विकासे कामले गोकुललाई अनुकूल, अबको एजेण्डा युवामा लगानी, आत्मनिर्भर काभ्रेको प्लानिङ (भिडिओ) – Nepal Press

विकासे कामले गोकुललाई अनुकूल, अबको एजेण्डा युवामा लगानी, आत्मनिर्भर काभ्रेको प्लानिङ (भिडिओ)

बनेपा । दोस्रो जित निकाल्न काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा चुनावी दौडाहा चलाइरहेका गोकुल बास्कोटाका लागि आफूले गरेका कामको बारेमा जनतालाई बुझाइरहनु नपर्ने सुविधा छ ।

गोकुलको बारेमा काभ्रेमा आम भनाइ पाइन्छ- मान्छे रुखो बोल्छन् तर काम क्लियर छ । काभ्रेमा अहिलेसम्म नभएका ठूला ठूला विकास आयोजनाहरु गोकुलले ५ वर्षमा गरे । उनको अनुहार र एमाले पार्टी हेरेर होइन, उनले गरेका विकास हेरेर भोट हाल्ने धेरै छन् ।

चुनावी अभियानका क्रममा बनेपा नगरपालिकाको मगरटोल पुग्दा एकजना वृद्धले गोकुललाई किन मत दिने ? भन्ने हाम्रो प्रश्नमा विकासका लागि दिने बताए । पछिल्लो समय गोकुललाई काभ्रेमा विकासको नेता भन्ने मानक स्थापित भएको छ र उनको लागि गठबन्धनसँगको प्रतिस्पर्धा पनि सहज बनाइदिने उनकै विकासे काम भएका छन् ।

हेर्नुस् भिडिओः

गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद हुमागाईं पनि गोकुलले गरेका विकासको खण्डन गर्दैनन् तर विकासको जस एउटाले मात्र लिएर नहुने उनको भनाई छ । गोकुलले सत्ता र शक्तिको आडमा अर्बौको विकास आयोजना लगेको र त्यो अब काभ्रेको साझा सम्पत्ति भएको उनले बताए ।

गोकुल बास्कोटा चुनावमा मत माग्न जाँदा निर्धक्कसाथ आफूले अघि बढाएका र सम्पन्न गरेका विकास आयोजनाहरुको बारेमा जवाफ दिन सक्ने अवस्थामा देखिए, अझ मतदाता नै जानकार पाइए । उनले नेपाल प्रेससँगको कुराकानीमा युवामा लगानी र अपूरा विकास आयोजना पूरा गर्ने अबको आफ्नो एजेण्डा रहेको बताए ।

गठबन्धन सरकारले आफूले थालेका ठूला पुर्वाधारका कतिपय आयोजनाहरु कटौती गरेकाले अब आफू जितेपछि फेरि ती आयोजना ल्याउने र काभ्रेको दीर्घकालीन विकासका लागि थप योजनाहरु रहेको सुनाए । आफूले काभ्रेका दुवै क्षेत्रको विकासको जिम्मा लिएको समेत बास्कोटाले बताए ।

उनले आफूसँगै प्रदेशमा उम्मेदवार रहेका आफ्ना गुरु कुमार खकुरेल र सहयोद्धा कुमार थापालाई पनि जिताउन मतदातालाई आग्रह गरिरहेका छन् ।

बनेपा, पनौती, धुलिखेल र पाँचखालमा खानेपानीका ठूला आयोजना, सूर्यविनायक धुलिखेल राजमार्ग विस्तार, ग्वार्को-कुशादेवी–पनौती सडकलाई राजमार्गको रूपमा विकासजस्ता कामले बाँस्कोटा काभ्रेमा विकासप्रेमी नेताका रूपमा परिचित छन् । मदन भण्डारी प्राविधिक विश्वविद्यालय र प्रतिरक्षा विश्वविद्यालय काभ्रेमा लैजान गरेको पहल उनका अन्य सम्झनलायक काम हुन् ।

अहिले काभ्रेमा सयौं विकासका योजना चलिरहेका छन्, जसमा गोकुल जोडिएका कारण उनलाई प्रचार प्रसारमा अनुकूलता देखियो । जिल्लामा सडक, पुल, खानेपानी, कृषि, सिंचाईं, सहरी पूर्वाधार, सहायक राजमार्ग निर्माणका कामहरु द्रुत गतिमा भइरहेका छन् ।

मदन भण्डारी साइन्स एण्ड टेक्नोलोजी युनिभर्सिटी, मदन भण्डारी औद्योगिक विश्वविद्यालय र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना, बेथानचोक नारायणथान ट्रेल रुट, दुई राजमार्गको स्तरोन्नति जस्ता कैयौं योजनाहरुलाई गोकुलले काभ्रेमा भित्र्याएको मतदाताले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *