फिल्ममा दर्शकको मायालाई ग्रस कलेक्सनसँग जोड्न मिल्दैन : दीपेन्द्र के खनाल – Nepal Press
नेपाल टक

फिल्ममा दर्शकको मायालाई ग्रस कलेक्सनसँग जोड्न मिल्दैन : दीपेन्द्र के खनाल

काठमाडौं । निर्देशक दीपेन्द्र के खनाललाई भेट्दा उनी प्रशन्न मुद्रामा थिए । भर्खरैमात्र हलबाट उत्रिएको खनाल निर्देशित ‘के घर के डेरा’ले बक्स अफिसमा राम्रो प्रदर्शन गरेपछि खनालमात्रै होइन, निर्माता र सम्पूर्ण टीम अहिले ‘सेलिब्रेसन मुड’मा छन् । केही समयपछि ‘सक्सेस पार्टी’को आयोजना गर्दै फिल्मको अर्को श्रृंखला घोषणा गर्ने मनसुवामा निर्माता युवराज कार्की छन् ।

फिल्मले बक्स अफिसमा ६ करोडमाथि ग्रस कलेक्सन गरेको निर्देशक खनालको दाबी छ । डिजिटल र ओभरसिज राइटस् जोड्दा निर्माता पूर्ण रुपमा मुनाफामा छन् । यसैले पनि निर्देशक खनालको ‘मुड’ पछिल्लो समय ठीकठाक छ ।

‘बडो प्रशन्न देखिनुहुन्छ नि ?’ भन्ने सवालमा खनालले हाँस्दै भने, ‘प्रशन्नप्रशन्नै छु । तर, कुनै फिल्म नचल्दा त्यसको भारी बोकेर हिँड्दिनँ । आफूले इमानदारीपूर्वक काम गर्ने हो । समीक्षकहरूसँग नराम्रो समीक्षा लेखेको भनेर चित्त पनि दुखाउँदिनँ । कहिले राम्रो आउँछ । कहिले नराम्रो आउँछ । पर्फेक्ट त कहिल्यै हुँदैन नि !’

यस वर्ष खनालको दुई फिल्म हलमा पुगे, ‘चिसो मान्छे’ र ‘के घर के डेरा’ । ‘चिसो मान्छे’ले समीक्षकहरूबाट प्रशंसा बटुले पनि बक्स अफिसमा कमाल गर्न सकेन । तर, डिजिटल, ओभरसिज र बक्स अफिस गरेर ‘ब्रेक इभन प्वाइन्ट’मै रहेको खनालको दाबी छ । उनको भनाइ छ, ‘चिसो मान्छेको समीक्षा राम्रो आयो । तर, बक्स अफिसमा फितलो भयो । फिल्म चल्नलाई तत्कालीन समयको दर्शकको मनोविज्ञान र समाजमा घटिरहेको घटनाक्रमले ठूलो असर गर्दोरहेछ ।’

अनि फिल्म चाहिँ कसरी चल्दोरहेछ त ? हास्दै बोल्छन् खनाल, ‘सोझो अर्थमा दर्शकले मन पराएपछि चल्दोरहेछ । टिकट काटेर हेर्न आएपछि मनपर्‍यो भने चल्ने रहेछ । समीक्षकहरूले दीपेन्द्रले यस्तो फिल्म बनाउँछ र भनेर प्रश्न गर्नुभएको छ । तर, बक्स अफिसमा दर्शकको उपस्थिति राम्रो छ । पहिलो कुरा त दर्शकलाई मन पर्नुपर्ने रहेछ ।’

कोभिड सुरु भएको समयमा खनालको फिल्म ‘आमा’ तेस्रो हप्तामा चलिरहेको थियो । तर, अचानक लकडाउन भइदियो । ‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’ जस्ता फरक धारका फिल्म बनाएर छुट्टै परिचय बनाउन खोजेका दीपेन्द्रको मुहारमा मुस्कान चाहिँ अन्ततः कमर्सियल फिल्मले ल्याइदियो । तर, आफूले आफ्नै रुचिको फिल्म बनाउँदा पाएको दर्शकको माया र स्नेहसँग बक्स अफिसको तुलनै नहुने खनालको तर्क छ । मनले चाहेको फिल्म बनाउँदा दर्शकबाट जुन खालको न्यानो माया पाइन्छ, त्यसलाई ग्रस कलेक्सनसँग जोड्न नमिल्ने बताउँछन् । आफूले १९ लाखमा ‘चपली हाइट’ बनाएर साढे पाँच करोड जमानामै निर्मातालाई दिइसकेकाले ‘के घर के डेरा’ त्यसैको निरन्तरतामात्रै भएको बताउँछन् खनाल । डेढ दशकदेखि फिल्मी दुनियाँमा सक्रिय खनालसँग फिल्मको व्यवसाय, फरकधारको प्रयोगलगायत विषयमा गरिएको कुराकानीको सम्पादित अंश :

– पछिल्ला केही फिल्ममा समीक्षकबाट मात्रै राम्रो प्रतिक्रिया पाउनुभयो । तर, बक्स अफिसमा भने ‘के घर के डेरा’ सफल भयो । निर्माता पनि खुशी भए । अहिले आएर फिल्म त यस्तै बनाउनुपर्ने रहेछ जस्तो त लागिरहेको छैन नि ?

बक्स अफिस कलेक्सन राम्रो हुँदा खुशी होइन्छ नै । कसैको लगानी भएको हुन्छ । उद्योगमा धेरैलाई रोजगार दिन्छ । हल मालिकको पनि व्यापार हुन्छ । त्यसकारण खुशीको माहोल हुन्छ । तर, खुशी दिन्छ भन्दैमा सधैं बक्स अफिस हेरेर पनि हुँदैन । दर्शकलाई मनपर्ने फिल्म बनाउने कि दर्शकलाई यस्तो कथा भन्छु भनेर त्यस्तो फिल्म बनाउने ? मुख्य प्रश्न यही हो ।

नेपालमा ओटीटी थियो भने ‘चिसो मान्छे’ त्यहाँ आउँथ्यो, हलमा भन्दा राम्रो व्यापार गर्थ्यो । रिभ्यु कुरेर आरामले फिल्म हेर्ने जमात थुप्रो छ । तर, त्यस्ता फिल्मलाई हलमा टिकाइराख्नै गाह्रो छ । हलबाट राम्रो समीक्षा लिएर ओटीटीमा खोज्दै हेर्ने वातावरण बनाउने हो भने राम्रो हुन्छ । हलको मात्रै विकल्प भएकाले त्यस्तो हालत भएको हो ।

दर्शकलाई मनपर्ने फिल्म बनाउँदा फिल्ममा दर्शक कहाँ उफ्रिन्छन्, कहाँ हाँस्छन्, कहाँ रुन्छन् भनेर स्क्रिप्टमै तयार गरिएको हुन्छ । त्यहाँ यो कथा किन भन्दैछु भन्ने कुरै आउँदैन । यो कथा भन्नु छ, यसरी भन्छु भन्नेमात्रै हुन्छ । कमर्सियल फिल्म र मैले बनाउने फरकधारको फिल्मविपरीत ध्रुवको कुरा रह्यो । तर, फिल्मबाहेक अर्को पेशा छैन । यहींबाट बाँच्ने, घर चलाउने हो । त्यसैले आफूले चाहेको र दर्शकले चाहेको दुवै फिल्म बनाउने हो ।

– फरकधारको फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न नसक्नुमा समस्या चाहिँ कहाँ हो ?

कमर्सियल फिल्म भन्नासाथ त्यहाँ डिजाइन हुन्छ । बजारमा बिक्ने कुराहरू ट्याक्क ट्याक्क हुन्छ । तर, आफूलाई मन परेको फिल्म चाहिँ कसरी चित्त बुझ्ने बनाउँछु भन्ने हुन्छ । त्यस्तो फिल्म कुनै वेला दर्शकको स्वादसँग मिलिदिन्छ । कुनै वेला प्रायः मिलिदिँदैन ।

दर्शक र फिल्मको लिट्रेसीमा धेरै अन्तर भइदिन्छ । त्यो भनेको बजारमा भएको जंकफुड र हेल्दी फुड जस्तै हो । जंक फुड खान हुन्न भनेर सबैलाई थाहा छ । तर, स्वास्थ्यमा असर गर्छ भन्ने थाहा हुँदाहुँदै त्यही खानेकुराप्रति चासो हुन्छ । हेल्दी फुडप्रति कम चासो हुन्छ । फिल्ममा पनि त्यही हो ।

त्यसो भन्दै गर्दा यो वर्ष नेपालमा व्यापारिक हिसाबले निराशापूर्ण रहे पनि फरकधारका फिल्महरू आधा दर्जन जति प्रदर्शन भए । मेकरको रुपमा खुशी हुने ठाउँ हो । सबै फिल्मले एक किसिमले दर्शकलाई इंगेज गरे । थोरबहुत बहस भयो । आगामी दिनमा त्यो बढ्दै जाने आशा छ ।

नेपालको दुःखलाग्दो पक्ष चाहिँ त्यस्ता फिल्मले हलमा गएर मुनाफाको आश गर्नु नै गलत हो । हाम्रो बाध्यता चाहिँ हलबाटै पैसा उठाउनुपर्छ । अन्य देशमा त्यस्ता फिल्मको आफ्नै बजार छ । राज्यको लगानी छ । कहाँबाट कमाउने, हाँगाहरू प्रशस्त छन् । तर, हाम्रोमा दुवै खालका फिल्मले हलबाटै लगानी उठाउनुपर्ने हुनाले गाह्रो भएको हो । नेपालमा ओटीटी थियो भने ‘चिसो मान्छे’ त्यहाँ आउँथ्यो, हलमा भन्दा राम्रो व्यापार गर्थ्यो । रिभ्यु कुरेर आरामले फिल्म हेर्ने जमात थुप्रो छ । तर, त्यस्ता फिल्मलाई हलमा टिकाइराख्नै गाह्रो छ । हलबाट राम्रो समीक्षा लिएर ओटीटीमा खोज्दै हेर्ने वातावरण बनाउने हो भने राम्रो हुन्छ । हलको मात्रै विकल्प भएकाले त्यस्तो हालत भएको हो ।

– ‘चिसो मान्छे’ र ‘के घर के डेरा’मा फरक निर्मातासँग सहकार्य गर्नुभो । पक्कै पछिल्लो फिल्मको निर्माता बढी खुशी भए होलान् !

‘चिसो मान्छे’ आफ्नै प्रोडक्सन भयो । त्यसमा डिजिटल र ओभरसिजले पहिला नै सुरक्षित थिएँ । वर्षको सुरुमै प्रदर्शन भएकाले चिसो मान्छेले राम्रै हाइप र चर्चा कमायो । हलबाट पनि निराशाजनक भएन । ‘के घर के डेरा’को त सबै खुशी छन् ।

कमर्सियल फिल्मले पैसा कमाउनैपर्छ भनेर दबाब थियो । ‘चिसो मान्छे’ चाहिँ यस्तो कथा दर्शकलाई भन्छु भनेको फिल्म थियो । त्यसैले दुवै फिल्मले दिने खुशी फरक छ । फरकधारको फिल्म कम जमातले हेरे पनि पाउने माया र प्रतिक्रिया अर्कै खुशी हो । पैसाले दिने खुशी र मायाले दिने खुशी छुट्टै हुन्छ ।

– आफ्नो फिल्म ठूलो मासमा जाँदा त्यसको मजा त छुट्टै हुन्छ होला नि ?

‘के घर के डेरा’को प्रतिक्रिया बुझ्न एउटा हलमा माक्स लगाएर गुपचुप गएँ । हल प्याक थियो । हलमा सिठ्ठी र ताली देख्दा राजेश दाइको फिल्म हेर्दाजस्तो अनुभूति भयो । त्यसको बेग्लै आनन्द छ । फिल्म पनि त्यसैका लागि बनाएको हो ।

– त्यस्तो ताली र सिठ्ठीमा रमाउँदा तपाईंले बनाउन कोसिस गरिरहेका फरकधारका फिल्महरू नबन्लान् नि ?

त्यस्तो हुँदैन । कुन वेला के काम गर्नुपर्छ भनेर मलाई थाहा छ । मैले कथा भन्दै गर्दा मेरो आफ्नो कर्तव्यहरू पनि छन् । कमर्सियल फिल्महरू त गर्नैपर्ने बाध्यता छ । त्यस्तो फिल्म गरिनँ भने म टिक्नै सक्दिनँ । कि पलायन हुनुपर्‍यो । नत्र भने यही उद्योगमा सर्भाइभ हुँदै आफूलाई मन परेको काम गर्ने हो ।

– ‘के घर के डेरा’मा मोटो रकम लिनुभयो रे त ?

कमर्सियल कुरामा कमर्स आउँछ । त्यो आउनासाथ स्वाभाविक हो ।

– ‘कमर्स’ आउनसाथ मोटो रकम लिने भन्ने होइन होला नि ?

फिल्मले पैसै कमाउने ध्येय राख्छ भने कमर्सको कुरा आइहाल्छ । तर, उद्योगमा सबैखाले फिल्म चाहिन्छ । पसलमा एउटामात्रै चिज राख्दा त्यो चल्दैन । भाटभटेनी सबै चिज राखेर चलेको हो ।

– नेपालमा कमर्सियल रुपमा बनाइएका ९५ प्रतिशत फिल्म किन असफल हुन्छन् ?

दर्शकको मनोविज्ञान हेर्दा अहिले दर्शकले कसले फिल्म बनाएको हो, फिल्ममा को-को छन् भनेर पनि हेर्दा रहेछन् । त्यो मनोविज्ञानले अर्थ राख्दोरहेछ । राम्रो टीमले बनाएको फिल्म विश्वासले पनि चल्दोरहेछ ।

– कमर्सियल रुपमा सफल फिल्मका लागि टीममात्रै सबैथोक होइन होला नि ?

टीम पनि हो । दर्शकको स्वाद पनि मिल्नैपर्‍यो । दर्शकलाई के पस्कने भन्ने प्रश्न छँदैछ नि !

– दर्शकले मनोरञ्जन गर्ने फिल्म बनाउन के के चाहिने रहेछ ?

मनोरञ्जन भन्नासाथ कि त दर्शकको कल्पनाभन्दा बाहिरको फिल्म बनाउन सक्नुपर्‍यो ‘बाहुबली’, अवतार’ जस्तो । त्यसको हकमा हामी पछाडि छौं । हाम्रो बजेटले भ्याउँदैन । नेपालीको मनोविज्ञान र जीवनसँग मेल खाने कुराहरूमा दर्शकले मनोरञ्जन लिने रहेछन् । त्यसमा हाँस्यरस राखेर बनाउँदा झनै इन्जोय गरेको पाइयो ।

– एक समय नेपाली दर्शकले रुने फिल्मलाई बक्स अफिसमा सफल सावित गराएका थिए । अहिले हाँस्ने फिल्महरू चल्छ भन्नुभो । नेपाली दर्शक हलमै गएर हाँस्नुपर्ने अवस्थामा पुगेका हुन् र ?

कोभिडपछिको माहोल त्यस्तै देखियो । कोभिडअघि मेरो फिल्म ‘आमा’ लागिरहेको थियो । मान्छेहरू रुँदै हलबाट निस्किएका थिए । तर, कोभिडपछि भने बदलिएछन् । बितेको दुई तीन वर्षमा हामी आर्थिक र मानसिक रुपले थिलथिलो भएछौं । अहिलेको मनोविज्ञान दर्शकहरूले हाँस्नै खोज्नुभएको जस्तो देखिन्छ ।

– हाँस्न हलै पुग्नुपर्ने अवस्था आएको हो र ?

कोभिडपछि हामी एकदमै दबाबमा छौं । आफैं दुःखमा छौं । हलमा गएर दुःखकै कहानी हेर्ने भन्ने मनोविज्ञानमा परिवर्तन भएको हो । तर, कति समय यो मनोविज्ञान रहन्छ भन्नेमात्रै हो । जति हाँस्न खोज्छन्, त्यति नै रुन पनि आवश्यक छ । हाँसेर छुट्टै आनन्द लिइन्छ । तर, मनको बह जति आँखाबाट पोखिन्छ, त्यति नै मन हल्का हुन्छ । हाँसेर मन हल्का हुन्न । मन हल्का गर्ने फिल्मको महत्व कहिल्यै मर्दैन । कालजयी फिल्महरू सबैले रुवाउँछन् । रोएपछि निस्कने हाँसो कति निश्चल हुन्छ !

– दीपेन्द्र के खनालले यसपटक बक्स अफिसमा आफूलाई प्रमाणित गरेको हो ?

मैले पहिला नै प्रमाणित गरेको हो । १९ लाखको ‘चपली हाइट’ले साढे पाँच करोड निर्माताको हातमा दिएको हो । ‘झोले’ डार्क कमेडी बनाएको हो । बीचमा छाडेकोमात्रै थिएँ । फेरि म आफू बाँच्नु पनि पर्‍यो नि त ! बाँच्न बक्स अफिस र फरकधारलाई सँगसँगै लानुपर्नेछ ।

– तपाईंलाई त फरकधारको फिल्म बनाउन गाह्रो भएन होला । तर, नयाँ मेकरलाई त फरकधारको फिल्म बनाएर दोस्रो फिल्म पनि बनाउन गाह्रै होला नि ?

यस वर्ष प्रदर्शन भएको संख्यामा अब बन्न गाह्रो छ । मैले त्यस्ता फिल्ममा आफैंले लगानी गरेरमात्रै बनाएको छु । अरु साथीहरूको जुन हालत छ नि ! उहाँहरूले फेरि त्यस्तो फिल्म बनाउने आँट गर्नुहुन्छ त ? कमर्सियल र फरकधारको फिल्म बनाउन बराबर खर्च लाग्छ । चुनौती धेरै छन् ।

निर्देशकको हिसाबले म यस्तो कथा भन्छु भन्ने आँट हुन्छ । तर, पैसा हुँदैन । निर्माता रिटर्नको चाहना राख्छन् । त्यसैले त्यस्ता फिल्ममा लगानी आकर्षण कम भइहाल्छ ।

– तपाईं आफ्नै रुचिको फिल्म बनाउने कि निर्माताको रुचिको ?

दुईटै बनाउने हो ।

– बक्स अफिसमै बढी रुचि जाग्न सक्ला नि त ?

बक्स अफिसले तान्न त तान्छ । तर, ‘चिसो मान्छे’, ‘आमा’, ‘पशुपतिप्रसाद’ जस्ता फिल्मका कारण एक लेभलको दर्शकबाट जस्तो माया पाएको छु, त्यसले छुट्टै तान्छ नि ! दुवैको महत्व बराबर छ । तर, मलाई चाहिँ मनले नै बढी तान्छ । म आफ्नै फिल्म ‘आमा’, ‘पशुपतिप्रसाद’ कहिलेकाहीँ हेर्छु । कत्ति सिनहरूमा भावना जोडिएको छ । आफ्नै आँखा रसाउँछ । त्यसको मजा छुट्टै छ ।

– आफूले बनाउन चाहेको फिल्म र कमर्सियल फिल्म जोडेर बीचको बाटोबाट फिल्म बनाउने मन छैन ?

अर्को फिल्ममा कोसिस गर्ने विचारमा छु । दुवैलाई मिक्स गरेर केही दिउँ भन्ने लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर