शेरबहादुरजी नै अबको प्रधानमन्त्री, कसैले बाजा बजाएर हिँड्नुपर्दैन : प्रकाशशरण महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतसँग आसन्न निर्वाचन, कांग्रेसको तयारी, भावी प्रधानमन्त्रीलगायतका विषयमा गरिएको कुराकानी नेपाल टकमा :
– प्रत्यक्षतर्फ आफ्नो उम्मेदवार नभएको ठाउँमा गठबन्धनका उम्मेदवारहरुलाई सबैले भोट दिने अवस्था कस्तो छ ? समानुपातिकमा मत हाल्ने कुरामा पनि मतदाता दोधारमा छन् । निर्वाचन परिचालनमा कसरी काम भइरहेको छ ?
यसै त हाम्रो ठुलो पार्टी, अरु पार्टीजस्तो उम्मेदवार खोजी खोजी ल्याएर उठाउनुपर्ने स्थिति होइन । धेरै योग्य साथीहरु प्रौढदेखि युवा नेतृत्व पंक्ति छ । त्यसमाथि गठबन्धन भएपछि यसै सीट कम हुने भयो । त्यसले गर्दा ती सम्पूर्ण महत्वकांक्षाहरूलाई सम्बोधन गरेर पार्टीको मत एकिकृत गर्ने कुरा आफैँमा पनि चुनौतीपूर्ण कुरा हो । गठबन्धनका औचित्यका कुराहरुलाई बुझाएर र आन्तरिक असन्तुष्टिहरुलाई पनि उम्मेदवार नपाएको कारणले आएका असन्तुष्टिहरूलाई पनि सम्बोधन गर्न अवश्यपनि हामीलाई केही समय लाग्यो । ती कुराहरु करिब करिब सम्बोधन भएको अवस्था छ । १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रको प्रतिनिधिसभा तर्फका ९१ ठाउँमा हामी लडेका छौँ । त्यस्तै प्रदेशसभामा पनि त्यही अनुपातको अवस्था छ । समग्रमा हेर्दा हाम्रो उम्मेदवार नै नभएको, कहीँ प्रतिनिधिसभामा नभएको, तल दुईवटैमा नभएको, कहीँ माथि नभएको प्रदेश सभामा पनि एउटा नभएको गर्दा ६१ ठाउँमा हाम्रो उम्मेदवार छैन ।
निर्वाचन प्रक्रियामा सामान्यतया के हुने गर्थ्यो भने प्रत्यक्ष उम्मेदवारले नै त्यो मतदाताहरुलाई परिचालन गरेर मतदान केन्द्रमा पुर्याउँथ्यो । त्यहाँ उम्मेदवार नभएको हुनाले पार्टीले केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यहाँको सम्पूर्ण पार्टी पंतिलाई परिचालन गर्ने । किनकि समानुपातिकमा त रुखमै मतदान गर्ने हो । प्रतिनिधि सभामा पनि रुखमै मतदान गर्ने हो । ३३० नै प्रदेश सभामा पनि रुखमै मतदान गर्ने हो । ४० प्रतिशत सीट समानुपातिकबाट चुनिन्छ । समानुपातिक सीट हाम्रो लागि कम महत्वपूर्ण होइन । त्यसो हुनाले हाम्रा मतदाताहरुलाई पूर्णरूपले परिचालन गर्नको लागि त्यहाँ हाम्रो प्रत्यक्ष उम्मेदवार नभएपनि सम्पूर्ण पार्टी पंक्ति परिचालित हुनु आवश्यक छ । त्यसको लागि हामीले केन्द्रबाट पनि प्रतिनिधि पठाएर त्यसलाई परिचालन गर्ने प्रबन्ध मिलाएका छौँ । समानुपातिकमा कांग्रेसलाई मत हाल्ने कुराले पनि त्यो जरुरी छ । त्यहाँ अरु गठबन्धन दललाई समर्थन गरेका कारणले पनि उहाँहरुलाई पनि मत हाल्नु जरुरी छ, किनभने हामीले अन्य गठबन्धन दललाई मत हाल्यौँ भने न उहाँहरुले पनि हामीलाई समर्थन गरेको ठाउँमा उहाँहरुले रुख चिन्हमा मतदान गर्नुहुन्छ । यो त लिने पनि हो दिने पनि हो । पारस्परिक सहयोगबाट विन–विन अवस्था प्राप्त गर्ने हो । नेपाली कांग्रेस नि फाइदामा रहने । गठबन्धनमा रहेका अन्य दलहरू पनि परिणामको हिसाबले फाइदामा रहने । र समग्रमा नेपाली कांग्रेसको नेतृत्व सु–स्पष्ट ढंगबाट विजय हासिल गर्ने अवस्था आउने हो । यो कुरालाई हामीले बुझाइरहेका छौँ । समग्र रुपमा केन्द्रबाट आव्हान गरेका छौँ । समानुपातिक तर्फ १६५ नै प्रतिनिधि सभामा, ३३० नै प्रदेश सभामा रुखमै मतदान गर्ने हो । त्यसमा कुनै गठबन्धन छैन । प्रत्यक्ष तर्फमात्रै गठबन्धन हो । प्रत्यक्ष तर्फमा जे सहमती भएको छ नेतृत्व बिचमा, सहमति अनुसार हामीले एक-अर्कालाई मतदान गर्ने हो । यिनै कुराहरु बुझाइरहेका छौँ ।
– मतदाताले आफ्नो उम्मेदवार नभएको ठाउँमा भोट लिने, दिने गर्न गाह्रो छ, यसमा अझैपनि जोडबल पुगिरहेको छैन भन्ने रिर्पोटिङ छ । त्यस्तो ठाउँहरूमा नेतृत्वले के गरिरहेको छ ?
सम्बन्धित ठाउँको पार्टी संरचनाको मिटिङ राख्ने, अन्य दलहरुसँग पनि समन्वय गर्ने, हामीले सहयोग गर्यौँ भने मात्रै उहाँहरुको पनि हामीले सहयोग पाउँछौ । सहयोग लिनु र दिनु आवश्यक छ । त्यो भयो भने मात्रै परिणाम हाम्रो पक्षमा हुन्छ । उम्मेदवार ज्यादा हुनुमात्रै ठूलो कुरा होइन । परिणाम ज्यादा ल्याउनु चाहीँ महत्वपूर्ण कुरा हो । पार्टी निर्वाचनमा जाने भनेकै बहुमत ल्याएर सत्तामा जानको लागि हो । सत्तामा हामी किन जान्छौँ भने हाम्रो नीति, कार्यक्रम कार्यान्वयन गरेर जनता र देशको सेवा गर्नका लागि हो । यि कुराहरु हामीले बुझाइराखेका छौँ । यद्यपी आफ्नै पार्टीहरु मात्रै लड्दाखेरी पनि केही असहयोग, असन्तुष्टि हुने गरेको छ । गठबन्धनमा त झन् अलिकति समस्या आउँछ । तर मलाई लाग्छ, मुल समस्या भनेको मतदान केन्द्रमा गइसकेपछि एकअर्कालाई भोट हाल्दैनन् भन्ने भन्दापनि आफ्नो पार्टीको उम्मेदवार नभएको ठाउँमा मतदान केन्द्रमा मतदाताहरुलाई पुर्याउने चुनौतीपूर्ण काम हो । पार्टीको संयन्त्र लगाएर त्यो चुनौतीलाई सामना गर्छौं भन्ने हामीलाई विश्वास छ । ल ठीक छ हाम्रो दलको उम्मेदवार छैन तर विपक्षी ओलीजीको नेतृत्वको उम्मेदवारलाई दिनुभन्दा या विभिन्न रुप, रंगमा त्यही प्रवृत्तिलाई सहयोग गर्ने, स्वतन्त्रका रंग, अनेक रंग, रुपमा प्रकट भएका छन् । प्रवृत्ति एउटै हो । तिनीहरुलाई दिनु भन्दा त हाम्रो पार्टीको सहयोगी गठबन्धनको उम्मेदवारहरुलाई दिनु हामी सबैको लागि कल्याण हुन्छ भन्ने कुरा बुझाउन गाह्रो हुन्न । खालि परिचालनको कोणबाट उम्मेदवारले वडा वडा पुगेर, परिचालित गरेर जुन जोड बल लगाउँछ नि, त्यसमा उम्मेदवार नहुँदा हाम्रो दलको नहुँदा हाम्रो दलको क्रियाशील नहुने, अन्य दलको उम्मेदवार नहुँदा अन्य दलको क्रियाशील नहुने खतरालाई हामीले महशुस गरेर त्यसको यथेष्ट प्रबन्ध, परिचालित गरेर मतदाताहरुलाई पुर्याउने सम्पूर्ण कोसिस हामीले गरिराखेका छौँ ।
– केही निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी कायम नै रह्यो । अहिले नेतृत्वले ती उम्मेदवारका विषयमा के सोचिरहेको छ ? कारबाहीले मात्रै केही नहुने भयो भोट काटिने भएपछि ।
यस्तो असन्तुष्टि, सीमित मात्रामा विद्रोह एक्लै हामी चुनाव लड्दाखेरी पनि हुनेगर्थ्यो । केही न केही मार्जिन हामीले हरेक चुनावमा बेहोर्नुपर्छ । तथापि अहिले गठबन्धनका बाबजुद, धेरै ठाउँमा हाम्रो उम्मेदवार नहुनाको बाबजुद, जुन धेरै विद्रोह हुन्छ भन्ने मान्छेले अपेक्षा गरेका थिए त्यो भएन । जहाँ विद्रोहमा उम्मेदवारी दिइयो । अधिकांश ठाउँमा उहाँहरुले फिर्ता लिनुभयो । उहाँहरूलाई हामीले चित्त बुझाउन, व्यवस्थापन गर्न सफल भयौँ । बाँकी जुन ठाउँमा विद्रोह कायम रह्यो त्यहाँ कारबाहीको प्रक्रिया अगाडी बढेर निलम्बन, निश्कासन भइसकेको अवस्था छ । उनीहरु पार्टीमा नरहीसकेपछि पार्टीका समर्थक, शुभचिन्तक, मतदाताहरूले त्यही रुपमा उनीहरूले हेर्दैनन् । त्यसकारण उहाँहरुले क्षति गराउने सम्भावना अत्यन्त न्यून भएर जान्छ । कत्तिपनि हुँदैन भन्ने त कुरो भएन । केही थोरै तिनो त अवश्य पनि हुन्छ । अरु दलमा पनि त्यस्तो हुन्छ । त्यसको क्षतिपूर्ति बराबर नै हुन्छ । किनभने हाम्रो दलमा मात्रै त्यो खाले विद्रोहको अवस्था छैन । हरेक दलमा केही न केही असन्तुष्टि छ, त्यो सन्तुलन हुन्छ भन्ने हामीले सोचेका छौँ ।
– नेपाली कांग्रेसले यो निर्वाचनबाट कति संख्यामा विजय प्राप्त गर्छ ?
ठ्याक्कै संख्या भन्नुभन्दा पनि मंसिर ४ मा नेपाली जनताले आफ्नो अभिमत प्रकट गर्छन् । त्यसलाई सीधै अवमुल्यन गरेर यति नै हुन्छ, उति नै हुन्छ भनेर भन्नुभन्दा पनि हाम्रो आँकलनमा, हामीले बुझेसम्म, जानेसम्म अधिकांश सीटमा विजय प्राप्त गर्छौँ । गठबन्धन दलका उम्मेदवारहरूको पनि धेरै संख्यामा उहाँहरू निर्वाचित भएर आउनुहुन्छ । त्यही अनुपातमा प्रदेश सभामा पनि निर्वाचित भएर आउनुहुन्छ । हाम्रो समानुपातिकतर्फको मत घट्दैन । केही बढ्ला । यद्यपि उम्मेदवार नभएको ठाउँमा त्यो चुनौतीलाई हामी वैकल्पिक प्रबन्ध गरिराखेका छौँ । त्यो कम नहोस् भनेर, बढ्छ नै । समग्रमा हामी सु-स्पष्ट बहुमत प्रतिनिधिसभामा पनि ल्याउँछौँ, समानुपातिक र प्रत्यक्ष जोडेर । र प्रदेशसभाहरूमा पनि सातवटै प्रदेशहरुमा हामी सु-स्पष्ट बहुमत ल्याउँछौँ ।
– सरकार गठबन्धनकै बन्छ भने प्रधानमन्त्री को हुन्छ भन्ने ठूलो चासो छ । तपाईँहरुको पार्टी सभापति नै हो कि ? गठबन्धन दलका अन्य शीर्ष नेताहरूले इच्छा व्यक्त गरेको सुनिन्छ, अझ पार्टीभित्रका केहि युवा नेताले आफूलाई तयार गरेको समाचार आइरहेको छ । तपाईँहरुको बुझाइ र तयारी के हो ?
स्वाभाविकरूपमा गठबन्धनको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । १६५ सीटमा ९१ सीट कांग्रेसले लडेको छ । बाँकी ४ दलले ७४ सीट लडेको छ । त्यसबाट नै नेतृत्वदायी भूमिका नेपाली कांग्रेसकै हो भन्ने स्वाभाविक नै छ । नेपाली कांग्रेसको स्वाभाविक नेतृत्व वर्तमान प्रधानमन्त्री र नेपाली कांग्रेस सभापति देउवाजी नै हुनुहुन्छ भन्नेपनि सु-स्पष्ट छ । किनकी अहिले देशले जोड्ने नेतृत्व खोजेको छ । पार्टीभित्र पनि सर्वसहमतिबाट, कसैलाई पनि चित्त नदुखाइकन निर्णय गरिरहनुभएको छ । चाहे गठबन्धनको निर्णय होस् । चाहे टिकट वितरण गर्ने निर्णय होस् । त्यतिमात्रैले नपुगेर उहाँले अन्य दलहरूलाई पनि विश्वासमा लिएर कुनै गुनासो रहने ठाउँ दिनुभएको छैन । अहिलेको आवश्यकता पनि त्यो हो । धेरै कुरामात्रै गर्ने नेतृत्वभन्दा खुरुखुरु काम गर्ने नेतृत्वको अहिले आवश्यकता छ । यद्यपि बजारमा अनेकखाले कुराहरु गरिन्छ । सामाजिक सञ्जालको जमानामा । त्यसलाई अन्यथा लिने कुरा छैन । फेरि शेरबहादुरजीको स्वभाव के छ भने आफूलाई म हुँ भनेर नभनिरहने स्वभाव । सबैको विश्वास जितेर अगाडि बढ्ने स्वभाव । अस्ति प्रचण्डजीले नै भन्नुभयो नि कि नेतृत्वको समस्या नै छैन हाम्रो बीचमा । मेरो पनि इच्छा होला तर शेरबहादुरजीले यो कारणले यसो गरौँ भनेपछि मैले नाइँ गर्दिनँ । मैले पनि केही भने उहाँले पनि नाइँ नगर्नुहोला । त्यो किसिमको केमेस्ट्रि र विश्वास अहिलेको यो गठबन्धनमा भएको हुनाले मलाई लाग्दछ, नेतृत्वको विषयमा समस्या छैन । औपचारिक रुपमा घोषणा गर्ने, नगर्ने भन्ने कुरो चाहीँ संसदीय व्यवस्थामा कहिले गरिन्छ पनि । कहिले नगरेर निर्वाचन पछि पनि हुने गर्दछ । खालि यसलाई औपचारिक रुपमा घोषणा हुने कि नहुने, गर्ने कि नगर्ने भन्ने कुरा मात्रै हो । तर स्वाभाविक नेतृत्व नेपाली कांग्रेसको । र स्वाभाविक नेपाली कांग्रेसको नेतृत्व शेरबहादुरजीको हो ।
– गगन थापालगायतका नेताहरूले दिएको अभिव्यक्तिकै कुरा गरौँ । प्रधानमन्त्रीको उम्मेदवार हुँ भन्ने कुरा होस् चाहे संसदीय दलमा म लड्छु भनेर बाहिर आएका कुराहरु । त्यस्ता कुराहरूले निर्वाचनअघि केही न केही महत्व राख्छन् । यो कुरालाई कसरी लिनुभएको छ कि यी कुराहरु गौण हुन पार्टीका लागि ?
अहिले हामी सबैले केन्द्रित हुनुपर्ने निर्वाचनमा हो । निर्वाचनमा केन्द्रित भएर निर्वाचित भएर आउने । आफू पनि निर्वाचित भएर आउने र ज्यादाभन्दा ज्यादा पार्टीका साथीहरुलाई निर्वाचित गराउने । हाम्रो पार्टीको नेतृत्व, पदाधिकारी जो आफुलाई पार्टीको नेता हुँ भन्नुहुन्छ, हामी सबैको कर्तव्य र जिम्मेवारी त्यो हुनुपर्दछ भन्ने मलाई लाग्छ । र कसलाई के हुन मन लागेको छ, पार्टी पहिला जित्नुपर्यो । गठबन्धनले जित्नुपर्यो । र पार्टीले जितेपछि पनि संसदीय दलबाट संसदीय दलको नेतृत्व चुनिन्छ । त्यहाँ हाम्रो कुनै एकाधिकारवादी, अधिनायकवादी, एउटा नेताले जे भन्छ त्यो हुने पार्टी त होइन । यसको विधान छ । व्यवस्था छ । संसदीय प्रक्रिया छ । त्यहाँ जो कोहीलाई पनि जसलाई म यो हुन चाहान्छु, म यसको नेतृत्वमा जान चाहान्छु भन्ने जसलाई लाग्छ उहाँले त्यहाँ उम्मेदवारी दिन पाइहाल्नु हुन्छ नि । त्यसकारण अहिले त्यसका बारेमा बाजा बजाएर हिँड्नुपर्ने कुनै आवश्यकता ठान्दिनँ । त्यसले कुनै पार्टीको पक्षमा माहोल बन्ने र पार्टीको हित हुने मैले देख्दिनँ । त्यसकारण मैले के बुझ्न सकेको छैन भने यो कुरो भनिरहनुपर्ने आवश्यकता के कारणले परेको छ ? स्वयम् पार्टीको नेतृत्व गरिरहनु भएको पार्टीका सभापति अहिले प्रधानमन्त्री पनि हुनुहुन्छ । उहाँले भनिरहनुभएको छ । भनिसकेपछि अरुलाई होइन म हुन्छु, म हुन्छु भनिरहनुपर्ने आवश्यकता किन पर्यो त्यो मलाई थाहा छैन । तर पार्टीका समग्र कार्यकर्ता, शुभचिन्तक, समर्थक पंक्तिको ध्यान अहिले के छ भने कसरी बढीभन्दा बढी पार्टीको उम्मेदवारहरुलाई जिताउने, र गठबन्धनका उम्मेदवारहरुलाई जिताउने । र हाम्रो सु–स्पष्ट बहुमत ल्याएर उल्टो गतीमा देशलाई लाने, अहिलेसम्मको उपलब्धीहरुलाई कमजोर गर्ने प्रवृत्तिहरु विभिन्न रुप, रंगमा प्रकट भएको छन् । त्यो प्रवृत्तिलाई परास्त गर्ने । हाम्रो सम्पूर्ण ध्यान त त्यतातिर पो जाने हो । अहिले हामीले हाम्रो ध्यानलाई विकेन्द्रीत गर्नुपर्ने र व्यक्तिगत रुपमा म यसको लायक हुँ, उसको लायक हुँ भन्नुपर्ने म देख्दिनँ ।
– समानुपातिकतर्फको मत बढाउनको लागि कांग्रेसले कहाँ-कहाँ, के-के गर्नुपर्छ र कांग्रेसजनले के-के गर्नुपर्छ ?
पहिलो कुरा त मैले प्रत्यक्ष उम्मेदवार साथीहरूलाई पनि भनेको छु, सबैको ध्यान आफुप्रति नै केन्द्रित हुन्छ । त्यो अस्वभाविक पनि होइन । तर, हरेक निर्वाचनमा आमसभा, कोणसभा, घरदैलो, भेटघाट, अन्तरक्रिया यी सबै ठाउँहरूमा प्रत्यक्षका उम्मेदवारहरूले दुई किसिमको निर्वाचन प्रणाली छ । एउटा प्रत्यक्षबाट क्षेत्रबाट निर्वाचित हुने । अर्को देशभरबाट प्रतिनिधिसभाको लागि पार्टीलाई आउने मतबाट निर्वाचित हुने । प्रदेश सभामा प्रदेशभरको पार्टीलाई आएको मतबाट निर्वाचित हुने व्यवस्था छ । त्यसो हुनाले प्रत्यक्षमा पार्टीको तर्फबाट म उम्मेदवार भएको छु । मलाई मत दिनुहोस् । सँगसँगै समानुपातिकतर्फ देशभरी र प्रदेशभरी पार्टीले उम्मेदवार खडा गरेको छ । बढीभन्दा बढी उहाँहरूलाई जिताउनको लागि पार्टीको पक्षमा र नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा छाप लगाएर विजय गराउनको लागि आम मतदाताहरुलाई अनुरोध गर्ने काम उम्मेदवार साथीहरुले पनि गर्नुपर्छ । नयाँ मतदाताहरुलाई शिक्षा दिनु पनि जरुरी छ ।
समानुपातिकको लागि पनि जनताकै मत चाहिन्छ । जनताकै मतबाट चुनिने हो समानुपातिक उम्मेदवारहरु पनि । खालि फरक के हो भने प्रत्यक्षतर्फ, क्षेत्रगत जसले बढी मत ल्यायो त्यो निर्वाचित भएर जान्छ । समानुपातिकतर्फ प्रतिनिधि सभामा देशैभरबाट जति ज्यादा पार्टीलाई मत आयो उति ज्यादा संख्यामा उम्मेदवारहरु निर्वाचित भएर जान्छन् । त्यस्तै गरेर प्रदेश सभामा पनि प्रदेशबाट जति ज्यादा मत आयो उति ज्यादा उम्मेदवार विजय भएर जान्छन् । नयाँ मतदाता साथीहरुलाई धेरै यो विषयमा गहिरो रुपमा थाहा नभएको पनि हुन सक्दछ । र हाम्रो पार्टी पंक्ति टोल, वडा, क्षेत्र, जिल्ला लगायत तमाम पार्टीका साथीहरु र प्रत्यक्ष तर्फका उम्मेदवार साथीहरु र समानुपातिक तर्फ पनि देशैभरी उम्मेदवार हुनुभएको छ । साथीहरुलाई पार्टीको तर्फबाट अनुरोध गर्न चाहान्छु । आव्हान गर्न चाहान्छु । प्रत्यक्ष र समानुपातिक दुईवटैबाट निर्वाचित हुने हाम्रो लागि उत्तिकै महत्वपूर्ण कुरा हो । त्यही महत्वका साथ हाम्रो प्रत्यक्ष उम्मेदवार नभएको ठाउँमा पनि पार्टीपंक्ति पुरै परिचालित भएर पार्टीको पक्षमा मतदान गर्न म अनुरोध गर्न चाहन्छु ।
शेरबहादुरको चाकडी गरेर साँसद हुन पाएकाले यति त भन्नैपर्छ ।