राष्ट्रवादको विषयमा ओलीजी आमसभामा ठूला कुरा गर्नुहुन्छ, सम्बन्धित ठाउँमा चुइँक्क बोल्नुहुन्न : महत (भिडिओ) – Nepal Press

राष्ट्रवादको विषयमा ओलीजी आमसभामा ठूला कुरा गर्नुहुन्छ, सम्बन्धित ठाउँमा चुइँक्क बोल्नुहुन्न : महत (भिडिओ)

‘एमालेको पालाको काण्डैकाण्ड रोकेर देउवाजीले भटाभट काम गर्नुभयो'

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस धेरै नबोली काम गर्ने पार्टी भएको बताएका छन् ।

खेलकुद क्षेत्र लुम्बिनी प्रदेशस्तरीय समन्वय प्रचार-प्रसार उपसमितिको कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले काम केही नगरी गफमात्रै गरेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘माओवादी र माधव नेपालसहित दुईतिहाइ नजिक बहुमत गत निर्वाचनमा उहाँले पाउनुभएको थियो । ओलीजीले ठूलाठूला कुरा गर्नुभयो । हसाउनु पनि भयो उखान टुक्का हालेर । तर, कांग्रेस नेतृत्व बोल्दैन काम गर्छ ।’

साढे तीन वर्षसम्म ओलीले कुरामात्रै गरेको आरोप लगाए । ओलीको दम्भकै कारणले पहिलेको अवस्था आएको बताए ।

ओलीलाई कटाक्ष गर्दै महतले भने, ‘काठमाडौंमा दुई वर्षमा रेल ल्याउँछु । पानी जहाज ल्याउँछु भनेर कार्यालयको उद्घाटन गर्नुभयो । कहाँबाट ल्याउने हो ? घरघरमा ग्यास ल्याउँछु भन्नुभयो । देउवाजी ५ मिनेटभन्दा बोल्नुहुन्न । आमसभामा त ३ मिनेटमात्रै बोल्नुहुन्छ । तर, उहाँ काम भटाभट गर्नुहुन्छ ।’

कांग्रेसले बहुमत ल्याएर पाँच वर्ष देशको नेतृत्व गर्ने उनको दाबी छ । ओलीले राष्ट्रवादको झूटो कुरा गरेर जनतालाई झुक्काएको महतको टिप्पणी गरे ।

उनले भने, ‘राष्ट्रवादको विषयमा उहाँले ठूलो कुरा गर्नुहुन्छ । सम्बन्धित बोल्नुपर्ने ठाउँमा वार्तामा चुइँक्क बोल्नुहुन्न । तर, आमसभामा भने ठूला कुरा गर्नुहुन्छ । हामीले त राख्नुपर्ने ठाउँमा कुरा राखेका छौँ नि । अहिले दार्चुलातिर जानुभएको छ ।’

ओली नेतृत्वको सरकारको पालामा भएको काण्डैकाण्डै आफूहरूले रोकेको बताए । कांग्रेस नेतृत्वमा स्थिर सरकार बनेपछि देशमा समृद्धि आउने उनको भनाइ छ । उनले गठबन्धन दलहरूले कांग्रेसले भनेका धेरै कुरालाई स्वीकार गर्ने बनाइसकेको समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर