कसरी अघि बढ्दैछ रुपन्देहीको मुहार फेर्ने तिनाउ-दानव करिडोर ? – Nepal Press

कसरी अघि बढ्दैछ रुपन्देहीको मुहार फेर्ने तिनाउ-दानव करिडोर ?

रुपन्देही । सवा ४ अर्बको महत्वाकांक्षी तिनाउ-दानव करिडोर निर्माणले गति लिएको छ । यससँगै करिडोरबाट दीर्घकालीन विकासका हुने प्रभावका विषयमा बहस सुरु भएको छ ।

तिनाउ नदीको संरक्षण गर्दै यसका दायाँबायाँका बगरसँग जोडिएका बस्तीमा हुने क्षति न्यूनीकरण गर्ने र पर्यटकीय स्थलको रूपमा विकास गर्ने परिकल्पनाका साथ तिनाउ-दानव करिडोरको योजना अघि बढेको हो ।

तिनाउ करिडोर निर्माणअन्तर्गत तिनाउ र दानव नदीको बहाव क्षेत्र निर्धारण गरी नदीको जगदेखि नै पर्खाल लगाइने भएको छ । पर्खालबाहेकको ३ मिटर क्षेत्रफलमा हरियाली बगैंचा निर्माण र बस्तीतर्फ फुटपाथसहितको ७/७ मिटरको दुई लेन कालोपत्रे सडक बनाइनछ ।

यो करिडोरले तिनाउ नदीको सुरक्षा र सौन्दर्य बढाउनेमात्र होइन, रूपन्देहीको आर्थिक तथा पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।

२०७४ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले आफ्नो चुनावी घोषणापत्रमा तिनाउ-दानव करिडोरको योजना समावेश गरेका थिए । धेरैले यसलाई महत्वाकांक्षी योजना भन्दै आलोचना गरेका थिए । स्थानीय तह निर्वाचनमा समेत करिडोरले जनतालाई उठिबास लगाउने भन्दै स्थानीयमा प्रचारसमेत गरिएको थियो । योजनामा राजनीति गर्दा निर्माणमा समेत अवरोध भएको थियो । स्थानीयलाई अन्य स्थानमा व्यवस्थापन गरी योजना निरन्तर अघि बढेपछि यसबाट रुपन्देहीलाई पार्ने दीर्घकालीन प्रभावका विषयमा अहिले छलफल हुन थालेको हो ।

हालसम्म करिडोरको पहिलो चरणका ३० प्रतिशत बढी काम भएको छ । पहिलो चरणमा तिनाउ नदीतर्फ साढे ८ किलोमिटर तथा दानव नदीतर्फ ४ किलोमिटर सडक निर्माण गर्न ठेक्का सम्झौता भई काम अघि बढेको छ ।

करिडोरअन्तर्गत नदी उकास क्षेत्रमा ग्याबिन भर्ने, मेशिनरी वाल उठाउने, नाली र कल्भर्ट निर्माणलगायतका काम भएका छन् । २०७७ असोजमा ठेक्का स्वीकृत भएको करिडोरको तिनाउतर्फ पुरानो बसपार्क पछाडिको जिरो प्वाइन्टबाट तिलोत्तमा नगरपालिकाको मगर घाटसम्म र दानवपट्टि बेलबासको झोलुंगे पुलदेखि नयाँ गाउँको पुलसम्म पहिलो चरणको सम्झौता भई काम अघि बढेको थियो ।

तर, स्थानीय तह निर्वाचनअघि सो क्षेत्रबाट विस्थापित हुनेहरुका नाममा भएको राजनीतिक विवादपछि काम रोकिएको छ । डिभिजन सडक कार्यालय बुटवलका अनुसार तिनाउ करिडोरतर्फ पहिलो चरणको काममा ३५ प्रतिशत प्रगति भएको थियो । बुटवलको देवीनगर पुलदेखि मगर घाट पुलसम्म नदीका दुवैतर्फ गरी ३२ हजार घनमिटर जाली लगाउने काम भएको छ । यसैगरी १ किलोमिटर नाली निर्माण भएको छ ।

किराँतेश्वर, मैनाचुली, अविशा जेभीसँग २०७७ असोजमा ३६ महिनामा काम सक्नेगरी ठेक्का सम्झौता भए पनि पहिलो वर्ष कोरोना महामारी तथा साइड क्लियरलगायतका कारणले काम अघि बढ्न सकेन ।

दोस्रो वर्ष भने योजनाको काम सन्तोषजनक रहेको कार्यालयले जनाएको छ । यसैगरी करिडोर क्षेत्रमा भएका बस्ती व्यवस्थापनको समस्या समाधान भएमा यो वर्ष थप ३० प्रतिशत बढी प्रगति हुने अनुमान गरिएको छ ।

यसैगरी दानव नदीतर्फको करिडोर निर्माणका लागि लामा, बानियाँ जेभीसँग ठेक्का सम्झौता भई काम भइरहेको छ । करिडोरको करिब ४ किलोमिटर सडक २ वर्षमा सक्ने गरी २०७७ असोजमा ठेक्का सम्झौता भएको थियो । यो योजनामा पनि ३० प्रतिशत बढी प्रगति भएको डिभिजन सडक कार्यालयको भनाइ छ ।

कार्यालयका अनुसार करिडोर निर्माण गर्न हालसम्म २ किलोमिटर बढी ग्याबिन भर्ने तथा मेशिनरी वाल उठाइएको छ । आधा दर्जन कल्भर्ट निर्माण तथा एक किलोमिटर सडक ग्राभेलको कामसमेत भएको छ । बस्ती व्यवस्थापनलगायतका समस्या हटे यसैवर्ष काम सम्पन्न हुने कार्यालयले जनाएको छ ।

पहिलो चरणमा तिनाउ करिडोरमा ५२ करोड ४६ लाख रुपैयाँ र दानव करिडोरमा १९ करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । तिनाउ नदी किनारमा ३६ महिना र दानव नदी किनारमा २७ महिनामा काम सक्ने सम्झौता छ । करिडोर निर्माणका लागि सडक विभागले विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको थियो । त्यसले ५० किलोमिटर करिडोर निर्माणमा ४ अर्ब १३ करोड रुपैयाँ लाग्ने देखाएको छ ।

२०७७ मंसिर १० गते शिलान्यास गरिएको आयोजना निर्माणपछि बुटवलबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र मर्चबारसम्म जोड्ने बाइपास सडकको रूपमा प्रयोग गर्न सकिनेछ । करिडोरले नदी कटानलाई समेत रोक्नेछ ।

बुटवलतर्फ तिनाउ करिडोरले सबैभन्दा धेरै क्षेत्र ओगटेको वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री विगतमा तिनाउ दानव करिडोर पीडित संघर्ष समितिका नाममा केही दलको आन्दोलनले आयोजना पछाडि धकेलिएको बताए । कोरिडोर निर्माणपछि अतिक्रमण हुँदै आएको तिनाउ नदीको उकास क्षेत्र जोगिने र नदीको बहाव क्षेत्र सुरक्षित हुने वडा अध्यक्ष क्षेत्रीको विश्वास छ ।

पूर्वअर्थमन्त्री तथा रुपन्देही क्षेत्र नं २ का उम्मेदवार विष्णु पौडेलले विस्थापित हुनेहरुको व्यवस्थापन गरेरमात्रै करिडोरलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । ‘यो योजना सुरु गर्दा नै हामीले प्रस्ट भनेका छौं, यहाँबाट विस्थापित हुने कुनै पनि व्यक्तिको व्यवस्थापन नगरी योजना अघि बढ्नेछैन, कसैलाई घरबारविहीन बनाएर अलपत्र पारिनेछैन । तर, केही राजनीतिक रंग दिएर योजना रोक्न खोजियो, विकास कसैले एकछिनको स्वार्थमा रोक्न खोजेर रोकिने होइन’, पौडेलले भने ।

गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले पनि तिनाउ र दानव नदीको संरक्षण गरेर करिडोरको विकास गर्ने र त्योभन्दा पहिले त्यो क्षेत्रमा रहेका स्थानीयको व्यवस्थापन गर्ने बताएका छन् ।

‘तिनाउ-दानव करिडोर विकासको महत्वपूर्ण आयोजना हो, यसले रुपन्देहीको उत्तरदेखि दक्षिणसम्मलाई व्यवस्थापन गर्छ । तर, योभन्दा अघि करिडोर क्षेत्रका नागरिकको व्यवस्थापन हाम्रो दायित्व हो, स्थानीयलाई विस्थापित बनाएर कुनै योजना अघि बढ्दैन’, खाणले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *