सिन्धुपाल्चोक २ (२) मा कृष्ण र हस्तकाे प्रतिस्पर्धा, कसकाे पल्ला भारी ? – Nepal Press

सिन्धुपाल्चोक २ (२) मा कृष्ण र हस्तकाे प्रतिस्पर्धा, कसकाे पल्ला भारी ?

सिन्धुपाल्चोक । नेकपा एमालेले सिन्धुपाल्चोक २ (२) बाट यो पटक एमालेका बौद्धिक नेता हस्त पण्डितलाई प्रदेश सभा उम्मेदवार बनाएको छ ।

एमाले सिन्धुपाल्चोकका लोकप्रिय युवा नेताको पहिचान बनाएका पण्डितको प्रतिस्पर्धा गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका युवा नेता कृष्णकुमार तामाङसँग हुँदैछ । निर्माण व्यवसायी पृष्ठभूमिबाट उदाएका कांग्रेस उम्मेदवार तामाङलाई यतिबेला एमालेका उम्मेदवार पण्डित भारी पर्दैछन् ।

एमाले निकट युवा संघबाट राजनीति सुरु गरेका पण्डित तत्कालीन प्रजातन्त्रिक राष्ट्रिय युवा संघका केन्द्रीय सचिव समेत भएका थिए । युवा संघको राजनीति छाडेर उनी भूगोलको राजनीतिक यात्रामा सिन्धुपाल्चोक फर्केर एमाले सिन्धुपाल्चोकको अध्यक्ष समेत भइसकेका युवा नेता हुन् ।

२०७४ को स्थानीय निर्वाचनमा हेलम्बु गाउँपालिकाबाट अध्यक्षका प्रत्यासी पण्डित कांग्रेसका निमाग्याल्जेन शेर्पासँग पराजित भएका थिए । मेलम्ची क्षेत्रमा आएको बाढी पहिरोमा उनको घरजग्गा सबै  परेको थियो ।

मेलम्ची नगरपालिका–३ का स्थानीय कृष्णकुमार तामाङ भने भर्खरै राजनीतिमा उदाएका युवा नेता हुन् । २०७४ को स्थानयि निर्वाचनमा कांग्रेसबाट वडा सदस्य जितेका कांग्रेस उम्मेदवार तामाङ मेलम्ची खानेपानी आयोजनामा ठेक्कापट्टा गर्दै आएका थिए । उनी कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतसँग निकट मानिन्छन् ।

बागमती प्रदेशमा हाल स्वास्थ्यमन्त्री रहेका निमा लामाको उम्मेदवार कन्फर्म जस्तै भएपनि मनोनयनको दिन भने निमाको टिकट खोसिएर तामाङलाई दिइएको थियो ।

राजनीतिमा उदाउँदै गरेका कृष्ण र राजनीतिमा लागेर केश फुलाइसकेको एमाले उमेदवार पण्डितबीच चुनावी प्रतिस्पर्धा यतिबेला सिन्धुपाल्चोक–२ (२) मा गर्मागर्मी रहेको छ ।

मेलम्ची प्रभावितहरुको पक्षमा निरन्तर आवज उठाउँदै आएका एमाले उम्मेदवार पण्डित यस क्षेत्रमा लोकप्रिय छन् । मेलम्ची खानेपानीको सवालमा लेबीको कुरा उठाउँदै, स्थानीय जनताहरुलाई समृद्ध बनाउने योजना बनाउने पण्डित भएकाले पनि धेरै मतदाताको समर्थन पण्डितलाई रहेको छ ।

प्राकृतिक विपत्ती पर्दा, आफ्नै घर बाढीले बगाउँदा होस या भूकम्पले आफ्नै घर ढलिरहँदा, परिवारको ख्याल नगरी जनताको सेवामा निरन्तर लाग्ने नेता भएकाले उनको जित निश्चित छ ,एमाले नेता अर्जुन भण्डारीले भने । भूकम्पछि उनले एकीकृत बस्तीको अभियान लिएर जिल्लाभर बहस चलाउदै हिँडेका थिए ।

अंकगणितमा  कृष्ण अगाडि

आफ्नो प्रदेशभित्र लोकप्रिय भएपनि चुनावी अंकगणितमा भने एमाले उम्मेदवार हस्त पण्डित पछाडि देखिएका छन् । स्थानीय चुनावमा वडाध्यक्षहरुले पाएको मतलाई विश्लेषण गर्दा कांग्रेस उम्मेदवार तामाङ  तीन हजार मतले अगाडि छन् ।

एमालेको १८ हजार ३२७ मत रहेको छ भने, कांग्रेसको १६ हजार, माओवादीको ४ हजार ५५६ र समाजवादीकाे ८ सय मत यो प्रदेशमा रहेको छ । गठबन्धनको पक्षमा कुल मत २१ हजार ३५६ मत रहेको छ भने एमालेको १८ हजार ३२७ मत छ ।

मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपालगाउँपालिका यो प्रदेशका स्थानीय तह हुन् । स्थानीय निर्वाचनमा पाँचपोखरी एमालेले बहुमतसहित जितेको छ भने हेलम्बु र मेलम्ची कांग्रेसले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर