सिन्धुपाल्चोक- २ : कस्तो रहला तामाङ र बस्नेतबीच ‘हेबीवेट’ भिडन्त ? – Nepal Press

सिन्धुपाल्चोक- २ : कस्तो रहला तामाङ र बस्नेतबीच ‘हेबीवेट’ भिडन्त ?

सिन्धुपाल्चोक । ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोक–२ मा यो पटक नेकपा एमाले र गठबन्धनबाट ‘हेवीवेट’ उम्मेदवारबीच भिडन्त हुँदैछ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीच यो क्षेत्रमा तीव्र प्रतिस्पर्धा छ ।

दुई पटक यही क्षेत्रबाट निर्वाचन जितेर चर्चामा आएका शेरबहादुर तामाङ र आफ्नो क्षेत्र छाडेर २ मा गएका मोहनबीचको चुनावी प्रतिस्पर्धालाई आम जिल्लाबासीले चासोका साथ हेरेका छन् ।

२०५४ सालदेखि संसदीय निर्वाचनमा सहभागी भएका एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले २०६४ को संविधान सभामा तत्कालिन माओवादी उमेदवार दावा तामाङ सँग झिनो मतान्तरले पराजय भएका थिए भने २०७० को निर्वाचनमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीका तत्कालिन अध्यक्ष पशुपति शम्सेर राणलाई हराउदै संसदीय यात्रामा आफ्नो पहिलो ‘इनिङ’ गराएका थिए ।

२०७४ मा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट उमेदवार भएर कांग्रेस र राप्रपाको गठबन्धनका उमेदवार पशुपति शम्सेरलाई दोस्रो पटक हराएर आफ्नो लोकप्रियतालाई कायम राखेका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निकट सम्बन्ध भएका तामाङ कानुन मन्त्री र केही समय स्वास्थ्य मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए । स्वास्थ्य मन्त्री हँुदा कोरोनाको खोप आम देशबासीहरुलाई उपलब्ध गराउन उनले सुरुवात गरेका थिए ।

२०४८ सालदेखि संसदीय निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा भिडेका कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत २०४८ मा एमालेका अमृतकुमार बोहरासँग पराजय भएका थिए । मध्यावधी निर्वाचनमा जितेका बस्नेत २०७० मा एमालेका अरुण नेपालसँग ३२ मतले मात्रै चुनाव जितेका थिए । २०७४ मा एमाले र माओवादीका गठबन्धनका उमेदवार अग्नि सापकोटासँग फराकिलो मतान्तरले पराजति भएका थिए ।

मंसिर ४ गते हुने चुनावमा उनी आफ्नै क्षेत्रबाट उम्मेदवार हुन अन्तिम समयमसम्म कोशिस गरे पनि आफ्नो क्षेत्र माओवादीको भागमा परेपछि उनी अन्तिम समयमा आएर क्षेत्र नम्बर २ मा लड्न तयार भएका थिए । एक पटक सञ्चार मन्त्री समेत भइसकेका बस्नेत कांग्रेस सभापति शेरबहादुर देउवासँग निकट सम्बन्ध राख्ने गरेका छन् ।

माओवादीको समेत साथ लिएर उनी आफ्नो क्षेत्र छाडेर २ मा जाँदा केही समस्या भएपनि उनी चुनाव जित्नेमा ढुक्क छन् । क्षेत्र परिवर्तन भएपनि मलाई केही समस्या छैन,यहाँका सबै नेता कार्यकर्ताहरु एक ढिक्का भएर मेरो पक्षमा लागेका छन्,त्यसैले मलाई क्षेत्रले केही फरक पर्देन बस्नेतले भने ।

यही क्षेत्रबाट दुईपटक निर्वाचन जितिसकेका एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ पनि विगतको विरासत कायम राख्दै तेस्रो पटक चुनाव जित्ने अन्तिम रणनीतिमा लागेका छन् ।

एमाले र गठबन्धनका दुवै उमेदवारले अहिले यस क्षेत्रको ‘विकास’ गर्ने प्रमुख चुनावी एजेण्डा मतदाता समक्ष लिएर चुनावी मैदानमा उत्रिएका छन् । आफ्नो क्षेत्रमा विकासका धेरै काम गरेकाले अब क्षेत्र नम्बर २ मा पनि विकासका लागि आफु आएको गठबन्धनका उम्मेदवार मोहन बस्नेतले मतदाता समक्ष बताउने गरेका छन् ।

एमाले उम्मेदवार शेरबहादुर तामाङले पनि विगतमा धेरै विकासका कामहरु आफ्नो क्षेत्रमा सुरुवात गरेको र त्यसलाई अब जितेपछि पनि निरन्तरता दिने भन्दै मतदाताहरु समक्ष मत मागिरहेका छन् । ‘स्थानीय स्तरमा पुर्वाधार तथा आम नागरिकको जीवनस्तर माथि उठाउनका लागि म मतदाता समक्ष गएको छु’ तामाङले भने ।

अंकगणित भन्छ- तामाङलाई सहज छैन

बैशाखमा सम्पन्न स्थानीय तहमा वडाध्यक्षहरुले पाएको मतलाई हेर्ने हो भने एमालेको भन्दा गठबन्धनको उम्मेदवारको मत धेरै छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको ९ वडा, मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका यो क्षेत्रका स्थानीय तह हुन् ।

हेलम्बु मा कांग्रेसले जितेको छ भने मेलम्ची नगरपालिकामा मेयरसहित बहुमत कांग्रेसले जितेको थियो । त्यस्तै पाँचपोखरी थाङपाल र इन्द्रावती गाउँपालिका एमालेले जितेको थियो । चौतारा साँगाचोकगढी नगरपालिका भने माओवादी जितेको छ ।

स्थानीय निर्वाचनमा एमालेको ३१ हजार ७७६ मत रहेको छ भने कांग्रेसको २९ हजार २९३,माओवादीको १६ हजार ६९,राप्रपाको ५ हजार ९३२ र समाजवादीको १६६३ मत रहेको छ ।

गठबन्धनको मत जोड्दा ४७ हजार २५ मत देखिन्छ भने एमालेको जम्मा २९ हजार मात्रै मत छ । एमाले भन्दा गठबन्धन १७ हजार मतले बढी देखिएको छ ।

स्थानीय निर्वाचनको यो अंकगणित भएपनि गठबन्धनका उम्मेदवार बस्नेत र एमाले उमेदवार तामाङ दुवैले स्थानीय निर्वाचनको यो परिणामप्रति त्यति धेरै विश्वस्त हुन सकेका छैनन् ।

दुवैको दाउ राप्रपालाई तान्ने

निर्णायक मत बोकेर बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई यतिबेला दुवै उम्मेदवारहरुले आफूतिर तान्नको लागि भरमग्दुर प्रयास गरिरहेका छन् । सिन्धुपाल्चोक–२ मा राप्रपाको पक्कड भएको क्षेत्र हो । पशुपति शम्शेर राणाले लामो समय यही क्षेत्रमा राजनीतिक गरेकाले पनि राप्रपाको यहाँ बलियो उपस्थिति छ ।

राप्रपाका केही नेताहरुलाई कांग्रेसमा प्रवेश गराएपछि बस्नेत हौसिएका छन् भने एमाले उमेदवार तामाङले पनि पाँचपोखरी थाङपाल गाउँपालिकाका राप्रपाको प्रभावशाली नेताहरुलाई एमालेमा प्रवेश गराइसकेका छन् ।

राप्रपाका पुर्व जिल्ला अध्यक्ष गोपाल श्रेष्ठ यो क्षेत्रबाट उम्मेदवार त छन् तर जितका लागि भने उनीसँग पर्याप्त मत छैन,त्यसैले पनि तेस्रो शक्तिका रुपमा रहेका राप्रपालाई आफुतर्फ तान्न दुवै उम्मेदवारहरु लागि रहेका छन् । विभिन्न जिल्लामा राप्रपासँग एमालेको तालमेलका कारण पनि यो क्षेत्रबाट राप्रपाले आफुलाई सहयोग गर्ने एमाले उमेदवार शेरबहादुर तामाङको दाबी छ ।

कांग्रेस उम्मेदवार क्षेत्र परिवर्तन गरेर आएकाले कांग्रेसका असन्तुष्ट कार्याकर्ताहरुको मत ,जनजाति सेन्टीमेन्ट पनि आफुलाई हुने र एमाले एक ढिक्का भएकाले चुनाव जित्नेमा आफु ढुक्क रहेको तामाङले बताए ।

गठबन्धनका उम्मेदवार बस्नेत भने क्षेत्र परिवर्तन भएपनि कांग्रेस माओवादीका कार्यकर्ताहरु एक ढिक्का भएकाले आफुहरुको मत कतै नजाने बस्नेतले दाबी गरे ।

बस्नेतलाई बागीको डर

क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका पूर्व नेता बद्री चौलागाई खरायो चुनाव चिन्ह लिएर बस्नेतविरुद्ध बागी उठेका छन् । त्यसैगरी माओवादीको पुर्व केन्द्रीय सदस्य ध्रुव पराजुली पनि स्वतन्त्र उम्मेदवारको रुपमा मैदानमा छन् ।

चौलागाईले कांग्रेसको केही मत काट्ने र पराजुलीले माओवादीको मत काट्ने धेरेले आकलन गरेका छन् ।

दुवै उम्मेदवारले कम्तीमा पनि गठबन्धनको २५ सय मत काट्ने अनुमान गठबन्धनका नेताहरुले गरेका छन्,त्यो कारण पनि बस्नेतलाई बागीका कारण केही समस्या हुन सक्ने गठबन्धन कै नेता हरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर