विप्लव समूहको ‘विस्फोट धन्दा’: चुनाव बिथोल्न कि उपस्थिति देखाउन ? – Nepal Press

विप्लव समूहको ‘विस्फोट धन्दा’: चुनाव बिथोल्न कि उपस्थिति देखाउन ?

काठमाडौं । बुधबार अपरान्ह दोलखाको चरिकोटमा ठूलो आवाज सुनिएपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी तत्काल पुग्यो । दोलखा प्रहरी प्रमुख गंगाप्रसाद पौडेलले फोहोर जम्मा गरिएको ठाउँबाट आवाज आएको भनिएपनि विस्फोटन भएको देखिने कुनै वस्तु फेला नपरेको बताउँछन् ।

लगभग त्यही समयमा भोजपुरको पौवादुङमा गाउँपालिकास्थित तिवारीभन्ज्याङमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी चुनावी आमसभा नजिकै विस्फोट भएको थियो । जिल्ला प्रहरी प्रमुख शरत थापाका अनुसार सुमन श्रेष्ठले बोकेको झोलामा विस्फोट भएको थियो ।

बुधबार राति बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१० भृकुटीनगर जनस्वास्थ्य कार्यालय नजिकै विस्फोट हुँदा दुईजना घाइते भए । दुईवटा घटनाका घाइते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको प्रहरीको दाबी छ । विप्लव समूहले पनि घटनाको जिम्मा लिएको छ ।

विप्लव समूहले चुनाव विथोल्ने घोषणा गरेसँगै देशका विभिन्न स्थानमा शंकास्पद वस्तुहरू फेला पर्नुका साथै विस्फोटनका घटनाहरू सुनिन थालेका छन् ।

विप्लवका नेताहरुले चुनाव विथोल्न सार्वजनिक सभा गरेरै कार्यकर्तालाई निर्देशन दिइरहेका छन् । घटना भएका ठाउँबाट संलग्न भएको आशंकामा पक्राउ गरेपनि प्रहरीले विप्लवका नेताहरूलाई भने नियन्त्रणमा लिएको छैन । शंकास्पद गतिविधि हुन थालेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरीको भनाइ छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले घटनामा संलग्नहरूलाई पक्राउ गरिने बताए ।

‘शान्तिपूर्णरूपमा विरोध गर्न जसले पनि पायो तर कहीँ विस्फोट भए र त्यहाँ संलग्न भएको देखिए हामी पक्राउ गर्छौं’, डीआईजी राईले भने ।

उनले विप्लवको यस्ता गतिविधि बढिरहेका बेला शीर्ष नेताहरूलाई के गर्ने भन्ने सम्बन्धमा माथिबाट कुनै निर्देशन प्राप्त नभएको पनि बताए । गृहमन्त्रालय प्रवक्ता फणिन्द्रमणि पोखरेलले तत्काल कुनै निर्णय नहुने संकेत गरे ।

‘हामीले निर्देशन दिइसकेका छौँ, कानून हातमा लिने जो कोहीलाई कारबाही हुन्छ’, उनले भने । विप्लवले घटनाको जिम्मा लिइरहँदा माथिल्लोस्तरका नेताहरूबारे के हुन्छ भन्ने प्रश्नमा उनले पक्राउ परेकाको बयानमा खुलेसम्मलाई कारबाही हुने जवाफ दिए ।

तत्कालीन केपी ओली प्रधानमन्त्री रहेको सरकारसँग विप्लव समूहले तीन बुँदे सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा फर्केको थियो । तर, सरकारसँगको सहमति कार्यान्वयन नगरेको भन्दै ऊ असन्तुष्ट छ । आफ्ना नेता कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता र रिहा नगरेर सरकारले सहमति तोडेको विप्लव पक्षको भनाइ छ ।

यद्यपि गत स्थानीय निर्वाचनताका केही ठाउँमा विप्लव समूहका केही नेता कार्यकर्ता स्वतन्त्र उम्मेदवार उठेका थिए । चुनावमा भाग लिने कि नलिने भन्नेमा पार्टीभित्र विवाद देखिएको थियो । पछिल्लो समय प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने निष्कर्षका विप्लवसहित केही समूह पुगेका छन् । बम विस्फोट र शंकास्पद वस्तुहरूमा विप्लव समूहकै संलग्नता रहेको प्रहरीको दाबी छ ।

यसअघि एमसीसी पारितसम्बन्धी सदनमा प्रक्रिया चलिरहेका बेला दिनदहाडै संसद भवन गेटअगाडि सडकमा कुकर राखिएको थियो । नेपाली सेनाको टोलीले त्यसलाई डिस्पोज गरेको थियो । स्थानीय निर्वाचन हुने दिन बिहानै रात संसद भवनअगाडि नै ग्यास सिलिन्डरलाई विस्फोटन गराइएको थियो । डस्टबिनभित्र बेरेर सिलिन्डर विस्फोट भएपनि प्रहरीले घटनालाई गोप्य राखेको थियो । घटनामा संलग्न रहेको आरोपमा सी माओवादी नामको समूहका व्यक्तिहरू पक्राउ परे । उनीहरू अझै थुनामा छ्न् ।

रोकिएन विस्फोटको श्रृंखला

तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि १० वर्षे जनयुद्ध अन्त्यको १६ वर्ष वित्न लाग्दासम्म पनि बम विस्फोटनका शृंखला रोकिएको छैन । युद्धताका विभिन्न ठाउँमा रहेका बेवारिसे बमहरू पड्कने र मानिसले ज्यान गुमाउने क्रम धेरै समयसम्म रहे ।

तराईकेन्द्रित सशस्त्र समूहदेखि पूर्वी नेपालमा उदाएका जातीय समूहसमेत विस्फोटनका घटनामा जोडिए । ६० को दशकमा तराई केन्द्रित सशस्त्र समूह नियन्त्रणमा आएको थियो । विस्तारै अन्य सशस्त्र समूहको प्रभाव पनि कम हुँदै गयो । सरकारले वार्ता टोली बनाएर विभिन्न समूहलाई सेफ ल्याण्डिङ गराएको थियो ।

तर, माओवादीबाट अलग्गिएको विप्लव समूहको सशस्त्र गतिविधि भने बढ्दै गएको थियो । तराईमा सीके राउत समूहको विखन्डकारी गतिविधि पनि राज्यका लागि बढ्दो चुनौती थियो । उनीपनि राजनीतिको मूलधारमा आए ।

केही वर्षअघि काठमाडौका विभिन्न स्थानमा विप्लव समूहले एकै समयमा विस्फोटनको तयारी गरिरहँदा बम पड्किएर कार्यकर्ताहरू मारिए । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअघि भएको विस्फोटमा सर्वसाधारणको मृत्यु भएपछि भने सरकारले विप्लव समूहलाई आपराधिक समूह घोषणा गरेर नेता कार्यकर्ताहरुलाई पक्राउ गर्न थालेको थियो । विप्लवबाहेक उक्त समूहका अधिकांश नेताहरूलाई प्रहरीले पक्राउ गरेको थियो । विप्लव समूहबाट भएका घटनामा कार्यकर्तादेखि विप्लवसम्मलाई जोडेर संगठित अपराधमा मुद्दा लगाइएको थियो ।

यहीबीचमा प्रहरी इनकाउन्टरमा विभिन्न स्थानमा विप्लवका नेता कार्यकर्ता मारिए । भोजपुरमा एक प्रहरीकै मृत्यु भयो । सीके राउत समूह र विप्लव समूहसँग सरकारले सम्झौतापछि सशस्त्र गतिविधि र विस्फोटका घटना नहुने अपेक्षा थियो ।

पूर्वएआईजी देवेन्द्र सुवेदी विप्लव समूहको गतिविधि पहिचानको संकटका कारण भइरहेको बताउँछन् ।

‘चुनाव विथोल्नु भनेको पहिचानको संकटकै कारण । विथोल्नका लागि हिंसात्मक गतिविधि गर्नु नयाँ कुरा होइन । तर यो समूह निकै सानो भइसकेको छ । आम मानिसलाई त्यति प्रभाव पार्दैन, सुवेदी भन्छन् ।’

तथ्यांकमा बम विस्फोट र निष्क्रियका घटना

माओवादी शान्ति प्रक्रियामा आएपछि आर्थिक वर्ष २०६३/६४ मा चार ठाउँमा सम्भावित बम विस्फोटलाई निष्क्रिय बनाइएको थियो भने ३१ ठाउँमा विस्फोट भएको थियो । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार तत्कालीन मध्य पश्चिमान्चल क्षेत्रमा मात्र २९ वटा विस्फोटन भए ।

यस्तै देशभर बम तथा विस्फोटक पदार्थ भनेर झुक्याइएका २ वटा घटना थिए । आर्थिक वर्ष ६४/६५ मा ८ वटा घटनामा निष्क्रिय पारिएको थियो भने ५४ स्थानमा विस्फोट भएको थियो । विस्फोट भएकामध्ये पूर्वाञ्चलमा १३ र मध्यमाञ्चलमा ३८ घटना थिए ।

आर्थिक वर्ष ६५/६६ मा २१ स्थानमा बमलाई निष्क्रिय पारिएको थियो भने ३४ वटा विस्फोटनका घटना थिए । विस्फोटन भएकोमध्ये मध्यमाञ्चलमा २७ वटा घटना थियो । आर्थिक वर्ष ०६६/६७ मा २१ वटा घटनामा बमलाई निष्क्रिय पारिएको । विस्फोटनका घटना १८ वटा थिए । ०६७/६८ मा मध्यमाञ्चलमा १८ सहित देशभर २२ वटा घटनामा बम निष्क्रिय पारिएको थियो । मध्यमाञ्चलमा १४ सहित देशभर १७ वटा विस्फोटका घटना भएका थिए । ०६८/६९ मा १७ घटनामा बमलाई निष्क्रिय पारिएको थियो भने विस्फोटका घटना १० वटा थिए । काठमाडौं उपत्यकामा २ सहित देशभर ३ वटा घटनामा बम तथा विस्फोटक पदार्थ भनेर झुक्याइएको थियो ।

०६९/७० मा बम निष्क्रिय पारिएको घटना २ सय ७२ थियो भने एक ठाउँ विस्फोट भयो । त्यो वर्ष काठमाडौं उपत्यकाम २ सहित देशभर ३ वटा घटनामा बम तथा विस्फोटक पदार्थ भनेर झुक्याइएको थियो । ०७०/७१ मा बम तथा विस्फोटक पदार्थ भनेर पूर्वाञ्चलमामा ७ सहित देशभर ११ वटा झुक्याइएका घटना भए । २२ ठाउँमा बमलाई निष्क्रिय पारिएको थियो । ४ वटा विस्फोट भयो । ०७१/७२ सालमा बम भनेर झुक्याइएका घटना ७, बम निष्क्रिय पारिएका घटना १३ र विस्फोटका घटना ५ वटा रहेका छन् । ०७२/७३ मा बम तथा विस्फोटक पदार्थ भनेर झुक्याइएका घटना १, निष्क्रिय पारिएका ५ र विस्फोटका घटना १३ वटा रहेका थिए ।

त्यसयताको प्रदेशगत विवरणका आधारमा आर्थिक वर्ष ०७३/७४ मा देशभर २२ वटा घटनामा बमलाई निष्क्रिय पारिएको थियो भने १२ वटा विस्फोटका घटना थिए । बम भनेर झुक्याइएका घटना ५ वटा थिए । ०७४/७५ मा ४२ स्थानमा विस्फोट भएको थियो । बम भनेर झुक्याइएका घटना ९ वटा थिए ।

०७५/७६ मा भनेर झुक्याइएका घटना २३ थिए भने ७५ वटा विस्फोटका घटना भएका थिए । ०७६/७७ सालमा विस्फोटका घटना २२ थियो भने झुक्याइएका घटना १२ थियो । ०७७र७८ मा १४ वटा विस्फोटका घटना भएका थिए भने १३ घटनामा झुक्याइएको थियो । ०७८/७९ वर्षमा विस्फोटका घटना ८ वटा थियो भने बम तथा विस्फोटक पदार्थ भनेर झुक्याइएका घटना १५ वटा रहेका थिए । चालू आर्थिक वर्षको असोजसम्म विस्फोटनका घटना ६ वटा रहेका छन् भने बम तथा विस्फोटक पदार्थ भनेर झुक्याइएका घटना ११ वटा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर