विद्यार्थीलाई लगातार अश्लिल मेसेज पठाउने पोखरा ला ग्राण्डी कलेजका चार शिक्षक निकालिए
३/४ वर्षदेखि पीडित विद्यार्थीले विरोध गरेपछि शिक्षकले माफी मागेको भिडिओ बाहिरियो
पोखरा । कक्षामा विद्यार्थीका सामुन्ने ७ शिक्षक उभिएका छन् । शिक्षकहरुले गरेको अश्लिल म्यासेजका बारे विद्यार्थीले प्रधानाध्यापकलाई बेलिविस्तार लगाइरहेका छन् ।
पोखराको ला ग्राण्डी कलेजका ४ जना शिक्षकले वर्षौंदेखि छात्राहरु अश्लिल म्यासेज गर्ने गरेको घटना अहिले बाहिरिएको छ । कक्षामा ती ४ शिक्षकले माफी मागेको र विद्यार्थीले आफ्ना असन्तुष्टि पोखेको एक भिडियो बाहिरिएको छ ।
‘सर भएर विद्यार्थीको छातीको साइज सोध्ने । अहिलेबाट होइन, ४ वर्ष भयो यसरी टर्चर सहेको । घरमा के भन्ने ?’ रोइरहेको आवाजमा एक विद्यार्थीको आवाज निस्क्यो । उनको स्वर काँपिरहेको थियो । उनले थप भनिन्, ‘तिम्रो बडी मिलेको छ, तिम्रो ब्वाइफ्रेन्डलाई थाहा नदिई आऊ किन भन्ने ? ३–४ वर्षबाट मेन्टल टर्चर थियो, कलेज हाप्न मन लाग्ने । आउनै मन लाग्दैन ।’
आफ्नै शिक्षकबाट लगातार अश्लिल म्यासेज आएपछिको दुख पौख्दै थिइन्, ती छात्रा विद्यार्थी । न उनले यतिन्जेल घरमा नै भन्न सकिन्, न कलेजमा नै । अहिले ती छात्राझैं अरु छात्राले पनि यातना भोगेको महसुस गरेपश्चात् सबैजना मिलेर कलेजमा कुरा राखे । आफ्नो मनको गुम्फनलाई बाहिर निकाले ।
अर्की एक छात्राले बोल्न थालिन्, ‘ज्ञानेन्द्र सरले म्यासेज गर्नुभयो, गुड मर्निङ पनि भनेनौ भनेर । यस बारे मैले प्रदीप सर, जसलाई आइडल मान्थें उहाँसँग कुरा राखें । सरले झन् तिमै डिमान्ड रहेछ मात्र भन्नुभयो । यसको मिनिङ के हो रु मेन्टल इम्प्याक्ट पर्यो । यस असरको क्षतिपूर्ती कसरी दिनुहुन्छ ?’
ती ‘आइडल’ भनिएका प्रदीप सर बोल्छन्, ‘मैले सरी भन्नु बाहेक अरु कुनै वर्ड नै छैन । अहिलेको होइन होला पनि ३ वर्ष पहिलेको होला ।’ विद्यार्थीहरु झन् आक्रोशित् बन्छन् । ‘भनेपछि आफ्नो गल्ति स्विकार्नुहुन्छ रु’ एक विद्यार्थीले भनिन् । कक्षाकोठामै ती शिक्षकले आफ्नो गल्ति पनि स्विकारेका छन् । ‘मेरो पार्टबाट गल्ति भएको हो, म माफि माग्न चाहन्छु,’ शिक्षकले भने ।
कक्षामै रहेका कलेजका प्रिन्सिपल किरण केसी पनि ‘सर’ले माफी मागिसकेको कुरा बारम्बार दोहोर्याउँछन् । ‘सरले माफी मागिसक्नुभयो’ केसी बोल्दै गर्दा फेरि विद्यार्थीले रोक्छन् । र प्रश्न तेस्र्याउँछन्, ‘माफीले के हुन्छ ?’
फेरि प्रिन्सिपल बोल्छन्, ‘यसमा मैले थोरै भनें। यो विषय शब्दले मात्रै हल हुँदैन, त्यो ट्रु छ । भित्रैबाट फ्रस्ट्रेसन होला, के होला, हामी बसेर पनि छलफल गरेर मैले एक्सप्रेस गर्न नसकुँला । यो इस्यु आयो, पुराना कुरा पनि आयो । समयमै थाहा पाएको भए पनि हुने ।’
प्रिन्सिपलले समयमै थाहा नपाएको, माफी मागिसकेको जस्ता कुरा गरेपछि एक छात्रा आक्रोशित बन्छिन् । ‘तपाईंले नर्मल स्पिच दिएर के हुन्छ ? तैंले आज स्पिच दिएर के हुन्छ ? तेरो स्पिचले हामीलाई के मिल्छ?’ उनको आक्रोश झल्कन्छ ।
४ शिक्षक नै निष्कासित
ला ग्राण्डी कलेजले आफ्ना ४ शिक्षकलाई निष्कासन गरेको छ । विद्यार्थीलाई वर्षौंबाट बारम्बार अश्लिल म्यासेज गरेको पाइएपछि कलेजले शिक्षकहरुलाई निष्काशन गरेको हो । निष्कासन हुने शिक्षकमा प्रवेश गौतम, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र पौडेल र प्रदीप लम्साल छन् ।
निष्कासन गरिएको बारे बुझ्न कलेजका प्रिन्सिपल किरण केसीलाई सम्पर्क गरेपनि सम्पर्क हुन सकेन । कलेजकी एक छात्राका अनुसार यस घटनालाई बाहिर नल्याउने गरी कलेज प्रशासनले ती शिक्षकलाई निष्कासन गरेको हो । घटना बाहिर आए कलेजको इज्जतमा आँच आउने भन्दै कलेजले ती पीडित विद्यार्थीहरुलाई पनि बाहिर नल्याइदिन आग्रह गरेको छ ।
तर पीडित विद्यार्थीहरु भने निष्कासनले केही नहुने र ती शिक्षकलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग राखेका छन् । अहिले ती शिक्षकले पोखरा कलेज अफ म्यानेजमेन्टमा पनि अध्यापन गराउने गरेकाले उनीहरुलाई सार्वजनिक रुपमै कारबाही गर्नुपर्ने पीडित विद्यार्थीहरुको माग छ ।
पीडित विद्यार्थीहरुले शिक्षकले पठाएका अश्लिल म्यासेजको एउटा ‘प्रिजेन्टेसन’ नै बनाएर राखेका छन् । यसलाई कसरी बाहिर ल्याउने भन्ने बारे उनीहरु अहिले नै निर्णयमा भने पुगिसकेका छैनन् । तर त्यसलाई बाहिर नल्याउन कलेज प्रशासनले आग्रह गरिरहेको बुझिएको छ ।
थुक्क ! यस्तै शिक्षकले गर्दा सम्पुर्ण शिक्षकको बेइज्जत भैरहेको छ र शिक्षण पेशाकै अपमान भैरहेको र मर्यादा घटिरहेको छ नेपालमा । न्युन सान्स्कृतिक चेतना भयेका पशुहरु ! नेपाल कहिल्यै पनि नसुध्रीने भयो कि क्या हो ? राजनीतिक, आर्थिक, सान्स्कृतिक, नैतिक,शैक्षिक हिसाबले पछौटे भयो मुलुक ।