सुनिल भण्डारीले भने- कांग्रेस छोड्दिन तर नातावाद, हैकमवाद र गुटबन्दी विरुद्ध लड्छु – Nepal Press

सुनिल भण्डारीले भने- कांग्रेस छोड्दिन तर नातावाद, हैकमवाद र गुटबन्दी विरुद्ध लड्छु

कैलाली । नेपाली काँग्रेसका नेता सुनिल भण्डारीले आफू पार्टीबाट अलग नहुने जनाएका छन् । आज धनगढीमा पत्रकार सम्मेलन गर्दै पार्टीले टिकट नदिए पनि पार्टीबाट अलग नहुने बताएका हुन् ।

अघिल्लो पटक कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका भण्डारी अहिले पनि सोही क्षेत्रबाट आकाङ्क्षी थिए । तर, अन्तिम समयमा डोटीबाट निर्वाचन लड्दै आएका कांग्रेस प्रदेश सभापति वीर बहादुर बलायरलाई टिकट दिएपछि उनी रुष्ट थिए ।

पार्टीबाटै अलग हुने चर्चा भइरहेका बेला उनले त्यो निर्णय लिन नसकेको बताए ।

‘१५÷२० दिन आफैले विश्लेषण गर्दा पार्टी भन्दा बाहिर बस्ने सक्ने अवस्थामा देखिन’ उनले भने, ‘त्यो मेरो जिम्मेवारीले दिएन । तर, नातावाद, हैकमवाद गुटबन्दी विरुद्ध वाकी जीवन समर्पण गर्नु पर्छ । पार्टी भित्रको शुद्धीकरणको लागि कार्यकर्ताहरूसँग रहन्छु ।’

गणेशमान जस्तो अलग भएर बस्न नसक्ने अवस्थामा रहेका भन्दै उनले पार्टीमा लाग्ने विचार गरेको बताए । उनले आगामी दिनमा पार्टीका उम्मेदवारहरूलाई जिताउन लाग्ने बताए । उनले अघिल्लो पटक बाम गठबन्धन हुँदा आफूले पार्टीको साख बचाएको भन्दै अहिले पार्टीले आफूमाथि अन्याय गरेको समेत प्रस्ट पारे ।

‘कसैले हिम्मत नगर्दा मैले उम्मेदवारी दिए । पाँच वर्षको अवधिमा मैले जनमताको अपार समर्थन हुँदा हुँदै पनि मैले टिकट पाउन सकिन’ उनले भने, ‘पार्टी भित्र असहमति राख्ने प्रयास गरे । जसलेको सिकार हुन पर्‍यो ।’

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको समकक्षी रहेका भण्डारीले आफूमाथि पटक पटक अपमानित भएको बताए ।

‘पार्टीबाट अलग भएको भए मलाई शान्ति हुन्थ्यो। तर, सबैको सुझावले गर्ला मैले यो निर्णय लिए । यसको विकल्प थिएन’ उनले भने, ‘मैले धेरै अपमान सहे ।’

अघिल्लो कैलाली ४ मा लेखराज भट्टसँग भण्डारी १० हजार ३९९ मतले पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर