८० बाल पुस्तकका सर्जक : जसले श्रीमतीको गहना बन्धकी राखेर पत्रिका निकाले
विष्णुकुमार पौडेलसँग दुई परिचय छ, बाल साहित्यकार र प्रकाशक । अनुवाद सहित जोड्दा उनीसित ८० माथि पुस्तक छन् । त्यसैले उनी बाल साहित्यकार हुन् । इंडिगो इंक पब्लिकेसनका मालिक हुन् । त्यसैले उनी प्रकाशक हुन् ।
इंडिगो इंकअघि उनीसित बीएन र प्रेरणा नामक प्रकाशन गृह थिए । दुवै प्रकाशन गृह आ–आफ्नै नियतिको सिकार बने । प्रेरणा आर्थिक कारणले बन्द भयो । बीएनबाट उनी सेयर लिएर निस्किए । अनि इंडिगो इंक सुरु गरे ।
करिब डेढ दशकको अवधिमा पौडेलले पाँच सयमाथि पुस्तक प्रकाशन गरिसके । प्रकाशित हरेक पुस्तकको पन्ना–पन्ना पल्टाएका छन् उनले । कम्प्युटरअघि आफैँ किबोर्ड ठटाएर पन्नाहरूको डिजाइन गरेका छन् उनले । हरेक पुस्तकको हरेक अक्षरहरू अक्षरशः केलाएका छन् उनले ।
भर्खरै प्रेसबाट आइपुगेको हरेक नयाँ पुस्तकको मीठो वासना परख गर्ने पहिलो व्यक्ति पनि उनै हुन् । ‘तपाईँको पुस्तक प्रेसबाट आयो है’ भन्दै लेखकहरूलाई फोन गरेर अगणित खुसी र उत्साह दिने पनि उनै हुन् । पुस्तक पसलतिर थाकका थाक पुस्तक पुर्याउने पनि उनै हुन् । लेखकलाई लेखकश्व दिएर लेखनमै लागिरहन उत्प्रेरित गरिरहने पनि उनै हुन् ।
तर, पौडेललाई प्रकाशकको भन्दा बाल साहित्यकारको सम्बोधन प्यारो लाग्छ । किन त ? पौडेलसित आफ्नै खाले जवाफ छ, ‘प्रकाशक मेरो दोस्रो सम्बोधन हो । सर्जक हुने लोभकै कारण मैले यो क्षेत्रमा पाइला चालेको हुँ, त्यसैले ।’
विशेष गरेर बालबालिकाका लागि उपयोगी पुस्तक लेख्छन् पौडेल । बालबालिकालाई स्कुलको कोर्सले मात्रै पुग्दैन । एक सुन्दर प्रतिभा जन्माउनु छ भने उसलाई बाल्यकालदेखि नै बृहत्तर ज्ञान दिनुपर्ने आवश्यकता ठान्छन् । स्कुलको कोर्सले ज्यादा बाहिरी ज्ञानले बालबालिकाको क्षमता विस्तारित गर्छ भन्ने उनको विश्वास छ । बाहिरी ज्ञानले नै बालबालिकालाई सामाजिक प्राणीको रूपमा विकास गर्छ भन्ने उनको तर्क छ ।
डेढ दशकअघि ‘नयाँ संकल्प’ नामक चित्रकथाबाट बालसाहित्यमा कलम चलाएका पौडेल सुनाउँछन्, ‘हाम्रोमा बालबालिकालाई कसरी शिक्षा दिने भन्ने ज्ञान नै छैन । बालबालिकालाई भन्दा ज्यादा शिक्षक र अभिभावकलाई पढाउनुपर्ने आवश्यकता देख्छु म ।’
पौडेलका आठ र दश वर्षका छोरा छन् । उनका पहिलो पाठक तिनै छोरा हुन् । आफ्नो पुस्तक पहिलो पटक तिनै छोराहरूलाई पढ्न दिन्छन् । उनीहरूको राय लिन्छन् । कति रमाइलो मानेर पढिरहेका छन्, नियाल्छन् । कसरी पढिरहेका छन्, पढेपछि कसरी बुझिरहेका छन्, त्यो ख्याल गर्छन् । अनि पुस्तकलाई फाइनल गर्छन् ।
बाल साहित्यको बजार विशाल देखेका छन् । पहिलो पुस्तक नै १२ हजार कपि बिक्री गरेका उनले बालसाहित्यका पुस्तककै कारोबार बढी गर्छन् । तर, बाल साहित्यलाई कमजोर आँक्ने प्रवृत्तिप्रति भने उनको गुनासो छ ।
‘बाल साहित्यको चित्रकथामा जम्माजम्मी तीन चार सय शब्द हुन्छन् । तर, त्यसका लागि कुनै उपन्यासभन्दा कम मिहेनत गरिएको हुँदैन,’ पौडेल दुखेसो पोख्छन्, ‘तर, बाल साहित्य लेख्नेहरूलाई हेपाहा प्रवृत्ति देखाइन्छ । लेखकलाई लेखकको दर्जा दिँदैनन् । उनीहरू नै बच्चाहरूको मनोविज्ञान बुझ्दैनन्, उनीहरूले बाल साहित्यलाई हेप्छन् ।’
अनि एक हाउस ब्वाय प्रकाशक बने
ठूलो र महत्वकांंक्षी सपनाको भारीले थिचिएका थिएनन् पौडेल । अर्घाखाँचीको सामान्य परिवारमा हुर्किएका उनलाई जेनतेन जीवन धाने पुग्थ्यो । बिहान–बेलुका पेट भरिन्जेल खाएर हात चुठ्न पाए पुग्थ्यो । त्यसैको सिलसिलामा ०५८ सालतिर काकासँग भागेर भारतको गुहाटी पुगे ।
गाउँमा महाराष्ट्र, दिल्लीतिर लाहुर जाने चलन थियो । नाकमा सिँगान बोकेर लाहुर हान्निएकाहरु गाउँ फिर्दा बेग्लै शान र पहिचान हुन्थ्यो । गाउँबाट कट्टु लगाएर गएकाहरू ठाँटिएर फिर्थे । गाउँ फिर्दा बेग्लै रवाफ हुन्थ्यो उनीहरूको । त्यही रवाफले तानिएका थिए पौडेल ।
गुहाटीमा उनका काका २५–३० वर्ष बसिसकेका थिए । दिउँसो स्कुलमा पिउन बन्थे । राति गार्ड बन्थे । बिहान स्वीपर बन्थे । तीन तीन जागिर थियो काकाको ।
गुहाटीमा स्थायी बासिन्दा झैं बनिसकेका काकाको पछि लागेर गएका पौडेलले साडी सो रुममा काम पाए, महिनाको छ सय भारु तलबमा । साडी सो रुम भनिए पनि उनको काम साडी टकटकाउने मात्रै थिएन । भूइँ पुछपाछ गर्ने । कपडा धुने । भात तिहुन पकाउने । चिया पुर्याउने । समग्रमा एक घरेलु कामदार थिए ।
एसएलसी पास गरेर गएका उनले छ दिन त जसोतसो झेले । तर, उक्त काममा उनलाई फिटिक्कै रुचि जागेन । प्रायः नेपालीहरू न्यूनतम तलबमा घरेलु कामदार थिए । त्यो देखेर झनै दिक्क भए । लाहुर जाने उनको रहरको मृत्यु पहिलो पटक त्यहीँ भयो ।
काकालाई भने, ‘म यहाँ काम गर्न सक्दिनँ । मलाई घर पठाइदिनुस् ।’
छ दिन काम गरेको पारिश्रमिक स्वरूप एउटा नयाँ चेक सर्ट पाए । लाहुर जाने रहर मरेको जिउमा त्यही सर्ट उनेर उनी नेपाल फिर्ने भए । फिर्दाफिर्दै अंकललाई भने, ‘खर्च कति लाग्छ, हिसाब गरिराख्नुस् । बाउले तिर्छन् । तिरेनन् भने म कमाएर तिर्छु । तर, यहाँ चिया पुर्याउने काम चाहिँ गर्दिनँ ।’
अनि चारपाँचवटा सिसाका कचौरा झोलामा खाँदेर पौडेल घर फिरे ।
घरमा पनि धेरै दिन बसेनन् । गुहाटीमा पुगेर मृत्यु भएको लाहुर जाने सपनाको आत्माले गाउँमा पनि पछ्याइरह्यो । अनि काठमाडौं हान्निए ।
एक आफन्तको घरमा हाउसब्वाय भने ।
‘आफन्तको घरमा घरेलु कामदार थिएँ । स्यालरी थिएन । खाने, बस्ने सुविधा थियो । कपडा धोइदिन्थेँ । चिया पकाउँथेँ । सरसफाइ गर्थें,’ पौडेल विगत सम्झिन्छन् ।
ती आफन्तको एक पब्लिकेसन थियो । त्यहाँ पनि सरसफाइ गर्ने, पुस्तकहरू मिलाएर राख्ने लगायत जिम्मेवारी उनकै थियो । त्यही बखत पौडेलले पहिलो पटक पुस्तकको सुगन्ध महसुस गरे । फुर्सद मिलाएर पुस्तकहरू पढे । उनलाई सबैभन्दा बढी छोयो, शरद पौडेलको उपन्यास ‘लिखे’ले । ‘लिखे’को मुख्य पात्रमा आफूलाई भेटे ।
घरेलु काम गर्दै आफूलाई लेख्न मन लागेको कुरा कापीले लेख्थे । तर, ती आफन्तले भने अफिसमा ठूल्ठूला लेखक आइपुग्दा उडाउँथे, ‘उहाँ पनि लेखक हो नि !’
पौडेल सुनाउँछन्, ‘मलाई त्यस कुराले साह्रै पिन्च पर्यो । मेरो आत्मसम्मानलाई नराम्रोसँग घाइते बनायो । केही गरेर देखाउनै पर्ने अठोटमा अडिग भएँ म ।’
र, हाउस ब्वाय भएर तीन चार वर्ष बिताएपछि ०६४ सालमा साथीहरूसँग मिलेर एक प्रकाशन गृह सुरु गरे, प्रेरणा प्रकाशन । प्रेरणामा पौडेलले पचास हजार लगानी गरे । दिउँसो घरेलु काम गरे पनि राति राति टाइपिङको काम गरेर कमाएको पचास हजार प्रेरणामा खन्याए । दिउँसो प्रकाशन गृहको काम गर्थे, राति टाइपिङ । तर पनि प्रेरणा प्रकाशन डुब्यो ।
यसपछि नारायण बेलबासेसँग मिलेर बीएन पुस्तक प्रकाशन सुचारु गरे । बीएन अर्थात् विष्णुकुमार–नारायण । यस पब्लिकेसनले राजनीतिक पुस्तकहरुमा बढी जोड दियो । एउटा सानो पुस्तक प्रकाशन भयो, ‘क्रान्तिकारी पार्टीका उपलब्धिहरू’ । पुस्तकमा कार्ल मार्क्स, लेनिन, एंगेल्ससँग जोडिएका रचनाहरूको अनुवाद थियो । उक्त पुस्तक प्रगतिशील पार्टीहरूको कार्यक्रममा लगेर बेच्थे । उनका पार्टनर बाटोमा समेत पुस्तक बेच्न जान्थे । अफिस बागबजारमा थियो । पौडेल सुनाउँछन्, ‘त्यो पुस्तक दुई तीन वर्षमा लगभग दश, बाह्र हजार कपि बिक्री भयो । त्यसपछि त प्रकाशकको रूपमा अगाडि बढ्ने झनै राम्रो आधार तयार भयो । हामीले थुप्रो पुस्तकहरू लगालग प्रकाशन गर्यौं ।’
०७४ सालसम्म आइपुग्दा बीएन पुस्तक स्थापित प्रकाशन गृह बनिसकेको थियो । तर, पौडेलले यस प्रकाशन गृह पनि आन्तरिक कारणले छाडे । इंडिगो इंक सुरु गरे ।
श्रीमतीको गहना पाण्डुलिपि पत्रिकाका लागि बन्धकी
०७१ सालमा पौडेलले बीएनकै मातहतमा पाण्डुलिपि मासिक पत्रिका प्रकाशन सुरु गरे । उक्त साहित्यिक पत्रिकाको सम्पादक दीपक सापकोटा थिए । त्यस वेला पहिलो अंक नै रिप्रिन्ट गरेका पौडेल सुनाउँछन्, ‘मेरो चाहना चाहिँ बाल साहित्यसँग सम्बन्धित पत्रिका निकाल्ने थियो । तर, काम गर्दै जाँदा ठूलो पत्रिका नै निकाल्ने भन्ने भयो । अनि पाण्डुलिपि सुरु गर्यौं ।’
पाण्डुलिपि पत्रिकामाथि कसरी काम गर्ने भनेर एक सातासम्म मेसो समेत पाउन नसकेको पाण्डुलिपिका सम्पादक दीपक सापकोटा बताउँछन् । धेरैले सापकोटालाई प्रेमचन्दको हंस हेर्न सुझाव दिए । अन्ततः पाण्डुलिपि प्रकाशित भयो ।
पाण्डुलिपिले पहिलो अंकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको रुसको तासकन्द भाषणको नेपाली अनुवाद छाप्यो । जुन अनुवाद कृष्णप्रकाश श्रेष्ठले गरेका थिए । उक्त भाषणमा कवि श्यामलले टिप्पणी लेखे ।
मदनमणि दीक्षितको ‘त्यही घटनापछि म कम्युनिष्ट हुन सकिनँ’ भन्ने वार्ता छाप्यो । कुमार नगरकोटीले अनुवाद गरेको फर्नानडो सोरेन्टिनोको ‘आत्मगमन’ कथा, कवि मनु मन्जिलका अप्रकाशित कविता, अन्तर्वार्ता, बब डिलनको आत्मकथा ‘क्रोनिकल्स्’माथि प्रकाश सायमीको लेख लगायत छापिए । नारायण गोपालले पिता आशागोपाललाई लेखेको अप्रकाशित चिठी पनि छापियो ।
पहिलो अंक रिप्रिन्ट नै भयो । यसपछि पौडेल र सापकोटा उत्साहित मात्रै भएनन्, दोस्रो, तेस्रो, चौथो,… नवौं अंकसम्म बडो मिहेनतले काम गरे सबैले । पौडेल सुनाउँछन्, ‘हामीले यस्तो हुन्छ भनेर सोचका थिएनौँ । जब पाण्डुलिपि प्रकाशित भयो, साहित्यको ठूलो पाठक छ भनेर त्यसले प्रमाणित गर्यो ।’
एउटा अंकका लागि पौडेलले लगभग दुई लाख हाराहारीमा खर्च गरे । लेखकहरूलाई पनि बुताले भ्याएसम्म पारिश्रमिक बुझाए ।
दुई हजार पच्चीस सय हाराहारीमा पत्रिका बिक्री हुन्थे । त्यस वेला पाण्डुलिपि निकाल्नुलाई सनक र जुनुन बताउँछन् पौडेल । कतिसम्म भने पाण्डुलिपिको चौथो अंक ल्याउन श्रीमतीको गहना मैतीदेवीको गहना पसलमा राखे । उनकी श्रीमतीले पनि ‘गहना किन राखेको’ भनेर झिँजो गरिनन् । पछि पैसा फिर्ता गर्न सकेनन् । गहना पच भयो ।
०७२ सालको भूकम्प आयो । भूकम्पले पाण्डुलिपिमा गहिरो क्षति पुर्यायो । आर्थिक सहयोग कतैबाट नपाएपछि नवौं अंकमा पुगेर पत्रिका बन्द गर्नुपर्ने अवस्थामा पुगे पौडेल ।
‘भूकम्पपछि बजार डामाडोल भयो । पत्रिकालाई निरन्तरता दिने अवस्थै भएन । नौंं अंकसम्म मेरो ३० लाख जति खर्च भइसकेको थियो । बजारबाट रिकभर हुने अवस्था थिएन । अनि मन नलागी नगाली बन्द गरेँ,’ पौडेल सुनाउँछन्, ‘साहित्यिक पत्रिकामा सहयोग पाउन गाह्रो छ । अरू पत्रिका चलाएको भए विज्ञपन आउँथ्यो ।’
अहिले झण्डै नौ वर्षअघिको नौ वटा अंकलाई बेलाबेला पल्टाउँछन् पौडेल । त्यो खालको काम फेरि गरूँ जस्तो पनि लाग्छ उनलाई । तर, आर्थिक पाटो सम्झिन्छन्, पाण्डुलिपिका पुराना अंकलाई फेरि र्याकमै थन्काउँछन् ।
कमजोर आर्थिक स्तम्भमा टेकेर पनि पाण्डुलिपि पत्रिका ल्याए : दीपक सापकोटा
सपनाको भुङ्ग्रोबाट बिपनाको झिल्को बनेको एक कथा हो, ‘पाण्डुलिपि’ साहित्यिक मासिक । र, त्यसका सूत्रधार हुन्, साथी विष्णुकुमार पौडेल । कमजोर आर्थिक स्तम्भमा टेकिरहेका उनमा गजबको थियो आत्मविश्वास । र, उनको सपनाको आधार कमजोर थिएन ।
उनकै आग्रहमा मैले पछिल्लो समय निबन्ध लेखिरहेका नेपाली निबन्धकारलाई समेटेर निबन्धहरूको संगालो ‘निर्बन्ध मोन्टाज’को सम्पादन गरें । हामीले अरू पनि थुप्रै किताबमा सँगै कामहरू गर्यौं । अ“ध्यारो थिएटरभित्रका चर्का गुलुपहरूबिच किताबमाथि, ‘पाण्डुलिपि’ माथि अनेकौँ विमर्शहरू गर्यौं ।
मलाई सधैँ याद आइरहने काम हो– हामीले सँगै साहित्यिक मासिक पत्रिका ‘पाण्डुलिपि’ प्रकाशन गर्यौं, विसं २०७१ सालमा । आवश्यक जिम्मेवारीबाट कहिल्यै नपन्छिने, साथीको आइडियालाई सुन्ने अनि अनुभूत गर्ने उनको स्वभाव छ । त्यसैले उनी प्रकाशक, म सम्पादक रहेको ‘पाण्डुलिपि’ पत्रिका केही समय अनवरत चलिरह्यो । त्यस समय उनले मलाई सधैँ साथ दिइरहे । एक वर्षको प्रकाशनपछि त्यो पत्रिका बन्द भयो । त्यसको आर्थिक व्ययभार बोकिरहेका उनी थाकेका थिएनन् नै । त्यसैबेला ०७२ को भूकम्पले त्रसित भयौँ हामी । समय–परिस्थिति सबै अनुकूल भइदियो र पत्रिका बन्दै गर्नुपर्यो ।
०००