पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले सन्दीपको पक्षबाट बहस गर्दै, यस्तो छ वकिलहरुको बलियाे टीम
सुरुमै चुरीफुरी देखाएकी सुधा रिजाल टीममा परिनन्
काठमाडौंं । पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा जोडिएका छन् । उनी सन्दीपको पक्षबाट बहस गर्ने वकिलहरुको टीममा आवद्ध भएका हुन् ।
काठमाडौं जिल्ला अदालतमा दायर भएको सन्दीपविरुद्धको मुद्दामा भोलिबाट थुनछेक बहस सुरु हुँदैछ । सन्दीपले श्रेष्ठसहित हाइप्रोफाइलका वकिलहरुको बलियो टीम बनाएका छन् । वरिष्ठ अधिवक्ताहरु लभ मैनाली, कृष्ण सापकोटा र सरीता भण्डारीले सन्दीपको पक्षबाट बहस गर्नेछन् । यसैगरी मुरारी सापकोटा र सरोज घिमिरे पनि टीममा छन् ।
यसअघि सुरुदेखि सन्दीपलाई सरोज घिमिरेले कानूनी सहयोग गर्दै आएका थिए । सन्दीपलाई म्याद थप गर्न अदालत लगिँदा घिमिरे र अर्की अधिवक्ता सुधा रिजालले बहस गरेका थिए । तर, रिजालले सञ्चारकर्मीसँग विवादित अभिव्यक्ति दिएपछि उनलाई सन्दीपको परिवारले टीममा राख्न चाहेको छैन ।
रिजालले सुरुमै सन्दीपको सहमति लिएर वकालतनामा लेखाएकी थिइन् । तर, अहिले सन्दीपका परिवारजनले उनलाई आफ्नो फि लिएर मुद्दा छोड्न अनुरोध गरेको बुझिएको छ ।
यसैगरी घिमिरे पनि तत्काल बहसमा उपलब्ध नहुने भएका छन् । उनी एउटा कार्यक्रमका सिलसिलामा अमेरिका पुगेको बुझिएको छ । सन्दीपको थुनछेक बहस भोलि सुरु हुँदैछ ।
अनुभवी र खारिएका वकिलहरु हायर गर्न सन्दीपले मोटो रकम खर्च गर्नुपरेको छ । सन्दीपका लागि वकिलहरुको चाँजोपाँजो र आर्थिक व्यवस्थापनको काम उनका दाजुले गरिरहेका छन् । सन्दीपका बुवाआमा भने चितवनमै छन् । स्वास्थ्य अवस्था राम्रो नभएकाले उनीहरु प्रायः छोरीको घरमा बसिरहेका छन् ।
जाहेरीकर्ताको तर्फबाट कतिजनाले बहस गर्छन् भन्ने निधो भइसकेको छैन । नाम र चर्चाकै लागि पनि ‘पीडित’ को तर्फबाट निःशुल्क बहसका लागि धेरै वकिलहरु खुट्टा उचालेर बसेका छन् ।
यद्यपि, अहिलेसम्म सुनीता रेग्मीको नाममात्र आएको छ । उनी वरिष्ठ अधिवक्ता हुन् । सपना मल्ल प्रधानले स्थापना गरेको एफडब्लुएलडी नामक एनजीओमा काम गर्ने उनी यसअघि निहारिका राजपूतको मुद्दामा बहस गर्न जनकपुर पुगेकी थिइन् ।