प्रदेश १ का महिला उम्मेदवार: जो समानुपातिकको अनुभव लिएर प्रत्यक्ष लड्दैछन् – Nepal Press

प्रदेश १ का महिला उम्मेदवार: जो समानुपातिकको अनुभव लिएर प्रत्यक्ष लड्दैछन्

इटहरी । प्रदेश १ को पहिलो ऐतिहासिक प्रदेशसभाका ९३ अनुहारमा प्रत्यक्ष चुनाव जितेर आएका महिलाहरु दुई जनामात्रै थिए । उनीहरुमा उदयपुरकी कला घले र इलामकी खिनु लङ्वा लिम्बू थिए । अरु सबै समानुपातिक अनुहार थिए ।

अहिले पनि धेरै महिलालाई चुनावबाट आउने बाटो दलहरुले बन्द गरिदिएका छन् । जसमा नेपाली कांग्रेसले त एक जना पनि महिला प्रत्यक्षमा उठाएको छैन । नेकपा एमालेले दुईजना उठाएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने दुई महिला उम्मेदवार चुनावी मैदानमा उतारेका छन् ।

गत चुनावमा समानुपातिकमा बसेर अहिले प्रत्यक्षमा चुनाव लड्ने तीन महिला यी हुन्ः

कुसुमकुमारी श्रेष्ठ (धनकुटा)

धनकुटाकी नेकपा माओवादी केन्द्रकी प्रत्यक्ष उम्मेदवार कुसुमकुमारी श्रेष्ठको उमेर ४६ वर्ष हो । उनको पृष्ठभूमि खेलकुद हो । खेलकुदबाट उदाएकी उनी राजनीतिमा पनि सफल भइन् । अहिले एकमात्रै प्रतिनिधिसभा क्षेत्र भएको धनकुटाको प्रदेश २ मा श्रेष्ठ उम्मेदवार छिन् । समानुपातिक सांसदको अनुभव लिइसकेकी श्रेष्ठलाई धेरैले नेकपा सरकारदेखि अहिलेसम्मको सरकारमा मन्त्रीको रुपमा हेरेका थिए । तर, श्रेष्ठलाई राजनीतिक समीकरणले मन्त्री बनाएन । तर, उनी सक्रिय सांसद भने बनिन ् ।

संसदीय छलफलहरुमा सक्रिय सहभागी हुने र जनजीविकाका मुद्दामा बलियो बोल्ने सांसदको रुपमा उनको परिचय बनेको छ । उनै श्रेष्ठ अहिले सत्ता गठबन्धनको तर्फबाट धनकुटामा उम्मेदवार छिन् ।

उनका प्रमुख प्रतिस्पर्धी एमालेका इन्द्रमणि पराजुली छन् । आफ्नो चुनावी घोषणामा धनकुटाको गुमेको साख फर्काउन आवश्यक शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधारका परियोजनामा आफूले संसद र सरकारमा जहाँ पुगे पनि कुरा उठाउने श्रेष्ठले उद्घोष गरेकी छन् । चुनावी तयारीमा सक्रिय श्रेष्ठले नेपाल प्रेससँग भनिन्, ‘पहिले समानुपातिक सांसद हुँदा सिंगो प्रदेशको मतको प्रतिनिधित्व गरेर सांसद भएको थिएँ । अब धनकुटा प्रदेशसभा २ को खास प्रतिनिधित्व बनेर उठ्दैछु ।’

सरस्वती पोखरेल (सुनसरी)

प्रदेश १ का मन्त्रालयका अनुहारहरु विभिन्न मुद्दामा विवादमा आए । सांसदहरुको पनि विवाद आयो । विवाद नआउने केही थोरै अनुहारमा एक थिइन् सरस्वती पोखरेल । प्रदेश १ को सदनकी उपसभामुख पोखरेल समानुपातिक सांसद हुँदै उक्त पदमा पुगेकी थिइन् । अहिले भने उनी सुनसरी क्षेत्र नम्बर ३ (१) बाट प्रत्यक्ष चुनावमा छिन् । नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार भएकी उनी आफ्नो क्षेत्रमा उठेका प्रदेश सांसदहरुमा सबैभन्दा हेभीवेट अनुहार हुन् ।

सुनसरी ३ मा संसदमा भगवती चौधरी एमालेकी संघकी उम्मेदवार हुँदा उनी गठबन्धनबाट प्रदेशसभा २ की उम्मेदवार भएकी छन् । संघ र प्रदेश दुवैमा फरक–फरक गठबन्धनका उम्मेदवार भए पनि सुनसरी ३ ले दुई शक्तिशाली महिला उम्मेदवार पाएको छ । पोखरेलका प्रमुख चुनावी प्रतिस्पर्धी एमालेका रोहित कार्की रहेका छन् ।

पोखरेलले बनाएका चुनावी मुद्दामा किमाथांका र जोगबनी नाका जोड्नेदेखि इटहरीलाई व्यापारिक केन्द्र बनाउनेसम्म छन् । पोखरेल इहटरीकै स्थानीय हुन् । उनी इटहरीलाई केन्द्रमा राखेर सुनसरी ३ को समग्र क्षेत्रको विकासमा आफू लाग्ने बताउँछिन् । ४७ वर्षकी पोखरेलको राजनीतिक अनुभव झण्डै तीन दशकको छ । घरदैलो कार्यक्रमकै दौरानमा नेपाल प्रेससँग पोखरेलले आफूलाई मतदाताले दिएको प्रतिक्रियाले उत्साह भरेको बताइन् । पहिलोपटक महिलालाई प्रदेशमा प्रत्यक्ष टिकट दिइएकाले महिलाहरुमा थप उत्साह भएको उनी बताउँछिन् ।

सरिता खड्का (संखुवासभा)

गत चुनावमा नेकपा एमालेबाट समानुपातिक सांसद भएकी खड्का अहिले विभाजित नेकपा एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादीको तर्फबाट संखुवासभाको प्रत्यक्ष प्रदेशसभा सदस्य उम्मेदवार भएकी छन् । संखुवासभाको राजनीतिमा भूईंबाट उठेकी खड्का जिल्लाकै थोरै प्रभावशाली महिला नेतृत्वहरुमा गनिने अनुहार हुन् ।

उनै नेतृ खड्का अहिले एकमात्रै चुनाव क्षेत्र भएको संखुवासभाको प्रदेश क्षेत्र २ का उम्मेदवार छिन् । ४७ वर्षकी खड्काका प्रमुख प्रतिस्पर्धी एमालेका विदुर लिम्बू रहेका छन् । ५१ प्रतिशतभन्दा धेरै मतदाता महिला भएको भन्दै खड्काले महिलालाई भोट बैंकमात्रै नबनाउन आफ्नो उम्मेदवारी भएको सार्वजनिक रुपमा भन्दै आएकी छन् ।

एक चुनावी भाषणमा उनले भनेकी छिन्, ‘महिला भोट बैंकमात्र होइन । नेतृत्व पनि गर्न सक्छन् । यसका लागि यहाहरुले अवसर दिनुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर