कास्की-३ मा उम्मेदवारी खारेजीको माग गर्दै गण्डकीका अर्थमन्त्री रामजीविरुद्ध आयोगमा उजुरी – Nepal Press

कास्की-३ मा उम्मेदवारी खारेजीको माग गर्दै गण्डकीका अर्थमन्त्री रामजीविरुद्ध आयोगमा उजुरी

नेपाल प्रेस । कास्की- ३ मा सत्तागठबन्धनका उम्मेदवार माओवादीका रामजीप्रसाद बराल ‘जीवन’ को उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ । प्रदेशका अर्थमन्त्रीसमेत रहेका बराल युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेजीको माग गरिएको हो ।

बराल कालोसूचीमै रहेका बेला उम्मेदवार बन्न योग्य रहेको भन्दै झूटो विवरण दिएको र अझै कालोसूचीमा रहेकाले उम्मेदवार बन्न नपाउने उजुरीमा उल्लेख छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, कास्की ३ मार्फत कास्कीकोट निवासी बोधराज सुवेदीले उजुरी दिएका हुन् ।

बराल संलग्न रहेको गण्डकी माछापुच्छ्रे सहकारी संस्थालाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ५० लाख रूपैयाँ कर्जा दिएको थियो जुन २०७३ सालसम्म बुझाउनुपर्ने थियो । सो रकम नबुझाएको भन्दै मन्त्री बरालसहित १५ जनालाई कालोसूचीमा राख्दै ७ दिनभित्र रकम बुझाउन अल्टिमेटमसहित खातामा दाखिल गर्न पत्र काटिएको थियो ।

२०७६ साल १० माघमा कालासूचीमा राखिएको पत्रमा उल्लेख भएअनुसार बराल रहेको संस्थाले ३८ लाख २४ हजार रूपैयाँ तिर्न बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर