को हुन् झापा ४ मा एलपी साँवाको ‘घण्टी’ बजाइरहेका सुस्केरा ?
प्रहरीको बर्दी फुकालेर राजनीतिको पारी नै आक्रामक


काठमाडौं । देशभर मतगणना जारी हुँदा चर्चामा रहेका उम्मेदवारमध्ये झापा-४ का शम्भु ढकाल ‘सुस्केरा’ पनि एक हुन् । प्रारम्भिक मत गणनामा ठूला दल कांग्रेस एमालेलाई पछि पारिरहेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् ।
यो क्षेत्रमा नेकपा एमालेबाट एलपी साँवा लिम्बु र नेपाली कांग्रेसबाट देउमान थेवे चुनावी मैदानमा छन् ।
मंगलबार अपरान्हसम्मको मत गणनामा सुस्केरा ६६ सय ७० मतसहित दोस्रो स्थानमा छन् । एमालेका साँवाले ७३ सय ११ मत ल्याएका छन् भने थेवेले ५३ सय ५३ मत प्राप्त गरेका छन् । हालसम्म २१ हजार ९ सय १९ मत गणना भएको छ । सुस्केराले सोमबार दिनभर अग्रता बनाएका थिए ।
उनको गृहनगर कन्काईबाट मत गणना सुरू हुँदा सुस्केराको प्रभाव बलियो देखियो । झापा-४ मा रहेका कन्काईका वडाहरूबाट १९ हजार ६ सय ४४ मत झरेकामा सुस्केराले ६५ सय ८२ मत ल्याएका छन् । यी ठाउँबाट साँवाले ६ हजार २ सय २९ र थेवेले ४ हजार ४ सय ९५ मत प्राप्त गरेका छन् । एक हजार १ सय ७५ मत बदर भएको जनाइएको छ ।
झापा-४ मा कन्काईका ७ वटा वडा, शिवसताक्षी नगरपालिकाका सबै ११ वडा, गौरिगञ्ज गाउँपालिकाका सबै ६ वटा र झापा गाउँपालिकाका सबै ७ वटा वडा पर्छन् । अबको मत गणनाको परिणाम के आउँछ, हेर्न बाँकी छ तर सुस्केराले गृह नगरबाट प्राप्त भएको जनमतमा खुसी व्यक्त गरेका छन् ।
सुस्केराले फेसबुकमा लेखेका छन्, ‘कन्काईकै आँगनमा हुर्के, बढे र पढेको आफ्नै छोरोलाई कनकाईले न्याय गरेको छ । परिवर्तन चाहने देशभक्त, सचेत नागरिकको एउटा बलियो उदाहरण बनेको छ कन्काई । समग्रमा जितन्छ वा सिकिन्छ, जे पनि आउँछ परिणाम । तर, कन्काईबाट मैले पाएको मतले मलाई निकै भावुक र बलियो बनाएको छ । कन्काईकै ४ जना उम्मेद्वारहरूका बीच मैले पाएको मत मैले आजसम्म कमाएको नैतिकता र इमानदारीको नोवेल पुरस्कार पाएको महसुस गरेको छु । मेरो बल, बुँता र विवेकले भ्याएसम्म आदरणीय कनकाईबासीको गुन र भरोशाको रिन तिर्ने प्रण गर्दै विशेष धन्यवाद व्यक्त गर्दछु ।’
चुनावअघि प्रमुख दलका प्रतिस्पर्धीले वास्तै नगरेका सुस्केरा पूर्वप्रहरी हुन् । जवानबाट प्रहरी सेवामा प्रवेश गरेका उनले २०७७ सालमा राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका हुन् । प्रहरी सेवामा रहँदा उनी रेडियो, टेलिभिजनबाट प्रसारण हुने प्रहरी सम्बन्धी कार्यक्रम उत्पादन र प्रस्तुतीमा संलग्न रहेका थिए। केही समय प्रहरीको ट्राफिक रेडियोमा समेत काम गरेका उनी साहित्यमा पनि सक्रिय छन् ।
प्रहरीको सरुवा बढुवामा भएको चरम बेथितिका कारण राजिनामा दिने सूचीमा दुई वर्षअघि सुस्केरा पनि जोडिएका थिए । नायव निरीक्षक (सई) बाट सेवा छाडेका सुस्केरा त्यसपछि आईजीपी बढुवा विवादमा असन्तुष्ट भएर राजीनामा दिएका तत्कालीन डीआईजी रमेश खरेलको भष्ट्रचारविरोधी अभियानमा जोडिएका थिए ।
‘समाजलाई सही दिशामा हिँडाउन आफ्नो भूमिका देखेपछि राजनीतिमा होमिएको हुँ’, सुस्केराले भने ।