विद्यालयमा चुनावी सभा गरेपछि मन्त्री बडूसहित दार्चुलाका गठबन्धन उम्मेदवारलाई सोधियो स्पष्टीकरण
निर्वाचन अधिकृतलाई कारबाही अघि बढाउन सीडीओसँग प्रतिवेदन माग
काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं ९ स्थिति गोकुलेश्वर उच्च माध्यामिक विद्यालय, गोकुलेश्वरमा सत्तारुढ गठबन्धनले आमसभा गरको भन्दै निर्वाचन आयोगले दुई मन्त्रीसहित गठबन्धनतर्फका सबै उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
आयोगले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)समेतको दलको आयोजनामा निर्वाचन प्रचारप्रसारको लागि चुनावी सभा आयोजना विद्यालयमा गरिएको भन्दै स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आयोगले नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, प्रदेश सभाअन्तर्गत प्रदेश सभा १ का नेपाली काँग्रेसका उम्मेदवार विक्रमसिंह धामी र प्रदेशसभा २ का नेकपा (माओवादी केन्द्र)का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीलाई स्पष्टीकरण सोधेको हो । यस्तै विद्यालयका प्रधानाध्यापक जनञ्जय जोशीलाई पनि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
आयोगले दार्चुलाका निर्वाचन अधिकृतलाई यस घटनाबारे आवश्यक कार्वाही गर्न निर्देशनसमेत दिएको छ भने प्रमुख जिल्ला अधिकारीलाई ४ दिनभित्र यस घटनाको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुनेगरी चुनावी सभा आयोजना गरेको देखिएको भन्दै उम्मेदवार र प्रधानाध्यापकलाई कुनै पनि माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालयमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको हो ।