चुङ्बाले खिचेको त्यो तस्बिर : १६ दिनको यात्रापछि क्यामरामा कैद गरेका थिए हिउँ चितुवा – Nepal Press

चुङ्बाले खिचेको त्यो तस्बिर : १६ दिनको यात्रापछि क्यामरामा कैद गरेका थिए हिउँ चितुवा

काठमाडौं । अमेरिकी फोटोग्राफर किटिया पवलोस्कीले गएको असोज २२ मा सगरमाथा क्षेत्रमा हिउँ चितुवालाई आफ्नो क्यामेरामा कैद गरिन् । १८ हजार फिटमाथि खिचेका फोटोहरु पावलोस्कीले आफ्नो फेसबुकमा राख्नासाथ ‘भाइरल’ बने ।

पावलोस्की प्रशंसित बनिन् । नबनुन् पनि कसरी ! अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले अति दुर्लभ जीवको सूचीमा राखेको हिउँ चितुवालाई नेपालको हिमाली क्षेत्रमा पुगेर क्यामेरामा कैद गरेकी थिइन् । संसारका केवल १२ देशमा पाइने हिउँ चितुवालाई ५४ सय मिटरमा पुगेर खिचेकी थिइन् ।

तर, पावलोस्कीभन्दा साढे दुई वर्षअघि नै सोलुका वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाले ‘घोस्ट अफ हिमालय’को नामले प्रख्यात हिउँ चितुवाको तस्वीर लिएका थिए ।

प्रसंग २०१९ को अप्रिलबाट सुरु हुन्छ । हिउँ चितुवाको फोटो खिच्न चुङ्बा आठ दिनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र मनाङ हान्निए । होटेलमा बसे । अनि बिहानदेखि साँझसम्म क्यामेरा बोकेर हिँउ चितुवाको खोजीमा निस्किए । तर, उनको क्यामेराले चितुवाको दर्शन पाएन ।

आठ-आठ दिन ५५ सय मिटर वरिपरि जाँदा पनि चितुवा नभेटिएपछि चुङ्बा खाली हात फर्किए । हिउँ चितुवा सहजै नभेटिनुमा उसको स्वभाव रहेको बताउँछन् चुङ्बा । भन्छन्, ‘यो चितुवालाई हामीले हत्तपत्त देख्न सक्दैनौं । तर, उसले हामीलाई देखिरहेको हुन्छ । मान्छेलाई देखेपछि ऊ अगाडि बढ्दैन । जमिन र उसको रङ पनि एकै हुने भएकाले हामीलाई देख्न गाह्रो हुन्छ । तर, दुरबिनले नियालेर हेर्दा देख्न सकिन्छ । तैपनि अलिकति गाह्रो नै हुन्छ ।’

पहिलो प्रयास असफल भए पनि चुङ्बाको ब्रह्मले भनिरहेथ्यो, ‘हिउँ चितुवाको फोटो त जसरी पनि खिचेरै छाड्ने हो ।’ आफैंभित्रको दृढताले गर्दा चुङ्बा दोस्रो प्रयासका लागि कस्सिए । रिसर्च गरे । पहिलो प्रयासका कमजोरीहरु केलाए । र, निर्णय लिए, ‘होटेलमा बसेर बिहानदेखि बेलुकासम्म जंगल चहारेर भएन । हिउँ चितुवा भेट्न त उसकै क्षेत्रमा बास बस्नुपर्छ । यसपटक होटेलमा होइन, हिमालमै बस्छु ।’

सेप्टेम्बरको महिना । हिमालमै बस्नलाई पाल, भरिया, गाइड, खानेकुरा र लजालु हिउँ चितुवालाई कैद गर्ने क्यामेरा ।

दोस्रो यात्रामा जोखिम त थियो नै । सँगै रोमाञ्चक पनि थियो हिउँ चितुवाको तलासले । पहिलो दिन क्यामेराको बन्दोबस्तीसहित हिउँ चितुवालाई कुरे । त्यो आएन । दोस्रो दिन पनि आएन । तेस्रो, चौथो, पाँचौं…… र बाह्रौं दिन !

क्यामेरा लिएर तयारी अवस्थामा थिए चुङ्बा । साँझ ५ः२० मा हिउँ चितुवा आयो । ४६ सय मिटर उचाइमा क्यामेराको बटम दबाए । चुङ्बाको क्यामेरामा कैद भयो । चुङ्बाले लामो सास लिए ।

चुङ्बा मुहारमा आभा ल्याउँदै भन्छन्, ‘त्यो हिउँ चितुवा मभन्दा सय मिटरको दुरीमा मात्रै थियो ।’

हिउँ चितुवालाई देखेर चुङ्बाको गाइड आत्तिएका थिए । तर, चुङ्बालाई हिउँ चितुवासँग फिटिक्कै डर लागेन । बरु फोटो पो नराम्रो आउला कि भन्ने चिन्ता भएको अनुभव सुनाउँछन् चुङ्बा ।

बाघसँगको चुङ्बाको साइनो यत्तिमै रोकिँदैन । उनले अफ्रिकी मुलुक तान्जानियाको सेरांगेटी राष्ट्रिय निकुञ्जमा पुगेर चितुवाजस्तै देखिने जंगली बिरालो (सर्भल क्याट)लाई क्यामेरामा कैद गरेका थिए । गएको अप्रिलमा शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा त उनको पाटे बाघसँग इनकाउन्टर नै भयो ।

चुङ्बा सुनाउँछन्, ‘ठूलो बाघ रहेछ । उसले चाहेको भए आक्रमण गरिहाल्थ्यो । तर, गरेन । म बिस्तारै साइड लागें ।’

अहिले खुम्बुमा हिमालहरुको फोटो खिच्ने तयारीमा लागेका छन् चुङ्बा ।

करिब दुई महिनाअघि मात्रै चुङ्बाले हुम्लाको नेपाल-चीन सीमामा पर्ने लिमी भ्यालीमा पुगेर जंगली याकको दुर्लभ फोटो लिएर आए । त्यसवेला याकले लखेट्यो पनि उनलाई । चुङ्बाका सहयोगीहरु अलि टाढा नै थिए ।

चुङ्बा सुनाउँछन्, ‘मलाई याकले हान्ने प्रयास गरेको थियो । तर, बसेर कुखुराले जस्तो बिस्तारै हिँडें । म फोटोग्राफरले लगाउने ड्रेसमा थिएँ । अनि उठेर भागें । भागेपछि त्यो त्यही अडियो । हिउँ चितुवा जस्तो लागेर हान्न खोजेको थियो याकले ।’

हिमालतिर खोज्दाखेरी हिँउँ चितुवा, याक भेटिने प्रमाण चुङ्बाले पेस गरिसकेका छन् । तर, पहिला हिउँ चितुवाले घोडाको बच्चा, गाईवस्तु, भेंडाबाख्रा खाइदिने गरेकाले स्थानीयले विष दिएर पनि मार्ने गरेका थिए । बाघ संरक्षण संस्थाहरुले स्थानीयलाई जनचेतना दिएपछि मार्न छाडेका छन् । गाईवस्तु मर्दा उक्त संस्थाले क्षतिपूर्ति पनि दिने भएकाले स्थानीयले विष खुवाउने काम बन्द गरेको चुङ्बा बताउँछन् । चुङ्बा भन्छन्, ‘तर याकलाई चाहिँ स्थानीयले मारेर खाँदा रहेछन् ।’

नेपाल, तिब्बत र भारतको लद्दाखमा वेलावेला झुल्किने जंगली याकले स्थानीयलाई सधैं दुःख दिने गरेको चुङ्बाको अनुभव छ । प्रायः ६ हजार मिटर वरिपरि बस्ने जंगली याक जाडोमा ४३०० मिटरसम्म तल झर्दोरहेछ । विशेष गरेर संसर्ग गर्न घरेलु याकहरुसँगै मिसिँदा रहेछन् । तर, घरेलु याकसँग संसर्ग भए पनि जंगली याकबाट जन्मनेबच्चा ठूलो हुने भएकाले माउ मर्ने सम्भावना पनि उत्तिकै हुनेरहेछ ।

चुङ्बा सुनाउँछन्, ‘घरेलु याकले बच्चा नै पायो भने पनि जंगली नै निस्कने रहेछ । त्यसलाई काबुमा राख्नै गाह्रो हुने !’

पावलोस्कीले खिचेको फोटो ‘भाइरल’ हुँदै गर्दा आफूले खिचेको हिउँ चितुवाको फोटोबारे पनि सबै नेपालीले थाहा पाउँदा ६२ वर्षीय चुङ्बा खुशी छन् । तर, आफू अलि छायाँमा परेको हो कि झैं चाहिँ उनलाई लागेको रहेछ ।

चुङ्बा सुनाउँछन्, ‘चितुवाको फोटो खिच्दा मिसन बनाएर, काठमाडौंबाट गन्तव्यमा पुगेर, टेन्टमा बसेर, १६ दिनको यात्रापछि खिचेको हो । तर, त्यसको ठूलो चर्चा भएन । अब विदेशीले खिच्यो । धेरै राम्रो कुरा भयो । खुशीकै कुरा हो । तर, मिडियाले विदेशीलाई अलि धेरै चासो दिएको हो कि जस्तो लाग्छ ।’

फोटोग्राफर बन्ने सानैदेखिको सपनालाई चुङ्बाले ५७ वर्षको उमेरमा मात्रै आकार दिएका थिए । पर्यटकका भारी बोकेर, पर्यटन व्यवसायमा हात हालेर छोराछोरीलाई आ-आफ्नो ठाउँमा पुर्‍याएपछि चुङ्बा आफ्नो अधुरो सपना पूरा गर्नतिर लागेका हुन् ।

पाँच वर्षमै स्थापित वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा नेपालमा वाइल्डलाइफ फोटोग्राफीको भविष्यबारे भन्छन्, ‘नेपालमा जे काममा पनि भविष्य छँदैछ । तर, वाइल्ड लाइफ फोटोग्राफरलाई अलि गाह्रो छ । फोटोको कपीराइट छैन । फोटोको रेट छैन । अलिकति गाह्रो नै छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *