सुवर्ण शमशेर: सात सालको क्रान्तिका सच्चा ‘सैन्य अर्किटेक्ट’ – Nepal Press
सन्दर्भः ४५औं सुवर्ण स्मृति दिवस

सुवर्ण शमशेर: सात सालको क्रान्तिका सच्चा ‘सैन्य अर्किटेक्ट’

इटहरी । सुवर्ण शमशेर चिनाउने धेरै परिचय छन् । नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक । सुवर्णको प्रजातन्त्र कांग्रेस बीपीहरुको नेपाली राष्ट्रिय कांग्रेससँग मिलेरै अहिलेको नेपाली कांग्रेस बनेको हो । बजेट पढ्ने प्रथम अर्थमन्त्री, कांग्रेसमा समाजवादी सिद्धान्त अवलम्बन गर्ने २०१२ सालको छैटौं महाधिवेशनका निर्वाचित सभापतिदेखि २०१५ सालको चुनावी सरकार प्रमुखसम्म सुवर्ण नै हुन् । पहिलो आमनिर्वाचनमा तीन क्षेत्रबाट चुनाव जित्ने रोचक विजेतादेखि त्रिभुवन विश्वविद्यालयका संस्थापक उपकुलपतिसम्म पनि सुवर्ण नै हुन् । सुवर्णकै करोडौं पैसाले नेपाली कांग्रेस चलेको धेरैले बताउँछन् ।

महेन्द्रको टेकओभरपछि नेपाली कांग्रेस र २०१५ को प्रमुख प्रतिपक्षी दल गोरखा परिषदको एकीकरणसमेत उनैले गरेका थिए । राणा कुलमा जन्मेर पनि राणा फाल्न लगानी गर्ने र हजारौं बिगाहा निजी जमिन राज्यलाई दिएर बिर्ता उन्मूलनमा व्यक्तिगत सहयोग गर्ने नेता पनि उनै हुन् ।

महेन्द्रको टेकओभरपछि भताभुंग जस्तै भएको नेपाली कांग्रेसलाई थामथुम पारेर बीपीहरु जेलबाट नछुटुञ्जेल पार्टीको अस्तित्वलाई कार्यबाहक सभापतिको रुपमा टिकाउने पनि उनै हुन् । यीबाहेक सुवर्णका अरु धेरै परिचय छन् । यो सामग्रीमा भने सुवर्णको सैन्य व्यक्तित्वको चर्चा गरिएको छ ।

सुवर्णको सैन्य लाइन लिएपछि कांग्रेसको राजनीतिक हैसियत बढ्यो

२००३ सालमा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेस बीपीहरुको पार्टी थियो । २००४ मा स्थापना भएको नेपाल प्रजातान्त्रिक कांग्रेस सुवर्णहरुको थियो । दुवै पार्टी मिल्दामात्रै राणा ढाल्न सकिने तर्क बीपी र सुवर्णहरुको मात्रै थिएन, भारतीय समाजवादी नेताहरुको समेत थियो । एकीकरण भएको पार्टीमा सुवर्णकै लाइनले जित्यो । जुट मिल आन्दोलनदेखि सत्याग्रह गरेको नेपाली राष्ट्रिय कांग्रेसको लाइनले पार नलाग्ने सुवर्णको लाइन थियो ।

१९९० साल चैतमा ‘सी’ क्लासका राणा भएको भन्दै देश निकाला गरिएका सुवर्णको पारिवारिक पृष्ठभूमि सैन्य नै थियो । राणा प्रधानमन्त्री भीम शमशेरका नाति तथा तत्कालीन कमाण्डिङ जनरल हिरण्य शमशेरका छोरा सुवर्णलाई राणा सत्ता ढाल्न गान्धी लाइन नभएर सुभाषचन्द्र बोस लाइन आवश्यक भन्ने लाग्थ्यो । भयो पनि त्यस्तै ।

वि.सं २००७ कार्तिक २५ गते वीरगञ्ज हमला गरेर सुरु भएको कांग्रेसको मुक्ति सेनाले विराटनगर, जनकपुरदेखि भोजपुरसम्म विभिन्न क्षेत्र कब्जा गर्‍यो । एकातर्फ राजा त्रिभुवन सपरिवार भारत जानु, अर्कोतर्फ कांग्रेसले सैन्य हस्तक्षेप गर्नु र जनताले अपनत्व नलिनु, यी तीनै कुराले गर्दा २००७ साल फागुन ७ मा प्रजातन्त्र आउने माहोल बन्यो । उसो त प्रजातन्त्र घोषणामा नेपाली कांग्रेसलाई जस दिइएको छैन ।

घोषणामा भनिएको थियो, ‘संवत् १९०३ मा श्री ५ महाराजाधिराज सुरेन्द्रवीर विक्रम शाहदेवले धेरै गम्भीर र महत्वपूर्ण कारणले आफ्नो र आफ्ना उत्तराधिकारीहरुका तर्फबाट यो मुलुकको शासनभार श्री ३ महाराजा जंगबहादुर राणालाई सुम्पिबक्सेको हुनाले, जंगबहादुर राणाका उत्तराधिकारीहरुले हाम्रा पूर्वजहरुका तर्फबाट मौसूफका प्राइममिनिस्टिरहरुका हैसियतमा यो राज्यको शासन चलिआएकाले वर्तमान समयमा श्री ३ महाराज मोहन शमशेर जंगबहादुर राणाले हाम्रोतर्फबाट औ हाम्रा नाममा यो राज्यको शासन चलाइआएको हो ।’

प्रजातन्त्र घोषणामा कांग्रेसको नाम नआए पनि प्रजातन्त्र आएपछिको सरकारमा भने राणा कांग्रेस संयुक्त सरकार बनाएर कांग्रेसलाई स्पेस दिइएको छ । जसमा बीपी कोइराला गृहमन्त्री, सुवर्ण शमशेर अर्थमन्त्री र गणेशमान सिंह उद्योगमन्त्री भएका थिए ।

सुवर्ण शमशेरका भाञ्जा बनेका थिए कांग्रेसको मुक्ति सेनाका प्रथम सहिद

 

२००७ कार्तिक २५ गते नेपाली कांग्रेसका योद्धाहरुले वीरगञ्ज कब्जा गरे । कब्जाको नेतृत्व थीरबम मल्लले गरेका थिए । सुवर्ण शमशेरका भाञ्जा मल्लले स्थितिलाई नियन्त्रणमा लिएर सम्बोधन गर्ने क्रममा बडाहाकिम सोम शमशेरका अंगरक्षक पूर्णबहादुर महत र अर्का सिपाहीले गोली हाने । गोली लागेका मल्लको भोलिपल्ट प्राण गएको थियो ।

यसबारेमा नेपाली कांग्रेस निकट अखबार ‘पुनर्जागरण’ मासिकले २०४१ मा साक्षी रामहरि जोशीसँग कुराकानी गरेको थियो । जसमा जोशीले भनेका छन्, ‘नेपाली कांग्रेसको मुक्ति सेनाका प्रथम सेनानी थिरबम मल्ल ११ तारिखमा युद्धको मैदानमा गोली लागेर डंकन अस्पतालमा परलोक हुनुभयो ।’ गोली लागेर पनि मल्लमा भय नभएको भन्दै जोशीले भनेका छन्, ‘मुटुमा त्यत्रो चोट लिएर उहाँ फर्कनुभएको थियो । तर पनि उहाँ अलिकति पनि विचलित देखिनुहुन्न थियो- उही धीर, गम्भीर, सौम्यरुप । उहाँले नै एक-एक गरी वीरगञ्ज मोर्चाको वर्णन गरेर हामीलाई सुनाउनु भयो ।’

थिरबम मल्ल मुक्ति सेनाका एकदम जुझारु सैन्य अधिकारी थिए । बर्माबाट महावीर शमशेरको जहाजबाट हतियार ल्याउने क्रममा समन्वय गर्नेदेखि युद्ध तालिममा उनी उत्तिकै सक्रिय थिए । बीपी कोइरालाले मल्लले देहरादुनबाट सैनिक तालिम लिएर आएको भनेका छन् ।

भाञ्जा मुक्ति सेनाको प्रथम सहिद भएको बिर्सेर वीरगञ्जमा वि.सं २००७ मंसिर ४ को विजयसभामा सुवर्णले सम्बोधन गरेका थिए । कृष्ण धरावासीको पुस्तक ‘सुवर्ण शमशेरः निष्ठाको राजनीतिक यात्रा’का अनुसार उक्त दिन त्रिजुद्ध हाईस्कुलको प्रांगणमा सम्बोधन गर्दै सुवर्णले भनेका थिए, ‘..अब आफ्नो योग्यताले जो पनि कमाण्डर इन चिफ र जो पनि प्रधानमन्त्री हुनसक्छ । त्यसैको निम्ति मुक्ति सेनाले प्राणको बाजी राखेर लडिरहेको छ । तपाईंहरु सम्पूर्ण जनताले मुक्ति सेनालाई सहयोग गर्नुपर्छ ।’

भाञ्जालाई गोली हानी मारिएको स्थानमा बोल्ड सम्बोधन गरेका सुवर्ण भाञ्जाको मृत्युमा भने जिन्दगीभर धेरै दुःखी भएको उनलाई नजिकबाट चिनेका ऋषिकेश शाहले आफ्नो आत्मकथा ‘प्रारब्ध र पुरुषार्थ’मा भनेका छन् । २००७ सालको नेपाली कांग्रेसको सैन्य कमाण्डर नै सुवर्ण थिए । उनबारेमा कृष्णप्रसाद भट्टराईले भनेका छन्, ‘जसरी बीपी नभएको भए २००७ सालको क्रान्ति सम्भव थिएन । त्यस्तै श्री सुवर्ण नभएको भए यसको सफलता असम्भव थियो । उहाँ क्रान्तिको कमाण्डर-इन-चीफ हुनुहुन्थ्यो ।’

भट्टराईले जस्तै महेन्द्रनारायण निधिले सुवर्णलाई २००७ सालको ‘नेपाली जनक्रान्तिका प्रधानसेनापति’ भनेका छन् । २००७ सालको नेपाली कांग्रेसका सभापति तथा क्रान्ति कमाण्डर मातृकाप्रसाद कोइरालाले पनि बीपीसँगै सुवर्णको सैन्य ज्ञानको तारिफ गरेका छन् ।

आफ्नो आत्मकथा ‘अ रोल इन अ रिभोलुसन’मा कोइरालाले भनेका छन्, ‘क्रान्तिको वैचारिक पृष्ठभूमि बीपी कोइरालाले तयार गरेका थिए भने त्यसको सामरिक तथा आर्थिक पक्ष सुवर्णजीले सम्हालेकाले उनीहरुका बीचमा विचित्रको तालमेल थियो । उनीहरुको बीचको एकापसको समझदारी, समन्वय र सामन्जस्यता अद्भूत थियो । त्यही विश्वास, समझदारी र लक्ष्यप्रतिको एकलव्यभावले क्रान्ति अपेक्षाभन्दा चाँडै सम्पन्न गर्न हामीलाई सफलता मिलेको थियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर