धमलाकाे कार्यक्रममा हमला : रूपन्देही-४ काे चुनावी बहसमा एकजना घाइते (भिडिओ) – Nepal Press

धमलाकाे कार्यक्रममा हमला : रूपन्देही-४ काे चुनावी बहसमा एकजना घाइते (भिडिओ)

रूपन्देही । रुपन्देही क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार प्रमोद यादवले एमाले नेतृत्वको सरकारले गरेका विकास निर्माणका काम आफ्नो पहलमा भएको भनेपछि स्थानीयले झुटो बोलेको भन्दै हुटिङ गर्दा लफडा भएको छ । सो घटनामा एक जना घाइते भएका छन् ।

मर्चवारमा शुक्रबार ऋषि धमलाले क्षेत्र नं. ४ का ४ जना उम्मेदवार राखेर गरेको चुनावी बहसमा कांग्रेस उम्मेदवार यादवले बेलबास–बेथरी–मर्चवार सडक, झुलनीपुर–सिपवा सडक र विभिन्न विद्यालयमा वजेट आफ्नो पहलमा पारेको भनेपछि स्थानीयले विरोध गर्दै हुटिङ गरेका थिए ।

प्रमोद यादव पहिलो चरणमा बोल्ने क्रममै झुठो कुरा भन्दै हुटिङ भएको थियो । केपी ओली नेतृत्वको सरकारले १६५ वटै निर्वाचन क्षेत्रमा सडक विस्तार गर्ने कार्यक्रमअन्तर्गत बनेका सडकलाई प्रमोद यादवले आफूले बजेट पारेको भनेपछि लफडा भएको स्थानीयको भनाई छ ।

भिडिओ

प्रमोदपछि जसपा एमाले र राप्रपाका साझा उम्मेदवार ओमप्रकाश यादव गुल्जारीले बोल्ने क्रममा बेथरी–मर्चवार र झुलनीपुर–सिपवा सडकलाई एमाले सरकारको पालामा वजेट परेको, तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल आएर शिलान्यास गरेको बताएका थिए । गुल्जारीको कुरामा अर्का उम्मेदवार लोसपाका सर्वेन्द्रनाथ शुक्ला र जनमत पार्टीका भोपेन्द्र यादव र स्थानीयले समर्थन जनाएका थिए । दोस्रो चरणमा बोल्ने पालोमा पनि प्रमोदले अरुको सरकारको पालामा भएका काम आफ्नो पहलमा भएको भनेपछि फेरि विरोधमा हुटिङ भयो ।

त्यस क्रममा प्रमोदका भाइ रोहिणी गाउँपालिकाका निवर्तमान प्रमुख सनोज यादवले हुटिङ गर्ने स्थानीयलाई हप्काउने र धकेल्न खोजेपछि स्थानीय झन् आक्रोशित भएर कुर्सी फालाफाल गरेका थिए । कुर्सी हानाहान हुन थालेपछि प्रमोद यादव त्यहाँबाट आधा घण्टासम्म भागेका थिए ।

त्यसपछि ओमप्रकाश गुल्जारीले माइकबाट आउन आग्रह गरेपनि उनी नआएको प्रत्यक्षदर्शी एक स्थानीयले बताए । ‘अरुले गरेका काम मैले गरेको भनेर झुट बोलेपछि जनता आक्रोशित भएका हुन्, अहिलेका जनता सचेत भइसकेका छन् भन्ने प्रमोद यादवले बुझेनन्’, उनले भने ।

प्रहरीले अप्रिय घटनाको रिपोर्ट नआएको बताएपनि कुर्सी हानहान र ढुङगा प्रहार हुँदा स्थानीय लालविहारी माविका प्राचार्य मुरलीधर शुक्लाको ओठमा इट्टाले चोट लागेको र ओठमा १७ वटा टाका लगाइएको सन्दिप त्रिपाठीले बताए । उनको उपचार भैरहवा स्थित भिम अस्पतालमा भइरहेको त्रिपाठीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर