हिमेश पन्तलाई प्रश्नः कलाकारितामा भविष्य नदेखेर राजनीतिमा हाम फाल्नुभएको हो ? – Nepal Press

हिमेश पन्तलाई प्रश्नः कलाकारितामा भविष्य नदेखेर राजनीतिमा हाम फाल्नुभएको हो ?

काठमाडौं । आसन्न प्रतिनिधिसभा चुनावमा धादिङ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका छन् स्ट्यान्ड अप कमेडियन हिमेश पन्त । टीभी रियालिटी शो कमेडी च्याम्पियनको पहिलो संस्करणका विजेता एकाएक राजनीतिक मैदानमा हाम फाल्नु धेरैका लागि सरप्राइज बन्यो ।

राजनीतिक अनुभव नै नभएका हिमेशलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदको टिकट दिएको हो । यसलाई लिएर उनीमाथि अनेक टीकाटिप्पणी र ट्रोलहरु भइरहेका छन् । तर, यसबाट निरुत्साहित छैनन् हिमेश । नेताहरुले संसदमा कमेडी गर्न थालेपछि आफू कमेडीबाट राजनीतिमा आउनुपरेको उनी बताउँछन् ।

चुनावी मैदानमा उत्रिएका हिमेशले जनतासँग के भनेर भोट मागिरहेका छन् ? के अब उनी दीर्घकालीन रुपमा नै राजनीतिमा प्रवेश गरेका हुन् ? चुनाव जित्ने आशा उनलाई कति छ ? प्रस्तुत छ, रसायनशास्त्रमा डिग्री अध्ययनरत हिमेशसँग गरिएको संवाद नेपाल टकमाः

– कलाकारितामा भविष्य नदेखेर राजनीतिमा हाम फाल्नुभएको हो ?

म कलाकारिता क्षेत्रमा भविष्य नदेखेर होइन, देशको भविष्य नदेखेर चाहिँ राजनीतिमा हाम फालेको हो । देशको भविष्य रहे न कलाकारिता क्षेत्रको भविष्य रहन्छ । मेरो कलाकारितामा किन भविष्य नहुने हो र ? म त चलचित्र पनि गरिराखेको मान्छे हो । अफर पनि आइरहेकै छ । राजनीतिमा एकदमै चासो राख्ने मान्छे भएकाले जब राजनीतिक विकृति देख्छु तब मनमा एक किसिमको चिन्ता पैदा हुन्छ । हाम्रा देशका नेताहरु कुर्सीमा बसेर कमेडी गर्ने, तर काम चाहिँ फिटिक्कै नगर्ने । त्यही भएर देशको लागि म केही गर्न सक्छु कि अथवा मैले केही योगदान दिन सक्छु कि भनेर राजनीतिमा हाम फालेको हो ।

– राजनीतिमा लागेपछि त तपाईंको कलाकारिताका पसल सुक्ला नि ?

त्यस्तो हुँदैन । बाहिरतिरका व्यक्तित्वहरुलाई नै एकचोटि नियालौं न । थुप्रै व्यक्तित्वहरु हुनुहुन्छ, जो कलाकारिता क्षेत्रमा लागेर पनि राजनीतिमा सक्रिय हुनुहुन्छ । आफूले मिलाउने हो । एक त यो स्थानीय निकायको चुनाव होइन । स्थानीय निकायको चुनाव भए त्यो क्षेत्रमा पूरै भिजेर स-सानो कुरामा काम गर्नुपर्थ्यो । यो भनेको अलि माथिल्लोस्तरको वा भनौं संसदीय चुनाव हो । त्यसैले कलाकारिताको पाटोमा त्यति ठूलो असर नपर्ला ।

हामी पढेलेखेका मान्छे पनि हौं । कसरी राजनीति गर्नुपर्छ भन्ने हामी बुझ्छौं ।

– राष्ट्रिय स्वतन्त्र पार्टी नै किन रोज्नुभयो ?

अरु कुनै पनि पार्टीमा दम नदेखेर । पार्टी भन्ने अनि केही काम नगर्ने । देशमा के भइरहेको छ भन्ने कुरामा केही ध्यानै छैन । देशको समस्या एकातिर छ, पार्टीका नेता अर्कोतिर । त्यसैले म पनि त्यही बाटोमा लाग्नुहुन्न भन्ने लाग्यो । हामी पढेलेखेका मान्छे पनि हौं । कसरी राजनीति गर्नुपर्छ भन्ने हामी बुझ्छौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा सुनेर नीतिहरु पढेपछि मलाई यतै लागेर केही गर्नुपर्छ भन्ने लागेको हो ।

– चुनावमा जमानत जोगाउन सक्नुहोला कि जीतकै आशा छ ?

अवश्य पनि जित्ने भनेर नै लागेको हो । मैले उम्मेदवारी घोषणा गरिसकेपछि धादिङको पार्टीमा लाग्नुभएका थुप्रै व्यक्तिहरुले तपाईंलाई हामी सपोर्ट गर्छौं भन्दै मलाई कल गरिरहनुभएको छ । सधैं एउटै नेतालाई उठाएकोबारे उहाँहरुको गुनासो छ । तपाईंलाई भेट्छौं, तपाईलाई बुझ्छौं र तपाईंको विचार मनपर्‍यो भने भोट हाल्न तयार छौं भनेर पार्टीकै मान्छेहरुबाट कल आइरहेको छ । यस्तो हुँदाखेरी स्वतन्त्रको मान्छेले त भोट हाल्ने नै भए । सँगसँगै पार्टीका मान्छेको पनि सपोर्ट हुने भयो । त्यसैले जित्ने सम्भावना उच्च छ ।

– राजनीतिमा अलि पछि लाग्छु भन्नुहुन्थ्यो । एक्कासि कहाँबाट जोस चल्यो ?

अलि पछि नै लाग्छु भन्ने सोच थियो । यसपालि चुनाव आइराख्दा मेरो मनमा धादिङवासीको लागि केही गर्ने मौका यही हो भने जस्तो लाग्यो । कुनै दिन राजनीतिमा आउँछु नै भन्ने थियो । अहिले नै सही समय हो जस्तो लाग्यो ।

– चुनाव लड्न धेरै खर्च लाग्छ भन्छन् । कति पैसा जम्मा गर्नुभएको छ ?

हामी मतदातालाई पैसा बाँड्ने, मासुभात ख्वाउने, पेट्रोल हाल्दिने जस्ता कार्यहरु गर्दैनौं । बरु चुनाव हारोस्, त्यसमा केही दुःख भएन । तर, पैसा ख्वाउने काम गरिँदैन । मैले चुनावमा उम्मेदवारी दिनु नै युवाहरुलाई एक किसिमको ऊर्जा मिलोस् भनेर हो । बरु पैसा उठाउँछौं । जनताले हामीलाई सहयोग गर्छन्, हामी विकासतर्फ लम्कन्छौं । तर, पैसा खर्च गर्दैनौं ।

कमेडी नेताहरुले गरेका हुन् । म कमेडीबाट सिरियस हुनुपर्ने क्षेत्रमा आएको हो ।

– तपाईंले चुनाव लड्नेभन्दा धेरैले ट्रोल पनि गरिरहेका छन् नि ! उनीहरुलाई के भन्न चाहनुहुन्छ ?

मैले मेरो उम्मेदवारी घोषणा गरिसकेपछि धेरैले यो चाहिँ एकदमै ठूलो कमेडी भो भनेर कमेन्टहरु गर्नुभएको थियो । मैले पनि देखेको थिएँ । मैले मेरो उम्मेदवारी घोषणा गर्नु र चुनावमा लड्नु कमेडी हो भने नेताहरुले संसदभित्र गरेको चाहिँ के हो ? मलाई नेताहरुले संसदभित्र जे गरिरहेका छन्, त्यो कमेडी हो जस्तो लाग्छ । संसद भवनभित्र नेताले कमेडी गरे, म सिरियसली लाग्छु । कमेडी नेताहरुले गरेका हुन् । म कमेडीबाट सिरियस हुनुपर्ने क्षेत्रमा आएको हो । जहाँ काम गर्नुपर्छ, विकास गर्नुपर्छ ।

– तपाईंलाई धेरैले मजाकमा उडाइरहेका छन्, चुनावमा भोट हाल्ने वेलामा पनि मजाक नै उडाए भने ?

त्यो सम्भावना धेरै कम छ । म हावा तालमा आएको भए, मसँग कुनै प्लान नभएको भए र मसँग केही ज्ञान नभएको भए मलाई हावामा उडाउन मिल्थ्यो । म भनेको उचित योजनासहित आएको मान्छे हो । धादिङ क्षेत्र नम्बर १ भनेको म जन्मेको ठाउँ हो । म आफू जन्मेको ठाउँलाई कसरी विकास गर्न सकिन्छ भनेर पूरै तयारीका साथ आएको हो । त्यसैले यहाँका जनताले मलाई हावामा नै चाहिँ नउडाउनु होला ।

– कमेडी च्याम्पियनमा जनताको भोटले जितेको भएर चुनाव लड्ने आँट गर्नुभएको हो कि ?

त्यस्तो हैन । कमेडी च्याम्पियनमा आउने भोट भनेको सारा देशबाट प्रतिनिधित्व गरेर आउने भोट हो । चुनावमा आउने भोट भनेको निश्चित क्षेत्रबाट हो । धादिङको पनि एक निश्चित एरियाबाट मात्र । कमेडी च्याम्पियन भनेको कुनै व्यक्तिको करिअर बनाउने कुरा हो भने राजनीति भनेको देश बनाउने कुरा हो । त्यसैले यो बिलकुलै फरक पाटो हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर