प्रारम्भिक गणनामा माओवादी, जसपा र नेकपा एसका उम्मेदवारले अग्रता लिन सकेनन्
एमाले ८, कांग्रेस ३ र घण्टी २ ठाउँमा अगाडि, सीके राउतको जनमत पार्टीलाई सप्तरी २ मा फराकिलो अग्रता
काठमाडौं । देशभरको प्रारम्भिक मतगणनामा सत्ता गठबन्धन समग्रमा पछि पर्दा गठबन्धनका मुख्य दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कतै पनि अग्रता कायम गर्न सकेका छैनन् ।
गठबन्धनमा माओवादीको भागमा परेका ललितपुर ३, झापा २, काठमाडौं ७ मा भइरहेको मतगणनामा तीनै ठाउँमा माओवादीका उम्मेदवार पछि परेका छन् । त्यस्तै नेकपा एसको भागमा परेका कास्की २ र काठमाडौं ८ मा दुवै उम्मेदवार तेस्रो र चौथो स्थानमा छन् ।
माओवादीको भागमा परेको झापा २ मा एमालेका देवराज घिमिरेले फराकिलो अग्रतासहित माओवादीका हरि रानालाई पछि पारेका छन् । त्यस्तै ललितपुर ३ मा पम्फा भुसाल एमालेका अमृत खड्काभन्दा पछि परेकी छन् ।
काठमाडौं ७ मा एमालेका श्याम घिमिरेले अग्रता लिँदा मानुषी यमी भट्टराई तेस्रो स्थानमा छिन् ।
हालसम्म १३ निर्वाचन क्षेत्रमा मतगणना भइरहेकोमा मुस्ताङमा कांग्रेसले जीत हासिल गरिसकेको छ । बाँकी निर्वाचन क्षेत्रमध्ये झापा २, धनुषा ३, ललितपुरका तीनवटै र काठमाडौं ७ मा एमालेले अग्रता लिएको छ । त्यस्तै बाँके ३ मा पनि एमालेको अग्रता छ ।
कांग्रेसले भक्तपुर २ र काठमाडौं १ मा अग्रता कायम राख्दा लौरोले कास्की २ र काठमाडौं ६ मा अग्रता लिएको छ । सीके राउतले सप्तरी २ मा अग्रता लिएका छन् ।