महापुरुषका नायकको संघर्ष कथा– आमा म ‘हिरो’ भएँ ! – Nepal Press

महापुरुषका नायकको संघर्ष कथा– आमा म ‘हिरो’ भएँ !

हिरो बन्न जापानबाट फर्किए, पहिलो फिल्मका लागि ६ वर्षको प्रतिक्षा

अहिले हलहरुमा सफलताका साथ प्रदर्शनरत चलचित्र ‘महापुरुष’ मा एक नयाँ अनुहारले दर्शकको मन जितिरहेका छन् । उनी हुन् अरुण क्षेत्री ।

अरुण महापुरुषको ‘हिरो’ हुन् । डेब्यू चलचित्र हो यो उनको । पहिलो फिल्ममै उच्च स्तरको अभिनय क्षमता प्रस्तुत गरेर उनले आफ्नो उज्यालो भविष्य संकेत गरेका छन् । तर, धेरैलाई थाहा छैन, उनले कलाकारिता क्षेत्रमा संघर्ष गरेको ६ वर्ष भइसकेको छ ।

जापानमा परिवारसहित वसोवास गरिरहेका अरुण हिरो बन्ने सानैदेखिको सपना पूरा गर्न ६ वर्षअघि नेपाल फर्किएका थिए । तर, उनलाई आफ्नो सपनालाई साकार तुल्याउन त्यति सहज भएन । यो अवधिमा उनले गरेको संघर्ष अनि, कसरी ठूलो व्यानरको फिल्म ‘महापुरुष’ मा जोडिए ? उनकै मुखबाट सुनौंः

घरबाट कलाकार बन्छु भनेर निस्किदा आमाबुवालाई आश्वासन दिएको थिएँ– ‘एक वर्षमा जसरी पनि हिरो भएर देखाउँछु ।’ तर मलाई राम्रोसँग थाहा थियो कि यो नेपाल हो र यहाँ केही गर्न सोचेजस्तो सजिलो छैन । घरमा मैले जे भनेर हिँडेको थिएँ, त्यो म एक वर्षमा कदापि गर्न सक्दिनँ । तर घरमा मनाउनु जो थियो ।

बाल्यकालदेखिको एउटै सपना, हिरो बन्नु । त्यो बाहेक मेरो जीवनमा अरु कुनै लक्ष्य नै थिएन ।

म पहिला जापान बस्थेँ । जापान जानु मेरो कुनै रहर भने थिएन । सन् २००६ तिरको कुरा हो । मेरो परिवारलाई ठूलो संकटले घेर्यो । बुवाको व्यवसायमा ३० लाख रुपैयाँ डुब्यो । त्यसपछि घरमा पैसा माग्न आउनेहरूको लर्को । भएको रेस्टुरेन्ट र गाडीहरू बेच्दा पनि सबैको पैसा फिर्ता गर्न सक्ने सामथ्र्य थिएन । ऋण तिर्नकै लागि म जापान उडेँ । नेपाल छाड्न मन त थिएन, तर पारिवारिक दबाबका कारण आफ्नो सपना कुल्चिएर हिँड्नुपर्यो । जापान पुगेँ, ऋण तिरेँ, अनि बुवा–आमा र दिदीलाई पनि बोलाए । अन्तत परिवार फेरि एकसाथ भइयो ।

कलेज पढ्न जान्थेँ, रेस्टुरेन्टमा काम गर्थेँ । तर मन भने कहिल्यै त्यहाँ भएन । कुनै फिल्मको पोस्टर देख्यो कि ‘हिरो’ बन्ने आकांक्षा बढिहाल्थ्यो । अभिनय सिक्न मन त थियो तर कोर्सको मूल्य लाखौँँ, करोडौँ । अर्कोतिर परिवारको रोकछेक ।

सपना एउटा अनि बिपना अर्को । लक्ष्य एउटा अनि बाटो अर्को । यसरी नै जिन्दगी चलिरहेको थियो । एकदिन एउटा समाचारमा आँखा ठोक्कियो, ‘सुनिल थापाद्वारा एभरेस्ट फिल्म एकेडेमीको उद्घाटन ।’

खबर सुन्नासाथ कल गरेँ । पहिलो ब्याचको लागी समय नमिल्ने भयो । दोस्रो ब्याचको लागि भने मिल्यो । अँध्यारो भरिएको जिन्दगीमा एकाएक कतैबाट उज्यालो प्रकाश आएजस्तो महसुस भयो । खुसीको कुनै सिमा थिएन । साथसाथै मनमा चिन्ता पनि । घरमा कसरी फकाउने ?

मलाई जापान छोडेर नेपाल आउन र यो क्षेत्रमा प्रवेश गर्न सोचेजस्तो सहज थिएन । आमा–बुवालाई यो क्षेत्रै मन नपर्ने । कलाकारिता क्षेत्रलाई हाम्रो समाजले हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक छैन । कलाकार बन्न पैसा ख्वाउनुपर्छ, छोरी–चेलीहरु यौन उत्पीडनको सिकार हुुनुपर्छ, भित्रभित्रै राजनीति हुन्छ, जस्ता धारणाहरु व्याप्त छन् ।

यस्तै सोचहरुको परिवारले मलाई साथ दिने कुरा निकै मुस्किल थियो । लगभग असम्भव नै । तर जसरी पनि हिरो बन्नुछ भन्ने जुनुनले मलाई चुप लागेर बस्न दिएन । सर्वप्रथम दिदीलाई फकाएँ । दिदीपछि मम्मी र मम्मीपछि बुवा । अन्तत टिकट काटेँ नेपाल फर्कने । म नेपाल फर्किने एक रात अघिसम्म पनि मेरो बा मलाई भन्दै हुनुहुन्थ्यो, ‘नजा छोरा, म टिकट क्यान्सिल गर्दिन्छु ।’

हो, त्यही समय मेरो मुखबाट निस्केको वाक्य थियो, ‘चिन्ता नलिनुस, म एक वर्षमा तपाईहरुलाई हिरो बनेर देखाउँछु ।’

हिरो बन्ने भोकले मलाई नेपाल फर्कायो । तर मनमा भने अझै खटपट । अब के गर्ने ? कसरी आमाबुवालाई देखाएको सपनालाई बिपनामा परिणत गर्ने ? सन् २०१६ मा मैले एभरेस्ट फिल्म एकेडेमी जोइन गरेँ । तर भर्ना भएको केही समयमा नै सो एकेडेमी विभाजित भयो । फेरि एकचोटी सपना टुटेझैँ लाग्यो ।

विभाजित भएको केही समयमा अर्को टिमले कान्तिपुर फिल्म एकेडेमी स्थापना गर्यो । फेरि त्यहाँ जोडिएँ । त्यतिखेर मान्छेलाई मलाई जे भन्थे, म त्यसकै पछि लाग्थेँ । हिरो बन्न सुगठित ज्यान चाहिन्छ भन्ने सुन्नेबित्तिकै म जिम गएँ । नाच्न जान्नुपर्छ भन्ने सुन्ने बित्तिकै नाच सिक्न गएँ । सुरुवाती दिनहरुमा भेट्नुपर्ने र जानुपर्ने सबै ठाउँहरुमा म पुगेँ । तर सबैबाट रिजेक्ट ।

मनमा ‘म अभागी रहेछु, नसकिने रहेछ, अब म बाट हुँदैन’ भन्ने भावको जन्म भइसकेको थियो । पढाइ, जागीर, साथीभाइ, आफन्त सबै त्यागेर नेपाल आएँ । तर सोचेजस्तो केही भएन । जता गयो त्यतै ‘रिजेक्सन’ । जे गरे पनि नहुने । न त साथमा केही ब्याकअप नै थियो । कति रात एक्लै बसेर रोएको छु ।

म्युजिक भिडियो, वेभ सिरिजदेखि लिएर हातमा आएका सबै प्रोजेक्टहरु गर्थेँ । तर सँधै असफलता । हार मान्ने छुट पनि थिएन । घरमा गरेर देखाउनु थियो । यसरी नै जसोतसो अघि बढ्दै थिएँ । एकदिन मैले पठाएको एउटा भिडियो हेरेर निर्देशक रेनशा बान्तवा राईले मलाई भेट्छु भनेर म्यासेज गर्नुभयो । म्यासेज पढनासाथ खुसीले म गदगद भएँ । लामो प्रतिक्षापछि उहाँसँग भेट भयो । उहाँले भन्नुभयो, ‘आई एम २१’ फिल्मका लागि सपोर्टिभ क्यारेक्टर चाहिएको छ । गर्छौ ?’ दायाँबायाँ नसोचि ‘ओके’ भनिदिएँ ।

‘आई एम २१’ गरेँ । तर अहिलेसम्म त्यो चलचित्र प्रदर्शनमा आएको छैन । त्यतिबेला कलाकार सुदाम सीके ‘आई एम २१’ को कास्टिङ डाइरेक्टर हुनुहुन्थ्यो । उहाँले रवीन्द्रसिंह बानियाँलाई मेरो नाम सिफारिस गरिदिनु भएको रहेछ । अडिसनको लागि मलाई रवीन्द्र सरको कल आयो । त्यसरी म ‘महापुरुष’ सँग जोडिएँ ।

विगतमा मेरो जिन्दगीमा के भयो कस्तोे भयो, त्यसप्रति मलाई कुनै दुखेसो छैन । त्यति ठक्कर नखाएको भए सायद आज म यहाँसम्म पुग्दिन थिएँ होला । मैले ‘महापुरुष’ पाउँदिन थिएँ होला । यस्तो अग्रज व्यक्तित्वहरुसँग काम गर्न पाउनु नै मेरो लागि ठूलो आर्शिवाद हो ।

यो क्षेत्रमा लागेको अहिले ठ्याक्कै ६ वर्ष भयो । आमा–बुवालाई दिएको वचन समयमा पुरा गर्न त सकिनँ, तर मैले गरेको कामले आज उहाँहरु धेरै खुसी हुनुहुन्छ । अफसोच प्रिमियरमा बुवालाई लगेर आफ्नो चलचित्र देखाउन पाइनँ । तर आमालाई भने देखाएँ । मेरी आमा मभन्दा धेरै खुसी भएर हलबाट निस्किनुभएको थियो ।

हिरो बन्न गरेको यति लामो प्रतिक्षापछि जब आमाको मुहारमा त्यो खुसी देखेँ, तब मनमा आयो, ‘म सफल भएँ, आमा म हिरो भएँ ।’

तर, यो सुरुवात न हो । मलाई त धेरै अगाडि जानु छ । लामो यात्रा गर्नु छ । थाहा छ अगाडिका दिनहरु पनि सोचेजस्तो सरल हुन सक्छन् । सफलता र असफलतालाई अंगाल्दै आफूलाई निखार्दै जानेछु । महापुरुषबाट पाएको प्रतिक्रियाले निकै ठूलो मनोबल दिएको छ । म आभारी छु दर्शकप्रति, उहाँहरुले मेरो काम मन पाइदिनुभयो । मैले ढिला भए पनि परिवारलाई देखाएको सपना पूरा गरेँ । तर, दर्शकका लागि धेरै गर्न बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *