मुक्तिनाथ क्षेत्रमा निर्मित धार्मिक पर्यटकीय पूर्वाधारको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने – Nepal Press

मुक्तिनाथ क्षेत्रमा निर्मित धार्मिक पर्यटकीय पूर्वाधारको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

काठमाडौं । मुस्ताङमा रहेको प्रसिद्ध तीर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै गएको छ । पछिल्लो पटक गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत पहलमा करोडौँको लगानीमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिएका छन् ।

लामाको लगानीमा मन्दिर परिसरमा ३५ फिट अग्लो भगवान् गौतम बुद्धको मूर्ति तयार भएको छ भने सोही आकारकै भगवान् विष्णुको मूर्ति पनि राख्न लागिएको छ ।

त्यस्तै मुक्तिनाथ क्षेत्रमै अन्तर्राष्ट्रिय स्तरको बुटिक रिसोर्ट लो मुस्ताङ हिमालय रिसोर्ट पनि लामाकै लगानीमा तयार भएको छ । तयार भएको गौतम बुद्धको मूर्ति र रिसोर्टको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी शुक्रवार उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै नयाँ बन्ने विष्णु भगवानको मूर्ति निर्माणको शिलान्यास पनि राष्ट्रपति भण्डारीले सोही दिन नै गर्ने कार्यक्रम तय भएको लामाले जानकारी दिए ।

मुक्तिनाथ भगवान् विष्णुको जन्मस्थान रहेको भनाई छ । स्कन्द पुराणमा उल्लेख भए अनुसार करिब ८ सय वर्ष पहिले यहाँ साधुहरूले मन्दिर स्थापना गरेका थिए । हिन्दु र बौद्ध मार्गीको साझा तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्रमा विभिन्न गुम्बाहरू पनि छन् ।

परम्परागत धार्मिक संरचनाको संरक्षण र संवर्द्धन गर्ने गरी मुक्तिनाथ विकास गुरु योजना छ । सोही गुरु योजनाको महत्त्वपूर्ण संरचना बुद्ध मूर्तिको स्थापना र विष्णु भगवानको मूर्ति शिलान्यासमा आफू संलग्न हुन पाउँदा खुसी लागको सोनामको भनाइ छ ।

पर्यटकलाई सुविधा सम्पन्न बुटिक होटल

सामाजिक सेवाको दुई परियोजना बाहेक मुक्तिनाथ क्षेत्रको विकासका लागि सोनामले धार्मिक तथा अन्य पर्यटक समेतलाई लक्षित गरी सुविधा सम्पन्न ‘लो मुस्ताङ हिमालय रिसोर्ट’ पनि निर्माण गरेका छन् ।

‘कालिगण्डकी करिडोरमा सडक तथा अन्य पूर्वाधार पुगेसँगै पर्यटक आगमन पनि बढ्दो छ । तर स्तरीय र होटल संरचनाको अभाव रहेकाले त्यहाँ स्तरीय होटल बनाइएको हो’ लामाले बताए ।

बुटिक अवधारणामा बनेको होटल करिब १ सय रोपनी क्षेत्रफलमा पैmलिएको छ । चारै दिशामा हिमाल अवलोकन गर्न सकिने रानीपौवा हाइटमा रहेको होटल क्षेत्रमै करिब ५ सय बोटको स्याउ फार्म पनि छ ।

निलगिरी धौलागिरि जस्ता मनमोहक हिमालको घेराभित्र रहे जस्तै देखिने सो होटलमा पर्यटकको सेवाका लागि साउना स्पादेखि घोडा चढी सुविधा उपलब्ध हुने लामाले जानकारी दिए ।

मुक्तिनाथ नजिकैको गाउँ थुराङमा जन्मिएका लामाले आफ्नै मातृभूमिको विकासका लागि पूर्वाधार थप्न लागि परेको बताए ।

स्थानीय समुदायसँग भाडामा जग्गा लिएर रिसोर्ट निर्माण गरिएको बताउँदै लामाले निश्चित अवधिपछि उक्त रिसोर्ट समुदायलाई नै हस्तान्तरण गरिने पनि जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *