दीपेन्द्र लामाको संश्लेषण- फिल्ममेकरको स्तर बढेको छ, समीक्षाको बढेन – Nepal Press
नेपाल टक

दीपेन्द्र लामाको संश्लेषण- फिल्ममेकरको स्तर बढेको छ, समीक्षाको बढेन

निर्माताको पैसा नखाएका फिल्म पत्रकार भेट्न गाह्रै हुन्छ

काठमाडौं । भर्खरै बक्स अफिसमा सफल फिल्म ‘दुई नम्बरी’ का निर्देशक दीपेन्द्र लामा केही समयअघिसम्म रंग पत्रकारिता गर्थे । फिल्म समीक्षामा कलम चलाउँथे ।

‘कडा समीक्षक’ को परिचय बनाएका लामाले करिब दुई दशक पत्रिकाहरूका न्युज रुममा बिताए । ०५५ सालमा नेपाल समाचारपत्रले आयोजना गरेको ‘नेपाली फिल्मको स्तर सुधार्न के गर्न सकिन्छ’ नामक लेख प्रतियोगितामा उत्कृष्ट भएपछि पत्रकारितामा होमिएका लामाले त्यसपछि ‘नयाँ सडक दैनिक’, ‘नेपाल समाचारपत्र’, ‘स्पेश टाइम दैनिक’, ‘नेपाल म्यागजिन’, ‘नयाँ पत्रिका’, ‘नागरिक दैनिक’ र ‘फरकधार अनलाइन’ मा कलम चलाए ।

अनामनगरको ‘मिडिया प्वाइन्ट’ नामक संस्थामार्फत् पत्रकारिताको तालिम लिएर पत्रकारिता सुरू गरेका लामाको यात्रा दुई दशकसम्म अनवरत चल्यो । तर, पत्रकारिताभन्दा फिल्म मेकिङप्रति रुचि भएका लामाको चाहनाले ०७२/७३ सालमा नागरिक दैनिकमा कार्यरत रहँदा आकार लियो । पत्रकारिता गर्दै फिल्म ‘घामपानी’ को छायांकन सकाए । नयाँ पत्रिका दैनिकमा कार्यरत रहँदा फिल्म प्रदर्शन भयो । यसपछि ‘फरकधार’ अनलाइनमा केही समय काम गरे । र, पूर्णकालीन फिल्म मेकर भएर अगाडि बढे ।

लामाका ‘घामपानी’ पछि ‘गोपी’, ‘छ माया छपक्कै’ र ‘दुई नम्बरी’ फिल्म प्रदर्शन भइसकेका छन् । अहिले नयाँ फिल्मको तयारीमा लागिरहेका लामासँग नेपाल प्रेसका नवीनकाजी राईले कला पत्रकारिता, समीक्षा र फिल्म मेकिङमा आधरित रहेर गरिएको कुराकानीको सम्पादित अंश :-

– कला पत्रकारिता गरेर दुई दशक बिताउनुभयो । नेपालमा कला पत्रकारिता गर्नेहरू फिल्म वृत्तमै बदनाम छन् भनिन्छ, कति सत्य हो ?

पत्रकारितामा कला बिट मात्रै होइन, सबै बिट बदनाम छन् । सञ्जालमा पत्रकारलाई ‘पत्रुकार’ भनेर गाली गरिन्छ । अहिले समग्र पत्रकारिता जगत् नै बदनाम छ । इमानदार पत्रकारको संख्या न्यून छ । फिल्म वृत्तमै निर्माताको पैसा नलिएका पत्रकार भेट्न गाह्रै हुन्छ । त्यो भएपछि हेप्ने भइहाले ।

राजनीति गर्ने सबै नेता भ्रष्टाचारी हुन्नन्, तर सबैलाई चोर भन्छन् । सबै व्यवसायीले कर छल्दैनन्, सबैलाई एकै डालोमा हालिन्छ । यो विषय कला पत्रकारितामा राम्रो लेख्नेको टाउको दुखाइको विषय होइन । ‘बदनाम’ हुनेहरू हुँदै गर्छन्, राम्रो लेख्नेहरू लेखिरहन्छन् ।

– निर्माताको पैसा नलिइकन समाचार लेख्दैनन् भनेर कला पत्रकारलाई लाग्ने आरोप तपाईं पत्रकार हुँदादेखि मेकर हुँदासम्म किन यथावत् छ ?

सबैले लिएरै लेख्छन् भन्ने हुँदैन । अहिले फिल्म पत्रकारिता अलि पैसामुखी हुनुपर्ने कारण चाहीँ उनीहरूले आफैं अनलाइन चलाइरहेका हुन्छन् । टिभीमा समय किनेर कार्यक्रम चलाइरहेका हुन्छन् । कर्पोरेट हाउसहरूबाट विज्ञापन पाउँदैनन् । त्यसैले फिल्मको विज्ञापन माग्नुमा समस्या भएन । मूलधारका मिडियाले पनि कर्पोरेट हाउसहरूसँग विज्ञापन माग्छन् नि ! तर, फिल्ममा निर्मातासँग बजेट सीमित हुन्छ । उनीहरूले हरेक अनलाइनको प्रोफाइल हेर्छन् । त्यसअनुसार विज्ञापन दिन्छन् । उनीहरूले दशवटा अनलाइनलाई पैसा दिने निर्णय गर्न सक्छन् । तर, विज्ञापन नपाउनेले समाचार बनाएर ठोक्ने भन्ने हुँदैन । विज्ञापन पाए समाचार लेख्ने, नपाए नलेख्ने गर्नु भएन ।

– तर, विज्ञापनभन्दा पनि निर्माताले पैसै बाँड्छन् पनि भनिन्छ नि ?

पैसै बाँड्ने सवालमा कर्पोरेट हाउसहरूले पनि पैसै बाँड्ने हो नि ! पकेटबाट उद्योगपतिहरूले बाँड्छन् । खेलकुदमा पनि बाँडिन्छ रे ! क्राइम रिपोर्टिङमा पैसा बाँडिन्छ भनेर साथीभाइले खुलेआम भन्छन् । नेताहरूले पत्रकारको छोराछोरीलाई छात्रवृत्ति, जागिर मिलाइदिनेदेखि दसैँ खर्च बाँडेको गसिप नचलेको हो र ? पत्रकारिता क्षेत्र नै बदनाम छ, फिल्म पत्रकारितामात्रै होइन ।

– ‘बदनामी’ सँगै कला बिटप्रति मिडिया हाउसका न्युज रुम नै कठोर हुन्छन्, कलासँग सम्बन्धित विषय कम प्राथमिकतामा पर्छ भनिन्छ नि ?

हाम्रो बेला दैनिक पत्रिकाले कला पृष्ठलाई अलिअलि छुट्टै व्यवस्थापन गर्थ्यो । कान्तिपुरले सुरूमा अलिअलि दिए पनि पछि दिएन । हामी हुँदा स्पेस दिन थालेको थियो फेरि । नत्र मिडिया हाउसहरूले नेपाली फिल्मलाई सौताको व्यवहार गर्थे । सायद नेपाली फिल्ममा लागिरहेका मान्छेको स्तरसँग परिचित भएर पनि होला ।

अहिले नेपाली फिल्म क्षेत्र थोरै फराकिलो हुँदै गएको देखिन्छ । बौद्धिक मान्छेहरूको प्रवेश र चासोले हेयको दृष्टिकोणमा परिवर्तन पनि आएको छ । तर, न्युज रुम कठोर हुनुको कारण मिडिया हाउसलाई फिल्मले खासै बिजनेस दिँदैन । अर्कोतिर आर्थिक पत्रकारसँग कर्पोरेट हाउस र बिजनेस जोडिएको हुन्छ । राजनीतिक पत्रकारसँग शक्तिको पहुँचको भ्यालुएसन हुने भयो । तर, खेलकुद र कलाको न विज्ञापन आउँछ, न केही लाभ हुन्छ । त्यही भएर कम प्राथमिकतामा पर्छ ।

– कर्पोरेट हाउससँगको सम्बन्ध, राजनीतिक शक्तिसँगको पहुँच मात्रै सबैथोक हो र ?

मिडिया हाउसमा मनोरञ्जन पत्रकारितालाई नाच्ने, गाउने मात्रै हो, अरु खासै होइन भन्छन् । आर्थिक र राजनीतिक पत्रकारलाई बढी भ्यालु दिन्छन् । तलब पनि उनीहरूकै बढी हुन्छ । त्यो दुर्भाग्य हो । त्यो भनेको सम्पादक र मालिकले समाजमा कलाको महत्व नबुझ्नु हो । २० वर्ष पुरानो कला पत्रकार र राजनीतिक पत्रकारले पाउने तलबको फरक आकाश-जमीनको हुन्छ । तर, कलाभन्दा राजनीतिक बिटको पत्रकारको बुझाइ साँघुरो हुन्छ । राजनीतिक बिटका पत्रकार एमाले, कांग्रेस वा माओवादी पार्टीमै सीमित हुन्छन् ।

कला बिटमा गम्भीर रूपमा पत्रकारिता गर्नेहरूले संसारभरका राम्रा फिल्महरू हेर्नुपर्‍यो । उक्त फिल्महरूमा राजनीति, समाज, अर्थ, विज्ञान लगायत सबै विषय हुन्छन् । त्यो भनेको संसार र मान्छेको जीवनलाई बुझ्ने अवसर हो । जसले ज्ञान र बुझाइको दायरा फराकिलो बनाउँछ । राजनीतिक पत्रकारिता गर्नेहरूसँग त्यो अवसर हुँदैन । शक्ति र स्रोतमा पहुँच चाहीँ राजनीतिक पत्रकारको होला । तर, संसार र जीवनलाई बुझ्ने मामलामा कला पत्रकारकै पहुँच बढी हुन्छ । शक्तिको पहुँच मात्रै सबैथोक होइन ।

– प्रसंग बदलौं, तपाईंले लामो समय फिल्म समीक्षा लेख्नुभयो । मेकर भइसकेपछि पछिल्लो समय नेपाली फिल्मका समीक्षा कस्ता लाग्छन् ?

एक त नेपालमा फिल्म समीक्षा एकदमै कम हुन्छन् । सबै ब्रोडसिटमा फिल्म रिभ्यु आउँदैन । सूचना विभागमा हेर्दा त पत्रपत्रिकाको संख्या हजारौं छन् । सबैमा आउँदैनन् । काठमाडौं केन्द्रित टिभीहरूमै समीक्षा आउँदैनन् । रेडियोमा आउँदैन । जम्माजम्मी समीक्षा तीन चारजनाले लेख्ने हो । लेखिएका समीक्षामा पनि बुझाइमा कमजोरी देखिन्छ ।

लेखिरहेकाहरूले पनि मिहेनत कम गरेको देखिन्छ । अर्कातिर अहिलेको अवस्था हेर्दा नेपाली फिल्म मेकरको जति स्तर बढेको छ, त्यस अनुसार कम स्तरको समीक्षा छ ।

– फिल्म मेकरको स्तर बढेको छ ?

हो, बढेको छ । मिन भाम, सुजित बिडारीहरूले फिल्म बनाएका छन् । नवीन सुब्बाहरूले पनि बनाएका छन् । त्यही दाँजोमा हेर्दा उत्कृष्ट फिल्म समीक्षा कसले लेखेको छ ? समीक्षकमा मिहेनतको कमी छ । स्तर कम छ ।

– समीक्षा पनि बायस्ड भएर लेखिन्छ भनेर मेकरहरूले नै आरोप लगाउँछन् नि ?

त्यस्तो त कोही कोही होलान् । सबै त्यस्तो छैनन् । सबैले त्यसरी समीक्षा लेख्दैनन् । कोही-कोही चाहिँ अफू नजिकको मेकरलाई जोगाएर लेखिदिने । वा फिल्म रिभ्यू नै नगरिदिने खालका पनि होलान् । कसैले ढाँटेर झूर फिल्मलाई नै राम्रो भनेर लेखिदिने, त्यसलाई बुस्ट गरिदिने प्रवृत्ति पनि वेलावेला देखिन्छ । सबै त्यस्ता छन् भनेर भन्न मिल्दैन ।

तर, फिल्म समीक्षामा कमजोरी चाहिँ छ । फिल्म मेकरले मात्रै मिहेनत गर्ने होइन नि त ! समीक्षकले पनि मिहेनत गर्नुपर्‍यो । समीक्षाको पनि स्तर बढ्नुपर्‍यो । फिल्मको आलोचना गर्न पाइयो । प्रशंसा गर्न पाइयो । तर, त्यो तार्किक हुनुपर्‍यो । प्रशंसा गर्दा पनि तार्किक हुँदैन, आलोचना गर्दा पनि तार्किक हुँदैन । तर्कविना प्रशंसा वा आलोचना गर्दा त्यसले बहस छेड्न सक्दैन । अर्कातिर फिल्मलाई गाली गरेरमात्रै समीक्षा अब्बल हुने होइन, उसको लेखाइमा कति गहिराई छ, त्यसले अब्बलताको निर्धारण गर्छ ।

– तपाईं आफैंले २० वर्षसम्म समीक्षा लेख्नुभयो । ती समीक्षा चाहिँ कति बायस्ड थिए ?

मैलेमात्रै होइन, हामीले समीक्षा गर्दा एउटा फिल्मलाई मात्रै हेरेर गरेनौं । फिल्म उद्योगलाई नै हेर्‍यौं । हाम्रो समयमा हिन्दी फिल्मको अन्धाधुन्ध कपी गरिन्थ्यो । कथा, संगीत, अभिनय सबै कपी हुन्थे । त्यसलाई भत्काउनपर्छ भनेर लागेका थियौं । र ‘नुमाफुङ’, ‘मुकुण्डो’ जस्ता फिल्मलाई प्रोत्साहन गर्थ्यौं । प्रोत्साहन गरिएको फिल्ममा पनि कमजोरी हुन्छन् । तर, त्यसलाई मात्रै लेखेर फिल्म नै झूर छ भन्ने भ्रम पाठकमा छर्ने काम पछिल्लो समय व्याप्त छ ।

– अरुको फिल्ममाथि समीक्षा लेखेर कठोर समीक्षकको छवि बनाउनुभयो । अहिले मेकरको रूपमा आफ्नै फिल्ममाथि कठोर समीक्षा आउँदा कस्तो लाग्छ ?

समीक्षा नै गर्नुहुन्न भन्ने पक्षमा म छैन । समीक्षकलाई धम्क्याउने, डर देखाउने, ब्लक गर्ने मेरो काम पनि होइन । लेख्नलाई जोकोही स्वतन्त्र हुन्छन् । मेरा फिल्ममाथि आएका समीक्षालाई समीक्षाकै ठाउँमा राखेर हेर्छु । मेरो चारै फिल्ममा नेगेटिभ, पोजेटिभ रिभ्यु आए । त्यसमा कुनै आपत्ति छैन ।

– लामो समय फिल्म पत्रकारिता गरेर निर्देशनमा हात हाल्नुभएकाले समीक्षकहरूबाट प्रोत्साहन पनि पाउनुभयो होला नि ?

मैले प्रोत्साहन पाइनँ । यहाँ जस्तो फिल्मलाई पनि तारिफ गरिरहेका हुन्छन् । औसत कामहरूलाई अधिक प्रशंसा गरिरहेका हुन्छन् । अलि बायस्ड देखिन्छन् । हाम्रो फिल्म पत्रकारिता आलोकाँचो छ । कमसल र राम्रो काम गर्नेहरूमध्ये कमसल कामहरूलाई बढी स्पेस दिइरहेका हुन्छन् । सुजित बिडारीले पाउनुपर्ने स्पेस पाएको खोई ? युट्युबरले सुदर्शन थापा र दीपेन्द्र लामाभन्दा सुजितलाई स्पेस दिनुपर्ने होइन ? तर, दिएनन् ।

– सारमा तपाईंको चार फिल्ममाथि आएका समीक्षा चित्त बुझेको छ कि छैन ?

सबै समीक्षा त मेकरलाई कहाँ चित्त बुझ्छ र !

– त्यति लामो समय समीक्षा लेखेपछि फिल्म बनाइरहँदा समीक्षकहरूकै चित्त बुझाउन नसक्नुको कारण के हो ?

फिल्म समीक्षा गर्नु र राम्रो फिल्म बनाउनु अलग कुरा हो । राम्रो रिभ्यु गर्नेले फिल्म राम्रो बनाउछ भन्ने ग्यारेन्टी हुँदैन । समीक्षा पनि झूर छ, फिल्म पनि झुर बनाउँछ भन्ने हुँदैन । दुवै आ-आफ्नै खाले प्रतिभा हो । राम्रो समीक्षा लेख्छ, फिल्म बनाउँदा झुर बनायो भन्ने चाहिँ हुनसक्छ ।

तर, समीक्षकहरूको अपेक्षा के रहेछ भने ‘कालो पोथी’, ‘सेतो सूर्य’, ‘नुमाफुङ’ जस्तो फिल्म मैले बनाओस् । मेरो बुझाइ चाहिँ उल्लेखित राम्रा फिल्महरू बाहेक घरेलु बक्स अफिसका लागि जति फिल्म बनेका छन्, ती कमजोर भए भन्ने हो । अन्तर्राष्ट्रिय बजारमा जाने फिल्म भन्दा घरेलु बजारमा पुगोस् भन्ने मेरो उद्देश्य हो । त्यसले आम्दानी पनि हुने भयो, अर्को फिल्म बनाउन पनि सकिने भयो । दर्शकबाट पनि झूरै फिल्म बनायो भन्ने छैन ।

– आफैंले बनाएको फिल्म हेर्दा कमजोरी चाहिँ कत्तिको देख्नुहुन्छ ?

कमजोरी त देखिन्छ नि । ‘पाथेर पान्चोली’ हेर्दा पनि चित्त नबुझ्ने कुरा हुन्छन् । त्यसको मतलब मैले एक्सक्युज खोजेको होइन । दीपेन्द्र लामालाई गाली गर्न पाइन्छ । एकै फिल्मबाट सबैथोक आउँछ भन्ने हुँदैन । सबैले सोच्दा रहेछन् कि दीपेन्द्र लामाले उत्कृष्ट फिल्म बनाउनुपर्छ । तर, मेरो मुख्य उद्देश्य घरेलु बक्स अफिस हो । केही समयसम्म त्यस्तै फिल्म बनाउँछु । अबको बीस वर्षपछि पनि उस्तै खालका फिल्म बनाएँ भने त्यो मेरा लागि दुर्भाग्य हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर