देउवा : आधुनिक धृतराष्ट्र – Nepal Press

देउवा : आधुनिक धृतराष्ट्र

नेतृत्व दुई किसिमको हुन्छ- (१) प्रत्युत्पन्न मतीको खारिएको नेतृत्व र (२) सुस्तमनस्थितिको थुपारिएको नेतृत्व । एक पटकमात्र प्रधानमन्त्री भएका विश्वेश्वरप्रसाद कोइराला र मन्त्री पनि नभएका मदन भण्डारी पहिलो खालका नेता हुन् भने पटक-पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवा दोस्रो खालका नेता हुन् ।

पदको ओइरो र राष्ट्ररक्षा फरक-फरक कुराहरु हुन् । अपायक आँखा र अपायक बुद्धिका धृतराष्ट्र हस्तिनापुर साम्राज्यका राजा भए । भीष्म पितामह जो राजा भएनन् । तर, उनले चार-चार पुस्ताका राजाहरुलाई माथ खुवाउँदै देशका निम्ति देन दिए । भीष्म पितामह, जसले पिता सन्तनु, भाइहरु चित्राङ्गद र विचित्रविर्य, भतिजाहरु पाण्डु र धृतराष्ट्रको शासनकालमा मातृराष्ट्रको रक्षा गरे । तर, उनी राजा भएनन् । धृतराष्ट्र जसले उचो ओहोदामा रहेर पनि पारिवारिक कलह, देशको विभाजन र महायुद्ध निम्त्याउने जस्ता ओछा कामहरु गरे । प्रधानमन्त्री शेरबहादुर देउवा पनि आधुनिक धृतराष्ट्र नै हुन् । २०५१ सालदेखि देउवाको भूमिका मातृभूमि नेपालको विरुद्धमा रहेको छ । विगत ३ दशक यता नेपालको बर्बादीको एक हिस्सा नै देउवा रहेका छन् ।

हेर्दा सोझो र शालीन देखिने देउवाले नेपाललाई पारेको क्षति र बर्बादी गम्भीर प्रकृतिका छन्, जो यसप्रकार छन्ः-

गिरिजाप्रसाद कोइरालामाथिको घात

२०४६ सालको जनआन्दोलनमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको जनस्तरमा बढेको लोकप्रियता भारतलाई रुचेको र पचेको थिएन । एमाले र कांग्रेसको सहकार्य पनि भारतलाई मन परेको थिएन । नेपालमा सहकार्य, सहमति, विकास निर्माण, गृह निर्माण र समृद्धि अभियान केन्द्रित राजनीतिले स्थान पाउँदा हस्तक्षेपको राजनीतिले ठाउँ पाउँदैन भन्ने कुरा भारतीय संस्थापनलाई भलिभाँती थाहा थियो । कांग्रेसका नेतात्रय गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई पनि मिल्न दिइएन । नेतात्रयलाई कमजोर पार्न कांग्रेस र पञ्चलाई मिलाउने, कांग्रेसबाट एमालेको अपमान गराउने र सांघातिक हमला गराउने खेल सुरु भयो ।

२०५१ सालदेखि देउवाको भूमिका मातृभूमि नेपालको विरुद्धमा रहेको छ । विगत ३ दशक यता नेपालको बर्बादीको एक हिस्सा नै देउवा रहेका छन् ।

परिस्थिति यस्तो आयो कि कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी जस्ता कांग्रेस र एमाले दुबैतर्फका वयोवृद्ध नेताहरुलाई प्रतिनिधिमा सहज प्रवेशको लागि कम्तिमा १० स्थानमा एमाले र कांग्रेसबीच चुनावी तालमेलको प्रस्ताव राख्ने मदन भण्डारीले नै उत्कर्षकालको नेपाली कांग्रेसको विजयोन्मादको नसा उतार्न कृष्णप्रसाद भट्टराईलाई नै चुनावमा धूलो चटाउनु पर्ने भयो । भारत कृष्णप्रसाद भट्टराईलाई किनारा लगाएरमात्र सन्तुष्ट थिएन । भारतीय संस्थापनले अब गिरिजाप्रसाद कोइरालाको स्थिर सरकारले नेपालको पोल्टामा पार्ने सौभाग्यलाई बिथोल्नु थियो । २०४८ सालमा स्पष्ट बहुमतका साथ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि भैंसीको मासु सिङको अचानो गरी आफ्नो काम फत्ते गर्न निपूर्ण भारतीय संस्थापन गिरिजाप्रसाद कोइरालाको खुर ताछ्ने जहाजी मुसाको खोजीमा लाग्यो । जीवनगुरु गिरिजाप्रसाद कोइरालाले भरपुर विश्वास गरेर गृहमन्त्रीको महत्वपूर्ण जिम्मेवारी दिएर एकाएक माथि उठाएका शेरबहादुर देउवाले नै गुरुघाती भएर छत्तीसे गुटको सृष्टि गरे ।

२०५१ साल असारमा प्रतिनिधिसभाबाट गिरिजाप्रसाद कोइरालाको राजीनामा माग्ने तत्कालीन छत्तीसे सांसद देवराज जोशीलाई देउवाले २८ वर्षपछि सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख नियुक्त गर्नु संयोगमात्र होइन । यसरी २०५१ सालमा गिरिजाप्रसाद कोइरालाको सरकार ढाल्नबाट सुरु भएको देउवाको धृतराष्ट्र अवतारले कांग्रेस पार्टी, लोकतान्त्रिक व्यवस्था, लोकतन्त्र, सहकार्यको राजनीति, गृह निर्माणको सपना सबैमाथि अन्याय गरेको छ र बर्बादीमात्र थोपरेको छ ।

मनमोहन सरकारको विस्थापन

२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको लोकप्रिय सरकार ढाल्न शक्तिकेन्द्रहरुले कांग्रेस र राप्रपालाई मिलाए र देउवाको आविष्कार गरे । कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई देखिनसहने दरबारको एकखेमासमेत डा. आरजु राणासँग देउवाको लगनगाँठो कसिएपछि कांग्रेसप्रति अनुकूल भयो । अझ कोइराला खेमाले शेरबहादुर देउवालाई कांग्रेसका कम पशुपति शमशेर, प्रतिमा राणाहरुका बढी देख्न थाल्यो । यसरी एक योजनाहीन र सपनाशून्य महत्वाकांक्षी आधुनिक धृतराष्ट्रका रुपमा देउवालाई थपना गरिएपछि मनमोहन अधिकारीले थालेको नेपालको गृह निर्माण महायज्ञ बिथोलिएको थियो ।

सांसद खरिदबिक्रीको राजनीति

बीपी, पुष्पलाल, मोहनविक्रम सिंहदेखि मदन भण्डारीसम्म नेपाली राजनीतिको महत्वपूर्ण पाटोको अध्ययन संस्कृति र सादा जीवनको जरो उखेलेर धनमुखी राजनीतिको सुरुवात देउवाको कुर्सी केन्द्रित राजनीतिले गरायो । सांसद जस्तो मानको हकदार माननीयलाई खरिद गरेर बदनाम पार्नमा देउवाले राखेको कीर्तिमान कसैले तोड्न सकेको छैन ।

जीवनगुरु गिरिजाप्रसाद कोइरालाले भरपुर विश्वास गरेर गृहमन्त्रीको महत्वपूर्ण जिम्मेवारी दिएर एकाएक माथि उठाएका शेरबहादुर देउवाले नै गुरुघाती भएर छत्तीसे गुटको सृष्टि गरे ।

राजनीतिको सुन्दरता निष्ठामा अडिएको हुन्छ । नेपालको राजनीतिलाई कुरुप, धनमुखी, जनविरोधी, घृणित र प्रदूषित पार्नमा देउवाको धृतराष्ट्र अवतार जिम्मेवार छ र जडको रुपमा रहेको छ ।

गृहयुद्धको आगोमा घ्यु

गृहयुद्धको आगोमा देउवाले थपेको घ्यू अक्षम्य प्रकारको छ । केपी ओली नौ महिना गृहमन्त्री बन्दा एकजना नेपाली नागरिकले पनि प्रहरीको गोली लागेर अकालमा ज्यान गुमाउनु परेन । देउवाले आफ्नो तीन वर्षे गृहमन्त्री कालमा ६ दर्जन बढी नागरिकको ज्यान लिएका थिए । आफ्नो खुनी अनुहार छोप्न प्रहरीले धनजनको सुरक्षा गर्न गोली चलाएको र गोलीको आँखा नभएकाले मानिसलाई लागेको अनुत्तरदायी जवाफ दिएकाले गोलीको आँखा हुँदैन भन्ने डक्ट्रिन देउवाको हो ।

देउवा खुनी चरित्रको सिको गर्दै र उछिन्दै कांग्रेसका गृहयुद्धकालीन गृहमन्त्रीहरु खुमबहादुर खड्का र गोविन्दराज जोशीहरुले माओवादी जनयुद्धको सघन प्रभाव रहेका बस्तीमा राज्य आतंक, दमनचक्र कत्लेआमको नीति लिएर गृहयुद्धको आगोमा पेट्रोल छर्किए । आज शेरबहादुर देउवा र पुष्पकमल दाहाल ज्यानी दुश्मनबाट जिक्री दोस्त बने ठीकै छ । भेटघाटमा कालो चियामात्र चल्नुपर्ने हो । तर, लाज पचाएर एउटै टेबलमा कुखुराका साप्रा हसुर्नु आफूहरुका कारण अकालमा ज्यान गुमाएका १८ हजार सहदेशवासीमाथि धोका हो र गद्दारी हो ।

दरबारसँगको लसपस

कांग्रेसी कलह, एमालेको विभाजन र गृहयुद्धको धमिलोमा पुनरुत्थानको दाऊ हेरिरहेको दरबारको पाता कस्न चाहिने सबल र एकताबद्ध राजनीतिक दलको महत्वबोध आधुनिक धृतराष्ट्रको बुत्ता बाहिरको कुरा हो । २०५६ सालमा कांग्रेसले एकल बहुमत पाएर कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो । अस्थिरतावादी सार बोकेको भूमिगत राजनीतिको लाभामाथि उभिएको भट्टराई सरकार स्थिर रहने कुरै थिएन । किनकि प्रभुहरुले गोटीको रुपमा आधुनिक धृतराष्ट्रलाई जगेडामा राखेका थिए । कोइराला र भट्टराईलाई भिडाएर सत्तामा आएका देउवाको बफादारिता दरबारप्रति देखियो । किनकि पदमा टाक्सिरहन जे पनि गर्न तयार हुने देउवाको धृतराष्ट्र प्रवृत्तिलाई भ¥याङ बनाएर प्रतिगमन सम्भव भएको थियो ।

सांसद जस्तो मानको हकदार माननीयलाई खरिद गरेर बदनाम पार्नमा देउवाले राखेको कीर्तिमान कसैले तोड्न सकेको छैन ।

लिम्पियाधुराको देशद्रोह

दुईतिहाइ बहुमतको प्रधानमन्त्री बीपीमाथि २०१७ सालमा गरिएको ज्यादतीको संवेदना उछालेर उठेको र टिकेको पार्टी नेपाली कांग्रेसले दुईतिहाइ बहुमतका अर्का प्रधानमन्त्री केपीको विस्थापनको मोहोरा बनेर कलंक कमाएको छ । देउवा जस्तो आधुनिक धृतराष्ट्रलाई कांग्रेसको सभापतिको कुर्सीमा थोपरेरमात्र विश्व व्यवस्था र भूराजनीतिक दाउपेचका खेलाडीले एमालेविरुद्धको यो कपट टास्क झत्ते गरेका छन् । लिम्पियाधुरामाथिको साहसी, सार्थक र न्यायपूर्ण हकदाबी र उक्त भूमि समेटिएको नक्सा र निशाना छापको प्रकाशनसँगै ओली सरकारको दिनगिन्ती सुरु भैसकेको थियो । एमालेले हरहर नेपाली जनता गर्नु थियो, हरहर मोदी गर्नु थिएन । उक्त कदममा सुरुमा बाध्यताले साथ दिएका देउवा लिम्पियाधुरा मुद्दामा देशद्रोही कित्तामा उभिए । जयसिंह धामीको हत्यामा कम्फरटेबल सरकार मौन छ । देशलाई स्वाभीमानको मेरुदण्ड दिनुको सट्टा आधुनिक धृतराष्ट्रको जोडबल जसरी पनि सत्तामा टाक्सिनु रहेको छ ।

लैनचौरतन्त्रको सेवा

देउवाको आविस्कार नै लैनचौरतन्त्रलाई शक्तिशाली बनाउन गरिएको हो । एमाले र कांग्रेसको सहकार्यमा नेपाल बन्ने देखेरै कांग्रेसलाई एमालेसँग सहकार्य नगर्ने भाकाकबोल गराएको छ । जुन एमालेले छानी-छानी माओवादीहरुले कांग्रेसजनको घाँटी रेट्दा विरोध जनायो, जुन एमालेले काँध थापेर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, सुशील कोइरालालाई दुःखका घडीमा साथ दिएर उठायो र राजादेखि प्रचण्डसम्मले इर्ष्या गर्ने खालका बनायो, जुन एमालेसँग देश बनाउने, बचाउने योजना, सपना, हुटहुटी र सामथ्र्य छ त्यही एमालेसँग सहकार्य नगर्नु धृतराष्ट्रको जस्तै विनाशकाले विपरीत बुद्धि हो । हिसाबकिताबसहितको अरुको उक्साहटमा कांग्रेसले सहकार्यको राजनीतिमा पूर्णविराम लगाएको छ । किनकि यो देशको शक्ति ऐंठनको ठेक्का कांग्रेसले पाएको छ ।

कांग्रेसलाई नेपाली जनताको आत्मबल, औकात, शस्त्रबल र शास्त्रबलमा विश्वास छैन । नेपाली जातिको हिम्मत बलको भण्डारको भेउ पाउनु कांग्रेस जस्तो दण्डवत आसनमा रमाउने र मोदीको चरण चुम्बन गर्ने पार्टीको बुताको कुरा होइन । अझ देउवा कालको ईख नभएको कठपुतली कांग्रेसलाई नेपाली जनताको सर्वाेच्चता र सर्वाेपरितामा विश्वास छैन ।

एमाले कोतवर्प, भण्डारखाल पर्व, नेपाल-युद्ध हुँदै भारतको स्वतन्त्रता, २००७ साल, २०४६ साल र २०६२/६३ को परिवर्तनमा अनावश्यक चलखेल गर्दै आएको लैनचौरतन्त्रबाट नेपाललाई मुक्त गर्न चाहन्छ । कुर्सीबाहेक केही नदेख्ने देउवाकालीन कांग्रेस लोकतन्त्रलाई कमजोर र लैनचौरतन्त्रलाई मजबुत पार्न घुँडा धसेर, कम्मर कसेर लागेकाले यो चुनावी संग्राममा जनदण्डको भागीदार बन्दैछ । धृतराष्ट्रको मन्दबुद्धिका कारण कौरवहरुको सर्वनाश भए जस्तै आधुनिक धृतराष्ट्र देउवाको पदलोलुपताका कारण कांग्रेस पतनको मुखमा पर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *