स्थिर समयमा निर्वाचन आचारसंहिता उल्लघन गरे २५ हजार जरिवाना गराइने – Nepal Press

स्थिर समयमा निर्वाचन आचारसंहिता उल्लघन गरे २५ हजार जरिवाना गराइने

सामाजिक सञ्जालमा प्रचारप्रसार नगर्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न निर्देशन

काठमाडौं । निर्वाचन अनुगमन समितिले स्थिर समयमा निर्वाचन आचारसंहिता उल्लघन गर्नेलाई २५ हजार जरिवाना गराउने निर्णय गरेको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्वमा बिहीबार दिउँसो बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था छ ।

मङ्‌सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार राती १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्न नपाइने भएको छ ।

निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ मा कसैले पनि मतदान हुने दिनभन्दा अठचालिस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने व्यवस्था छ ।

सोही दफाको उपदफा ७ मा सो विपरितका कार्य गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।

बैठकले बिहीबार राती १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसार सम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने तथा नगराउने प्रबन्ध गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रेस काउन्सिललाई निर्देशन दिने निर्णय भएको छ ।

बिहीबार राती १२ बजेपछि मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मष्तिष्क मन्थन लगायतका निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि गतिविधि नगर्न पनि आयोगको निर्देशन दिएको समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त भण्डारीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन तथा आफ्नो सामाजिक सञ्चालमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दल लगायत सम्पूर्ण सरोकारवालालाई निर्देशन दिएको छ ।

बिहीबार राती १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन पनि आयोगले सर्वसाधारणलाई आह्वान गरेको छ ।

बिहीबार राति १२ बजेपछि कसैले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ विपरित निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गरेमा सोही दफाको उपदफा ७ बमोजिम तत्काल जरिवाना गरी सोको जानकारी आयोगमा गराउन सम्पूर्ण निर्वाचन अधिकृत तथा अनुगमन अधिकृतलाई निर्देशन दिएको छ ।

मतदानको दिन मतदान केन्द्रको वरिपरि कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने खालका एकै रङ वा किसिमका साङ्‍केतिक अर्थ जनाउने पोशाक, लोगो, ब्याज, झण्डा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी, क्याप, भेष्ट, मास्क, झोला, स्टीकर लगायतका पहिरन र चीज वस्तु लगाएमा, प्रयोग गरेमा, देखाएमा र प्रदर्शन गरेमा तत्काल जफत गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।

बिहीबार राति १२ बजेपछि सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै राजनीतिक विज्ञापन नगर्ने नगराउने, यस अघि गरिएका यस्ता विज्ञापन हटाउन सम्बन्धित सञ्चार माध्यमलाई अनुरोध गर्ने र त्यसको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिने दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर