अन्याय र अत्याचारको फेहरिस्त ‘रुइबा’
चेतनाथ आचार्यलाई म व्यक्तिगत रुपमा चिन्दिन। म उहाँको एउटा पाठकमात्र हुँ। मैले उहाँलाई शुरुमा एक पत्रकार, राजनीतिक विश्लेषक र लोकतन्त्र समर्थक बुद्धिजीवीका रुपमा चिनेको थिएँ।
सेतोपाटी लगायतका अनलाइन र अन्य पत्रपत्रिकामा उहाँका लेखहरु भेटेसम्म पढ्ने गर्दथेँ। सेतोपाटीमै प्रकाशित उहाँको कथा ‘दार्जिलिङकी केटी’ पढेपछि उहाँ एउटा साहित्यकार पनि हुनुहुँदो रहेछ भन्ने थाहा भयो।
काल्पनिकीलाई यथार्थजस्तै गरी चित्रण गर्न र पाठकलाई कथाका पात्र सँगसँगै दौडाउन सक्ने उहाँको लेखनको विशेषता हो।
झण्डै एकवर्ष अघि उहाँले फेसबुकमा आफूले लेखेको ‘रुइबा’ उपन्याससम्बन्धी स्टाटस राख्नु भएको थियो। त्यसक्रममा मेरो उहाँसँग सामान्य कुराकानी पनि भएको थियो। व्यस्तता र प्रतिकूलताले तत्काल पढने अवसर नपाएको उपन्यास पढ्ने अवसर गत तिहारको लामो बिदाले जुराई दियो।
म कुनै समालोचक नभई साहित्यको सामान्य पाठकसम्म हुँ। एउटा पाठकका हैसियतले उपन्यासले दिन खोजेको सन्देश मेरो बुझाइको हिसाबले साझा गर्नु न्यायोचित ठानेर आफ्नो धारणासम्म पस्कने चेष्टा गरेको मात्र हुँ।
धादिङ जिल्लाको पावाङ गाउँको ग्रामीण परिवेशबाट शुरु भएकी ‘न्याउली’ अर्थात ‘स्याओ न्याओ’को कथा चीनको छङ्तु शहरको जेलमा गएर समापन गर्छ ‘रुइबा’ उपन्यासले।
समापन त के भनौँ जीवनमा कहीँ कतै खुशीको उज्यालो चामत्कारिक रुपमा उदाइ पो हाल्छ कि भन्ने आशाको किरण अझै पनि स्याओ न्याओको मनमा बाँकी नै छ। तसर्थ यो उपन्यासको कथा समापन भएपनि न्याउलीको कथा बाँकी नै छ।
रुइबा उपन्यासकी मुख्य पात्र हो ‘न्याउली’। ऊ पाबाङ गाउँमा जन्मिएर हुर्किएकी एक तामाङ चेली। चीन पुगेपछि उसको फेरि न्वारान हुन्छ र ऊ बन्छे ‘स्याओ न्याओ’। चिनियाँ भाषामा ‘स्याओ न्याओ’ को अर्थ सानी चरी भन्ने हुँदोरहेछ। उपन्यास पढ्दा न्याउली पात्रलाई स्थापित गराउँदै चिनियाँ भाषाको समानअर्थी शब्दले उपन्यासलाई सार्थक र मार्मिक बनाएको छ।
उपन्यासले धादिङ जिल्लाको विकट रुवीभ्याली आसपासको पबाङ गाउँ तथा तामाङ संस्कृति, गाउँको गरिबी, विवशता अनि आफन्त भनिएकाबाट भएको शोषण र अत्याचारको एकैपटक चित्रण गरेको छ।
तामाङ परिवारले परम्परागत वर्ष गणना गर्छ। त्यसैले ‘न्याउली’ पात्र पनि चरा वर्षमा जन्मिएकाले उसको नाम न्याउली राखिन्छ। तामाङ संस्कृति अनुसार मामाको छोरा दोर्जे र फुपूकी छोरी न्याउलीबीच विवाह हुन्छ। विवाहको टुङ्गो लागेपछि पलाएको उनीहरुबीचको प्रेम गरिबी र अभावबीच झ्याँगिदै जान्छ।
विवाहपछि छोरा जन्मन्छ मंगले। परिवार र सन्तानको जिम्मेवारीले गर्दा रोगी दोर्जे नक्कली मेडिकल रिपोर्ट पेशगरी विदेश जान बाध्य हुन्छ। रोगी शरीर अनि परदेशको कठोर श्रम कतिदिन धान्न सक्थ्यो र रोगी शरीरले। विदेश पुगेको केही महिनामै विदेशी भूमिमै दोर्जेको मृत्यु हुन्छ।
कलिलो उमेरमा सहनु परेको वियोग र सन्तानको जिम्मेवारीले लखेटिएकी न्याउलीको जीवनमा झुल्किन खोजेको लाली प्रत्येक पटक नझुल्किकन बिलाएर जान्छ। हरेक सपनाको मृत्यु भएकी एक अभागी ग्रामीण युवतीको पीडाको कारुणिक कथा चित्रण गरिएको ‘रुइबा’ यो दशककै उत्कृष्ट उपन्यासमध्येको एक हो।
गरिबीबाट सुरु भएको न्याउली अर्थात स्याओ न्याओले देखेका सपना अनि ती प्रत्येक सपनापछिका घुम्तीमा ब्यहोर्नु परेको यातना र पीडाका वर्णनमात्र होइन आफैँले सँगसँगै यात्रा गरेर देखेजस्तै भनुभूति गराउन उपन्यासकार सफल हुनुहुन्छ।
आफू रोगी हुँदाहुँदै पनि बालक छोरा मंगले र गर्भवती पत्नीको उज्यालो भविष्यका लागि भएको खेतबारी पनि साहुको जिम्मा लगाएर विदेशिएको दोर्जे विदेशमै अस्ताएपछि एक्लिएकी न्याउलीलाई दुई सन्तान र आमासमेतको जिम्मेवारीले लखेट्दै काठमाडौँ धकेल्छ। त्यहाँ ऊ पटकपटक लुटिन्छे, बलात्कृत र शोषित हुन्छे।
पटक पटक धोखा पाउँदा पनि उज्यालो सपना देख्न छोड्दिन। उसलाई शहरमा पुरुषले मात्र होइन महिला अधिकारकर्मीका रूपमा परिचित दयादिज्यू र देवीदिज्यूहरु सेतो आवरणमा रहेकाले पनि शोषण गर्दछन्। तैपनि उ उज्यालो सपना देख्न छोड्दिन। नेताले न्याउलीमाथि गरेको बलात्कार र त्यो वातावरण मिलाउने कथित महिलाअधिकारकर्मीको कामले धेरैको मुखुण्डो उघार्ने काम यो उपन्यासले गरेको छ।
उसको अज्ञानता र सुधोपनको फाइदा उठाउँदै यौनाङ्गमा लागूऔषध कोचेर चीन पुर्याइन्छे। उसलाई आफू के गर्दैछु भन्ने कुरा पटक्कै थाहा हुँदैन। अज्ञानताबस गरेको कार्यबापत आजीवन काराबासको सजाय भोग्न बाध्य हुन्छे न्याउली।
हुनत लेखकले सुरुमै यस उपन्यासमा चित्रित पात्र, घटना र स्थान काल्पनिक हुन्, कसैसँग मिल्न गएमा संयोगमात्र हुनेछ भनी लेख्नु भएको छ। तर कथाले त्यो कुरा पूरै बिर्साइदिन्छ। पाठक न्याउली सँगसँगै दिनरात पाबाङ गाउँका वन, जंगल, गाउँ बेसी अनि मेलापात, काठमाडौँका गल्ली र होटल, दया र देवीदिज्यूका सेवाकेन्द्र, चीन र चीनको कारागारसमेतको यात्रा गर्दछन्।
न्याउलीलाई अत्यन्तै माया गर्ने आपाको यार्सा खोज्न जाँदा लडेर मृत्यु हुन्छ। गाउँमा चरम गरीबी छ। न्याउलीको बिहेपछि पनि गरीबीले जीवनयापन झन् कठिन हुन्छ। घर व्यबहार चलाउँदा ऋण लाग्छ। दोर्जे ऋणमाथि ऋण थप्दै घरजग्गा बन्धकी राखेर विदेश जान्छ। रोगले गाँजेको जिर्ण शरीर अनि कठोर परिश्रम कतिदिन टिक्थ्यो र।
काम गर्न गएको केही महिनामै दोर्जेको मलेसियामा मृत्यु हुन्छ। साहुले बन्धकी जग्गा हडप्छ। दुईवटा साना बच्चा भैसकेकी न्याउली छोरो मङ्गलेलाई आफ्नी आमासँग छोडेर टिम्मुरे नामको गाउँकै छट्टूका भनाइमा भर परेर सानी दूधमुखे छोरी सोममायालाई च्यापेर काठमाडौँ जान्छे।
टिम्मुरेले न्याउलीलाई काठमाडौँ लग्छ र भित्री गल्लीकी होटलवाली नर पिचास बिमला नामकी साहुनीलाई बिक्री गर्छ। आफू बेचिएको कुरा न्याउलीले धेरैपछि मात्र चाल पाउँछे। गाउँको टिम्मुरेभन्दा होटलमा भेटभएको विकास उसका लागि देवता समान हुन्छ। होटलमा अठार घण्टा मेशिन झैँ खटिँदा पनि साहुनीले न त जस दिन्छे न त छोरीलाई पेटभरी खाना।
विना कारण छोरी सोममायालाई पिटेर कानको जाली नै फुटाइ दिन्छे। छोरीको ज्यानै जोखिममा परेपछि न्याउली होटलबाट निस्कन्छे। होटलमा भेटिएको विकास भाइ माइक्रोमा खलाँसी काम गर्दोरहेछ। संयोगबस छोरीलाई उपचारका लागि भौँतारिँदा उही विकास भेटिन्छ र विकास भाइ र माइक्रो बसको ड्राइभरको सहयोगमा सोममायालाई अस्पताल लैजान सफल हुन्छन्।
छोरीको उपचारपछि न्याउलीको जाने ठाउँ थिएन। छोरीको जीवन रक्षाको भरपर्दो विकल्प नभएपछि छोरी सोममायालाई बालमन्दिरमा बुझाइ दिन्छे आफैँ मरेको कागजमा सही गरेर। छोरीलाई बालमन्दिरमा बुझाएपछि सडकमा पुगेकी न्याउलीको कहाँ जाने भन्ने टुँगो हुँदैन। बाटोमा एकजना मानिसले म्यानपावरमा काम लगाइदिन्छु भन्छ।
न्याउलीलाई ढुङ्गो खोज्दा देउता मिलेजस्तो हुन्छ। ट्याक्सी चढाएर एउटा होटलमा लैजान्छ र बेहोश बनाएर तीनजना नरपिशाचहरूले रातभरि बलात्कार गर्छन् र छोडिदिन्छन्। तीनजना नरपिचाशहरुको शिकार भएकी न्याउली थिलोथिलो भएको शरीर लिएर मन्दिरको शरणमा पुग्छे। त्यहाँबाट असहाय महिला उद्धार केन्द्रमा लगिन्छे।
उद्धार केन्द्रमा शुरुवातका दिनहरु उज्याला भएपनि त्यहाँ सीप सिकाइने निहुँमा असहाय युवतीहरुलाई भित्री रुपमा देह व्यापारमा लगाइने रहेछ। ऊ फेरि सफेदपोस राज्य संरक्षित बलात्कारीको शिकार हुन्छे।
सेतो आवरणमा चलेको राज्य संरक्षित बलात्कार केन्द्रबाट भागेर निस्केपछि नेत्रको सहयोगमा थोरै पारिश्रमिकमा बसपार्कको होटलमा काम पाउँछे। पैसा थोरै भए पनि साउसाउनीहरु बाबुआमा जस्ता हुन्छन्। आमाबुबा जस्तै माया गर्ने साउसाउनी पाउँदा खुशी भएकी थिई। तर त्यो खुशी धेरै दिन टिकेन। काम गरेर जोगाएको केही पैसा आमाका लागि पठाएको तर दलालले खाइदिन्छ। यता साउसाउनीले होटल बेच्छन् र पछि आउने साहु निर्दयी हुन्छ र न्याउलीको फेरि सडकमा बास हुन्छ।
सडकमा आएपछि पनि उसको जिजीविषा अन्त्य हुँदैन। यसपछि भेटिएको बिनोदले उसको निरिहताको फाइदा लिँदै धेरै पैसा कमाउने सपना देखाएर लागुपदार्थ ओसार्ने भरियाको रुपमा प्रयोग गर्छ। यसक्रममा थाहै नपाई न्याउलीको पासपोर्ट बन्छ। पेटभरि लागू औषधका गोली खाएर अनि थप गुप्ताङ्गमा समेत लागू औषध कोचेर चीन पठाइएकी न्याउली ट्रान्जिटमा पक्राउ पर्छे र आजीवन कारावार भोग्न बाध्य हुन्छे।
चीनको कारागारभित्र अनेक थरी दोषी र परिबन्दमा परेका बन्दीहरु भेटिन्छन्। कोही आइफोनका लागि गर्भमा रहेको बच्चा बिक्रीको आरोपमा दोषी ठहरिएका, कुनै शरीरको सौन्दर्य बढाउन स्तनको आकार बढाउन गलत काम गर्न पुगेका र कति निर्दोष परिवन्दमा परेका बन्दीहरुसँगको संगत हुन्छ। जेल बस्दा न्याउलीसँग पैसा हुन्छ तर घर पठाउने माध्यम हुँदैन। घर पठाउने उपाय नभएपछि पैसाको महत्व देखिँदैन र चिनियाँ बन्दीलाई दिने गर्छे आफ्नो पैसा।
यति हुँदाहुँदै पनि न्याउलीलाई जीवनप्रतिको आसा मरेको छैन। ऊ जेलभित्रका हरेक क्रियाकलापमा उत्कृष्ट हुन्छे। सबैले सम्मान गर्छन्। उसको रुपको आरिस पनि गर्छन्। लेखक बेइजिङस्थित नेपाली राजदूताबासका कर्मचारी नवीनसँग छङ्तु कारागार पुग्छन्। न्याउलीलाई भेट्छन्। अनि न्याउलीकै भाषामा उसको कथा सुनाउँछन्।
उपन्यासले नेपालको बिकट हिमाली गाउँको गरिब परिवारको कथा, तामाङ समाजको संस्कृति, अनपढ गरिब गाउँलेमाथिको अन्याय र थिचोमिचो, शहरका दलालहरुको चरित्र, सेतो आवरणमा गरिने शोषणको साथसाथै चिनियाँ कारागारको अवस्था, चिनियाँ संस्कृति, खुला नीति पछि चिनियाँ समाजमा बढेको बिकृतिसमेतलाई सटिक ढंगले प्रस्तुत गरेको छ।
उपन्यास समातेपछि नसकी बिसाउनै मन लाग्दैन। स्थानीय भाषाको प्रयोगले उपन्यासलाई झनै रोचक बनाएको छ। मिठो भाषाशैलीमा नेपाली समाजको यथार्थ चित्रण गरी लेखिएको उपन्यास पठनीय मात्र नभएर संग्रहणीय छ।
उपन्यासले नेपालको ग्रामीण क्षेत्र र सहरी क्षेत्रबीचको खाडललाई अत्यन्त टट्कारो रुपमा उभ्याएको छ। ग्रामीण क्षेत्रमा मानवीयता हुन्छ तर सहरी क्षेत्र स्वार्थ र लालसाले कङ्क्रिट बनेको छ भन्ने कुरा रुइबा उपन्यास पढेपछि सबै पाठकले सुस्केरा हाल्दै आफूले भोगेको विगतलाई स्मरण गर्दछन्।
रुइबा उपन्यासले नेपालको सामाजिक र आर्थिक पक्षमा टेकेर राज्यको भेदभावपूर्ण नीतिको पर्दाफास पनि गरेको छ। गरिबीले गर्दा मेनपावर कम्पनीहरुले मान्छेको व्यापार गरिरहेका छन् भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो। कोही मान्छे साउदीको मरुभूमिमा बेचिन्छन् त कोही मान्छे मलेसियाको जङ्गलमा बेचिन्छन्। त्यति मात्र होइन मान्छे त गाउँबाट काठमाडौँ सहरमै पनि बेचिन्छन्।
रुइबा उपन्यासले वर्गीय चेतनाको कुरालाई निकै गहन रुपमा उठाएको छ। सहरी क्षेत्रमा पैसावालाले मान्छेलाई पशु जत्ति पनि नमानिरहेका बेला माइक्रो बसमा खलासीको काम गर्ने विकास भाइ र माइक्रो चालक, सानोतिनो काम गर्ने नेत्र दाइ, सानो व्यापार गर्ने व्यवसायीले गरिब र दुःखीलाई सहयोग गर्छन् भन्ने कुरा उपन्यासले देखाएको वर्गीय चरित्रको चोटिलो उदाहरण हो। त्यसैगरी सहरका पत्रकारले पनि सुकिलामुकिलाको मात्र कुरा सुन्छन् भन्ने कुरा पनि उपन्यास भित्र घुसाएर लेखकले आफ्नै पेशामाथि पनि प्रश्न उठाएका छन्।
किनभने उपन्यासकार चेतनाथ आचार्य आफैँ पत्रकार हुन्। रुइबा उपन्यास अन्याय र अत्याचार भोगेकी एक चेलीको फेहरिस्ता हो।
मलाई जस्तै सबैलाई यो उपन्यासको नामले घोचेको हुनुपर्छ। कस्तो नाम होला ‘रुइबा’ भनेर म पनि सुरुमा आश्चर्यमा परेको थिएँ। सम्भवतः चिनियाँ नाम होला भन्ने सोचेको थिएँ। तर यो नाम त हाम्रै तामाङ जातिबाट राखिएको रहेछ।
अनि उपन्यास पढिसकेपछि जब रुइबाको अर्थ थाहा भयो, ओहो यो नामले उपन्यासको सार्थकता, पहिचान, गहिराई, महत्व, एउटा देशले आफ्ना नागरिकप्रति देखाउनुपर्ने कर्तव्य पो बोकेको रहेछ।
गहन र मार्मिक उपन्यास लेख्ने लेखकलाई धेरै धेरै धन्यबाद।
(त्रिपाठी पूर्व सहसचिव त्रिपाठी अधिवक्ता हुन्। त्रिपाठीका थुप्रै कानुनका किताब र दर्जनौँ अनुसन्धानात्मक लेखहरु प्रकाशित छन्।)