सुर्खेत १०१ कैदीबन्दी मतदानमा सहभागी हुँदै
सुर्खेत । आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सुर्खेत कारागारमा रहेका एक सय एक जना कैदीबन्दीले मतदानमा सहभागी हुन पाउने भएका छन् ।
२०५६ यता सुर्खेत कारागारका कैदीबन्दीहरुले पहिलो पटक मतदानमा सहभागी हुन पाउने भएका हुन् । हाल सुर्खेत कारागारमा ३ सय ४८ कैदी बन्दी रहेका छन् ।
अस्थायी मतदाता सम्बन्धी २०७३ मै कानुनी व्यवस्था भए पनि कारागारमा रहेका थुनुवा र कैदीलाई यस पटकको निर्वाचनमा सहभागी गराउन लागिएको हो ।
उनीहरूले प्रतिनिधि र प्रदेशसभातर्फ समानुपातिकमा भोट हाल्न पाउने प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।
मतदाता नामावलीमा नाम समावेश भएका नेपाल सरकारका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र वृद्धाश्रममा बसेका व्यक्तिलाई अस्थायी मतदाता भनिएको छ ।
निर्वाचन अधिकारी चालिसेका अनुसार सुर्खेतमा २१ सय बढी अस्थायी मतदाता सहभागी हुँदैछन् । यस्तै प्रशान्ति वृद्धाश्रम सुर्खेत आश्रय लिई रहेका पाँच जना ज्येष्ठ नागरिकले पनि मतदानमा सहभागी हुने छन् ।
अस्थायी मतदाताका लागि सुर्खेत जिल्लामा २ वटा विशेष मतदान केन्द्रको व्यवस्था गरिएको छ । कारागार कैदी बन्दीका लागि कारागार परिसर र अन्य कर्मचारीका लागि जिल्ला समन्वय समितिको परिसर र ज्येष्ठ नागरिकलाई शिव मावि लाटिकोइलीमा मतदानको व्यवस्था मिलाइएको छ ।