विरोधको दाबी : मलाई र माधव नेपाललाई हराउन ओलीले १० करोड दिएर मान्छे पठाएका छन् – Nepal Press

विरोधको दाबी : मलाई र माधव नेपाललाई हराउन ओलीले १० करोड दिएर मान्छे पठाएका छन्

हेटौँडा । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवम् गठबन्धनको तर्फबाट मकवानपुर-२ का उम्मेदवार बिरोध खतिवडाले आफू र माधव नेपाललाई हराउन केपी शर्मा ओलीले १० करोड दिएर मान्छे खटाएको दाबी गरेका छन् ।

मकवानपुरको हेटौँडामा भएको कार्यक्रममा बोल्दै खतिवडाले आफूलाई हराउन केही व्यक्तिहरु केपी ओलीले पठाएको पैसा बोकेर परिचालन भएको सूचना आफूले पाएको बताए । ‘विरोध र माधवलाई जसरी पनि यो चुनावबाट हराउनुपर्छ भनेर केही मान्छे लागिपरेको सुनेको छु ।’, खतिवडाले भने, ‘एमालेका अध्यक्ष केपी ओलीबाट दश करोड रुपैंया बुझेर केही मान्छे मलाई हराउन लागेका छन् अरे ।’ खतिवडाले आफूलाई हराउने एमाले अध्यक्ष ओली जति पनि खर्च गर्न तयार छन् भन्ने सुन्नमा आएको बताए । ‘पैसा बुझेर हराउँन लागेकाहरु मेरा गोप्य कुरा तथा कमजोरी पत्ता लगाउन खटिएका छन् भन्ने सुनेको छु ।’ खतिवडाले भने ।

खतिवडाले मकवानपुरमा आफूहरु गठबन्धनका उम्मेदवार रहेकाले कांग्रेस, माओवादीका मतदाताहरुलाई भ्रममा नपर्न आग्रह गरे । ‘कतै कांग्रेस त कतै माओवादी केन्द्रबाट उम्मेदवार छैनन् भनेर भ्रमहरु छरिएको छ ।’ खतिवडाको भनाई छ, ‘हामी शेरबहादुर, प्रचण्ड र माधव नेपालको नेतृत्वमा बनेको गठबन्धनको साझा उम्मेदवार हौं ।’

खतिवडाले मकवानपुरमा एमालेबाट जितेका करिब आधा दर्जन वडाध्यक्षहरुले आफूलाई सहयोग गर्न लागेको दाबीसमेत गरे ।’ खतिवडाले भने, ‘उनीहरुको नाम भनौं भने अरिङ्गालले मुख सुन्निने गरी हान्लान् ।’ खतिवडाले ती वडाध्यक्षहरुको नाम अहिले भन्दा उनीहरुमाथि असुरक्षा हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर