नाकाबन्दी र अतिक्रमित भूमि फिर्तामा दृढ अडान राख्ने एमालेमात्रै : ईश्वर पोखरेल (भिडिओ)
काठमाडौं । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छिमिकी मुलुक भारतले लगाएको नाकाबन्दी र अतिक्रमित भूमि फिर्ता लिने सन्दर्भमा दृढ अडान राख्ने एमाले मात्रै भएको दाबी गरेका छन् ।
काठमाडौं ५ बाट आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै उनले देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै भएको बताए ।
उनले भने, ‘कुनै पार्टीहरू राजनीतिक स्थायित्वका लागि उभ्याउन सकेको छैन । राजनीतिक स्थायित्व आर्थिक विकास र समृद्धिको लागि आवश्यक छ । छिमेकीले नाकाबन्दी लगाएको बेलामा र आफ्नो भूमि फिर्ता लिने सन्दर्भमा एमालेबाहेक अरु कुनै पार्टीले दृढ अडान लिन सकेनन् । नागरिकताको सवाल पनि जोडिएर आएको छ ।’
उनले नेपाली नागरिकले आमाको नामबाट पनि नागरिकता पाउनुपर्छ भन्नेमा एमाले रहेको बताए ।
उनले थपे, ‘अंगीकृत नागरिकताको सन्दर्भमा हामीले सर्तकता अपनाउनुपर्छ । हामीले ठीक ढंगबाट अडान लिन सकेनौँ भने हाम्रो स्वाभिमान, अस्तित्व र स्वतन्त्रतामाथि समेत आँच पुग्नसक्छ ।’