प्रधानमन्त्री कप क्रिकेटः लगातार तेस्रो जित निकाल्दै पुलिस सेमिफाइनल नजिक – Nepal Press

प्रधानमन्त्री कप क्रिकेटः लगातार तेस्रो जित निकाल्दै पुलिस सेमिफाइनल नजिक

काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा बिहीबार लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै पुलिसले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो ।

लुम्बिनीले दिएको १ सय ८९ रनको लक्ष्य पुलिसले ३७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । पुलिसका कप्तान दिपेन्द्रसिंह ऐरीले अविजित ४३ रनको इनिङ खेले । उनले ६६ बलमा चार चौका प्रहार गरे ।

ओपनर सुनिल धमला ३६ रनमा आउट हुँदा कुशल भुर्तेलले ३२ रनको योगदान गरे । यस्तै, अमित श्रेष्ठ २८ रनमा पभेलियन फर्किए । भने आरिफ शेखले ३५ रन जोडे ।

लुम्बिनीका लागि बलिङमा अनिल खरेलले २ विकेट लिए । मोहमद हुसेन र दुर्गेश गुप्ताले समान एक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७४ रनको योगदान गरे । विशाल विक्रम केसीले ३० रन र प्रज्वल थापा २३ रनमा पभेलियन फर्कँदा, दुर्गेश गुप्ता र मोहमद हुसेनले समान ११ रनको योगदान गरे । लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिसको बलिङमा दिपेन्द्रले सर्वाधिक ४ विकेट लिए । सागर ढकाल र करण केसीले समान २ र गुल्सन झा र ललित राजवंशीले १/१ विकेट लिए ।

समूह बीमा लगातार तीन जित निकालेको पुलिस ६ अंकसहित शीर्ष स्थानमा छ । यस्तै लुम्बिनी २ अंकसहित दोस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *