डा. तोसिमा भन्छिन्- जीत सुनिश्चित भएपछि आयोगले मेरो उम्मेदवारी खारेज गर्‍यो (भिडिओ) – Nepal Press

डा. तोसिमा भन्छिन्- जीत सुनिश्चित भएपछि आयोगले मेरो उम्मेदवारी खारेज गर्‍यो (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी डा. तोसिमा कार्की आफू कुनै लाभको पदमा नरहेको दाबी गरेकी छन् ।

निर्वाचन आयोगले उम्मेदवार खारेज गरेपछि सर्वोच्च अदालत पुगेकी उनले आफूलाई अन्याय भएको बताइन् ।

निर्वाचन आयोग जस्तो निष्पक्ष हुनुपर्ने संस्थामाथि आफूले आशंका गर्नुपर्ने अवस्था आएको बताइन् । उनले आफ्नो जीत सुनिश्चित भइसकेको अवस्थामा उम्मेदवारी खारेज गरेको दाबी गरिन् ।

सर्वोच्च अदालतबाट आफूले न्याय पाउनेमा पूर्ण विश्वास रहेको उनले बताइन् ।

उम्मेदवारी खारेजबारे उनको भनाइ

लाभको पद धारण गरेको भनेर मेरो उम्मेदवारी खारेजको गरेको छ । नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रीय सदस्यको पदलाई कही पनि लाभको पद भनेर व्याख्या गरेको छैन । पाटन अस्पतालमा कार्यरत थिएँ । तर, मैले त्यहाँबाट राजीनामा दिइसकेको छु ।

काउन्सिलको निर्वाचित केन्द्रीय सदस्यको पदको विषयमा भदौ २८ गते मनोनयन दर्ता हुनु एक महिना अगाडि नै निर्वाचन आयोगलाई पत्र बुझाएको थिएँ । म यो पदमा छु, यो लाभको पद पर्छ पर्दैन ? यसलाई कहीं पनि लाभको पदमा भनेर लेखेको थिएन । तर, मलाई कुनै उत्तर आएन ।

तर, मैले मनोनयन दर्ता गर्दैगर्दा पनि मेडिकल काउन्सिलको निर्वाचित केन्द्रीय सदस्य हुँ भनेर लेखेको थिएँ । र, निर्वाचन आयोगबाट पठाएको पत्रमा अयोग्य नदेखिएको भनेर पठाएको छ । अन्तिम नामावलीमा समेत प्रकाशन गरेर चुनाव चिन्हसमेत प्रदान गरिएको थियो । मेरो उम्मेदवारी योग्य नै भएको ठहर भइसकेको भनेर नै चुनाव प्रचारलाई अगाडि बढाएका थियौं ।

मेरो जीत सुनिश्चित हुँदै गर्दा चुनावको मुखमा आएर उम्मेदवारी खारेज भयो भन्ने खबर सञ्चारमाध्यमबाट पाएँ । मलाई यो चुनौती आउनसक्छ भन्ने लागेको थियो । मैले कानून व्यवसायीहरुसँग पनि कुरा गरिरहेको थिएँ । मेरो पत्रको निर्वाचन आयोगले जवाफ दिएन ।

अहिले उम्मेदवारी खारेज भएपछि मलाई ठूलो समर्थन पाएको छु । आफ्नो पक्षमा उभिन धेरै कानून व्यवसायीले साथ पाएको छु । तर, सर्वोच्च अदालतको जे निर्णय आए पनि म स्वीकार्छु । तर, यसलाई लाभको पद भनेर व्याख्या हुँदैन भन्नेमा विश्वस्त छु ।

तस्बिरहरू : गौरव पौडेल । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर