संरक्षककै कब्जामा विमल गुरुङ स्मृति पुस्तकालय : भवन आफ्नै नाममा, अक्षयकोषको ५५ लाख निजी खातामा – Nepal Press

संरक्षककै कब्जामा विमल गुरुङ स्मृति पुस्तकालय : भवन आफ्नै नाममा, अक्षयकोषको ५५ लाख निजी खातामा

काठमाडौं । ३१ वर्षदेखि सञ्चालनमा रहेको धरानस्थित विमल गुरुङ स्मृति पुस्तकालय विवादमा तानिएको छ । हरेक वर्ष राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको यस संस्थाका संरक्षक पूर्णबहादुर गुरुङले अक्षयकोषको ५५ लाख रुपैयाँ आफ्नो निजी खातामा राखेको पाइएपछि उनी विवादमा तानिएका छन् ।

स्वर्गीय कवि विमल गुरुङको नाममा खोलिएको यस संस्थाको अक्षयकोषको रकम पूर्णबहादुरको निजी खातामा मात्रै होइन, पुस्तकालयको स्वामित्वमा रहेको भवनसमेत निजकै नाममा रहेको पाइएको छ । सात/आठ वर्षअघि धरानकै स्थानीय पत्रिकामा पुस्तकालयको अक्षयकोषको नाममा ५५ लाख राखिएको समाचार छापिए पनि हालसम्म निज गुरुङकै नाममा रहेको पाइएको हो । तर, ५५ लाखको अक्षयकोष स्थापना गरेको खबर सार्वजनिक भएपछि धरानबासीले पूर्णबहादुर गुरुङलाई नगर परिक्रमा गरेर अभिनन्दन पनि गराएका थिए ।

पूर्णबहादुरको हर्कत थाहा पाएपछि पुस्तकालयबाट बाहिरिएका सचिव चेवन राईले फेसबुकमा लामो स्टाटस लेख्दै बाहिरबाट आएका सहयोगहरु पनि पूर्णबहादुरले आफैंले खर्च गर्ने गरेको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘विमल गुरुङ स्मृति पुस्तकालय मैले पुनः दर्ता गरिदिएको र यसको बैंक खाता पनि मैले नै खोलिदिएकाले यसको खातामा अमेरिकाबाट आएको पैसा ३ लाख ३२ हजार पनि मेरै सहीमा झिकेकाले त्यो पैसा, धरान नगरपालिकाबाट कार्यक्रमको लागि आएको पैसाहरु साथै १५/२० हजार जस्ता खुद्रा सहयोग रकमहरु अडिटमा खर्च हिसाब देखाउmन् । सधैं कर छली गर्न जम्मा वार्षिक आयव्यय ५००० देखाउने काम उप्रान्त नगरोस् ।’

सचिव राई २०७६ सालबाट पुस्तकालयको जिम्मेवारीबाट बाहिरिएका थिए । भर्खरै राष्ट्रिय कविता महोत्सव आयोजना गरेपछि राईले करछली र आर्थिक अनियमितताको आरोप लगाउँदै लामो स्टाटस लेखे । साथै पूर्णबहादुरको स्रष्टाप्रति रत्ति पनि सम्मान नभएको जिकिर गरेका छन् ।

उनले लेखेका छन्, ‘गोविन्द विकलले मेरो घरको भित्ता र तन्ना कालो पार्‍यो, फोहोरी थियो । श्रवण मुकारुङलाई यहाँ आको वेला बित्थामा दस हजार दिएँ । गोविन्दराज भट्टराईको नाममा प्रदीप मेयाङ्बोले दश हजार खायो । राजकुमार दिक्पालले खानु नपाको वेला मैले घरमा राखेर पालेको हो । मोदनाथ प्रश्रितले मेरो घरमा मासुभात खायो । तर, काम गर्दिएन । यस्ता अनेक नाम छन् । जसप्रति उनमा कुनै सम्मान छैन । सब आफू सम्मान पाउन देखावटीको लागि गर्छन् ।’

राईले धरानका पत्रकारहरु प्रायःलाई यस घटनाबारे थाहा भए पनि फिटिक्कै लेख्न नसक्ने अरोप पनि लगाएका छन् । उनले लेखेका छन्, ‘किनकि धरानका प्रायः प्रत्येक पत्रकारलाई विमल गुरुङ स्मृति पुस्तकालयले सम्मान गरेर उनीहरुको मुख बन्द गराइसकेको छ ।’

तर, नेपालप्रेसको सम्पर्कमा आएका पूर्णबहादुरले भने यी सबै आरोप तथ्यहीन भएको बताए । उनले सचिव बेखुशी भएका कारण यस्तो लेखेको बताए । तर, अक्षयकोषको ५५ लाख आफ्नो निजी खातामा र पुस्तकालयको भवन आफ्नो नाममा रहेको भने नकारेनन् । उनले भने, ‘ती सबै मेरै नाममा छ । अहिले भएजत्ति पुस्तकालयको सबै सम्पत्ति मेरै नाममा छ । अब हस्तान्तरण गर्दा कति भ्रष्ट्राचार हुन्छ, त्यो सबैलाई थाहा छ । त्यही भएर हस्तान्तरण नगरेको हो ।’

हालै सम्पन्न राष्ट्रिय कविता महोत्सवमा सीता तुम्खेवा प्रथम, गगन योक्पाङ्देन द्व तीय, राधिका कल्पित तृतीय र युग सर्वनाम सान्त्वना भएका थिए । साथै पुस्तकालयले हरेक वर्षजसो उत्कृष्ट पुस्तकलाई दुई लाख पुरस्कार पनि दिने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *