विशेष अदालतसँग अख्तियार असन्तुष्ट, भ्रष्टाचार मुद्दामा लापरबाहीपूर्वक सफाइ दिएको आरोप – Nepal Press

विशेष अदालतसँग अख्तियार असन्तुष्ट, भ्रष्टाचार मुद्दामा लापरबाहीपूर्वक सफाइ दिएको आरोप

दायर १६४ मुद्दामध्ये १४३ वटामा सफाइ

काठमाडौं । विशेष अदालतबाट सफाइ दिने क्रम बढेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असन्तुष्टि जनाएको छ । मुद्दाको सुनुवाइमा विशेष अदालत संवेदनशील नभएको, दोषी उम्किनेक्रम बढेको भन्दै लापरबाही देखिएको अख्तियारको गुनासो छ ।

विशेष अदालतको न्याय सम्पादनमा प्रश्न उठाउँदै अख्तियारले मंगलबार पत्रकार सम्मेलन गर्‍यो । आफूले गरेका अनुसन्धान र अभियोजनमा सफलताको प्रतिशत कम हुँदै गएपछि आयोगका प्रवक्ता श्यामकृष्ण भण्डारीले आम जनताको गलत बुझाइलाई चिर्न खोजिएको प्रष्ट्याए ।

‘आयोगले मुद्दाहरूमा हार्न थालेपछि हामीले कामै पो नगरेको हो कि भन्ने आम बुझाइ रहेको हुनसक्छ । त्यसैलाई चिर्न आज यो कार्यक्रम गरिएको हो’, भण्डारीले भने । अख्तियारले गत आर्थिक वर्षमा विशेष अदालतबाट भएका फैसलामध्ये करिब ३८ प्रतिशतमा मात्र सफलता प्राप्त गरेको थियो ।

भण्डारीका अनुसार गत साउन यता विशेष अदालतबाट गरिएका १६३ फैसलामध्ये १४३ मुद्दामा अभियुक्तलाई सफाइ दिइएको छ । तीमध्ये १२२ वटा मुद्दा पुनरावेदन लिएर सर्वोच्च पुगेको आयोग प्रवक्ता भण्डारीले बताए । पुनरावेदन गरिएकामध्ये ११२ वटा मुद्दा घुससँग सम्बन्धित छन् ।

‘अभियुक्तले आरोप इन्कार गर्नु स्वाभाविक हो । तर, विशेष अदालतले अधिकांश मुददामा इन्कारी बयान दिएकै आधारमा सफाइ दिएको छ’, भण्डारीले भने । उनले विशेष अदालतबाट हुने फैसला र त्यसलाई लिएर गरिने पुनरावेदनबारे जानकारी दिन आगामी दिनमा पनि पत्रकार सम्मेलन गरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर