किन रोकियो ब्याजदर वृद्धिविरुद्ध उद्याेगी व्यवसायीकाे आन्दोलन ? – Nepal Press

किन रोकियो ब्याजदर वृद्धिविरुद्ध उद्याेगी व्यवसायीकाे आन्दोलन ?

काठमाडौं । केही दिनअघि उद्योगी व्यवसायीहरु नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको कारणले आफूहरु समस्यामा परेको भन्दै आन्दोलनमा उत्रिएका थिए । लामो समयदेखि राष्ट्र बैंकको नीति र अर्थ मन्त्रालयको कारणले उद्योग र व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै आएका व्यवसायीहरु सडकमै देखिएका थिए ।

कोरोनाले व्यवसाय समस्यामा परेका र त्यसमाथि विभिन्न सरकारी नीतिले थप समस्यामा परेको उनीहरुको भनाइ छ । उनीहरुले राष्ट्र बैंकले गरिखान नदिएको र बैंकले व्याजदर वृद्धि गरेर अत्याचार गरेको भन्दै सडकमा नारा लगाएका थिए । उक्त आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरु नै सहभागी भएका थिए ।

तर, बुधबार महासंघले एक विज्ञप्ति जारी गरेर आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको बतायो ।

‘मंसिर ४ गते प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुन गैरहेको र लोकतान्त्रिक व्यवस्था एवं खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको विषयलाई मनन गर्दै हाल सञ्चालित विरोधका कार्यक्रम स्थगित गर्न महासंघ सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गर्दछ । साथै निर्वाचन सफल पार्न आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउन पनि महासंघ आग्रह गर्दछ’, महासंघको विज्ञप्तिमा भनिएको छ ।

निर्वाचनसम्मको अवधिमा महासंघ नेतृत्व निरन्तर सरकार एवं नेपाल राष्ट्र बैंकसँग संवादमा रहने बताइएको छ । निर्वाचनपछि पनि सरोकारवाला निकायबाट निजी क्षेत्रका माग सम्बोधन नभएमा महासंघले आर्थिक स्थायित्व एवं निजी क्षेत्रको हक हितका लागि थप कार्यक्रम घोषणा बताएको छ ।

आन्दोलनमा उत्रिएका व्यवसायीहरुको माग राष्ट्र बैंक र अर्थ मन्त्रालयबाट सम्बोधन नहुँदै आन्दोलन स्थगित गरिएपछि सबै आश्चर्यमा परेका छन् । व्यवसायीहरु चुनाव आएकाले आन्दोलन फिर्ता लिएको बताउँछन् । त्यसो भए चुनावपछि आन्दोलन फेरि अघि बढ्छ त ? प्रश्न अनुत्तरित छ ।

महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ आन्दोलनमा रहेका उद्योगी व्यवसायीहरुलाई एकाएक कसले ब्याक गरायो भन्ने कुरा थाहा नभएको बताउँछन् ।

उनले भने, ‘महासंघका सबै पदाधिकारीहरुलाई पनि के कारणले आन्दोलन फिर्ता भएको हो भन्ने जानकारी छैन । ब्याजदर वृद्धिले सबै क्षेत्रलाई समस्यामा परेको छ । अहिलेको मुख्य समस्या भनेको नियामक निकाय र नेपाल सरकार नै हो । तर, आन्दोलनको कार्यक्रम कसरी फिर्ता भयो । मैले बुझ्न सकेको छैन ।’

सडक आन्दोलनमा श्रेष्ठ पनि सहभागी भएका थिए । उद्योगी व्यवसायीले अर्थमन्त्री, उद्योगमन्त्री र राष्ट्र बैंकका गभर्नरलाई पनि ब्याजदर वृद्धिले समस्या भएको गुनासो गरेका थिए । तर, अर्थ र उद्योगमन्त्रीबाट केही नहुने भएपछि राष्ट्र बैंकमा गएर व्यवसायीहरुले पटक-पटक छलफल गरेका थिए ।

राष्ट्र बैंक र सरकारले निजी क्षेत्रलाई व्याज घटाउन सकिन्छ भनेर भनेका छैनन् । तर, महासंघका केही पदाधिकारीको स्वार्थले गर्दा नै आन्दोलन रोकिएको व्यवसायीहरु नै बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *