लुम्बिनीमा चुनावकेन्द्रित प्रादेशिक सुरक्षा गोष्ठी
रुपन्देही । आसन्न निर्वाचनको सुरक्षा तयारीका लागि लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी बुटवलमा सुरू भएको छ । गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यतामा जारी गोष्ठीमा प्रादेशिक चुनावी रणनीतिबारे छलफल हुने बताइएको छ । कार्यक्रममा १२ जिल्लाका सीडीओ, सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् । उनीहरूले जिल्लाजिल्लाको सुरक्षा अवस्थाबारे रिपोर्टिङ गर्ने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री खाणले राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय सबैको समन्वयमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने बताए । नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताउँदै उनले नागरिकको सुरक्षा र सम्पत्तिको रक्षाका लागि सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गरे । २४ सै घण्टा खटिने सुरक्षा निकायलाई उनले धन्यवाद दिए ।
गोष्ठीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, कानूनमन्त्री तिलकराम शर्मालगायत सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् ।