कांग्रेसको संसदीय राजनीतिका यी चर्चित ‘लेजेन्ड’, जो अहिले छन् गुमनाम – Nepal Press

कांग्रेसको संसदीय राजनीतिका यी चर्चित ‘लेजेन्ड’, जो अहिले छन् गुमनाम

काठमाडौं । बहुलदलीय प्रजातन्त्रको स्थापनापछि ६ वटा संसदीय निर्वाचन भएका छन् । पहिलो संविधानसभा निर्वाचन २०६४ सहित ४ वटा गणतन्त्र स्थापनाअघि र त्यसयता दोस्रो संविधानसभा निर्वाचन २०७० र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ गरी दुईवटा संसदीय निर्वाचन सम्पन्न भएका छन् ।

यी निर्वाचनमध्ये नेपालका सबैजसो परिवर्तनको नेतृत्व गरेको दल नेपाली कांग्रेस संसदमा दुईपल्ट बहुमत र एकपल्ट पहिलो दल बनेको छ । बाँकी तीन निर्वाचनमा संसदको दोस्रो ठूलो दल बनेर भूमिका निर्वाह गरेको छ ।

कांग्रेसको यो संसद यात्रामा सयौं नेता सांसद बनेका छन् । उनीहरूले सांसद तथा मन्त्री र प्रधानमन्त्रीका रुपमा भूमिका निर्वाह गरेका छन् । यस क्रममा विभिन्न कालखण्डहरूमा अधिकांशले विभिन्न किसिमका चर्चा/परिचर्चा कमाएका छन् ।

यसरी चर्चा कमाएका जीवित नेतामध्ये अधिकांश अहिले पनि राष्ट्रिय राजनीतिमा सक्रिय छन् । २०४८ देखि निर्वाचन लड्दै आएका दर्जनौं नेता पनि आसन्न मंसिर ४ को निर्वाचनमा हिस्सा हुँदैछन् । जसमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौला, पूर्वउपसभापति विजयकुमार गच्छदार, पूर्वमन्त्री बलबहादुर केसीसम्मका नेताहरू मंसिर ४ को निर्वाचनमा प्रत्यक्ष मैदानमै भिडिरहेका छन् ।

उनीहरू यसरी राजनीतिको खुला मैदानमा भिडिरहँदा केही यस्ता जीवित कांग्रेस नेता पनि छन्, जो कुनै समय उनीहरूसँगै पैंठेजोरी खोज्दै, काँधमा काँध मिलाउँदै राजनीति गर्थे । जो कांग्रेसको संसदीय राजनीतिदेखि राष्ट्रिय राजनीतिका अभिन्न हिस्सा थिए । उनीहरूको प्रभावले राष्ट्रिय राजनीति र कांग्रेसको आन्तरिक राजनीति तरंगित हुन्थ्यो ।

ती नै जीवित तर, ‘गुमनाम’ कांग्रेसका प्रभावशाली नेताबारे हामीले यस सामग्रीमा चर्चा गरेका छौं । जुन अहिलेको चुनावका हिस्सा छैनन् ।

केबी गुरुङ

कांग्रेस राजनीतिमा २००७ सालको क्रान्ति देखेका एकमात्र जीवित पात्र हुन्- कुलबहादुर गुरुङ उर्फ केबी गुरुङ ।

कांग्रेसको महामन्त्री पनि भइसकेका गुरुङ १९९२ मंसिर ८ गते इलाममा जन्मिएका हुन् । बालककालदेखि नै राणाशासनविरुद्ध उत्रिएका गुरुङ २००५ सालमा नै उक्त आन्दोलनमा सहभागी हुन थालेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट बीएडसम्मको अध्ययन गरेका गुरुङले २०१८ सालदेखि लामो समय अध्यापन पनि गरेका थिए । एमाले नेता सुवास नेम्वाङ र झलनाथ खनालका समेत उनी गुरु थिए ।

त्यसपछि उनी अध्यापनसँगै पञ्चायतविरुद्ध पनि लागे । त्यसै क्रममा पञ्चायतविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा २०२९ सालमा पक्राउ गर्ने आदेश जारी भयो । त्यसपछि भने उनी भारत निर्वासित भए । यसैक्रममा बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर निर्वासनबाट फर्कंदा उनीसँगै नेपाल आएका थिए । सोही क्रममा त्रिभुवन विमानस्थलबाट उनलाई पनि पक्राउ गरिएको थियो ।

गुरुङले राणा, पञ्चायत र राजतन्त्रविरुद्ध भएका तीनवटै आन्दोलनमा सक्रियताका साथ भूमिका निर्वाह गरेका छन् । यसक्रममा ७ दशक लामो उनको राजनीतिक यात्रामा कांग्रेसको इलाम जिल्ला सभापति, केन्द्रीय सदस्य हुँदै केन्द्रीय महामन्त्री बनिसकेका छन् । वर्षौं जेल जीवन व्यतित गरेका छन् ।

यसै क्रममा बहुदलपछि २०४८ सालमा पहिलोपल्ट इलाम २ मा पराजित भएका गुरुङ २०५१ मा सोही क्षेत्रबाट जितेका थिए । त्यसपछि शिक्षामन्त्री बने । २०५६ मा फेरि पराजित भए । त्यसपछि २०६४ को पहिलो संविधानसभा निर्वाचनमा इलाम ३ बाट निर्वाचित भएका थिए ।

त्यसपछि बसेको संविधानसभाका सुरुवाती बैठकमा ज्येष्ठताका आधारमा गुरुङले नै अध्यक्षता गरेका थिए । उनकै अध्यक्षतामा बसेको संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा राजतन्त्रको विधिवत अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।

त्यसपछि दोस्रो संविधानसभा निर्वाचन २०७० मा गरुङ समानुपातिकबाट संविधानसभा सदस्य बनेका थिए । २०७२ सालमा राष्ट्रपति निर्वाचनमा कांग्रेसले उनलाई उठाएको थियो । जसमा विद्यादेवी भण्डारीसँग पराजित भए ।

पार्टीभित्रको शक्ति समीकरणमा कुनै समय गिरिजाप्रसाद कोइरालाको अत्यन्त निकट मानिएका गुरुङ कोइरालाको निधनपछि सभापति शेरबहादुर देउवासँग जोडिएका थिए । तर, देउवाले २०७४ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिक कतै टिकट नदिएपछि उनी रुष्ट छन् ।

त्यसयता उनी सक्रिय राजनीतिमा छैनन् । उमेरले ९१ वर्ष पुगिसकेका गुरुङ घरमै बुढेसकाल बिताइरहेका छन् ।

बलदेव शर्मा मजगैयाँ

कुनै समय नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुखको जिम्मेवारी लिइसकेका मजगैयाँ अहिले कांग्रेस राजनीतिमा गुमनाम छन् । २००७ सालमा दाङमा जन्मिएका मजगैयाँ पारिवारिक पृष्ठभूमिबाट नै कांग्रेस राजनीतिमा आकर्षित भएका थिए । उनका बुवा कांग्रेसको जिल्ला सचिव भइसकेका थिए । बुवाबाट प्रभावित भएर २०२४ सालदेखि कांग्रेसको राजनीतिमा प्रवेश गरेका उनी पञ्चायतविरोधी आन्दोलनमा सातवर्षसम्म जेल जीवन व्यहोरेका नेता हुन् । मजगैयाँले बम काण्डको मुद्दासमेत खेपेका थिए ।

भारतमा बसेर मजगैयाँले स्नातकोत्तरसम्मको अध्ययन गरेका थिए । त्यसै क्रममा उनले केही साहित्यिक पुस्तक पनि लेखेका छन् । जीवनकालमा पहिले बीपी कोइराला त्यसपछि गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र रहेर उनले काम गरेका छन् । मजगैयाँले संगठन विभागका साथसाथै अनुशासन समितिमा बसेर पनि काम गरेका थिए ।

मजगैयाँ २०५१ र २०५६ का संसदीय निर्वाचनमा दाङ क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । त्यसवेला कृषि राज्यमन्त्रीको जिम्मेवारी बहन गरे । त्यसपछि जलस्रोतमन्त्री पनि बने । त्यसक्रममा इमानदार र स्वच्छ छविका मजगैयाँलाई गिरिजाप्रसाद कोइरालाले लोकमानसिंह कार्कीलाई जलस्रोत मन्त्रालयको सचिव बनाउन दबाब दिएका थिए । कोइरालाबाटै यस्तो दबाब आएपछि मजगैयाँले मन्त्री पदबाटै राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि कोइरालाले लोकमानलाई मन्त्रालयको सचिव बनाएका थिए ।

त्यसपछि २०६४ को संविधानसभा निर्वाचनमा भने उनी समानुपातिकबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । पहिलो संविधानसभाको कार्यकाल सकिएसँगै मजगैयाँले सक्रिय राजनीतिबाट सन्न्यास लिएका थिए । त्यसयता उनी पार्टी र संसदीय राजनीतिबाट बाहिर छन् ।

अहिले मजगैयाँको बसाइ काठमाडौंमै छ । अक्सर समय घरायसी सदस्यसँगै बिताउने गरेका छन् । जसमा वर्षमा ६ महिना काठमाडौं, ३ महिना छोरासँग अमेरिका र ३ महिना छोरीसँग बेलायतमा बिताउने गरेको परिवारिक स्रोत बताउँछ । दसैँअघि उनी छोरीकहाँ बेलायत पुगेका छन् ।

तारानाथ रानाभाट

एक समय गिरिजाप्रसाद कोइरालाको विकल्पमा प्रधानमन्त्रीका रुपमा हेरिएका पूर्वसभामुख तारानाथ रानाभाट अहिले कांग्रेसको राजनीतिका सबैभन्दा उपेक्षित पात्र हुन् ।

२०४८ सालको निर्वाचनमा कास्की १ बाट निर्वाचित भएपछि उनी सभामुख बनेका थिए । रानाभाट तत्कालीन सभापति कृष्णप्रसाद भट्टराई र सर्वमान्य नेता गणेशमान सिंहका विश्वासपात्र थिए । भट्टराई र सिंह दुबैजना पराजित भएपछि तत्कालीन महामन्त्री कोइराला प्रधानमन्त्री बनेका थिए । त्यसपछि २०५१ मा पार्टीभित्रै कोइराला र सिंह-भट्टराई समूह (७४ र ३६) समूहमा पार्टी विभक्त हुँदा उनी तत्कालीन ३६ अर्थात सिंह-भट्टराई समूहमा थिए ।

दुई समूहबीचको टकरावमा प्रधानमन्त्री कोइरालाको राजीनामा मागिएको थियो । उनको राजीनामा आएको भए सम्भवतः रानाभाट नै प्रधानमन्त्री बन्ने सम्भावना रहेको तत्कालीन जानकारहरू बताउँछन् ।

त्यसै विवादमा कोइराला सरकारले ल्याएको नीति तथा कार्यक्रम असफल भएपछि प्रधानमन्त्रीले संसद विघटन गरेर मध्यावधि घोषणा गरेका थिए । उक्त संसद बैठकमा रानाभाट उपस्थित नै थिएनन् । उपसभामुख महन्थ ठाकुरले संसद बैठक चलाएका थिए ।

त्यसपछि मध्यावधिमा रानाभाट पराजित हुन पुगे । फेरि २०५६ मा कास्की १ बाटै जितेर फेरि सभामुख नै भए । सोही क्रममा राजा ज्ञानेन्द्र शाहले ‘कु’ गर्दा उनी प्रधानमन्त्रीको लोभमा दरबारसँग मिलेको आरोप छ । २०६२/०६३ को आन्दोलनमा उनी सहभागी नै भएनन् । यही कारण उपसभामुख चित्रलेखा यादवले सडकमा संसद चलाइन् । संसद पुनःस्थापनापछि यादवलाई नै सभामुख बनाइयो ।

यसरी रानाभाटको राजनीति समाप्त भयो । पछिल्लो समय पनि उनी कांग्रेसमै आवद्ध छन् । तर, पुरानो शक्ति फर्काउन सकेका छैनन् ।

लक्ष्मण घिमिरे

कुनै समय कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव रहेका घिमिरे गणतन्त्रको पक्षमा अभिव्यक्ति दिएकै कारण जिम्मेवारीबाट हटाइएका थिए । प्रारम्भमा शैलजा आचार्य निकट रहेका घिमिरे उत्तरार्द्धमा भने गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको निकट रहेर राजनीतिमा सक्रिय रहेका थिए ।

रामेछाप १ बाट २०४८ सालमा सांसद जितेर जलस्रोतमन्त्री भएका घिमिरे २०५१ मा एमालेका देवशंकर पौडेलसँग ११ मतले पराजित भए । त्यसपछि उनले प्रत्यक्ष चुनाव जित्न सकेनन् ।

२०५६ मा एमालेकै कमलप्रकाश सुनुवारसँग पराजित भएपछि घिमिरे जिल्लाको सक्रिय राजनीतिबाट बाहिरिएका थिए । उनी २०६४ मा समानुपातिक सांसद भएपछि गिरिजाप्रसाद कोइरालाले संसदीय दलको प्रमुख सचेतक बनाएका थिए । संसदमा तार्किक र दर्बिलो प्रस्तुति गर्ने घिमिरेले संसदमा कांग्रेस प्रमुख सचेतकको निर्वाह गरेको भूमिका कांग्रेसजनमात्र होइन, विपक्षीहरुसमेत सम्झन्छन् ।

गिरिजा र सुशीलको निधनपछि उनको राजनीति पनि सुस्ताएको छ । पछिल्लो पटक त १४औं महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधिमै पराजित भए । त्यसयता उनी कांग्रेस राजनीतिमा गुमनाम छन् ।

अहिले घिमिरे राजनीति तथा समसायिक विषयमा सामाजिक सञ्‍जालमा आफ्ना टिप्पणी गरिरहन्छन् ।

विनयध्वज चन्द

शेरबहादुर देउवाले साथ छाडेपछि गिरिजाप्रसाद कोइरालाको विश्वासपात्रका रुपमा रहेर सुदूरपश्चिमबाट टेको दिएका चन्द कांग्रेसको संसदीय दलको प्रमुख सचेतक र केन्द्रीय सदस्य भइसकेका नेता हुन् ।

उनी २०४८ र २०५६ सालमा बैतडी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । चन्द २०४८ मा चुनाव जितेर आएपछि अर्थ समितिको सभापति र २०५६ मा संसदीय दलको प्रमुख सचेतक बनेका थिए ।

२०५१ सालमा भने बर्दियाबाट निर्वाचन लडेर पराजित भएका थिए । पहिलो संविधानसभा चुनावमा बैतडीबाट पराजित भए । गिरिजाप्रसाद कोइरालाको निधनपछि भने उनको राजनीति ओरालो लाग्यो । गएको महाधिवेशनमा उनी गृह जिल्ला बैतडीमै महाधिवेशन प्रतिनिधिमा चुनाव हारेका थिए ।

नेपालमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशी जस्ता एजेण्डाहरूमा चन्दको विमति रहँदै आएको छ । विदेशीले भित्र्याएको एजेण्डामा कांग्रेस नेतृत्व पनि फँसेको उनको तर्क छ । मूलधारको राजनीतिबाट ओझेल परेपछि पछिल्लो समय उनी ‘बीपी विचार राष्ट्रिय समाज’ मा सक्रिय छन् ।

तारिणीदत्त चटौत

देउवाले साथ छोडेपछि सुदूरपश्चिममा गिरिजाप्रसाद कोइरालाले हातमा लिएका एक पात्र हुन्- तारिणीदत्त चटौत । पञ्चायतविरोधी आन्दोलनका सशक्त योद्धा चटौतलाई कोइरालाले ५० को दशकमा निकै लिफ्ट दिएका थिए । कञ्चनपुर क्षेत्र नम्बर २ बाट २०४८ र २०५६ मा निर्वाचित चटौत २०५१ मा एमालेका भोजराज जोशीसँग पराजित भएका थिए । संसद यात्रासँगै चटौतले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने सौभाग्य पाएका थिए ।

यसै क्रममा २०५८ सालमा पर्यटनमन्त्री हुँदा उनलाई भ्रष्टाचारको अभियोग लाग्यो । ‘लाउडा विमान’ भाडामा लिँदा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५८ सालमा उनीसहित १० जनाविरुद्ध अभियोग लगाएको थियो । उक्त मुद्दा सर्वोच्च अदालतमा अहिले पनि विचाराधीन छ ।

आयोगले पहिले पुनरावेदन अदालत पाटनमा मुद्दा दर्ता गराएको थियो । त्यसपछि २०५९ सालमा विशेष अदालत गठन भएपछि यो मुद्दा पनि त्यतै सरेको थियो । त्यसको करिब पाँच वर्षपछि २०६४ साल साउन २८ मा विशेषले सबै आरोपितलाई सफाइ दिने फैसला सुनाएको थियो । विशेषको फैसला त्रुटिपूर्ण भएको भन्दै अख्तियार २०६४ साल माघ १३ मा सर्वोच्च पुगेको थियो । त्यसयता त्यो मुद्दा सर्वोच्चकै घर्रामा थन्किएको छ ।

यो आरोपसँगै चटौतको राजनीतिक यात्रा भने ध्वस्तप्रायः भएको छ । यद्यपि २०६४ सालको संविधानसभामा उनलाई समानुपातिकबाट सभासद बनाइएको थियो । १३औंमा महाधिवेशनमा उनी कञ्चनपुरमै महाधिवेशन प्रतिनिधिमा पराजित भए । १४औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा पराजित भए । यद्यपि पछिल्लो समय उनको संसद यात्रा भने दोहोरिने छाँटकाँट छैन ।

आमोदप्रसाद उपाध्याय

कांग्रेसका पुराना नेता आमोदप्रसाद उपाध्याय पनि पछिल्लो समय निकै गुमनाम छन् । कोइराला परिवारका नातेदारसमेत रहेका उपाध्याय गिरिजाप्रसाद कोइरालाका निकै प्रिय व्यक्ति थिए । यही कारण २०४८ सालमा उनले राष्ट्रियसभा सदस्य हुने मौका पाए । राजाको मनोनीत कोटाबाट उनी सांसद भएका थिए ।

२०५६ मा कोइरालाले आफैं जितेको क्षेत्र मोरङ १ छाडेर उपनिर्वाचनमा उपाध्याय जिताउँदै पुनः सांसद बनाएका थिए । त्यसपछि २०५६ देखि २०५८ सम्म आफ्नै सरकारका पालामा शिक्षा तथा खेलकुदमन्त्री बनाए ।

उपाध्याय राजनीतिक संघर्षका क्रममा पटक-पटक पक्राउ परी जेल जीवन बिताएका नेता पनि हुन् । यस्तै कांग्रेसको केन्द्रीय सदस्य पनि भइसकेका छन् ।

यस्तै २०६४ को पहिलो संविधानसभामा मोरङ १ बाटै निर्वाचित भएका उपाध्याय २०७० मा भने पराजित हुन पुगे । त्यसयता भने उनको राजनीति सुस्ताएको छ ।

समाज सेवा र अध्ययनमा विशेष रुचि राख्‍ने उनका लेख-रचना अहिले पनि पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् । यद्यपि कांग्रेस राजनीतिक वृत्तमा भने उनी अस्ताइसकेका पात्र हुन् । जो अहिलेको निर्वाचनका हिस्सा छैनन् ।

पाल्तेन गुरुङ

२०४८ देखि २०५६ सम्मका लगातार तीन चुनाव जितेका गुरुङ पछिल्लो समय गुमनाम छन् । २०५६ मा उनी निर्विरोध नै निर्वाचित भए । यही क्रममा उनी मन्त्री पनि भएका छन् ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने उनलाई माओवादी केन्द्रका देव गुरुङले पराजित गरेका थिए । त्यसयता उनी गुमनाम छन् । कांग्रेस राजनीतिमा रहे पनि उनी पछिल्लो समय संसदीय राजनीतिभन्दा बाहिर छन् । जुन अहिलेको निर्वाचनको पनि हिस्सा छैनन् ।

विपीन कोइराला

कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष हुन् विपीन कोइराला । २०२७ बैशाख ६ गते उनको अध्यक्षतामा नेविसंघको तदर्थ समिति गठन भएको थियो ।

कोइरालापछि पहिलोपल्ट निर्वाचित अध्यक्ष भएका शेरबहादुर देउवा देशको पाँचपल्ट प्रधानमन्त्री र दुईपटक कांग्रेसको सभापति भइसकेका छन् । तर, कोइराला भने गुमनाम छन् । धेरैले त उनको नामसम्म सुनेका छैनन् ।

कोइराला नेविसंघका संस्थापक अध्यक्षमात्र होइनन् कुनै समय नेपालका प्रभावशाली सांसद थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा उनी सिन्धुली १ बाट निर्वाचित भएका थिए । त्यही क्रममा एमालेको नौ महिने अल्पमतको सरकार ढलेपछि बनेको देउवा नेतृत्वको सरकारमा उनी मन्त्री बनेका थिए । त्यसपछि २०५६ को निर्वाचनमा भने उनी पराजित भए । त्यसयता उनी संसदीय राजनीतिबाट बाहिर छन् ।

पछिल्लो समय देश गणतन्त्रमा जाँदै गर्दा उनी राजतन्त्रका पक्षमा वकालत गर्थे । यही कारण उनी अहिलेको राजनीति वृत्तबाट ओेझेल परेका छन् ।

भक्तबहादुर बलायर

पञ्चायतविरुद्ध संघर्ष हुँदा बलायर बैतडी क्याम्पसमा पढाउँथे । प्राध्यापन कार्यमा खटिरहँदा पनि उनी पञ्चायतविरोधी अभियानमा संलग्न थिए । उनी सुरुदेखि नै हालका प्रधानमन्त्री देउवा निकट थिए ।

यही कारण बहुदलपछिको २०४८ को आम निर्वाचनमा सुदूरपश्चिमको चुनावी कमाण्डर रहेका देउवाले बलायरलाई अध्यापनबाट फिर्ता बोलाएर डोटी क्षेत्र नम्बर १ को टिकट दिएर निर्वाचन लडाए । त्यसपछि लगातार २०५१ र २०५६ सम्म गरी तीन चुनाव जिते । यही क्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री समेत बनेका थिए ।

बलायर अहिले राजनीतिक वृत्तबाट बाहिर छन् । उनलाई गाउँले भाइ वीरबहादुर बलायरले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा डोटी १ बाट विस्थापित गरेका थिए । वीरबहादुर पार्टीको केन्द्रीय सदस्य भएर अहिले प्रदेश सभापतिसमेत छन् । उनी भौतिक पूर्वाधारमन्त्रीसमेत बनिसकेका छन् ।

जिल्लाको राजनीतिमा सक्रिय रहे पनि भक्तबहादुर अहिले राष्ट्रिय राजनीतिमा भने गुमनाम छन् ।

नरेन्द्रविक्रम नेम्वाङ

कांग्रेसका पुराना नेता नेम्वाङ अहिले राष्ट्रिय राजनीतिको चर्चामा छैनन् । कम्युनिष्टको गढ रहेको झापामा पटक–पटक चुनाव हारेका नेम्वाङ २०५६ मा झापा ३ बाट निर्वाचित भएका थिए । त्यसपछि उनी कानूनमन्त्री भए ।

उनी नाताले एमाले नेता पूर्वसभामुख सुवास नेम्वाङका काका हुन् । दोस्रो संविधानसभामा उनी समानुपातिकबाट संविधानसभा सदस्य बनेका थिए । पछिल्लो समय उनी वृद्ध उमेरका कारण घरमै बसिरहेका छन् ।

सुरेश मल्ल

कांग्रेस राजनीतिमा नेतृ शैलजा आचार्यको प्रभाव चल्दा मल्ल उनी निकट नेता मानिन्थे । शैलजाकै बलमा २०४८ सालमा राष्ट्रियसभामा सांसद हुने मौका पाएका मल्ल २०५६ को निर्वाचनमा बझाङ २ बाट निर्वाचित भए । मल्ल राज्यमन्त्रीसमेत बनेका छन् । आचार्यको जीवनकालमा मल्लको राजनीतिक हैसियत नेपाली राजनीतिमा निकै प्रभावशाली थियो । अहिले उनले जिल्लाकै राजनीतिमा पनि प्रभाव राख्न छाडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर