चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशन र भविष्य – Nepal Press

चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशन र भविष्य

चिनियाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशन भर्खरै सम्पन्न भएको छ । हरेक ५ वर्षमा अक्टोबर वा नोभेम्बरमा हुने पार्टीको सबैभन्दा ठूलो यस सम्मेलनमा चीनभरिबाट कम्युनिष्ट पार्टीका करिब ९ करोड ६७ लाख सदस्यहरुबाट २२९६ प्रतिनिधि सहभागी भएका थिए । कम्युनिष्ट पार्टीको सबैभन्दा ठूलो अंगको रुपमा रहेको महाधिवेशन पहिले नेताहरुको खल्तीबाट केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी छान्ने औपचारिकतामै सीमित रहने गरेकोमा पछिल्ला केही दशकयता शान्तिपूर्ण रुपमा सत्ता परिवर्तन हुने थलोको रुपमा विकास हुँदै आएको थियो । यसका अतिरिक्त चीनको बढ्दो आर्थिक र सामरिक शक्तिको कारण पनि चिनियाँ कम्युनिष्ट पार्टीको यो सम्मेलन अन्तर्राष्ट्रिय रुपमै निकै चासोको साथ हेरिएको थियो ।

के भयो त यो महाधिवेशनमा ?

यस महाधिवेशनले आगामी ५ वर्षको लागि नयाँ केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी चयन गरेको छ । यसका साथै अघिल्लो महाधिवेशनबाट आफ्नो विचारधारा पार्टीको विधानमा लेखाउन सफल भएका पार्टीका महासचिव सी जिनपिङले लामो रस्साकस्सीबीच यस महाधिवेशनबाट आफूलाई तेस्रो कार्यकालको लागि पार्टीको नेतृत्वमा राख्न सफल भएका छन् । विभिन्न गुट र उपगुट रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरिक शक्ति सन्तुलनमा पनि सीले आफूलाई शक्तिशाली बनाएका छन् । संघर्षबाटै शक्तिको प्राप्ति र सञ्चय गरिने चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास यसपालिको महाधिवेशनमा पनि कायम नै भएको छ ।

महाधिवेशनमा नेतृत्वमा हेरफेरको इतिहास

चिनियाँ क्रान्तिका नायक कम्युनिष्ट पार्टीका तत्कालीन अध्यक्ष माओको १९७६ मा निधन भएपछि पार्टीको नेतृत्वमा ख्रुस्चेवबाट प्रेरित र माओको सांस्कृतिक क्रान्तिका पीडित देङ छ्योपिङ पार्टीको paramount leader को रुपमा स्थापित भए । माओको उत्तराधिकारीको रुपमा अघि बढेका हुवा कुओफेङलाई हटाएर कम्युनिष्ट पार्टीको नेतृत्वमा आएका देङले हुवालाई केन्द्रीय कमिटीमा स्थान दिएर चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासमा रक्तपात र हिंसाको (purging) को युग सकिएको सन्देश दिएका थिए । आर्थिक सुधारक देङले आफ्नो नेतृत्वमा आर्थिक सुधारका कार्यक्रम ल्याएर चीनलाई आर्थिक शक्तिको रुपमा उदय गराउन अहम् भूमिका निर्वाह गरेका थिए ।

चीनको बढ्दो आर्थिक र सामरिक शक्तिको कारण पनि चिनियाँ कम्युनिष्ट पार्टीको यो सम्मेलन अन्तर्राष्ट्रिय रुपमै निकै चासोको साथ हेरिएको थियो ।

उमेरको कारणले गर्दा सेनाको परमाधिपतिको पदमा मात्रै बसेर देङले आफ्नो उत्तराधिकारीको रुपमा आर्थिक सुधारका निम्ति आफूलाई सहयोग गर्ने हु याओवङ र ज्हाओ जियाङलाई १९८२ को महाधिवेशनमा अघि सारे । तर, पार्टीभित्र आर्थिक सुधारको साथसाथै राजनीतिक रुपमा पनि चिनियाँ समाजलाई क्रमशः खुला गर्नुपर्ने कुराको वकालत गर्न थालपछि देङका उत्तराधिकारी मानिएका दुवैजना पार्टीका कट्टर समर्थकमाझ अलोकप्रिय हुँदै गए । हुको १९८९ मा निधन भएपछि पार्थिव शरीरमा श्रद्धाञ्जली दिन आएका विद्यार्थीहरुले तियानमेन स्क्वायरमा प्रदर्शन गर्न थालेपछि पार्टीभित्र ज्हाओको आलोचना र बहिर्गमनको माग बढ्न थाल्यो । विद्यार्थीको सो प्रदर्शन रोक्न सेनाले बख्तरबन्द गाडी नै ल्याउनुपरेको थियो ।

पार्टीभित्र ज्हाओले नै विद्यार्थीलाई प्रदर्शन गर्न लगाएको आरोप लागेपछि र पार्टीमा उनले बहुमत गुमाउन थालेपछि ज्हाओलाई हटाएर शंघाईका पूर्वमेयर जिआङ जेमिनलाई १९९२ को महाधिवेशनमा अघि सारियो । बेइजिङमा आफ्नो पहुँच स्थापित गर्न नपाएका र देङले पनि नरुचाएका जिआङले आफूलाई पार्टीका कट्टर कार्यकर्ताबीचमा स्थापित गराउन फलोङ गोङ नामको चिनियाँ धार्मिक आन्दोलनलाई सहारा बनाए । उक्त आन्दोलनले पार्टीको वर्चस्वलाई चुनौती दिन थालेको भन्दै रोक्न आन्तरिक सुरक्षाको लागि उनले ६१० नामको अर्धसैनिक दस्ताको स्थापना गराए । यही अर्धसैनिक दस्ता जिआङको भविष्यको शक्तिको कारक हुन गयो ।

पार्टीभित्र सामूहिक नेतृत्वको माग र कार्यकर्ताको दबाबबीच आफ्नो अनिच्छा हुँदाहुँदै २००२ को महाधिवेशनबाट पार्टीको नेतृत्व युथ लिग गुटका हु जिन्ताओलाई सुम्पिन बाध्य भए । आफ्नो शक्ति गुमाउन नचाहने उनको इच्छा २००४ सम्म सेनाको परमाधिपतिको पदमा आसिन रहने कदमले पनि पुष्टि गरेको छ । आफूले पार्टीको महासचिव पद त्यागे पनि स्थायी कमिटीमा आफ्ना मानिस राखेर जिआङले हुको कार्यकालभर शक्तिको व्यापक अभ्यास गरी हुलाई आफ्नै कार्यकालमा कमिटीमा उपेक्षित गरे ।

आवरणमा भ्रष्टाचारीलाई कारबाही गरेको देखिए पनि सीले नियोजित रुपमा आफ्ना विरोधीहरुलाई तह लगाएका थिए । भ्रष्टाचार मुद्दामा सजाय पाएका अधिकांश जिआङ गुटका मानिस थिए ।

सीको उदय

कम्युनिष्ट पार्टीका नेता सी ज्होंग्सुनको पुत्रको रुपमा जन्मिएका सी चिनियाँ ग्रामीण क्षेत्रमा लामो समय काम गरेर खारिएका कम्युनिष्ट नेताको रुपमा परिचित भएका थिए । आफ्नो बुवा सांस्कृतिक क्रान्तिको शिकार भएपछि गुफामा बसेर पार्टीको काममा लागेका सी शंघाईसहित अरु थुप्रै शहरमा पार्टीको जिम्मेवारी बहन गरिसकेपछि २००७ को महाधिवेशनबाट पार्टीको पोलिटब्युरोमा चयन भए । पार्टीको केन्द्रीय कार्यालयको सचिवको रुपमा कार्यरत हुँदा उनलाई उपराष्ट्रपति बनाइयो ।

पार्टीभित्र त्यस समयमा रहेका दुई गुट, महासचिव हु र भूतपूर्व महासचिव जिआङबीच त्यस महाधिवेशनमा हुको उत्तराधिकारीको विषयमा संघर्ष चलिरहेको अवस्थामा युथ लिगका भूतपूर्व नेता ली खच्याङ र पारिवारिक विरासत थामेर अघि बढिरहेका सीलाई हुको गुटले अघि सार्‍यो भने भूतपूर्व उपप्रधानमन्त्रीका सुपुत्र बो छिलाई जिआङ गुटबाट अघि सारिएका थिए । २०१२ को महाधिवेशनअघि वाङ लिजुन काण्डको कारण बो छिलाईको पार्टी प्रमुख हुने ढोका बन्द भएपछि सी दुवै गुटको सहमतिमा पार्टी प्रमुख चयन भए । हुका विश्वासपात्र ली सीको मन्त्रिपरिषदमा प्रधानमन्त्री चयन भए ।

सीको शक्ति र माओपथ

चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च पदमा पुगेपछि सीले आफूलाई हुको नियतिबाट बचाउन विभिन्न कदम चाल्न थाले । आफूलाई राष्ट्रभित्र शक्तिशाली देखाउन उनले भ्रष्टाचारविरोधी कदमहरु चालेर पार्टीकै शक्तिको पदमा आशीन पदाधिकारीलाई समेत सजाय दिलाए । आवरणमा भ्रष्टाचारीलाई कारबाही गरेको देखिए पनि सीले नियोजित रुपमा आफ्ना विरोधीहरुलाई तह लगाएका थिए । भ्रष्टाचार मुद्दामा सजाय पाएका अधिकांश जिआङ गुटका मानिस थिए । यसरी सीले भ्रष्टाचारको मुद्दा लगाएर पार्टीमा हराउन थालेको purging लाई फेरि पुनःस्थापना गरेका थिए ।

अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो शक्तिको परिचय देखाउन उनले बीआरआई जस्ता महत्वाकांक्षी योजना अगाडि सारे भने साउथ चाइना समुन्द्रमा मानव निर्मित टापुहरु निर्माण गरी चिनियाँ हस्तक्षेपको युगको सुरुवात भएको सन्देश दिए । पार्टीभित्र भने सीले जिआङको गुटको विरुद्ध हुको गुटसँग नजिक भएर शक्तिको अभ्यास गरिरहे । अति महत्वाकांक्षी सीले २०१७ को महाधिवेशनसम्म आउँदा आफू देङकै स्तरको शक्तिशाली बनाइसकेका थिए । उक्त महाधिवेशनबाट आफ्नो विचारधारा पारित गराएर उनले आफूलाई माओपछि चीनको सबैभन्दा शक्तिशाली नेताको रुपमा प्रस्तुत गरे । आफ्नो तेस्रो कार्यकालको बीउ उनले यही महाधिवेशनबाट रोपेका थिए ।

अति महत्वाकांक्षी सीले २०१७ को महाधिवेशनसम्म आउँदा आफू देङकै स्तरको शक्तिशाली बनाइसकेका थिए । उक्त महाधिवेशनबाट आफ्नो विचारधारा पारित गराएर उनले आफूलाई माओपछि चीनको सबैभन्दा शक्तिशाली नेताको रुपमा प्रस्तुत गरे ।

यस महाधिवेशनपछि कमजोर बनिसकेको जिआङको गुटबाट खतरा नहुने विश्लेषण गर्दै उनले हुको गुटसँगको निकटता पनि क्रमशः घटाउँदै लगे । कोरोनाको समय सीलाई आफ्नो शक्ति बढाउने उपयुक्त माध्यम बन्यो । शून्य कोभिड नीति अख्तियार गरेको चीनमा उनले यही नीतिलाई हतियार बनाई करिब २ वर्ष देश नछोडी आफ्नो शक्तिलाई अझ बढाउँदै लागे । त्यसकै नतिजाअनुसार यस महाधिवेशनबाट प्रधानमन्त्री ली र सभामुख ली झान्सुसहित आफ्नो समकालीन नेताहरु र हुको गुटका नेताहरुलाई केन्द्रीय कमिटीबाटै अवकाश गराउन सी सफल भए ।

यससँगै अब चिनियाँ कम्युनिष्ट पार्टीमा सीको एकल युग सुरु भएको मान्न सकिन्छ । केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा सी पक्षीय नेताहरुको बाहुल्य यही महाधिवेशनले चयन गरिसकेको छ । २०औं महाधिवेशनले आगामी ५ वर्षको लागि चयन गरेको ७ सदस्यीय स्थायी कमिटीमा सीले आफ्नो गुटका ५ जनालाई समावेश गर्न सफल भएका छन् भने ज्हाओ लेजी र वाङ हुनिङ जिआङ गुटका हुन् । आफ्नो गुटबाट चयन भएका ५ मध्ये शंघाईका पार्टी सचिव लि छियांग र बेइजिङका पार्टी सचिव चाइ छि विगतको प्रचलन जस्तो पोलिटब्युरोको सदस्य नभई सीधै स्थायी कमिटीमा प्रवेश गरेका छन् । शून्य कोभिड नीतिको व्यवस्थापनमा कमजोरी गरेको आरोप लागेका लि छियांग त चीनको नयाँ प्रधानमन्त्रीको प्रवल दावेदार मानिएका छन् ।

वर्तमान उपप्रधानमन्त्री हु चुन्हुवा आगामी कार्यकालको पोलिटब्युरोमै नपरेपछिको असन्तुष्टि हु जिन्ताओले बैठकमा व्यक्त गर्न सक्ने हुँदा उनलाई बैठकमै सहभागी हुन नदिने निर्णय सीले लिएको विश्लेषण गरिएको छ ।

हुको अपमान ?

यो महाधिवेशनको समापनको बेला भएको एउटा दृश्यले विश्वको ध्यान खिच्न सफल भएको थियो । पत्रकारलाई ग्रेट हल अफ द पिपलमा प्रवेशको अनुमति दिनासाथ पूर्वराष्ट्रपति हु जिन्ताओलाई उनको इच्छाविपरीत बैठक कक्षबाट बाहिर निकालिएको दृश्य फोटो पत्रकारहरुले कैद गर्ने अवसर पाएका थिए । चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र र सञ्चारमाध्यमले हु अस्वस्थ रहेको र त्यही कारणले उनलाई अर्को कोठामा आराम गर्न लगिएको जानकारी गराएका छन् । यसअघिको कार्यक्रमहरुमा पनि हुलाई सहयोग गर्न मञ्चमै उनको सहयोगी पुग्ने गरेको र यो महाधिवेशनमा उनलाई सहयोग गरेको सहयोगी पनि हुको आफ्नै सहयोगी रहेको कुरा सञ्चारमाध्यमहरुले चीनमा उल्लेख गरेका छन् ।

तर, हरेक कदम सीको निर्णयपछि मात्रै हुँदै आएकोमा उक्त कदम पनि उनकै आदेशमा भएको भनेर खासगरी पश्चिमा सञ्चारमाध्यमहरुले हेडलाइन बनाउन थालेका छन् । वर्तमान उपप्रधानमन्त्री हु चुन्हुवा आगामी कार्यकालको पोलिटब्युरोमै नपरेपछिको असन्तुष्टि हु जिन्ताओले बैठकमा व्यक्त गर्न सक्ने हुँदा उनलाई बैठकमै सहभागी हुन नदिने निर्णय सीले लिएको विश्लेषण गरिएको छ । हु चुन्हुवालाई रोक्न नै २५ सदस्यीय पोलिटब्युरो यस महाधिवेशनबाट २४ सदस्यीय बनाइएको छ । उक्त कदम लिनुको पछि सीले हु र उनको गुटलाई अब उनीहरुको उपादेयता सकिएको सन्देश दिन खोजिएको लख काट्न थालिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *