प्रदीप पौडेलको प्रश्न- नेतालाई जनताले नमस्कार नफर्काउने स्थिति कसको कारणले आयो ? – Nepal Press
नेपाल टक

प्रदीप पौडेलको प्रश्न- नेतालाई जनताले नमस्कार नफर्काउने स्थिति कसको कारणले आयो ?

‘संस्कार भएको नेता हुँ, व्यक्तिकेन्द्रित भएर बोलेको छैन’

काठमाडौं । नेपाली कांग्रेसका चर्चित युवा नेतामध्ये एक हुन् प्रदीप पौडेल । विद्यार्थी राजनीतिबाट चर्चामा आएका उनी पार्टीभित्र भने अपेक्षित सफल हुन सकिरहेका छैनन् ।

कांग्रेसको गत महाधिवेशनमा संस्थापन पक्षको उम्मेदवार भए पनि पौडेल महामन्त्रीमा पराजित भए । २०७४ सालको चुनावमा तनहुँबाट प्रदेश सांसदमा उम्मेदवार दिएर झिनो मतले हारेका थिए । यसपालि उनी काठमाडौं–५ बाट प्रतिनिधिसभा चुनाव लड्दैछन् । हारको ह्याट्रिक गर्लान् वा जितको खाता खोल्लान् भन्ने हेर्न बाँकी छ ।

कांग्रेसभित्र प्रतिभावान् तथा जुझारु नेताको छवि बनाएको पौडेलले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पन्छाएर चुनाव जित्न सजिलो भने छैन । अघिल्लो चुनावमा पोखरेलले यस क्षेत्रबाट भारी बहुमतले जितेका थिए । तर, पौडेल आशावादी देखिएका छन् । उनीसँग गरिएको निर्वाचन केन्द्रित अन्तरवार्ता नेपाल टकमा :-

एमालेले वर्चस्व बनाएको क्षेत्रमा लड्न लाग्दै हुनुहुन्छ, मन कतिको डराएको छ ?

चुनावमा कुनै पनि पार्टीको वर्चस्व भन्ने हुँदैन । जनता पार्टीको बपौती होइनन् । यो मेरो पार्टीको प्रभाव क्षेत्र हो, आधार क्षेत्र हो भन्नु जनतालाई अपमान गर्ने कुरा हो ।

चुनावमा जो जहाँबाट पनि लड्न पाउँछ । जनता त विवेकी हुन्छन् नि । विवेकले मत दिने हो । एक पटक दिएको मत स्थायी हो भने त १०/२० वर्ष अगाडि जसले चुनाव जितेको थियो उसैलाई सधैँ सांसद माने भइहाल्यो । त्यसकारण जनतालाई हेप्ने कुरा गर्नु उपयुक्त कुरा होइन ।

जनताले निर्वाचित गराएर पठाएपछि त्यसले गर्‍यो, गरेन, कस्तो काम गर्‍यो, आफ्नो हितमा गर्‍यो कि देशको हितमा गर्‍यो कि, लुट्यो कि, सुख दियो कि यो सबै कुरा जनताले हेर्छन् । त्यसको आधारमा जनताले मनस्थिति बनाउँछन् । त्यसमाथि राजधानी त सबैभन्दा विवेकी मतदाता भएको ठाउँ हो । अनि त्यत्रो विवेकी मतदाता भएको ठाउँमा यी त पार्टीका हुन्, अस्तिको चुनावमा यो पार्टीलाई भोट हालेका थिए, अहिले पनि यही पार्टीलाई हाल्छन् भनेर सोच्नु मूर्खता हुँदैन ?

मतदाता धेरै डायनामिक बनिरहेका छन् भन्ने तपाईँको बुझाइ हो ?

मतदाता पनि जति गम्भीर हुनुपर्ने हो त्यति हुनुभएको छैन । हाम्रो यहाँ के छ भने मत लिने मान्छेले मतदातालाई धेरै अपमान गरेका छन् । अनि मतदाता पनि आफूलाई कसले सम्मान गरेको छ अथवा कसले आफ्नो पक्षमा वकालत गरेको छ भन्ने हेरिरहनुभएको छैन । अब मैले के भन्ने गरेको छु भने यो मत दिने भनेको खाली कागजमा सिग्नेचर गर्ने हो । खाली कागजमा सिग्नेचर गरेपछि कसलाई दिइन्छ ? जसलाई सबभन्दा बढी विश्वास गरिन्छ । जसले आफ्नो विरुद्ध कहिल्यै अहित गर्दैन । आफ्नो हितमा मात्रै काम गर्छ त्यसलाई नै दिने हो नि । त्यसैले मतदाताज्यूहरूलाई हाम्रो आग्रह छ कि गम्भीर भएर मत हाल्नुस् ।

उम्मेदवारको विगत हेर्नुस्, अहिलेको हुटहुटी हेर्नुस्, अहिलेको कार्यक्रम हेर्नुस्, उम्मेदवारलाई सम्पूर्ण रुपमा खानतलासी गर्नुस् । त्यसपछि तपाईँलाई जो जायज लाग्छ मतदान गर्नुस् । किनकि अब क्रान्ति गरेर परिवर्तन हुँदैन । अब परिवर्तन निर्वाचनको माध्यमबाट गर्नुपर्छ । अब यो स्थायी हुन्छन् मतदाता, एक चोटि भोट हालेपछि सधैँ त्यसैलाई हाल्छन् भन्ने मनोविज्ञानलाई मतदाताले बदल्न जरुरी छ । मतदाताले व्यक्तिको क्षमता हेर्छन् । व्यक्तिको विगत हेर्छन् ।

गठबन्धनका शीर्ष नेताहरूमा मन मिलेको देखिन्छ । तर मतदाताहरूले गठबन्धनलाई नरुचाएको भन्ने धेरै ठाउँमा देखिएको छ । तपाईँलाई अन्य दलबाट आफूलाई मत आउँछ भन्ने कुरामा कत्तिको विश्वास छ ?

गठबन्धन भनेको चुनावको रणनीति हो । गठबन्धन गरिसकेपछि उहाँहरूको मन मिल्ने कुरा त स्वाभाविक भयो । अब गठबन्धनका सबै दलहरूले भोट एक अर्कालाई ट्रान्स्फर गर्ने कुरा हुन्छ नै । किनकि अब संस्थागत निर्णय भएर आइसकेपछि त्यो ट्रान्स्फर नगर्ने भन्ने कुरा हुँदैन ।

आशंका चाहिँ छ ?

केही आशंका छैन । पार्टीको सीमाभित्र त्यो इमानदारीपूर्वक कार्यान्वयन हुन्छ । अब पब्लिकसँगको कुरा के हो भने उम्मेदवार कस्तो छ, उम्मेदवारले कस्ता विषयहरू प्रस्तुत गरेको छ, त्यसका विगतहरू कस्ता छन्, उसले भनेको कुरालाई विश्वास गर्ने आधार छ कि छैन र सँगसँगै पार्टीको भोट पनि जोडिन्छ । यो सबै भइसकेपछि मात्रै निर्वाचन जितिने विषय हो । त्यसैले, हामीले गठबन्धन गरेर अगाडि गइरहेका छौँ ।

गठबन्धनको सम्पूर्ण समर्थन हामीलाई छ । त्यसमा कहीँ कतै शंका हुने स्थिति छैन र सँगसँगै काठमाडौंका चेतनशील जनता पार्टीको झण्डामुनि मात्रै हुनुहुन्न । उहाँहरूको विवेक छ । उहाँहरूले उम्मेदवारलाई सम्पूर्ण रूपमा बुझेर मात्रै मतदान गर्नुहुन्छ । उहाँहरूको बुझाइ विश्वासिलो बनाउने हाम्रो प्रयास निरन्तर जारी छ ।

तपाईँको क्षेत्रमा नेकपा एसले समेत प्रदेशमा उम्मेदवार उठाएको छ, एउटा सीट सहयात्री दललाई छाड्न नसक्ने, अनि उनीहरूले तपाईंहरुलाई भोट हाल्नु पर्ने कुरा कतिको न्यायोचित छ ?

यो सहकार्य एउटा निर्वाचन क्षेत्रमा सीमित छैन नि । यसको पूर्ति अन्य कतै होला । यो त शीर्ष नेताहरूले, गठबन्धनको समितिले छलफल गरेर म्यानेज गरेको कुरा हो । यसमा मेरो संलग्नता पनि छैन । गठबन्धनका तल्लो तहका साथीहरूको संलग्नता छैन ।

त्यसैले, शीर्ष नेतृत्वले, त्यो संयन्त्रले टिकट वितरण गर्ने सम्बन्धमा सहमतिको आधारमा व्यवस्थापन गरेको विषय हो । यहाँ तीनवटै कांग्रेस भयो होला, कतै एउटा पनि कांग्रेसको नभएको स्थिति होला । देशभरी लेनदेन गरिएको, एक–अर्कासँग सहमति गरेर मिलाइएको विषय हो । त्यसकारण एउटा निर्वाचन क्षेत्रमा के भयो भन्ने आधारमा न्यारेटिभ बनाउनु हुँदैन ।

स्थानीय मतदाता चाहिँ रुष्ट छन् कि भन्ने आशय मात्रै हो ।

गठबन्धन दलभित्र पनि आफ्नो पार्टीको लिडरले पाएको भए, आफ्नो उम्मेदवारले पाएको भए बेटर हुन्थ्यो भन्ने हुन्छ नै । तर गठबन्धनको संस्कृति, यसको प्रक्रिया के हो भने यो लेनदेनको विषय हो । आफ्नो मात्रै प्राप्त हुँदैन । गिभ एण्ड टेक हुन्छ । त्यसैले, गिभ एण्ड टेक हुँदा कहीँ कांग्रेसलाई पर्‍यो, कहीँ अरूलाई पर्‍यो, कहीँ सबैलाई पर्‍यो । गठबन्धन गर्ने तौरतरिका नै यस्तै हो । त्यसैले गठबन्धन दलका मतदाताहरूले पनि बुझ्नुहुन्छ, कार्यकर्ताहरूले पनि बुझ्नुहुन्छ, नेताले पनि बुझ्नुहुन्छ ।

तपाईँलाई एउटा आरोप के छ भने तपाईँ उमेरले युवा भएपनि सोच चाहिँ युवा छैन । यदि युवा सोचको हुनुभएको भए कांग्रेसको महाधिवेशनबाट पटकौं नेतृत्व सम्हालेका देउवालाई विस्थापित गर्ने पक्षमा उभिनुहुन्थ्यो । तपाईँकै समर्थकहरूले त्यस्तो सुझाव दिएका थिए । यसमा के भन्नुहुन्छ ?

त्यस्तो कोही समर्थकले भनेको छैन । तपाईँले मात्रै आरोप लगाएको हो । पार्टीको आन्तरिक प्रतिस्पर्धाको सन्दर्भमा तपाईँले जे भन्नुभएको छ त्यो पनि होइन । त्यस्तो भएको भए त जितिहालिन्थ्यो नि । त्यस कारणले मेरो विगत हेर्नुस् । मैले २०४६ देखि अहिलेसम्म निरन्तरे कहीँ कतै कसैसँग कम्प्रमाइज गरेको छैन । म कसैले उचालेको मान्छे होइन । म जमिनले बनाएको मान्छे हुँ ।

एउटा टिप्पणी के पनि छ भने देश र पार्टीलाई चाहिने मान्छे हो प्रदीप पौडेल, तर किन उहाँ अगाडि आउन सक्नुभएन ? कतै तपाईँ सही संयन्त्रसँग जोडिनुभएन कि ?

यो पार्टीको आन्तरिक विषयका सन्दर्भमा कतै कहीँ जोडिने पार्टी भित्रका जोकोही मान्छेसँग पनि त्यो हुन सक्छ । तर इथिक्सको पोलिटिक्स, नैतिक धरातल, निष्ठाको राजनीति मैले कहिल्यै गुमाएको छैन । केही प्राप्त होस् या नहोस् निरन्तर रूपमा म यो निष्ठा बोकेर तमाम विकृति र विसंगतिहरुविरुद्ध चोटिलो प्रहार गर्ने गरी राजनीतिमा रहिरहने हो । जुन दिन म निष्ठा, इमान गुमाउने स्थितिमा पुग्छु त्यो दिन म राजनीतिमा रहन्न । निष्ठा र इमान गुमाएर मलाई राजनीति गर्नु छैन ।

पैसा कमाउनका निम्ति, ठेक्कापट्टा गर्नका निम्ति व्यापार गरे हुन्छ । राजनीति गर्नुपर्दैन । त्यसैले, सडकमा जे बोलिरहेको छु आज त्यही विषय सदनमा गएर बोल्नका निम्ति म सांसदको उम्मेदवार भएको हो । म हरेकलाई चुनौती दिन चाहन्छु यदि संसद्मा मेरो उपस्थिति भयो भने मैले सुशासनको पक्षमा, भ्रष्टाचारको विपक्षमा आवाज हुनेछ । त्यसकारण मैले सडकमा जे कुरा बोलेको छु त्यहाँ सदनमा गएर गर्जिने हो । सुशासन कायम गर्नका निम्ति, तमाम बेथितिलाई अन्त्य गर्नका निम्ति राजनीति गर्ने हो ।

जस्तो एउटा तथ्य के चाहिँ नकार्न सकिँदैन भने बहुदलपछि नेपाली कांग्रेसले पटक पटक गरेर देशको बागडोर सम्हालेको छ । देउवा आफैँ पाँच पटक प्रधानमन्त्री बनिसक्नुभयो । तर वास्तवमा देश र जनताको निम्ति कांग्रेसले के गर्‍यो ?जनताले के चाहिँ अनुभूति भयो ? त्यसमा फेरि अब किन शून्य परिणामको लागि कांग्रेसलाई भोट दिने ?

अनि कसरी परिवर्तन हुन्छ त सर ? कांग्रेस, एमाले त्यो त नेता जति कसैलाई भोट दिनुहुँदैन भन्ने आम न्यारेटिभ बनेको छ । महामारीमा जनता लुट्ने नेताले विश्वास आर्जन गर्न सक्छन् ? त्यसैले भन्याजस्तो सीमा रेखाभित्र बस्छस् भन्ने प्रश्न मलाई नसोध्नुस् । म सबै सीमारेखा जनताको पक्षमा नाघ्न तयार छु । अहिले हामी चुनावमा भोट माग्न हिँड्यौँ । हामीले नमस्कार गरेकामध्ये २० जनाले मात्रै नमस्कार फर्काउनुहुन्छ । कसले बनाएको यो ?

कसले बनाएको त यो ? तपाईँ पनि युवाहरूको प्रतिनिधित्व गर्ने मान्छे हो । हामीभन्दा झन् नजिक हुनुहुन्छ जनतासँग । के राइट मान्छे चुनेनन् भन्ने कुरा हो ?

म अहिलेसम्म सांसद भएको छु ? म अहिलेसम्म मन्त्री भएको छु ? मैले कुनै जिम्मेवारी प्राप्त गरेको छु ? यी तमाम विकृति मैले गरेको हो ? त्यसैले गर्नेलाई गएर सोध्नुस् । उहाँहरूले जनतालाई ढाँट्नुभयो । त्यसकारण राजनीतिको विश्वास गुम्यो । राजनीतिमा के हुनुपर्छ भने लोकतन्त्रको आशय के हो भने जनप्रतिनिधि सेवक हुनुपर्छ तर सबै जनप्रतिनिधि मालिक भए । त्यसकारण राजनीतिप्रति विश्वास गुम्यो । नेतृत्वप्रति विश्वास गुम्यो ।

मेरो प्रण के हो भने त्यो विश्वास फिर्ता गर्ने हो । त्यो मेरो प्रण हो । जनताको सेवक हुने गरी सांसद हुने । सांसद विकास कोषको रकमको अडिट गर्नुपर्दैन ? कहाँ खर्च भयो भनेर जनतालाई भन्नुपर्दैन ? एउटा सांसद आफैँ पारदर्शी हुन सक्दैन भने देशलाई पारदर्शी बनाउन सक्छ ? त्यसकारण यो शैलीले अझै बढी अविश्वास बढाउँछ । शैली परिवर्तन गर्न जरुरी छ ।

सुशासनको निम्ति नै हो यहाँलाई जनताले भोट गर्नुपर्ने ?

सुशासन मात्रै होइन । हामीले भ्रष्टाचार निवारण भनेका छौँ र अन्य धेरै कुरा छन् ।

काठमाडौं क्षेत्र नं. ५ आफैँमा उर्वर गतिशील क्षेत्र हो । अहिलेको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारहरूको पनि उल्लेख्य दाबी छ । राजनीतिमा युवाहरूमाझ यति बिघ्न वितृष्णा तपाईँहरूकै कारण आएको होइन ? तपाईँ आफूलाई रिफ्लेक्ट गर्नुहुन्छ कि हुन्न ? जस्तो हाम्रो पनि केही हात छ कि ?

हाम्रो हात कसरी हुन्छ ? मैले अघि नै भने नि । मैले अहिलेसम्म मेन्डेट प्राप्त गरेको अवस्था होइन ।

पार्टीगत जिम्मेवारीको चाहिँ अर्थ हुन्न ?

मेरो पार्टीले सम्पूर्ण ठीक गरेको छ भनेको छैन । मैले पार्टी पनि करेक्सन गर्ने हो । देश पनि करेक्सन गर्ने हो । सम्पूर्ण त्रुटि कमीकमजोरीलाई करेक्सन गरेर अगाडि बढ्ने हो । त्यसमा तपाईँहरूको पनि साथ हामी चाहन्छौँ ।

कोही पनि आफ्नै पार्टीले गलत गर्‍यो भने पनि त्यो कुरा बोकेर हिँड्नु हुँदैन । हामी समाजका निम्ति राजनीति गरेको हो नि । पार्टीको सीमा नाघेर देशका निम्ति गद्दारी गर्ने आफ्नै पार्टीका नेता भए पनि त्यसलाई समर्थन गर्नु हुँदैन । त्यसकारण कुरा के हो भने करेक्सन सबैतिर आवश्यक छ । हामीले चाहिँ करेक्सन गर्नका लागि प्रयास गरिरहेका छौँ ।

यही करेक्सनकै कुरामा यहाँले भन्नुभएको थियो, काठमाडौंको फोहोर पनि सफा गर्छु, राजनीतिको फोहोर सफा गर्छु भनेर । यो आफैँमा सुन्दर नारा थियो । तर तपाईँले राजनीतिक बहस र एजेण्डाकेन्द्रित नभएर व्यक्तिगत चरित्रहत्या गर्ने ढंगले ईश्वर पोखरेलविरुद्ध उत्रिनुभयो भन्ने आरोप छ । राजनीतिलाई सफा गर्छु भनेर आएको व्यक्ति आफैँ फोहोरी राजनीति गर्न मिल्छ ?

कहाँ छ आरोप ? के छ तपाईँसँग प्रमाण ? बरु म तपाईंहरुलाई आग्रह गर्छु कि तपाईँहरू त्यस्तो नगरिइदिनुस् न । तपाईँहरू पत्रकार बनिदिनुस् । जित्नेहरू मालिक भए भनेकै छु । महामारीमा पनि लुट्न छोडिएन भनेर मैले भनेकै छु । यसो भन्दा कसैलाई आरोप लाग्यो भने मलाई आपत्ति छैन ।

व्यक्ति इन्डिकेट गरेर म कहीँ बोलेको छैन । म संस्कार भएको मान्छे हुँ । तर अब कसैलाई कसैलाई जबरजस्ती लाञ्छित गर्नुपर्‍यो भनेर न्युज लेखिदिने ? त्यस्तो कुरा आफ्नो विषय हो । तर के भने मर्यादित ढंगले चलिरहेको मान्छेलाई त्यसै जिस्काएर, जबरजस्ती लगायो भनेर भन्नु कुनै तुक छैन ।

तपाईँ पछिल्लो २० वर्षमा जे–जे नेपालमा भोग्नुभएको छ, देख्नुभएको छ, साक्षी बन्नुभएको छ । यो सबै कुराहरूमा तपाईँ व्यक्तिगत रूपमा खुशी हुनुहुन्छ ?

खुशी भएको देख्नुभयो ? मैले पार्टीकै सीमारेखा तोडेर विकृतिका विरुद्ध लड्छु भनेको छु । मैले जनताले राजनीतिप्रति विश्वास गरेका छैनन् भनेको छु । नेतृत्वप्रति सम्मान होइन घृणा गरेका छन् ।

यो राजनीतिले, यो शैलीले डेलिभर गर्दैन । डेलिभर गर्नका निम्ति नैतिकताको जगमा उभिएको मान्छेले भ्रष्टाचारविरुद्ध सुशासन कायम गर्ने गरी अभियान सुरु गर्नुपर्छ । जसका निम्ति नीतिगत भ्रष्टाचारको जसरी संरक्षण गरिएको छ, त्यसलाई अन्त्य गर्नुपर्छ । नीतिगत भ्रष्टाचार अन्त्य गर्न सक्नुपर्छ । जनताले खोजेको कुरा धेरै ठूलो होइन नि ।

तपाईँ हेर्नुस् संवैधानिक अंगमाथि कसरी हस्तक्षेप भयो । अदालतमाथि कसरी हस्तक्षेप भयो । नीतिगत भ्रष्टाचार भनेको त्यो भन्न खोजिएको हो । त्यसकारण संवैधानिक अंगहरु निष्पक्ष र स्वतन्त्र ढंगले चल्नुपर्छ । अदालतहरूले न्याय सम्पादन गर्दा स्वतन्त्र ढंगले गरेको स्थिति हुनुपर्छ । अरू तमाम जेजस्ता समस्याहरू छन् त्यसको हल नखोजीकन आम नेपालीले चाहेको कुरा सुशासन, त्यसमा धेरै ठूलो कुरा केही छैन ।

योग्यता, क्षमता भएका मान्छेहरूले प्रतिस्पर्धा गरेर अवसर प्राप्त गर्नुपर्‍यो । राज्यलाई कर तिरेबापत नागरिकले जे सुविधा प्राप्त गर्ने हो त्यो सुविधा प्राप्त हुनुपर्‍यो । कानूनले, न्याय निर्देशिकाले तोकेबमोजिम त्यस बमोजिम कामहरू कसैलाई नभनी फटाफट हुनुपर्‍यो । कुरा यति नै त हो । यो कुरा गर्न चाहँदा सकिँदैन ।

काठमाडौं जस्तो ठाउँमा ७ किलोमिटर बाटो पिच भएको छैन । विगत १० वर्षदेखि चुनावी मुद्दा बनिरहेको छ । त्यो गर्न नसकेको हो कि नचाहेको हो ? काठमाडौंजस्तो ठाउँमा नांगो तार भयो यो फ्यालेर कालो तार हाल्दिऊँ भन्ने माग बढिरहेको छ । डेढ करोड लिटर ट्यांकी भएको ठाउँमा पानी नभएर सुख्खा छ । खाल्डो नपुरिएर गाडी कुद्न सकिरहेको छैन ।

यी कुराहरू समाधान गर्न यहाँसँग एजेण्डा छन् भन्ने खोज्नुभएको हो ?

डेफिनेट्ली । हरेक कुरा, हरेक विषयमा हामीले आफ्ना कुरा प्रष्ट राखेका छौँ । एउटा सांसद हुनुपर्छ पनि हामीले भनेका छौँ । सांसदले जनतासँग कसरी संवाद गर्नुपर्छ पनि हामीले भनेका छौँ । सांसदले मतदातालाई कसरी सम्मान गर्नुपर्छ पनि हामीले भनेका छौँ । समस्याको समाधान कसरी गरिनुपर्छ पनि हामीले सूत्र बद्ध ढंगले हामीले भनेका छौँ ।

तपाईँ तनहुँबाट २०७४ मा पराजित हुनुभएको थियो । पार्टी महाधिवेशनमा महामन्त्रीमा हार्नुभयो । अहिले पनि तनहुँबाटै चुनाव लड्न अन्तिमसम्म प्रयास गर्नुभयो, नसकेर यहाँका स्थानीयको कोटा खोसेर उम्मेदवार बन्न आउनुभयो भन्ने आरोपलाई के भन्नुहुन्छ ?

जबरजस्त तँ तनहुँको होस भनेर तपाईँ कस्तो न्यारेटिभ स्थापित गर्न खोज्दै हुनुहुन्छ ? मैले यो चुनाव मात्रै होइन, २०७४ कै चुनावमा काठमाडौंबाटै चुनाव लड्न खोजेको हो । राजधानीको निर्वाचन क्षेत्र पाइन्छ भने कोही पनि मान्छे अन्त गएर चुनाव लड्दैन ।

भनेपछि अवसर हेर्नुभयो यहाँले ?

डेफिनेट्ली जसले पनि अवसर हेर्ने हो । यहाँबाट जुन एक्सपोजर प्राप्त हुन्छ त्यो एक्सपोजर अन्यतिरबाट प्राप्त हुँदैन । त्यसैले, मैले आफ्नो चाहनाले निर्वाचन लडेको हो । ०७४ मा पाँच भोटले चुनाव हारेको हुँ । अहिले यहाँ मैले चुनाव लड्ने चाहना राखेँ । मलाई पार्टीले विश्वास गर्‍यो । टिकट लिएँ । यो फेरि मलाई जसले मलाई काठमाडौंमा नयाँ भनिरहनुभएको छ, उहाँहरूभन्दा म धेरै पुरानो हो । मैले यो एकदम दाबीका साथ भन्न सक्छु । उहाँहरूको घर कहिले थियो र मेरो घर कहिले थियो ।

मैले सामान्य जिज्ञासा मात्रै राखेको हो । त्यता कोसिस गरिरहँदा कसरी यता आउनुभयो भन्ने हो ?

कोसिस कसले गरेको त्यो त त्यसैलाई थाहा हुन्छ । कोसिसै नगरेको भए कसले यहाँ टिकट लिएर आउँथ्यो ?

तपाईँलाई नेताले पत्याएको तर कार्यकर्ता र जनताले नपत्याएको रूपमा पनि चित्रण गर्दा रहेछन्, के भन्नुहुन्छ ?

तपाईँको प्रश्नको उद्देश्य के हो भन्ने मलाई थाहा भएन । जनताले नपत्याएको भन्ने त संघको चुनाव पहिलो चोटि लड्दै छु । अघिल्लो पटक प्रदेशमा लडेको थिएँ । एमालेको नेतृत्वमा गठबन्धन थियो । त्यसैले गर्दा मैले हारेको हो । मलाई यो जिज्ञासा आजसम्म कसैले राखेको छैन । पहिलो पटक सुनेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *