होटल ‘काठमाडौं इन’का कर्मचारी भन्छन्- कोठाको चाबी किशोरीले लगेकी थिइन्, बलात्कार भएको थाहा छैन
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले भदौ ५ गते एक किशोरीसँग होटल ‘काठमाडौं इन’मा रात बिताए । त्यस रात आफूमाथि सन्दीपले दुई पटक बलात्कार गरेको भन्दै किशोरीले प्रहरीमा जाहेरी दिएकी छन् । होटलका कर्मचारीले भने अनभिज्ञता दर्शाएका छन् ।
काठमाडौं इन होटलका कर्मचारीहरूले प्रहरीलाई दिएको बयान किशोरीको आरोपलाई बल पुग्ने खालको छैन ।सन्दीप र किशोरी एउटै रुममा बसेको सबैले स्वीकार गरे पनि त्यस रात कुनै अप्रिय घटना भएको थाहा नपाएको उनीहरूको भनाइ छ ।
प्रहरीले काठमाडौं इनका सेक्युरिटी गार्ड राजन राणा, अर्का सेक्युरिटी गार्ड बाबुकाजी थापा, वेटर सविन श्रेष्ठ, रिसेप्सनिस्ट अनिश श्रेष्ठ तथा होटलका सञ्चालक सन्तोषप्रसाद अधिकारी र लालबहादुर बानियाँको बयान लिएको छ ।
उनीहरू सबैले एकमुखले बलात्कारको घटनाबारे अनभिज्ञता दर्शाएका हुन् । सञ्चालकद्वयले मिडियाबाट मात्रै यस घटनाबारे थाहा पाएको बताएका छन् ।
होटलका रिसेप्सनिस्ट श्रेष्ठले सन्दीप पहिलेदेखि समय–समयमा खेलाडीहरूसहित सो होटलमा आउने गरेको बताएका छन् । श्रेष्ठका अनुसार भदौ ५ गते राति ११ बजे सन्दीपले रिसेप्सनको ल्यान्डलाइन नम्बरमा फोन गरी कोठा सोधेका थिए ।
‘म होटलमा आउँदै छु, मलाई एउटा कोठा चाहिन्छ, छ कि छैन ?’ भन्दा मैले कोठा छ भनी निजले फोन गरेकै समयमा ४०७ नम्बरको कोठा सोही होटलमा काम गर्ने सविन श्रेष्ठलाई सरसफाइ गर्न लगाएको थिएँ,’ उनी भन्छन् ।
त्यसको २०÷२५ मिनेटमा सन्दीप र किशोरी होटलमा आएको तथा किशोरीले रिसेप्सनबाट चाबी बोकेर कोठामा गएको श्रेष्ठको भनाइ छ ।
उनी गएको ५ मिनेटपछि सन्दीप लामिछाने गाडी पार्किङ गरी मास्क मागेर होटलको रेस्टुरेन्ट तथा बारतर्फ गएका थिए । फेरि ५ मिनेटपछि रेस्टुरेन्टबाट फर्किएर राति ११ः३५ मा माथि गएको श्रेष्ठले बताएका छन् ।
४०७ नम्बरको रुममा गएपछि सन्दीपले एसी नचलेको गुनासो गरेको र आफूले कर्मचारीलाई चेक गर्न पठाएको श्रेष्ठ बताउँछन् । तर, एसी तत्काल नबन्ने भएपछि सन्दीपलाई ३०५ नम्बरको कोठा दिइएको थियो । पछि सन्दीप तल रिसेप्सनमा आई ३०५ नम्बरको कोठाको चाबी लिई गएर सन्दीप र किशोरी सोही कोठामा बसेको बयान श्रेष्ठले दिएका छन् ।
उक्त कोठामा गएपछि उनीहरू दुवै तल नझरेको उनको भनाइ छ । सन्दीप र किशोरी स्वभाविक रुपमा राम्रै अवस्थामा आएको पनि उनी बताउँछन् ।
यता किशोरीले चाहिँ होटलको कोठाभित्र आफूमाथि सन्दीपले दुई पटक बलात्कार गरेको दाबी गरेकी छन् । आफू निदाइसकेपछि १२ः२५ मा पहिलो पटक र त्यसको एक घण्टापछि दोस्रो पटक बलात्कार गरेको उनको भनाइ छ ।
दोस्रो पटक बलात्कारका क्रममा आफूले प्रतिवाद गर्न खोज्दा सन्दीपले ढाडमा बेस्सरी हानेको उनले बताएकी छन् ।