चीनसँगको सीमा क्षेत्रमा सत्तागठबन्धनले हेलिकप्टर लगेर प्रचार गरेको एमालेको आरोप, सीडीओ भन्छन्-छानबिन हुँदैछ – Nepal Press

चीनसँगको सीमा क्षेत्रमा सत्तागठबन्धनले हेलिकप्टर लगेर प्रचार गरेको एमालेको आरोप, सीडीओ भन्छन्-छानबिन हुँदैछ

विराटनगर । निर्वाचन आचरसंहिताविपरीत चीनसँगको सीमा क्षेत्रमा सत्तागठबन्धनले चुनावी हेलिकप्टरबाट चुनावी प्रचार गरेको भन्दै एमालेले विरोध गरेको छ । संखुवासभामा एमालेबाट राजेन्द्र गौतम र सत्तागठबन्धनको तर्फबाट दीपक खड्का चुनावी प्रतिस्पर्धामा छन् ।

बिरामी छिरिङ्ग भोटेका नाममा श्री हेली एभरेष्ट प्रालिको हेलिकप्टर चार्टर गरिएको थियो । गृहमन्त्रालयले आइतबारका लागि संखुवासभाको खाँदबारी, किमाथांका र हटियामा उडान भर्न ‘निषेधित क्षेत्रमा उडान अनुमति’ दिएको थियो ।

सो पत्रमा छिरिङ्ग भोटे एकजनाको मात्रै यात्रुको उल्लेख छ । पत्रमा मौसम प्रतिकूल भए थप ७२ घण्टासम्म उडान अनुमति दिइएको छ ।

सीमा क्षेत्रमा हेलिकप्टर उडान भर्न संवेदनशील भएपनि सत्ता र शक्तिको आडमा हेलिकप्टर चार्टर गरेर चुनाव प्रचार गरिएको एमाले संखुवासभाले विज्ञप्तिमा जनाएको छ ।

जिल्ला सचिव खड्ग राईद्वारा जारी विज्ञप्तिमा मौखिक रूपमा पटक-पटक भन्दा पनि मुख्य निर्वाचन अघिकृतको कार्यालय र निर्वाचन कार्यालय मुकदर्शक बनेको आरोप लगाइएको छ । कांग्रेसका नेतृत्वको व्यवस्थापनमा २०७९ कात्तिक २० र २१ गते बिरामी ओसारपसार गर्ने बहाना गरेर निषेधित क्षेत्र र अनुमति नलिएका स्थानमा अनाधिकृत व्यक्तिहरूले निजी हेलिकप्टर उडान गरी चुनावी प्रचार कार्य गरिनु आचारसंहिताविरुद्ध भएको भन्दै एमालेले स्थानीय प्रशासन प्रहरी, मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अनुगमन अधिकृतको कार्यालयसँग कारबाहिको माग गरेको छ ।

सीडीओ भन्छन्- छानबिन हुँदैछ

संखुवासभाका प्रमुख जिल्ला अधिकारी वीरन्द्र यादवले घटनाको छानबिन थालिएको बताए । उनले सीमा क्षेत्रमा बिरामी र बिरामीको कुरा अनुमति लिएर जान पाउने भएपनि अरु व्यक्ति जान नपाउने बताए ।

‘बिरामीका लागि हेलिकप्टर चार्टर गर्न अनुमति दिइएको हो उनले भने को-को जानु भयो ? के गर्नुभयो भन्ने विषयमा छानबिन भइरहेको छ । अहिले यसै हो भन्नसक्ने अवस्था छैन । छानबिन हुन दिनुस्’, सीडीओ यादवले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर