विद्यालयको शैक्षिक गुणस्तरका भ्रम र सुधारका उपाय
विषय प्रवेश
‘हामी सबैको रहर, शिक्षामा गुणस्तर’
शैक्षिक बहसहरुमा ‘गुणस्तरीय शिक्षा’ शब्दावलीले विशेष स्थान पाएको छ । ‘गुणस्तरीय शिक्षा’ हरेक शैक्षिक बहसको मुख्य विषयवस्तु रहेको छ । राजनीतिक पार्टीका चुनावी घोषणापत्रहरुमा पनि गुणस्तरीय शिक्षाका नारा प्रशस्तै पढ्न पाइन्छ । तर, विडम्बना, गुणस्तरीय शिक्षाका हरेक बहस र नाराहरुमा ठोस योजना र कार्यनीति प्रस्तुत भएको देखिँदैन । गुणस्तरीय शिक्षा नारामै सीमित छ ।
आम अभिभावक, जनप्रतिनिधि र नेपाली सार्वजनिक वृत्तमा गुणस्तरीय शिक्षाको भ्रम छ । आम जनमानसमा अंग्रेजी माध्यममा शिक्षा प्रदान गर्नु, स्तरीकृत परीक्षामा विद्यार्थीहरुले उच्च अंक ल्याउनुलाई नै गुणस्तरीय शिक्षा हो भन्ने भ्रम व्याप्त छ । विद्यार्थीलाई डर, त्रास, दण्ड, सजायमार्फत अनुशासन कायम गर्न सक्नु नै शैक्षिक गुणस्तर सुधार हो भन्ने गलत बुझाइसमेत रहेको पाइन्छ ।
सार्वजनिक वृत्तमा गुणस्तरीय शिक्षा भन्नाले उच्च अंकका साथ परीक्षा पास गर्नु, विद्यार्थीलाई कक्षाकोठाको सीमित घेराभित्र राखेर पाठ्यपुस्तकका विषयवस्तु जबरजस्ती घोकाउनु र रटन्ते प्रणालीमार्फत परीक्षामा आएको अंक ल्याउनु हो । यसैलाई आधार मानी उत्कृष्ट विद्यालयको संज्ञा दिँदै विज्ञापन गर्नु र शिक्षाको बजारीकरण गर्नु जस्ता भ्रममा केन्द्रित रहेको पाइन्छ । विश्वमा आर्टिफिसियल इन्टेलिजेन्सले अखडा जमाएको र अझ त्यसमा पनि दिमागमा सेट हुने मेमोरी चिप्सको प्रयोगको कुरा उठ्न थालेको सन्दर्भमा घोकन्ते र कन्ठस्थ पार्ने शिक्षा प्रणालीको उपादेयता कति होला र ? यस्तो सन्दर्भमा रचनात्मक र सिर्जनात्मक चिन्तनसहितको शिक्षा प्रणालीमात्र फलदायी बन्नसक्छ भन्ने सोचको विकास भएको पाइँदैन ।
प्रत्येक वर्ष विद्यार्थी भर्ना अभियानमा अंग्रेजी माध्यमलाई गुणस्तरीय शिक्षाको मानकको रुपमा विज्ञापन गरी शिक्षालाई व्यापारीकरण गरिएको पाइन्छ । शैक्षिक गुणस्तरको नाममा अस्पष्ट र भ्रामक विज्ञापन गरी अभिभावक र विद्यार्थीलाई भ्रमित गरिरहेको अवस्था छ । अंग्रेजी माध्यम नै सबै समस्याको समाधान हो भन्ने गलत चिन्तनलाई अभियानको रुपमा सञ्चालन गरिँदै आएको छ । अंग्रेजी माध्यम र अंग्रेजी भाषा सिकाइ फरक कुरा हुन् भन्ने छुट्याउन नसक्दा अंग्रेजी माध्यम नेपालको शिक्षा प्रणालीमा फेशन नै भएको छ ।
आम अभिभावक, जनप्रतिनिधि र नेपाली सार्वजनिक वृत्तमा गुणस्तरीय शिक्षाको भ्रम छ । आम जनमानसमा अंग्रेजी माध्यममा शिक्षा प्रदान गर्नु, स्तरीकृत परीक्षामा विद्यार्थीहरुले उच्च अंक ल्याउनुलाई नै गुणस्तरीय शिक्षा हो भन्ने भ्रम व्याप्त छ ।
अनुशासनको नाममा डर, त्रास, दण्ड, सजायमार्फत कक्षाकोठाको साँघुरो घेराभित्र सीमित गराई घोकन्ते माध्यमबाट परीक्षामा प्राप्त अंक र अंग्रेजी माध्यमलाई गुणस्तरीय शिक्षा भन्नु शिक्षाप्रतिको साँघुरो चिन्तन हो । निजी र सार्वजनिक दुई खाले शिक्षा प्रणालीले निर्माण गरेको खाडलमा गुणस्तरीय शिक्षाको नाममा सार्वजनिक विद्यालयहरुले पनि अंग्रेजी माध्यमलाई प्रोत्साहन गरेको पाइन्छ ।
गुणस्तरीय शिक्षा के हो र यसका मापदण्डहरु के के हुन् भन्ने विषयको वस्तुगत ठोस उत्तर दिन शिक्षाविद्, प्राध्यापक, शिक्षक सबै अलमलिएको पाइन्छ । परीक्षामा जसरी पनि उच्च अंक ल्याउनुपर्ने परीक्षामुखी शिक्षा प्रणालीलाई गुणस्तरीय शिक्षाको मापदण्ड बनाइनु विडम्बना हो । त्यसैले शिक्षक, विद्यार्थी, अभिभावक, समाजसेवी, शिक्षाप्रेमी, जनप्रतिनिधिलगायत सम्पूर्ण सरोकारवालाहरु गुणस्तरीय शिक्षा के हो भन्नेमा स्पष्ट हुन जरुरी छ ।
गुणस्तरीय शिक्षाको एउटै र सर्वमान्य परिभाषा पाउन सम्भव छैन । त्यस्तै गुणस्तरीय शिक्षाका मापदण्डको सम्बन्धमा पनि समान अवधारणा रहेको पाइँदैन । गुणस्तरीय शिक्षाका मापदण्डहरुमा समानता नभए पनि राज्यले तय गरेका शिक्षा नीति, शिक्षाका तहगत सक्षमता तथा राष्ट्रिय उद्देश्य प्राप्तिका लागि तयार गरिएका पाठ्यक्रम, पाठ्यपुस्तक, भौतिक पूर्वाधार, सिकाइ वातावरण, मूल्याङ्कन प्रणालीको शैक्षिक गुणस्तर सुधारमा भूमिका रहन्छ नै । त्यस्तै विषयगत शिक्षकको योग्यता, शिक्षण कला, पेशाप्रतिको जवाफदेहिता, शैक्षिक व्यवस्थापन, अनुगमन, निरीक्षण, सुपरिवेक्षण गुणस्तरीय शिक्षामा प्रभाव पार्ने तत्व हुन् ।
आधारभूत मानवीय गुण, ज्ञान, सीप, क्षमता र आचरण आर्जन गरी सभ्य, शिष्ट, शालिन, नैतिकवान, चरित्रवान, सुसंस्कृत, कर्तव्यनिष्ठ, कर्मशील, गतिशील, अनुशासित, स्वावलम्बी, आत्मनिर्भर, समझदारी, आदर्श, नागरिक तयार गर्न सक्ने शिक्षा नै गुणस्तरीय शिक्षा हो । व्यवहारिक दृष्टिकोणमा सिकाइमार्फत मानवीय व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सक्ने, व्यवहारिक समस्या हल गर्न सक्ने, कामप्रति सम्मान गर्ने, उद्यमशील, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगतमा योगदान दिन सक्ने नागरिक तयार गर्ने शिक्षा नै गुणस्तरीय शिक्षा हो । परीक्षामा प्राप्त उच्च अंकले मात्र गुणस्तर मापन हुँदैन ।
गुणस्तरीय शिक्षाले सन्तुष्टिसँग सम्बन्ध राख्दछ । कुनै पनि खानाको परिकार कति गुणस्तरीय छ भन्ने कुरा उक्त खाना खाने व्यक्तिको स्वाद, रुचि, स्वास्थ्य र आवश्यकताअनुशारको सन्तुष्टिमा निर्भर हुन्छ भने उक्त खाना बनाउनेको सन्तुष्टि खाना खाने व्यक्तिको सन्तुष्टिसँग जोडिएको हुन्छ । खाना खाने र खाना बनाउने दुवै सन्तुष्ट भएमात्र उक्त खानाको परिकार गुणस्तरीय बन्नसक्छ । त्यस्तै शिक्षाको गुणस्तर पनि विद्यार्थी, शिक्षक र अभिभावकको सन्तुष्टिमा निर्भर रहन्छ । शैक्षिक प्रणालीका यी तीनै पक्ष सन्तुष्ट भएमात्र शिक्षाको गुणस्तर कायम हुन सक्दछ ।
विश्वमा आर्टिफिसियल इन्टेलिजेन्सले अखडा जमाएको र अझ त्यसमा पनि दिमागमा सेट हुने मेमोरी चिप्सको प्रयोगको कुरा उठ्न थालेको सन्दर्भमा घोकन्ते र कन्ठस्थ पार्ने शिक्षा प्रणालीको उपादेयता कति होला र ?
विद्यालयको शैक्षिक गुणस्तर सुधार शिक्षकको एकल प्रयासबाट मात्र सम्भव छैन । गुणस्तर सुधार शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधिलगायत सबै सरोकारवालाहरुको साझा प्रयत्नबाट मात्र सम्भव छ । शैक्षिक गुणस्तर सुधारका आधारभूत मापदण्डहरु यसप्रकार छन् –
सक्षम नेतृत्व : शैक्षिक गुणस्तर सुधारको लागि योग्य सक्षम क्षमतावान दूरदृष्टि र दृढ इच्छा शक्ति भएका व्यक्तिलाई प्रधानाध्यापकको जिम्मेवारी दिइनु पर्दछ ।
उत्कृष्ट शिक्षक : शैक्षिक गुणस्तर सुधारको केन्द्रीय भूमिका शिक्षकको रहेको हुन्छ । विद्यालयमा योग्य, सक्षम, जाँगरिला, समर्पित, शिक्षणलाई जागिरको रुपमा भन्दा पनि जिम्मेवारीको रुपमा लिएर सबै बालबालिकालाई आफ्नै छोराछोरी समान सिकाइ गर्नसक्ने, सकारात्मक सोच भएका आधुनिक प्रविधिसँग परिचित उत्कृट जनशक्तिलाई शिक्षणमा प्रवेश सुनिश्चित गरिनु पर्दछ ।
उत्सुक सिकारु : विद्यालयमा बालबालिका सामाजिक, पारिवारिक, आर्थिक, मनोवैज्ञानिक भय, चिन्तारहित भएर सिक्न सदैव तत्पर रहनु पर्दछ ।
नवीनत्तम सिकाइ : सिकाइ परीक्षामुखीमात्र नभएर कुनै पनि प्रकारको डर, त्रासरहित वातावरणमा आधुनिक प्रविधिको प्रयोग गर्दै रचनात्मक, सिर्जनशील प्रयोगात्मक, खोजमूलक, स्थलगत भ्रमणमा आधारित, अनुसन्धानमूलक, परियोजना कार्यमा आधारित हुनुपर्दछ ।
उपयुक्त भौतिक पूर्वाधार तथा सिकाइ वातावरण : विद्यालयको भौतिक पूर्वाधार बालबालिकाको सर्वोच्चता कायम भएको बालमैत्री पढौं पढौं लाग्ने सुसज्जित कक्षाकोठा, स्वच्छ सफा खानेपानीको व्यवस्था, उपयुक्त फर्निचर, उपयुक्त व्यवस्थित खेलमैदान, सुरक्षित कम्पाउण्ड घेराबार, मनोरम हरियाली वातावरण, व्यवस्थित पुस्तकालय, प्रयोगशाला, डिजिटल सामग्री (कम्प्युटर, ल्यापटप, स्मार्ट बोर्ड आदि) प्रत्येक कक्षामा सिकाइ कुना, चमेना गृह, शिक्षक तथा छात्रछात्रा आवासको व्यवस्था शैक्षिक गुणस्तर सुधारको लागि आवश्यक पर्दछन् ।
समुचित व्यवस्थापन : विद्यालयको शैक्षिक भौतिक आर्थिक पक्षहरु चुस्त, दुरुस्त र पारदर्शी हुनुपर्दछ । विद्यालय सुधार योजना निर्माण सामाजिक परीक्षण तथा अन्य योजना निर्माण तथा निर्णय प्रक्रियामा समुदायको सार्थक र निर्णायक सहभागिता गराउनु पर्दछ । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ विद्यालयको व्यवस्थापकीय पक्षमा जिम्मेवार, जवाफदेही र उत्तरदायी बन्नुपर्दछ । विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न शिक्षक अभिभावक संघले अहम् भूमिका निर्वाह गर्नुपर्दछ ।
पर्याप्त लगानी : संघ, प्रदेश र स्थानीय सरकारले शिक्षामा यथेष्ट बजेटको व्यवस्था गर्नुपर्दछ ।
प्रगतिशील नीति : शैक्षिक गुणस्तर सुधारको लागि शिक्षा नीति समय सापेक्ष र प्रगतिशील हुनुपर्दछ ।
उपयुक्त सिकाइ सामग्री : गुणस्तरीय शिक्षाको लागि पाठ्यक्रम, पाठ्यपुस्तक, सन्दर्भ सामग्री, शिक्षक निर्देशिका सहज र सरल रुपमा उपलब्ध हुनुका साथै सिकाइ सामग्रीहरु बालबालिकाको रुचि र चाहना अनुकूल सान्दर्भिक, रुचिकर, समय सापेक्ष, रचनात्मक र आजको विज्ञान तथा प्रविधिको युगमा प्रविधिमैत्री हुनुपर्दछ ।
अंग्रेजी माध्यम र अंग्रेजी भाषा सिकाइ फरक कुरा हुन् भन्ने छुट्याउन नसक्दा अंग्रेजी माध्यम नेपालको शिक्षा प्रणालीमा फेशन नै भएको छ ।
नियमित अनुगमन : विद्यालयमा सञ्चालित शैक्षिक गतिविधिको सरकारी संयन्त्र अभिभावक, जनप्रतिनिधि एवं सरोकारवालाहरुको नियमित अनुगमन तथा सुपरिवेक्षणले पनि शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्दछ ।
उल्लेखित मापदण्डहरुमा गुणस्तर कायम गर्न सकेमात्र शैक्षिक गुणस्तर सुधार गर्न सकिन्छ । शिक्षकको एकल प्रयास गुणस्तर सुधारमा सार्थक बन्न सक्दैन । सबैको साझा प्रयासमा मात्र शैक्षिक गुणस्तर सम्भव छ ।
शैक्षिक गुणस्तर सुधारमा देखिएका समस्या
विद्यालयको शैक्षिक गुणस्तर सुधारमा देखिएका समस्या यसप्रकार छन्-
भौतिक समस्याहरु
अव्यवस्थित र जीर्ण भवन तथा कक्षाकोठा : विद्यालयका कतिपय भवन तथा कक्षाकोठाहरु सिक्न र सिकाउन जाँगर नलाग्ने, झ्याल ढोका, भित्ता भत्केका, पानी चुहिने, विद्युत आपूर्ति नभएका, अँध्यारा, हावा नखेल्ने, रङरोगन नगरिएका, उजाड, उदास, उराठ, बस्नै मन नलाग्ने, रुग्ण, जीर्ण, कालो ओडार जस्ता र त्यसमा पनि अपर्याप्त कक्षा कोठामा कस्तो खालको गुणस्तरीय शैक्षिक क्रियाकलाप सञ्चालन होला ?
अनुपयुक्त फर्निचर : बालबालिकाले सिकाइको लागि प्रयोग गर्ने डेस्क, बेन्चलगायतका फर्निचर बालबालिका मैत्री नभएका, टुटे-फुटेका, भाँच्चिएका, प्वाल परेका, अत्यन्तै अप्ठेरो र असहज बसाइमा कसरी गुणस्तरीय सिकाइ सम्भव होला ?
स्वच्छ खानेपानीका अभाव र अव्यवस्थित खेल मैदान : विद्यालयहरुको खेलमैदान विद्यार्थी संख्या र तहअनुसार चौडा नभएका, भिराला, पानी जमेर हिलैहिलो सिम जस्तो भएका, ढुङ्गा-रोडा भएका असुरक्षित हुनु पनि शैक्षिक गुणस्तर सुधारका बाधा हुन् ।
- कम्पाउण्ड घेराबारा नहुँदा विद्यालयको वातावरण असुरक्षित हुनु तथा विद्यालय परिसर गाईवस्तु र बाख्राको चरन क्षेत्र बन्नु ।
- बेवारिसे कुकुरहरुको बासस्थल बन्नु र यसले विद्यालयको वातावरण दूषित र अस्तव्यस्त हुनु ।
- विद्यालयको वातावरण पढौं पढौं लाग्ने मनोरम र हरियाली नहुनु ।
- विद्यालयमा पर्याप्त पुस्तक र पुस्तकालयमा बसेर अध्ययन गर्ने व्यवस्थासहितको पुस्तकालय नहुनु ।
- व्यवस्थित प्रयोशाला नहुनु र प्रयोगशालामा पर्याप्त र गुणस्तरीय सामग्री नहुनु ।
- पानी तथा सफाइ सामग्रीको अभावमा शौचालयहरु दुर्गन्धित हुनु ।
- विद्यालयमा चमेना गृह नहुनु ।
- शिक्षक तथा छात्रछात्राको लागि विद्यालयमा आवासको व्यवस्था नहुनु ।
- सभाहलको व्यवस्था नहुनु ।
- विद्यालयमा सिकाइ सम्बद्ध आधुनिक प्रविधि (कम्प्युटर, ल्यापटप, स्मार्ट बोर्ड आदि) को पर्याप्त व्यवस्था नहुनु ।
निजी र सार्वजनिक दुई खाले शिक्षा प्रणालीले निर्माण गरेको खाडलमा गुणस्तरीय शिक्षाको नाममा सार्वजनिक विद्यालयहरुले पनि अंग्रेजी माध्यमलाई प्रोत्साहन गरेको पाइन्छ ।
शैक्षिक समस्याहरु
न्यून तथा असमान विषयगत शिक्षक दरबन्दी : कुनै विद्यालयमा विद्यार्थी संख्या धेरै छ । तर, शिक्षक दरबन्दी न्यून छ भने कतै विद्यार्थी संख्या ज्यादै न्यून छ । तथापि शिक्षक दरबन्दीको व्यवस्था गर्नुपरेको छ । जसले गर्दा एउटा शिक्षकले एक दिनमा लगातार ६/७ पिरियडसम्म त कतै एकैपटक एकै पिरियडमा एउटा शिक्षकले एकभन्दा बढी कक्षाहरुमा पढाउनु परेको छ । यस्तो परिस्थितिमा कति वेला पूर्वतयारी गर्नु, कति वेला पाठ योजना बनाउनु र थकित अवस्थामा कस्तो सिकाइ क्रियाकलाप सञ्चालन गर्नु ? यसले कस्तो गुणस्तर पाइएला ?
- सिकाइ प्रविधि मैत्री नहुनु ।
- पाठ्यक्रम, पाठ्यपुस्तक, सन्दर्भ सामग्री, शिक्षक निर्देशिकालगायतका सिकाइ सामग्रीहरु बालबालिकाको रुचि र चाहना अनुकूल नहुनु तथा सहज र सरल रुपमा समयमा उपलब्ध नहुनु ।
- प्रत्येक विषयको लागि छुट्टाछुट्टै विषयगत सामग्रीसहितको प्रयोगशाला नहुनु ।
- शिक्षक, विद्यार्थी तथा अभिभावकको लागि प्रोत्साहन तथा पुरस्कार तथा जिम्मेवारी पूरा नगर्ने शिक्षकलाई दण्डको व्यवस्था नहुनु ।
- शिक्षकले आफ्नो जिम्मेवारीबोध नगर्नु तथा दोहोरो पेशामा संलग्न हुनु र शिक्षणलाई जागिरको रुपमा मात्र लिनु ।
- सिकाइ परम्परागत लेक्चर शैलीको र परीक्षामुखी हुनु तथा सिकाइमा नवप्रवर्तनको प्रयोग नहुनु ।
- शिक्षक तथा विद्यार्थी लगनशील नहुनु, अनियमित हुनु, विद्यालय आउने, जाने तथा कक्षामा पढाउने समयको पालना नगर्नु र सिकाइभन्दा पनि कोर्स सक्नेतिर बढी केन्द्रित हुनु ।
- शिक्षक सक्रिय राजनीतिमा संलग्न हुनु र पेशागत हक-हितको लागि स्थापना भएक संघ-संगठन तथा महासंघले विद्यालयका भन्दा राजनीतिक दलका एजेन्डा बढी उठाउनु ।
- राजनीतिक आस्था र पहुँचको आधारमा शिक्षक तथा प्रधानाध्यापक नियुक्त गरिनु ।
- अभिभावक शिक्षाको व्यवस्था नहुनु ।
- कक्षाकोठामा सिकाइ कुनाको व्यवस्था नहुनु ।
व्यवस्थापकीय समस्याहरु
- विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक पक्षहरु चुस्त, दुरुस्त र पारदर्शी नहुनु ।
- विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ म्याद गुज्रिएको लामो समयसम्म राजनीतिक दाउपेच र स्वार्थले गठन हुन नसक्नु तथा उक्त समितिहरुको गठन राजनीतिक पहुँचका आधारमा हुनु ।
- विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ साथै शिक्षक स्टाफको नियमित बैठक नबस्नु र बैठक तथा भेलाहरुमा शैक्षिक योजना र गुणस्तर सुधारमा गहन छलफल नहुनु ।
- दिवा खाजा व्यवस्थित हुन नसक्नु ।
- इन्टरनेट कम क्षमताको हुनु ।
- शिक्षक तथा विद्यार्थीलाई परिचयपत्रको व्यवस्था नहुनु ।
- विद्यालयप्रति अभिभावकको चासो कम हुनु ।
- शिक्षामा पर्याप्त लगानी नहुनु ।
- नियमित विद्यालय अनुगमन नहुनु ।
- छात्रालाई वितरण गरिने सेनिटरी प्याड गुणस्तरहीन हुनु र त्यसको प्रयोग पछि डिस्पोज गर्ने व्यवस्था नहुनु ।
गुणस्तरीय शिक्षा के हो र यसका मापदण्डहरु के के हुन् भन्ने विषयको वस्तुगत ठोस उत्तर दिन शिक्षाविद्, प्राध्यापक, शिक्षक सबै अलमलिएको पाइन्छ । परीक्षामा जसरी पनि उच्च अंक ल्याउनुपर्ने परीक्षामुखी शिक्षा प्रणालीलाई गुणस्तरीय शिक्षाको मापदण्ड बनाइनु विडम्बना हो ।
समस्या समाधानका उपायहरु
भौतिक पक्षतर्फ
- विद्यालयका कक्षाकोठा पढौं पढौं लाग्ने, सुन्दर, शान्त, सफा, सुसज्जित, विद्युत आपूर्तिसहितको व्यवस्थित र बालमैत्री हुनुपर्दछ ।
- विद्यालय भवन र कक्षाकोठाका भित्ताहरु प्लास्टर तथा रङरोगन, झ्याल–ढोकामा रङरोगन, कक्षाकोठाको भूईं ढलान र पानी नचुहिने छानोको व्यवस्था हुनुपर्दछ ।
- विद्यार्थीले प्रयोग गर्ने फर्निचर सुन्दर, सफा, बस्नलाई सहज हुने, बालमैत्री र एउटा बेन्चमा बढीमा २ जनाको बसाइ व्यवस्था हुनुपर्दछ ।
- विद्यालयको वातावरण सुन्दर, शान्त, मनोरम र हरियाली बनाउन विद्यालय बगैंचाको निर्माण गर्नुपर्दछ ।
- एक शिक्षक एक र्याकसहितको टेवलको व्यवस्था गर्नुपर्दछ ।
- विद्यालयको कम्पाउण्ड घेराबारा गरी सुरक्षित बनाउनु पर्दछ र विद्यालय परिसरमा गाईवस्तु तथा बाख्राको चरनमा बन्देज गर्नुपर्छ ।
- दिवा खाजालाई व्यवस्थित बनाउन विद्यालयमा चमेना गृहको व्यवस्था हुनुपर्छ ।
- पयाप्त पुस्तक र अध्ययन कक्षसहितको व्यवस्थित पुस्तकालय हुनुपर्दछ ।
- विद्यालयको खेलमैदान ढलान वा टायल लगाएर व्यवस्थित बनाउनुपर्दछ ।
- पर्याप्त र गुणस्तरीय सामग्रीसहित प्रत्येक विषयको अलग–अलग विषयगत प्रयोगशालाको व्यवस्था हुनुपर्दछ ।
- पर्याप्त कम्प्युटरसहितको कम्प्युटर ल्याबको व्यवस्था हुनुपर्दछ ।
- विद्यालयमा शिक्षक तथा छात्रछात्राको लागि आवासको व्यवस्था हुनुपर्दछ ।
- विद्यालयमा स्वच्छ र सफा खानेपानीको व्यवस्था हुनुपर्दछ ।
- शौचालयमा पानी तथा सफाइ सामग्रीको व्यवस्था हुनुपर्दछ ।
- विद्यालयमा एक व्यवस्थित सभाहल हुनुपर्छ ।
- सिकाइसँग सम्बन्धित आधुनिक प्रविधि (कम्प्युटर, ल्यापटप, स्मार्ट बोर्ड) को पर्याप्त व्यवस्था हुनुपर्छ ।
- छात्रालाई वितरण गरिने सेनिटरी प्याड गुणस्तरीय हुनुपर्दछ र त्यसलाई डिस्पोज गर्ने इसिनिरेटर बर्नर मेसिनको व्यवस्था हुनुपर्दछ ।
शैक्षिक पक्षतर्फ
- एक शिक्षकले एक दिनमा ३ देखि बढीमा ४ वटा पिरियडमात्र पढाउने गरी विद्यार्थी संख्या र तहअनुशार पर्याप्त शिक्षक दरबन्दीको व्यवस्था गर्न थप शिक्षक दरबन्दी सृजना तथा नजिकको दूरीमा रहेका विद्यालय समायोजन र दरबन्दी मिलान गर्नुपर्दछ ।
- महिला शिक्षकको हकमा सुत्केरी बिदामा बसेको अवस्थामा सट्टा शिक्षकको व्यवस्था गर्नुपर्दछ ।
- बाल शिक्षक तथा कर्मचारीहरुको पारिश्रमिक कम्तिमा प्राथमिक र निम्न माध्यमिक तहका शिक्षकसरह र निजी शिक्षकको हकमा सम्बन्धित तहको स्केलमा नघटाइ दिनुपर्दछ ।
- पाठ्यक्रम, पाठ्यपुस्तक, सन्दर्भ सामग्री, शिक्षक निर्देशिकालगायतका सिकाइ सामग्री सरल र सहज रुपमा समयमै उपलब्ध गराउनुका साथै विद्यार्थीको रुचि र चाहनाअनुकूल हुनुपर्दछ ।
- शिक्षक जिम्मेवार र लगनशील बनी विद्यालय आउने, जाने तथा कक्षाकोठामा पढाउने समयको पालना गर्नुका साथै शिक्षणलाई जागिरको रुपमा भन्दा पनि जिम्मेवारीको रुपमा बोध गरी सबै बालबालिकालाई आफ्नै छोराछोरी समान सिकाइ गर्नुपर्दछ ।
गुणस्तर सुधारका समस्याहरुलाई आत्मसात गर्दै समस्या समाधानका उपायहरु दृढताका साथ कार्यान्वयनमा शिक्षक, अभिभावक, जनप्रतिनिधिलगायत सरोकारवाला सबैको साझा प्रयत्नबाट मात्र विद्यालयको शैक्षिक गुणस्तर सुधार सम्भव छ ।
- शिक्षकले सिकाइ सुधार योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्दछ ।
- सिकाइलाई प्रविधि मैत्री बनाउन पहिलो अनिवार्य सर्तको रुपमा स्थानीय, प्रदेश वा संघीय सरकारले एक शिक्षक एक ल्यापटपको व्यवस्था गर्नुपर्दछ ।
- विभिन्न बालसुलभ सिकाइ सामग्री र खेलौना तथा आराम कक्षसहितको व्यवस्थित बालकक्षा हुनुपर्दछ ।
- प्रत्येक कक्षामा सिकाइ कुनाको व्यवस्था हुनुपर्दछ ।
- शिक्षक, विद्यार्थी तथा अभिभावकलाई शैक्षिक भ्रमणको व्यवस्था गर्नुपर्दछ ।
- सिकाइलाई परम्परागत परीक्षामुखीको सट्टा रचनात्मक, सिर्जनात्मक, छलफलमा आधारित, खोज तथा अनुसन्धानमूलक, स्थलगत भ्रमणमा आधारित, परियोजना कार्यमा आधारित, नवप्रवर्तनात्मक र बालमैत्री बनाउनुपर्दछ ।
- वार्षिक योजना, एकाइ योजना, पाठयोजना तथा विषयगत शिक्षकहरुको साझा योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्दछ ।
- माथिल्ला कक्षाहरुमा अतिरिक्त कक्षाको व्यवस्था गर्नुपर्दछ ।
- उत्कृट शिक्षक, विद्यार्थी र अभिभावकलाई प्रोत्साहन तथा पुरस्कारको व्यवस्थाका साथै आफ्नो जिम्मेवारी पूरा नगर्ने शिक्षकलाई दण्डको व्यवस्था हुनुपर्दछ ।
- शिक्षक तथा प्रधानाध्यापकको नियुक्ति राजनीतिक पहुँचको आधारमा नभई योग्यता र क्षमताको आधारमा हुनुपर्दछ ।
- शिक्षकलाई तालिमको व्यवस्था गर्नुपर्दछ ।
- अभिभावक शिक्षाको व्यवस्था गर्नुपर्दछ ।
व्यवस्थापकीय पक्षतर्फ
- विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक गतिविधि चुस्त दुरुस्त र पारदर्शी हुनुपर्दछ।
- विद्यालयको सामाजिक परीक्षण नियमित रुपमा हुनुपर्दछ ।
- विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभवक संघको म्याद सकिनुअगावै नियमानुसार राजनीतिक प्रभाव तथा हस्तक्षेपरहित वातावरणमा गठन प्रक्रिया अगाडि बढाउनु पर्दछ र ती समितिहरु विद्यालयको विकासमा पूर्ण जवाफदेही र उत्तरदायी बन्नुपर्दछ ।
- विद्यालयका शिक्षक स्टाफ, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकको नियमित बैठक बस्नुका साथै बैठकहरुमा शैक्षिक गुणस्तर सुधारमा गहन छलफल गरी बैठकका निर्णय कार्यान्वयन गर्नुपर्दछ ।
- शिक्षामा यथेष्ट लगानी गर्नुपर्दछ ।
- विद्यालयको रेखदेख गर्न विद्यालय गार्डको व्यवस्था गर्नुपर्दछ ।
- विद्यालयमा एक नर्ससहित प्राथमिक उपचार कक्ष तथा एक विद्यार्थी परामर्श कक्षको व्यवस्था गर्नुपर्दछ ।
- शिक्षक तथा कर्मचारीहरुको तलब मासिक रुपमा उपलब्ध गराउनुपर्दछ ।
- शैक्षिक पात्रो बनाई कार्यान्वयन गर्नुपर्दछ ।
- शिक्षकहरुलाई परिचयपत्रको व्यवस्था गर्नुपर्दछ ।
- विद्यालय सुधार योजना निर्माण तथा निर्णय प्रक्रियामा अभिभावकको सक्रिय र निर्णायक सहभागिता गराउनुपर्दछ ।
- नियमित विद्यालय अनुगमन गर्नुपर्दछ ।
- अभिभावकहरु विद्यालयमा साप्ताहिक, पाक्षिक वा मासिक रुपमा विद्यालयमा उपस्थित भएर विद्यालयको गतिविधिमा जानकार हुनुपर्दछ ।
निष्कर्ष
गुणस्तरीय शिक्षाको मूल मर्म र मापदण्डअनुसार प्रस्तुत गुणस्तर सुधारका समस्याहरुलाई आत्मसात गर्दै समस्या समाधानका उपायहरु दृढताका साथ कार्यान्वयनमा शिक्षक, अभिभावक, जनप्रतिनिधिलगायत सरोकारवाला सबैको साझा प्रयत्नबाट मात्र विद्यालयको शैक्षिक गुणस्तर सुधार सम्भव छ ।
(लेखक सापकोटा तेह्रथुमको मेन्छयायेम- ५ मोराहाङस्थित गौखुरी माविका शिक्षक हुन् ।)
लेखकले उठाउनु भएका विषयवस्तु शिक्षक तथा प्रधानाध्यापकको नियुक्ति राजनीतिक पहुँचको आधारमा नभई योग्यता र क्षमताको आधारमा हुनुपर्दछ भन्ने कुरा पूरा हुन राजनीतिक नेतृत्वले दिन्छ त?