सन्दीपविरुद्धको मुद्दामा सीसीटीभी फुटेज र मेडिकल रिपोर्टको सहारा – Nepal Press

सन्दीपविरुद्धको मुद्दामा सीसीटीभी फुटेज र मेडिकल रिपोर्टको सहारा

‘पीडित’को कन्याजाली च्यातिएको मेडिकल रिपोर्टले नै सन्दीपलाई ‘बलात्कारी’ ठहर्‍याउला ?

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि १२ वर्षसम्म कैद सजायको माग दाबी गर्दै आज अभियोजन पत्र दायर गरिएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

सन्दीपले एक नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको आरोप अभियोग पत्रमा लगाइएको छ । आरोप पुष्टि गर्न मुख्य प्रमाणका रूपमा होटलको सीसीटीभी फुटेज र मेडिकल रिपोर्टको सहारा लिएको देखिन्छ ।

होटलको एउटै कोठामा रात बिताएको सन्दीप स्वयम्ले स्वीकारे पनि यौन सम्बन्ध भएको अस्वीकार गरेका छन् र पीडितद्वारा पेश गरिएको कागजातहरू, निजको नागरिकताको प्रतिलिपि, घटनास्थल मुचुल्का, घटनास्थलको फोटो, होटल काठमाडौं इनको गेस्ट रजिस्टर कार्ड, होटलको बिल, होटल कर्मचारीको बयान लगायतलाई प्रमाणका रूपमा प्रस्तुत गरिएको छ । तर, अभियोग ठहर हुनका लागि उनीहरूबिच त्यस रात यौन सम्पर्क भएको पुष्टि हुनुपर्छ । त्यसका निम्ति भने प्रमाण अपर्याप्त देखिन्छन् ।

अभियोग पत्रमा सन्दीपविरुद्ध मुख्य प्रमाणका रूपमा होटलको सीसीटीभी फुटेज र ‘पीडित’ को मेडिकल रिपोर्टलाई औँल्याइएको छ ।

सीसीटीभी फुटेजमा सन्दीप र किशोरी होटलको एउटै कोठामा पसेकोसम्म देखिन्छ । तर, कोठाभित्रको दृश्य सीसीटीभीमा कैद हुँदैन । एउटै कोठामा रात बिताएको कुरा सन्दीप स्वयम्ले स्वीकारिसकेका छन् । मुख्य कुरा त्यस रात यौनसम्बन्ध भएको हो कि होइन भन्ने हो ।

अभियोग पत्र अनुसार मेडिकल रिपोर्टमा Hyment M– old tear at 6 o’clock position (कन्याजाली 6 o’clock आकारमा च्यातिएको पुरानो घाउ) भन्ने उल्लेख छ । यसको अर्थ कन्याजाली च्यातिएको हो । यसले किशोरी ‘भर्जिन’ होइनन् भन्ने आशंका हुन्छ । तर, उनको कुमारीत्व सन्दीपले नै तोडेको हो भन्ने चाहिँ ठहर हुँदैन । त्यसो त अरू कारणले पनि कन्याजाली च्यातिन सक्छ ।

बयानमा किशोरीले यौन सम्पर्कपछि सन्दीपले आफ्नो शरीरमा विर्यस्खलन गराएको दाबी गरेकी छन् । तर, घटना भएको धेरै दिनपछि मात्रै उनी प्रहरीमा पुगेकाले वीर्यको डीएनए टेस्ट सम्भव भएन । भोलिपल्टै प्रहरीमा गएको भए डीएनए टेस्टबाट निर्क्योल हुन सक्थ्यो ।

यस्ता यौनजन्य घटनामा सामान्यतया ‘प्रत्यक्षदर्शी’ हुँदैनन् । त्यसैले आरोप पुष्टि गर्न कठिन हुन्छ । यदि घटनासँग सम्बन्धित कल डिटेल्स, तस्बिर, अडियो वा भिडियो ‘पीडित’सँग भएमा ती बलिया प्रमाण बन्न सक्छन् । तर, त्यस्तो प्रमाण किशोरीसँग नभएकाले प्रहरी मेडिकल रिपोर्टमै निर्भर हुनुपर्ने देखिएको छ ।

सन्दीप र किशोरीबीच स्न्यापच्याटमा कुराकानी गर्ने गर्थे । उक्त एपको फिचर भनेको त्यसमा भएका कुराकानीका रेकर्डहरू नरहनु हो । स्क्रिन सट गर्दा पनि अर्को पक्षलाई म्यासेज जान्छ । त्यसैले स्न्यापच्याटमा ठोस प्रमाण भेटिएको छैन ।

अभियोग पत्रमा होटल काठमाडौं इनका सञ्चालक तथा कर्मचारीको बयान समावेश गरिएको छ । उनीहरू सबैले सन्दीप र किशोरी होटलमा बसेको बयान दिए पनि बलात्कार भएको विषयमा अनभिज्ञता दर्साएका छन् ।

किशोरीले राति १२ः२५मा सन्दीपले पहिलोपटक बलात्कार गरेको र त्यसपछि राति १ः३० मा फेरि दोस्रो पटक बलात्कार गरेको बयान दिएकी छन् । पहिलोपटक बलात्कार भएपश्चात उनी कोठाबाट निस्केको, निस्किन खोजेको वा होटल कर्मचारी गुहारेको देखिँदैन । सन्दीपले आफूलाई ढाडमा हिर्काएको तथा आफू रोई कराइ गरेको पनि बताएकी छन् । यस्तै हो भने होटलका कर्मचारी वा अर्को रुममा सुतेकाहरूले किन थाहा पाएनन् ? भन्ने प्रश्न उठेको छ ।

जबरजस्ती करणपछि पनि आफू यथावत बेडमा सुतेको उनले बताएकी छन् । यसले पनि उनको भनाइमा संशय उब्जिन्छ । साथै उनले बिहान सन्दीपकै गाडी चढेर आफू होस्टलसम्म गएको पनि बताएकी छन् ।

घटना भएको झण्डै एक महिनापछि मात्रै उनी सन्दीपविरुद्ध जाहेरी दिन प्रहरीमा पुगेकी थिइन्, जब सन्दीपले उनलाई सामाजिक सञ्जालमा रेस्पोन्स गर्न छाडेका थिए ।

सन्दीपले चाहिँ बयानमा आफू खेलमा व्यस्त भएकाले सामाजिक सञ्जालमा निष्क्रिय बनेको बताएका छन् । त्यसो त उनको बयानमा पनि धेरै ‘लुपहोल’ हरू छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर