यो निर्वाचनमा राप्रपाले अप्रत्याशित भोट ल्याउँछ, संसदको निर्णायक शक्ति बन्छ : राजेन्द्र लिङदेन
झापा । देश अहिले निर्वाचनमय बनेको छ । राजनीतिक दलहरुले आ-आफ्नो चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । देशभर सत्ता गठबन्धन प्रतिपक्षी गठबन्धनबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
पूर्वी नेपालको झापा राजनीतिक रुपमा निकै उर्बर अनि चर्चित जिल्ला हो । एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको गृहजिल्ला समेत रहेको यस भूमिको राजनीतिले राष्ट्रिय राजनीतिमा नै प्रभाव पार्ने गर्छ । पाँचवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा एमाले र राप्रपाले तालमेल गरेका छन् ।
राप्रपा अध्यक्ष लिङदेन झापामा एमाले-राप्रपाको विजय सुनिश्चित रहेको बताउँछन् । यसपालीको चुनावमा राप्रपा निर्णायक शक्तिका रुपमा स्थापित हुनेसमेत उनको दावी छ । झापा ३ मा एमाले र राप्रपाका साझा उम्मेदवारका रुपमा रहेका राजेन्द्र लिङदेनसँग गरिएको कुराकानी नेपाल टकमा ।
– २०७४ सालको निर्वाचनमा भारी मतान्तरले विजयी हुनुभएको थियो । गएका ५ वर्षमा आफूले गरेका प्रतिबद्धता कत्तिको पूरा गर्नुभयो ?
अघिल्लो निर्वाचनका बेलासम्म झापा क्षेत्र नम्बर ३ लाई झापाको कर्णाली भनेर भनिन्थ्यो । वास्तवमा मेची बिरीङ जस्ता नदीहरुले घेरिएको, पूर्वाधारका काम कुनै नभएको भन्दा पनि हुन्छ । बाढी, डुबानको समस्या त छँदै थियो । अन्य सडकहरु, वन्यजन्तुको समस्या, कालोपत्रे कस्तो हुन्छ भन्ने हेर्न यहाँका बासिन्दाले कि बिर्तामोड जानुपर्थ्यो वा बिहार जानुपर्थ्यो । पुरानो नगर हुनाको हिसाबले कहीं कहीं भद्रपुरमा कालोपत्रे टुक्राटाक्री देख्न पाइन्थ्यो । अहिले नदी नियन्त्रणका काम सबै सम्पन्न भयो त भन्दिनँ । तर, अभूतपूर्व रुपमा सम्पन्न भएका छन् । ठूलो एउटा उल्लेखनीय ढंगले यी काम सम्पन्न भएका छन् । यो पाँच वर्षमा डुबानका कुनै समस्या आएको छैन ।
आफूले गरेका प्रतिबद्धता धेरै पूरा भएको छ । अझै धेरै गर्न बाँकी छ । आवश्यकता, समस्या बढ्दै जान्छ, ती कार्यलाई पनि सम्बोधन गर्दै अघि बढ्ने हो ।
पाँच वर्षअघि राहत लिएर जानुपर्थ्यो, डुंगा चढेर, लाइफ ज्याकेट लगाएर गाउँमा मानिसको उद्धार गर्न जानुपर्ने अवस्था थियो । अहिले त्यो अवस्थाको अन्त्य भएको छ । कालोपत्र सडकले नछोएको कुनै वडा छैन । ठूल्ठूला सडकका आयोजनाका कामहरु अहिले पनि भइराखेका छन् । हुलाकी सडक झापा क्षेत्र नम्बर ३ को खण्ड सम्पन्न भइसकेको छ । पुलहरु बनेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट दर्जनौं ठूला पुलहरु निर्माण भएका छन् । सानातिना कल्भर्ट कैयौं दर्जन निर्माण भएका छन् ।
अर्को सबभन्दा ठूलो समस्याको रुपमा रहेको जलथल र जंगल रहेको थियो । यहाँका एउटै जंगलभित्र ३५० भन्दा बढी प्रजातिका बोटविरुवा रहेका छन् । जुन एकप्रकारले वनस्पतिसम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरुका लागि खुला विश्वविद्यालय हो । तर, जंगली हात्तीका कारण त्यो जंगल मानिसहरुका लागि पीडा जस्तो थियो । त्यसमा अहिले सौर्य विद्युतीय तारबार व्यवस्था भएको छ । जहाँ नियतवश काठ तस्करी गर्नेहरुले तार काट्ने र चोर्ने स्थानबाहेकबाट हात्ती बाहिर आउने, ज्यानकै नोक्सान गर्ने, बालीनाली नोक्सान गर्ने अवस्था घटेको छ ।
त्यस्तै शिक्षाको क्षेत्रमा पनि अभूतपूर्व रुपमा परिवर्तन भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाटै यहाँका दर्जनौं विद्यालयमा कम्प्युटर कक्षा सुरु भएका छन् । कम्प्युटरहरु प्रदान गरिएको छ । हाम्रो पहल र प्रयासबाट स्थानीय तहमा जसलाई हामीले बुझाउन सक्यौं जस्तो कचनकबलमा कक्षा १२ सम्म निःशुल्क प्रदान भइरहेको छ ।
आफूले गरेका प्रतिबद्धता धेरै पूरा भएको छ । अझै धेरै गर्न बाँकी छ । आवश्यकता, समस्या बढ्दै जान्छ, ती कार्यलाई पनि सम्बोधन गर्दै अघि बढ्ने हो ।
– तपाईं अवसान भइसकेको राजतन्त्र पुनर्बहालीको वकालत गर्नुहुन्छ । आम जनताले फेरि कति वर्ष व्यवस्था परिवर्तनको निम्ति बलिदान दिनुपर्ने हो ?
तपाईं बिर्तामोडबाट मलाई यहाँ भेट्न हिँड्दाखेरि जुन बाटोबाट राजेन्द्र लिङ्देनको घर पुगिन्छ भनेर हिँड्नुभो । तर, त्यो बाटो गलत परेछ भने त तपाईंले बाटो परिवर्तन गनुपर्छ । अनिमात्रै मेरोमा आइपुग्नुहुन्छ । त्यस्तै कुरा हो कि गणतन्त्र, धर्म निरपेक्षता, संघीयताले देशलाई राम्रो गर्छ, भलो गर्छ भन्ने कसैको विश्वास थियो होला । हामीले त प्रारम्भदेखि नै यो बाटो गलत छ भनेर भन्यौं । यसले नै हाम्रो जीवनमा, राष्ट्रको जीवनमा कायापलट ल्याउँछ भन्ने कसैको विश्वास थियो होला ।
अहिलेको निर्वाचन प्रणाली जो छ, त्यो निर्वाचन प्रणालीले न स्थिर सरकार दिनसक्छ न त भ्रष्टाचारको अन्त्य गर्नसक्छ ।
तर, अहिले यो १५ वर्ष र बहुदलीय व्यवस्था आएको तीन दशकभन्दा बढी समयले के प्रमाणित गर्यो भने जुन व्यवस्थाबाट देशलाई हिँडाइराखेका छौं, त्यसले देशलाई गन्तव्यमा पुर्याउँदैन मात्रै होइन देशलाई दुर्घटनामा लैजान्छ भन्ने कुरा प्रस्ट भयो । त्यसकारण हिजो हामीले एउटा व्यवस्था संघर्ष गरेर ल्यायौं । परिवर्तन गर्यौं । तर, त्यसले काम गरेन भने त्यसैलाई बोकिराख्नुपर्छ भन्ने छैन । यो व्यवस्था भन्ने चिज अथवा संविधान भन्ने चिज मैले संसदमा पनि बोलेको छु । यो गीता, कुरान, बाइबल जस्तो असंशोधनीय चिज होइन । त्यो मिलेन भने परिवर्तन गर्नुपर्छ । अहिलेको निर्वाचन प्रणाली जो छ, त्यो निर्वाचन प्रणालीले न स्थिर सरकार दिनसक्छ न त भ्रष्टाचारको अन्त्य गर्नसक्छ ।
त्यसैले हामीले भनेका छौं कि २०४६ सालपछि यो तीन दशकको समयमा २६ वटा सरकार बन्यो । नफुटेको एउटै राजनीतिक दल भएन । सबै राजनीतिक दल फुटे । यसको पछि नेतृत्वमात्रै दोषी छैन । यो प्रणाली पनि दोषी छ । त्यसकारण प्रणालीमै परिवर्तन र सुधार आउनुपर्छ भनेर हामीले के भनेका छौं भन्दा पूर्ण समानुपातिक संसद, सांसदले मन्त्री हुन नपाउने ! अब कति मान्छेले के भन्छ भने फेरि सांसदहरुले के गर्ने त ? सांसदको वास्तवमा संवैधानिक, कानूनी जिम्मेवारी भनेको ऐन, कानून निर्माण गर्ने हो, विधेयकहरुको निर्माण गर्ने हो । राम्रा-राम्रा कानूनहरुको निर्माण गर्ने हो । त्यहाँ त विज्ञ मानिसहरु जानुपर्ने हो । त्यसले त्यही काम गरेर बस्ने र जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री हुनुपर्यो ।
प्रधानमन्त्रीले विज्ञहरुलाई मन्त्री बनाएर पाँच वर्ष देश चलाउने, अभिभावकीय संस्थाको रुपमा जहाँ अहिले राष्ट्रपति छन् त्यो स्थान र त्यो अधिकारमा राजसंस्था रहने व्यवस्थाको हामीले परिकल्पना गरेका छौं । त्यसैगरी हामीले यो तीन तहको सरकार चाहिँदैन भनेका छौं । अब प्रदेश खारेज हुनुपर्छ । यो चिज नभइञ्जेलसम्म देशले स्थिरता र प्रगति प्राप्त गर्न सक्दैन ।
– राजसंस्था फर्काउने तपाईंहरुको मार्गचित्र चाहिँ के हो त ?
हामीले अहिले यो संविधानसँग सहकार्य गरेरै जाने, यो संविधानभित्रैबाट हाम्रा मान्यताहरु स्थापित गर्ने बाटो अगाडि बढाउने भनेका छौं । किन ? हामीसँग यो व्यवस्था नमान्न पछि के गर्ने भन्ने दुईवटा विकल्प थिए । एउटा, यो व्यवस्था आउटराइट हामीले मान्दैनौं त्यसकारण यसको कुनै पनि प्रक्रियामा पनि सहभागी हुँदैनौं र यो व्यवस्था नभत्काएसम्म हामी निर्वाचनमा आउँदैनौं भनेर हामीले माओवादीले जस्तो विद्रोहको बाटो रोज्नुपर्थ्यो ।
देशले अब थप द्वन्द्व व्यहोर्न सक्दैन । अब त्यो क्षति व्यहोर्ने तागत देशसँग छैन । त्यसकारणले हाम्रो बाटो शान्तिपूर्ण हुनुपर्छ । संविधानसँग सहकार्य गरेर जानुपर्छ । संविधानमै संशोधन गर्न पाइने व्यवस्था छ । संविधानले नै के सुविधा दिएको छ भन्दा गणतन्त्र, धर्म निरपेक्षता, संघीयता अथवा यी कुनै पनि विषय अब असंशोधनीय छैन । जनताले चाह्यो भने संशोधन गर्छु भन्ने पार्टीलाई दुईतिहाइ दियो भने संशोधन हुनसक्छ । हामीले त्यो बाटो लिएका छौं ।
अब तपाईंको कहिले दुईतिहाइ मत प्राप्त गर्नुहुन्छ र कहिले संशोधन गर्नुहुन्छ भन्ने कुरा छ । नेपालको राजनीतिक दलहरु खासगरी ठूला दलहरु नेपाली कांग्रेस, एमालेहरु अत्यन्तै लचिला छन् । २०५२ साल फागुन १ गते माओवादीले संविधानसभाको माग राखेर अगाडि आउँदाखेरी कांग्रेस सरकारमा थियो । उनीहरुले यो गणतन्त्र, धर्म निरपेक्षता, संघीयताको कुरा पनि सुनेका थिएनन् । संविधानसभा पनि मानेनन् र माओवादीलाई जंगल जान बाध्य बनाए ।
झापामा एमाले र राप्रपा एक ठाउँ उभिएपछि सत्ता गठबन्धनको के हाल हुन्छ भन्ने कुरा सबैलाई थाहा छँदैछ । मैले किन भनिराख्नुपर्यो र रिजल्ट त ओपन नै छ । खालि कुन क्षेत्रमा मतान्तर कस्तो हुने भन्नेमात्रै हो ।
माओवादीले १० वर्ष जब हिंसात्मक गतिविधि गर्यो । हजारौं मानिस हताहत भए । तिनै ठूला पार्टीका कैयौं नेता कार्यकर्ताहरुको ज्यान गयो, भौतिक एवम् अरु धनसम्पत्तिको त कुरै नगरौं, देशकै कति क्षति भयो त्यसको छुट्टै बहस गरौंला । तर, त्यो अवस्था आइसकेपछि संविधानसभासम्म नमान्ने कांग्रेस, अरु पार्टीहरु पछि संविधानसभामात्रै होइन गणतन्त्र, धर्म निरपेक्षता, संघीयता सबै मान्न तयार भए । यसबाट के देखिन्छ भने नेपालका दलहरु लचिला छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी भोलि एउटा निर्णायक शक्तिको रुपमा मात्रै संसदमा पुग्यो भने अथवा बहुमतमात्रै प्राप्त गर्यो भने पनि अरु दलहरुलाई बुझाएर माओवादीले जस्तो नठोकिकनै, सम्झाएर बुझाएर तपाईंहरुले जुन बाटो देशलाई हिँडाउनुभयो, अहिले अनुचित प्रमाणित भयो । अब कोर्स करेक्सन गर्नुपर्ने समय आयो भनेर बुझाएरै यो बाटोमा ल्याउन सकिन्छ भन्ने हाम्रो विश्वास छ । होइन भने हामीले जे मत र समर्थन प्राप्त गर्छौं त्यसलाई ठीक ढंगले उपयोग गरेर आगामी निर्वाचनमा दुईतिहाइ मत प्राप्त गरेर पनि हामीले हाम्रो मान्यता स्थापित गर्न सक्छौं ।
– तपाईंले भन्न खोज्नुभएको राजसंस्थासहितको संघीयता कस्ताे हाे ?
मानिसलाई संघीयता शब्द प्यारो छ भने हामीलाई कुनै आपत्तिको कुरा छैन । संघीयता शब्द र अधिकारसँग हामीलाई कुनै आपत्ति छैन । अधिकार प्रत्योजनका कुरा, तल्लो तहमा अधिकार लैजाने कुरामा राष्ट्रिय प्रजातन्त्र पार्टी स्पष्ट छ र हामीले भनेका छौं केन्द्र र बलियो स्थानीय तह भए पुग्छ । अहिलेको भन्दा पनि बलियो स्थानीय तह होस्, अधिकार सम्पन्न होस् ।
त्यसलाई कसैले संघीयता भन्न मन पराउँछ, संघीयतामा मात्रै यो सबै हुन्छ भन्छ भने कुनै आपत्ति भएन । तर, देशले यति धेरै जनप्रतिनिधिहरु पाल्न सक्दैन । खासगरी प्रदेशको अर्थ छैन भन्नेमा हामी स्पष्ट छौं ।
– झापामा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ । तर, एकातिर तपाईको क्षेत्रमा एमालेका बागी डम्बर गिरी र अर्कोतिर ४ नम्बरमा राप्रपाकी खुश्बु ओलीले बागी उम्मेदवारी दिएका छन् । दुई दलभित्रै तालमेलप्रति असन्तुष्टि देखिएको हो ?
त्यसलाई त्यत्रो व्यापक असन्तुष्टिको रुपमा व्याख्या पनि गर्दिनँ । दुवै पार्टीले यो निर्णय गर्दाखेरी आफ्नो स्थानीय कमिटीहरुको समेत रायसल्लाहबाट निर्णय गरेको विषय भएको हुनाले व्यक्तिगत रुपमा केही साथीहरुको चित्त बुझाउन सकिएन । फेरि उहाँहरु आफैं पार्टीबाट समेत अलग भइसकेको अवस्था छ । त्यसले खासै केही फरक पनि पार्दैन र त्यो विषयमा म धेरै टिप्पणी गर्न पनि चाहन्नँ ।
अब नेतृत्व पनि परिवर्तन गर्नुपर्ने वेला भयो । टेस्टेड मानिसहरुलाई फेरि देशले धेरै बोकिराख्न सक्दैन । सँगसँगै यो प्रणालीमा सुधार र परिवर्तन जरुरी छ । त्यसकारण हामी फरक धारकै नेतृत्व गर्छौं ।
– राजेन्द्र लिङदेन आफू जित्नमात्र तालमेल भयो, देशभरि राप्रपा एक्लै चुनाव लड्यो भन्ने पनि छ नि ?
राप्रपाले यसपालि विगतबाट शिक्षा लिएर रणनीतिक रुपमै थोरै सीटमा मात्रै सहकार्य गरेर जाने निर्णय गरेको थियो । त्यसमा अनुमान गरेका र प्रस्तावित गरिएका सबै क्षेत्रहरुमा त सहकार्य हुन सकेन । निष्कर्षमा पुग्ने वेलामा तीनवटा निर्वाचन क्षेत्र अथवा तीनवटा जिल्लामा मात्रै हामी सहकार्य गर्न सहमत भयौं नेकपा एमालेसँग । त्यसको पनि कारण छ । कारण के हो भने हामीले कुनै एउटा निर्वाचन क्षेत्रमा एमालेबाट मद्दत लिइरहँदा अथवा हामीले कति मद्दत लिन्छौं कति भोट लिन्छौं त्यति भोट फेरि एमालेलाई हामीले दिने ठाउँ पनि हुनुपर्यो । त्यसले परिणाम पनि ल्याउनुपर्यो । त्यो सबै छलफल गर्दै जाँदा एमाले तीन वटा जिल्लामा सहकार्य गर्न सहमत भयो । हामीले पनि त्यही कुरा स्वीकार गर्यौं ।
कुनै व्यक्तिलाई जिताउनेमा मात्रै केन्द्रित गरेर छलफल प्रारम्भ गरिएको थिएन । जहाँ एमाले र हाम्रो स्थानीय तहको मत जोड्दा परिणाम निस्किनसक्छ ती क्षेत्रबाट छलफल सुरु गरेका थियौं । अब कति ठाउँमा हामीले एमालेलाई सघाउँदा जित्ने, तर हामीले फेरि एमालेबाट पाउने ठाउँ नभएको अथवा एमालेले हामीलाई सघाउँदा जित्ने तर हामीले एमालेलाई दिने ठाउँ नभएको यस्तो अवस्थाको कारणले पनि कतिपय निर्वाचन क्षेत्रहरुमा हामीले सहकार्य गर्न सकेनौं ।
जतिमा सम्भव भयो त्यतिमा सहकार्य गरेर जाने र थोरै सीटमा सहकार्य गरेर व्यापकरुपले देशभर आफ्ना उम्मेदवारहरु उठाउने । किनभने अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा नयाँ जनलहर आइराखेको छ । नयाँ नयाँ क्षमताशील मानिसहरु आइराख्नुभएको छ । गठबन्धन अथवा तालमेल नगरिकन पनि जित्न सकिने अवस्था एकपछि अर्को नयाँ ठाउँहरुमा बनिराखेको छ । अघिल्लोचोटि हामीले चारवटा सीटमा कांग्रेससँग सहकार्य गर्ने झापामा एउटा विशेष निर्णय गर्यौं । जब पाँचवटा प्रतिनिधिसभामा उम्मेदवार उठाएर बाँकी अरु सबैलाई छोड्दा राष्ट्रिय पार्टीसमेत बन्न सकेनौं । अब त्यो गल्ती फेरि गर्नुहुन्न भनेर कम सीटमा हामीले तालमेल गरेका हौं ।
– झापामा सत्ता गठबन्धन भर्सेस एमाले-राप्रपा गठबन्धनको परिणाम कस्तो आउने देख्नुहुन्छ ?
अब यो सार्वजनिक छ । झापामा एमाले र राप्रपा एक ठाउँ उभिएपछि सत्ता गठबन्धनको के हाल हुन्छ भन्ने कुरा सबैलाई थाहा छँदैछ । मैले किन भनिराख्नुपर्यो र रिजल्ट त ओपन नै छ । खालि कुन क्षेत्रमा मतान्तर कस्तो हुने भन्नेमात्रै हो ।
– झापा क्षेत्र नं ३ को चुनावलाई राजतन्त्र भर्सेस गणतन्त्रको रुपमा हेर्न सकिन्छ ?
राजनीतिक रुपले जसले जसरी बुझे पनि हुन्छ । तर, खासगरी उहाँहरुले आफ्नो सक्रिय राजनीतिक जीवनमा आफू जिम्मेवारीमा हुँदा नेपालको राजनीतिमा जुन भ्रष्टाचारलाई संस्थागत गर्ने, आपराधिक प्रवृत्तिलाई राजनीतिमा प्रवेश गराउने जुन प्रवृत्ति र धारको नेतृत्व गर्नुहुन्छ भने हामी एउटा सुशासनको कुरा, भ्रष्टाचारमुक्त देशको कुरा गर्ने र राजनीति कुनै पेशा, व्यवसाय अथवा अपराध कर्म गर्ने थलो होइन, अपराधको ढाकछोप गर्ने थलो होइन, सेवाको एउटा पवित्र माध्यम हो भनेर मान्नेका बीचको एउटा प्रतिस्पर्धा हो । यसमा मतदाताले फैसला गर्नुहुन्छ ।
राजनीतिक एजेण्डाको कुरामा पनि प्रस्ट छौं कि अहिले सत्ता गठबन्धन यही प्रणाली, यही व्यवस्था, अहिले जुन ढंगले नियुक्ति प्रणालीहरु छन्, संवैधानिक अंगहरुमा यही बाटोबाटै देश चल्छ । मान्छे फेरिए हुन्छ । मान्छे फेर्ने कुरा छैन । हामी नै ठीक गर्छौं भनेर जसरी उहाँहरु हिँडिराख्नुभएको छ । अब नेतृत्व पनि परिवर्तन गर्नुपर्ने वेला भयो । टेस्टेड मानिसहरुलाई फेरि देशले धेरै बोकिराख्न सक्दैन । सँगसँगै यो प्रणालीमा सुधार र परिवर्तन जरुरी छ । त्यसकारण हामी फरक धारकै नेतृत्व गर्छौं ।
हामीले बहुमत प्राप्त गरेनौं भने हामीलाई सरकारमा जान कुनै प्रकारको हतारो छैन । हामीले भोलि एमालेलाई नै पनि समर्थन गरेर जान सक्छौं ।
– चुनावपछि एमाले नेतृत्वमा सरकार बन्ने अवस्था भयो भने राप्रपाको समर्थन हुन्छ कि हुँदैन ?
अहिले हामी त्यस विषयमा प्रवेश गरेका छैनौं । यो प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा धेरै उम्मेदवार उठाउने पार्टीमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी र एमाले हो । अरु ठूल्ठूला कुरा गर्ने पार्टीले त १०० सीट पनि उम्मेदवार उठाउन सकेनन् । कसैको त ५० मुनि छ । त्यसकारणले सरकारको दावी गर्ने त राप्रपा र एमालेले नै हो आगामी दिनमा । कसले कति सीट ल्याउँछ त्यसपछिको कुरा हो । तर, सत्ता हाम्रो प्राथमिकतामा छैन ।
यदि हामीले बहुमत प्राप्त गरेनौं भने हामीलाई सरकारमा जान कुनै प्रकारको हतारो छैन । हामीले भोलि एमालेलाई नै पनि समर्थन गरेर जान सक्छौं । तर, विथ कज भन्छ नि होइन ? कारणसहित मात्रै हामीले समर्थन गर्छौं । हाम्रो छुट्टै धारणा राखेर समर्थन गर्छौं । कुनै पनि सरकार अथवा कुनै पनि पार्टीेलाई समर्थन या विरोध गर्ने हाम्रो सैद्धान्तिक आधार हुन्छन् । राप्रपाले अब सत्ता केन्द्रित राजनीति गर्दैन । नेपाल बन्द जस्तो अलोकप्रिय काम जतिसुकै अप्ठ्यारो परे पनि राप्रपाले गर्दैन । राप्रपा अब फरक ढंगले आउँदैछ ।
– राप्रपाले यसपटक देशभर कति सीट प्रत्यक्ष र समानुपातिकमा अपेक्षा गरेको छ ?
राप्रपाले अप्रत्याशित परिणाम ल्याउँछ । अब संसदमा मुख्य शक्तिमध्ये एक भएर राप्रपाको उपस्थिति हुन्छ । यति नै सीट संख्या भनेर हावादारी कुरा गर्नुको कुनै अर्थ छैन । तर, राप्रपा मुख्य शक्तिको रुपमा अब नेपाली राजनीतिमा आउँछ । कतिले कल्पना पनि नगरेको परिणाम ल्याउँछ । राप्रपाले आफ्नो जीवनमै धेरै सीट ल्याउँछ । मैले यति भनेँ, राप्रपाले अप्रत्याशित परिणाम ल्याउँछ । राप्रपा अब नेपालको राजनीतिमा एउटा निर्णायक शक्तिको रुपमा स्थापित हुन्छ ।
– एमालेले राप्रपाजस्तो राजावादीसँग तालमेल गरेको भनेर सत्ता गठबन्धनले ठूलो इस्यु बनाएको छ । तपाईंहरुले स्थानीय चुनावमा त दमकमै एमालेविरुद्ध सत्ता गठबन्धनसँग महागठबन्धन पनि बनाउनुभएको थियो । यो विषयमा गठबन्धनका नेताहरु विशेषगरी अब्बल प्रतिस्पर्धीका रूपमा रहेका कृष्ण सिटौलालाई जवाफ दिन त सक्नुभएन नि होइन ?
होइन यसमा के जवाफ दिने कुरा भयो र ? आफू पाँचवटा दलसँग गठबन्धन गरेर चुनाव लड्ने अनि अर्कोलाई तिमीहरु मिल्यौ भनेर प्रश्न उठाउने ? अब यस्तो कुरामा हामीले दया व्यक्त गर्नेबाहेक के कुरा छ ? हिजो दमकमा त्यही गठबन्धनले तपाईंहरुले प्रमुख बसिदिनुपर्यो हजुर भनेर भन्दा अन्यथा नहुने !
२०७४ को चुनावमा झापामा पो हामीले यहाँ प्रतिस्पर्धा गर्यौं त । बाँकी सबै जिल्लामा, सबै निर्वाचन क्षेत्रमा कांग्रेस र राप्रपाको सहकार्य अथवा गठबन्धन थियो । कांग्रेसले त्यसवेला प्राप्त गरेको २३ सीटमा अधिकांश निर्वाचन क्षेत्रमा राप्रपाको मत निर्णायक छ । कांग्रेसले दुई-तीन सयले जितेको छ । एउटा निर्वाचन क्षेत्रमा दुई-तीन सय भोट राप्रपाको थिएन होला ? त्यसकारण त्यो भन्नको लागि भन्ने कुरा हो । त्यसको कुनै तुक पनि छैन र त्यसलाई जवाफ दिएर हिँड्नुपर्ने जरुरी पनि देख्दिनँ । यी सबै दलहरुले आफ्नो विजयलाई सुनिश्चित गराउन तालमेल, गठबन्धन, सहकार्यहरु गरेको छ । अब त्यसमा राप्रपा र एमालेले पनि आंशिक रुपमा केही निर्वाचन क्षेत्रमा तालमेल गरेको छ ।
राप्रपा मुख्य शक्तिको रुपमा अब नेपाली राजनीतिमा आउँछ । कतिले कल्पना पनि नगरेको परिणाम ल्याउँछ । राप्रपाले आफ्नो जीवनमै धेरै सीट ल्याउँछ ।
– स्थानीय निर्वाचनमा स्वतन्त्रहरुले अनपेक्षित रूपमा जीत हासिल गरे । अहिले पनि ठूलो संख्यामा स्वतन्त्र उम्मेदवारी परेको छ । पछिल्ला चुनावभन्दा यो पटक नागरिक चेतना, राजनीतिक संस्कार र चुनावी माहोल परिवर्तन भएको हो ? तपाईं के अनुभव गर्दै हुनुहुन्छ ?
आकाश-जमिनको परिवर्तन भएको छ । नो नट अगेन भन्ने कुरा पनि नेपालको राजनीतिमा तीन दशकदेखि नेतृत्व गर्दै आएको पुस्ता असफल भयो है, यिनीहरुलाई दोहोर्याउनु हुँदैन है, नयाँ गर्न सक्ने मान्छेलाई देउ भन्ने कुरा त हो नि !
जहाँसम्म स्वतन्त्रको कुरा छ । स्थानीय तह र अहिले प्रतिनिधिसभा तथा प्रदेशसभाको स्वतन्त्रको उम्मेदवारीको अवस्था फरक हो । अब स्थानीय तहमा प्रमुख पद कार्यकारिणी पद थियो । तर, यो विधायिकी पद हो । त्यसकारण यहाँ स्वतन्त्रको कुनै माने छैन । पाँचजना स्वतन्त्रले जिते भने मानिलिउँ त्यो पाँचजना त एउटा पार्टी होइन, एउटा संगठन होइन । उनीहरु अलगअलग व्यक्ति हुन् । त्यहाँ फेरि पाँचजना एउटै मतमा हुँदैनन् । कसैले कांग्रेसलाई गएर समर्थन गर्छ । कसैले एमालेलाई, कसैले राप्रपालाई गर्ला, कसैले माओवादीलाई गर्ला ।
यो अहिले स्वतन्त्र स्वतन्त्र भनेर केही साथीहरुले वितृष्णा व्यक्त गर्ने एउटा थलोको रुपमा रहेको हो । विजयी भएको खण्डमा दलमै रहने हो । स्वतन्त्र बस्ने तागत साह्रै थोरैले मात्रै राख्छन् । यो विगतमा पनि देखिएको हो । बसे पनि त्यसको के अर्थ हुन्छ त ? विभिन्न समितिहरु हुन्छन् । ती विषयहरु हुन्छन् । अब त्यसमा एउटा समितिको बैठकमा जाँदा अर्को विषय र समिति छुट्छ । फेरि एउटा सांसदले एउटा समितिमा बस्न पाइन्छ । दल भयो भने विभाजित भएर फलानो समितिमा फलानो बस्ने भनेर सबैतिरको सबै विषयहरुको बारेमा आफूलाई जानकारी पनि हुन्छ र आफ्नो अवधारणा पनि राख्न सकिन्छ र निर्णयमा प्रभाव पार्न सकिन्छ ।
एकजना भएर त मैले पनि हेरेँ नि ! त्यो दलकै हुँदा त यति गाह्रो थियो भने स्वतन्त्र हुँदा कुनै पनि परिणाम आउँदैन । अहिले स्वतन्त्र उठिरहनुभएका साथीहरुले पनि बरु अब भोलि मैले जीते भने फलानो दलमा जान्छु, फलानो एजेण्डालाई सपोर्ट गर्छु भनेर आफूलाई क्लियर गर्नुभयो र त्यही मन पराएर त्यतै जितायो भने पछि त्यतै जोडिनु राम्रो हुन्छ । तर, अलग्गै परिणाम आउँछ भन्ने मलाई लाग्दैन । म आलोचना गर्न चाहन्नँ । तर, स्वतन्त्र सांसदको भूमिका जे अपेक्षा गरिएको छ, जुन आक्रोश व्यक्त गर्दै अहिलेको यथास्थितिसँग असन्तुष्टि व्यक्त गर्दै मत दिइन्छ । मतदाताले त्यहाँ परिणाम प्राप्त गर्दैनन् ।
– अन्त्यमा केही बाँकी भए भन्नुहुन्छ कि ?
यो मंसिर ४ को चुनाव सामान्यतया हेर्दा हरेक पाँच वर्षमा यस्तो चुनाव आउँछ । यो एउटा आवधिक चुनाव हो । एउटा व्यक्ति, एउटा पार्टी चुन्ने हो भन्ने अर्थमा मात्रै बुझ्नुहुँदैन । मंसिर ४ गते प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन तीन दशकदेखि नेपालको राजनीतिमा केही सीमित राजनीतिक दलहरुले जुन एउटा सिन्डिकेट खडा गरेर अघोषित रुपमा देशलाई एउटा चक्रव्यूहभित्र कैद गर्ने काम भएको छ । त्यसबाट देश र जनतालाई निकाल्ने एउटा अवसरको रुपमा उपयोग गर्नुपर्छ । यसलाई विशेष अवसरको रुपमा उपयोग गर्नुपर्छ भनेर म आम मतदातालाई आह्वान गर्न चाहन्छु ।