबन्धनलाई चुनौती देखिन्छ ।

नेकपा एसका एक जिल्ला नेता चापागाईँको यो ‘बार्गेनिङ’ गर्ने मेलोमात्र भएको आरोप लगाउँछन् । तर, चापागाईँका एक सहकर्मी भने पार्टी कारबाहीबाट जोगिन तत्काललाई उम्मेदवारी निष्क्रिय पारेपनि पूर्ण तयारीसहित उनी लागेको दाबी गर्छन् ।

स्रोतका अनुसार असोज अन्तिमतिर नेता चापागाईँ एमालेको समर्थन खोज्दै बालकोटस्थित ओली निवास पुगेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालसँग उनले भेट गरेको बताइएको छ ।

‘उम्मेदवारहरू प्रचारमा लागिसकेकाले समय घर्किसकेको तर कसरी सहयोग गरागर गरेर गठबन्धन हराउन सकिन्छ भनेर नेताहरूले र उहाँसँग कुराकानी गर्नुभएको थियो’, एमालेका एक नेताले भने ।

यस क्षेत्रमा नेकपा एमालेले केन्द्रीय सदस्य एवं भोजपुर इन्चार्ज हरिबहादुर राईलाई अघि सारेको छ । चुनावी मैदानमा डेब्यूमा छन् हरिबहादुर ।

भोजपुर प्रदेशसभा १ मा षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका पूरै पर्छन् । टेम्केमैयुङको १ देखि ५ नम्बर वडा यस क्षेत्रमा पर्छन् भने भोजपुर नगरपालिकाका १, २, ३, ४, ५ र १० नम्वर वडा पर्छन् । पौवादुङमा गाउँपालिकाका वडा नम्बर १ र २ पनि यही क्षेत्रमा पर्छन् ।

समग्र मत विश्लेषण गर्दा यो क्षेत्रमा सत्ता गठबन्धनको मत २२ हजार १९६ छ । जसमा कांग्रेसको १४ हजार ४६९, माओवादीको ५ हजार ७५३ र नेकपा एकीकृत समाजवादीको १ हजार ७९४ मतभार छ । नेकपा एमालेको १४ हजार ५४ छ ।

गठबन्धनको स्थानीय तहको मतको आधारमा ८ हजार १४२ मतले एमाले पछि छ ।

कांग्रेसको मत सुरक्षित गर्दै माओवादीको समेत असन्तुष्ट मतलाई क्यास गरी जित्न सकिने दाउमा छन् चापागाईँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर