साक्षी किनाराबाट महोत्तरी ३ – Nepal Press

साक्षी किनाराबाट महोत्तरी ३

हरेक निर्वाचनमा केही ‘हट क्षेत्र’प्रति विशेष चासो हुँदोरहेछ । तिनै क्षेत्रहरुमध्ये एक हो, महोत्तरी निर्वाचन क्षेत्र नं ३ । यस क्षेत्रको न्यानोपनाको कारण हो देशले झेल्न बाध्य चुनावी गठबन्धन । नेपाली कांग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धनबाट उपेन्द्र यादव बाहिरिएपछि कुरेर बसेको महन्थ ठाकुरले शेरबहादुर देउवासँग बार्गेनिङ गरी महोत्तरी क्षेत्र नं ३ (प्रदेशसहित) आफ्नो झोलीमा पारे । खासमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारी गठबन्धनको अंग हो वा होइन, कांगे्रसले आफ्नो कोटाबाट केही सीट दिएको हो वा होइन भन्ने विषय अहिले पनि प्रश्नयोग्य नै छ । गठबन्धनको राजनीति हावी भएको परिस्थितिमा यस्ता लेनदेन अति सामान्य हुनजान्छ ।

काठमाडौंमा नेपाली कांग्रेसका सभापतिले उपेन्द्र यादव गठबन्धनबाट बाहिरिँदा महन्थ ठाकुरलाई सुटुक्क कांग्रेसको हिस्साबाट केही सीट दिएर देशको भावी राजनीतिको कोर्षबारे छनक दिए । त्यसैअनुरुप कांग्रेसले नेतृत्व गरेको गठबन्धनबाट लोसपा अध्यक्ष महन्थ ठाकुर, नेकपा एमालेले नेतृत्व गरेको गठबन्धनबाट हरिनारायण यादव, नेकपा एमालेबाट बागी भई स्वतन्त्र रुपमा रामआधार कापड, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृशेषचन्द्र लाल अहिले चुनावी समरमा फते प्राप्तिका लागि खुबै प्रयास गरिरहेका छन् ।

एमालेले गरेको संसद विघटनपश्चात अहिलेसम्म लोसपा र जसपाले प्रदर्शन गरेको राजनीतिलाई नियाल्दा लोसपा अध्यक्षको क्षेत्रप्रति बढेको चासो जायज छ । काठमाडौंले कोरिदिएको चुनावी गोरेटोमा गन्तव्य प्राप्त गर्न ठाकुरलाई कतिको सहज छ ? महन्थ ठाकुरको राजनीतिक पृष्ठभूमि लामो छ । विद्यार्थीकालदेखि पञ्चायती व्यवस्थाविरुद्ध कडा संघर्षको विरासतका धनी ठाकुर विभिन्न पटक सांसद र मन्त्री बन्दै आएका नेतामध्ये एक हुन् । अहिले उनी लोसपा पार्टीलाई अध्यक्षता गरिरहेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारी गठबन्धनको अंग हो वा होइन, कांग्रेसले आफ्नो कोटाबाट केही सीट दिएको हो वा होइन भन्ने विषय अहिले पनि प्रश्नयोग्य नै छ ।

ठाकुरको तत्कालीन पार्टी राजपाले क्षेत्र नं ३ भित्र पर्ने चार वटा स्थानीय तह पिपरा गाउँपालिका, मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका र एकडारा गाउँपालिका जितेको थियो । नेपाली कांग्रेस र नेकपा एमालेप्रति मधेसमा घृणा फैलाइएको थियो, मधेसवादी दलद्वारा । समाजवादी फोरम र राजपाबीच चुनावी एलायन्स निर्माण भएको थियो । त्यसमाथि नेपाली कांग्रेसले महन्थ ठाकुरलाई जिताउन आफ्नै उम्मेदवार बजरंग नेपालीको मनोनयन दर्ता फिर्ता लिन लगाएको थियो । नेपाल कम्युनिष्ट पार्टीले कमजोर उम्मेदवार पठायो । ठाकुर १८ हजार १६९ मतको फराकिलो अन्तरले विजय भए । गत निर्वाचनमा महन्थ ठाकुरले प्रतिनिधि पठाएर मनोनयन दर्ता गराएका थिए । अहिले स्वास्थ्य प्रतिकूलताका बाबजुद आफैं जलेश्वर पुगेर नोमिनेशन गर्नु परेको अवस्था छ ।

गत निर्वाचनमा ठाकुर आफैं काठमाडौंमा रहे पनि उनको लावालस्कर ठूलै हुनेगर्थ्यो । ठाकुरविरुद्ध क्षेत्रमा एउटा साझा न्यारेटिभ चलेको देखिन्छ । त्यो हो, ‘महन्थ ठाकुर यदि राष्ट्रिय नेता हो भने क्षेत्र नं ३ मा राष्ट्रियस्तरको विकास खोइ त ?’

प्रतिद्वन्द्वी रामआधार कापड पाँचौंपटक निर्वाचन लडिरहेका छन् नेकपा एमालेबाट बागी भएर । कापड गठबन्धन बनाएर निर्वाचन लड्नु एउटा राजनीतिक अपराध हो भनी जनतालाई अपिल गर्दै हिँडेका देखिन्छन् । नेकपा एमालेबाट बागी मनोनयन दर्ता गराएका कापड जनताको विकल्पका रुपमा आफूलाई प्रस्तुत गर्ने मेहनतमा लागेका छन् । उनी २०४२ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय भई २०५२ सालमा नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष भएका थिए ।

ठाकुरविरुद्ध क्षेत्रमा एउटा साझा न्यारेटिभ चलेको देखिन्छ । त्यो हो, ‘महन्थ ठाकुर यदि राष्ट्रिय नेता हो भने क्षेत्र नं ३ मा राष्ट्रियस्तरको विकास खोइ त ?’

२०५६/५७ सालतिर कापड नेविसंघका केन्द्रीय सदस्य भएका थिए । उनी नेपाली कांग्रेसमा २८ वर्ष सक्रिय रुपमा विभिन्न भूमिका निर्वाह गरेका नेता हुन् । लामो समयदेखि गैरसरकारी संस्थाको माध्यमबाट उनी जनतामा आफ्नो नाम चिनाउन सफल नेता मानिन्छन् । २०६४ सालतिर मधेसवादी दलमा रहेर राजनीति सुरु गरेदेखि गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको वेलासम्म उनी माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी हुँदै नेकपा एमालेबाट समेत निर्वाचन लडिसकेका नेता हुन् ।

त्यसैगरी झण्डै पाँच दशकदेखिको राजनीतिक संगतमा रहेका वृषेशचन्द्र लालले २०७४ को ‘चुनावी समर’मा ठाकुरका महारथीको भूमिका निर्वाह गरेका थिए । पछिल्लो स्थानीय निर्वाचनभन्दा केही महिना पहिलामात्रै तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) पार्टी गठन गरी लाल अहिले आफ्ना गुरुको प्रतिद्वन्द्वीका रुपमा जनता रिझाउन मेहनत गरिरहेका छन् । राजनीतिक रुपले परिपक्व मानिएका लाल क्षेत्र नंं ३ को ‘माटो र मन’को आवाज बुझ्ने ल्याकत बोकेका नेता हुन् । पछिल्लो निर्वाचनको वेला ठाकुरको बलियो र कमसल ‘भोट बैंक’ भएका आधारबारे जानकार भएका कारण ठाकुरलाई ठूलो चुनौती थपिएको छ ।

त्यसैगरी नेकपा एमाले गठबन्धनका उम्मेदवार हुन हरिनारायण यादव । नेपाली कांगे्रसमा लामो समय राजनीति गरेका यादव कांगे्रसको जिल्ला सचिवसमेत रहेका थिए । २०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचनमा विजयी उनी मन्त्रीसमेत भइसकेका छन् । २०७४ जस्तै यसपालि क्षेत्र नं ३ मा पर्ने चारवटा पालिकामध्ये तीन वटा पालिका जसपाले जितेको छ ।

त्यसैगरी यादवसँगै प्रदेशसभाका लागि ३ (१) बाट मधेस प्रदेशका निवर्तमान मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा चुनाव लड्दैछन् । ३ (२) बाट एमालेका पुराना नेता रामदयाल मण्डल चुनावी मैदानमा छन् । क्षेत्र नं ३ मा एउटा ठूलो वर्गीय भोट बैंकमा मण्डलको पकड रहँदै आएको छ । २०७० मा भएको निर्वाचनमा जितेर दोस्रो संविधानसभा सदस्य भइसकेका मण्डल राजनीतिक रुपमा सक्रिय रहँदै आएका छन् । हरिनारायण र रामदयाल एकअर्कामा भर परेका छन् ।

त्यस्तै एमालेबाट बागी कापड र मण्डलबीचको भोट बैंक एउटै हो समग्रमा । नेताहरुले जातीय र वर्गीय मानसिकतामा मत खसाल्ने जनता तयार पारेका छन् । भर्खरै चर्चित राजनीतिक विश्लेषक सीके लालले एउटा अंगे्रजी अखबारमा छापिएको लेखमा उल्लेख गर्नुभएको छ, ‘गंगा मैदानका अधिकांश मतदाताहरु चुनावको समयमा आफ्नो मत हाल्दैनन्, तिनीहरुले नाता, पहिचान, ऐक्यबद्धता र गर्वको लागि आफ्नो जातलाई मतदान गर्छन् ।’

२०६४ सालपश्चात मधेसको चुनावी राजनीतिको डिस्कोर्षमा जातीयताको अहमियत बढ्न थालेको सबैले महसुस गर्न थालेको छ, बोल्दैनन् मात्र ।

महन्थ ठाकुर जुन जात र वर्गलाई प्रतिनिधित्व गर्नुहुन्छ त्यसलाई सामान्य भाषामा कथित फरवार्ड भन्न सकिन्छ । २०४६ सालदेखि अहिलेसम्मको ३५ वर्षको अवधिमा फरवार्डले नै जित्दै आएको छ । २०७० को दोस्रो संविधान सभामा एकपटकका लागि रामदयाल मण्डलले जितेको थियो ।

पछिल्लो केही दशकमा समाजमा राजनीतिक चेतनामा वृद्धि आएको छ । खुला बजार र वैदेशिक रोजगारको भरमा अधिकांश मानिसको दैनिकी फेरिएको छ । सही या गलत, आम मानिसमा सूचनाको पहुँचमा बढोत्तरी भएको छ । जसले मानिसमा सोच्ने क्षमताको विकास भएकै हो । गाउँघरतिर डिलक्स होटेलहरु खुल्न थालेको छ । अधिकत्तम व्यक्तिको घरमा इन्टरनेटको सुविधा छ । विभिन्न कारोबारको सञ्जाल बढेको छ समाजमा । पुलिस-प्रशासनसँग राम्रो सम्बन्ध राख्नैपर्ने पारम्परिक सोच हाबी हुँदै गएको छ । प्रशासनमा पकड बनाउन राजनीतिमा दखल राख्नु आवश्यक ठानिन्छ । शक्तिबाट टाढा रहँदै आएको एउटा ठूलो तप्का छ समाजमा जो शक्ति अभ्यास गर्न वर्गीय रुपमा गोलबद्ध भएको छ ।

सीके लालले प्रकट गर्नुभएको अनुभवलाई टेक्दै निर्वाचनको लेखाजोखा गर्न जातीय र वर्गीय फ्याक्टरलाई एउटा औजारका रुपमा लिनु वाञ्छनीय हुन्छ । २०६४ सालपश्चात मधेसको चुनावी राजनीतिको डिस्कोर्षमा जातीयताको अहमियत बढ्न थालेको सबैले महसुस गर्न थालेको छ, बोल्दैनन्मात्र । गएको वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा क्षेत्र नंं ३ को ‘सोसल इञ्जिनियरिङ’ थर्मराएको अवस्था छ ।

कांग्रेसतिर आँखा

अहिले चर्चामा रहेका चार वटै उम्मेदवारको राजनीतिक ‘डीएनएमा नेपाली कांगे्रस’ नै छ । मंसिर ४ को निर्वाचनमा कांगे्रसको मनपेट कता रहने हो भन्ने विषयले महत्व राख्ने भएको छ । दुईदिन पहिला कांग्रेसले मनरा शिसवा नपा वडा नं ९ (बथनाहा)मा क्षेत्रस्तरीय बैठक राखेको थियो । क्षेत्रका लगभग नेताहरुको उपस्थितिमा सम्पन्न उक्त बैठकमा वर्तमानबारे रणभूल्ल र भविष्यप्रतिको गम्भीर फिकिर देखियो । नेपाली कांगे्रसले आधिकारिक रुपमा लोसपासँगको तालमेलबारे गरेको निर्णयलाई नैतिक रुपमा सम्मान गरे पनि समग्रमा लोसपाप्रति कठोर आक्रोश रहेको छ ।

नेपाली कांग्रेसले आधिकारिक रुपमा लोसपासँगको तालमेलबारे गरेको निर्णयलाई नैतिक रुपमा सम्मान गरे पनि समग्रमा लोसपाप्रति कठोर आक्रोश रहेको छ ।

२०७४ सालमा नेपाली कांग्रेसले महन्थ ठाकुरलाई सघाउँदा ठाकुरका नेताहरुले लगाएको ‘कांग्रेसमुक्त महोत्तरी’को नाराले कांग्रेसीहरुलाई बेस्सरी पिरोलेको अवस्था छ । कांग्रेस नेताहरुको जोड समानुपातिक मत कति बटुल्न सकिन्छ भन्नेतिर इंगित छ । यसलाई स्वाभाविक पनि मानिएको छ । कांग्रेसले उत्साहजनक रुपमा समानुपातिक मत आफ्नो पोल्टामा पार्न सक्यो भने क्षेत्र नं ३ बाट दुईजना सांसद हुनसक्ने सुखद सम्भावना छ । लोसपा पार्टी त्यसै पनि राष्ट्रिय पार्टीको हैसियत ग्रहण गर्न नसक्ने प्रस्ट देखिएकाले के लोसपाले कांग्रेसको लागि समानुपातिक मतमा सहकार्य गर्नसक्छ भनी अनौपचारिक आवाज गुञ्जायमान नै छ । बथनाहा बैठकमा गठन भएको निर्वाचन परिचालनसम्बन्धी समितिले कांग्रेसको आधिकारिक मूभबारे प्रस्ट पार्ला ।

सत्तामा रहेका कारण लोसपाका प्रदेशसभा उम्मेदवारमाथि हुने ‘एन्टिइन्कम्बेन्सी’को प्रभाव रहने नै छ । त्यसको सीधा प्रभाव ठाकुरमाथि पर्ने भयो । यदि ठाकुरले कांग्रेसका केही नेता विशेषलाई सँगै ल्याउन सफल भए पनि त्यसले मतको ग्राफमा ल्याउने आकारमा भरपर्ने होला । निर्वाचन आयोगको तथ्यांकअनुसार क्षेत्र नं ३ मा कुल ९९ हजार ९३० मतदाता छन् । अनुमान लगाउनेहरुले ५५ देखि ६० हजारसम्म पोलिङ होला भनिरहेका छन् । पोलिङ जति भए पनि १० देखि १२ हजार मतदाताले के गर्ला भनी निर्णय लिन बाँकी रहेको क्षेत्रमा घुम्दा प्रस्ट बुझिन्छ । यो मत कुनै अमुक उम्मेदवारलाई नै मतदान गर्छन् भन्ने सम्भव छैन । तर, यसको ठूलो हिस्साले गर्ने मतदान निर्णायक रहने भयो । ठाकुरलगायत प्रतिस्पर्धामा रहेका कापड, यादव र लालले यसै भोटमा अर्जुनदृष्टि लगाएको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *