माओवादीको ‘आधार इलाका’ बर्दिया २ मा रेशम चौधरीका बुबा लालवीरको जित निश्चित – Nepal Press

माओवादीको ‘आधार इलाका’ बर्दिया २ मा रेशम चौधरीका बुबा लालवीरको जित निश्चित

क्षेत्र नं १ मा पनि नागरिक उन्मुक्तिकै दबाब

रुपन्देही । माओवादीले आधार इलाका मानेको बर्दियाको क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदार लालवीर चौधरीले फराकिलो मतान्तरले अग्रता लिएर आफ्नो जित सुनिश्चित बनाएका छन् ।

लालवीर नागरिक उन्मुक्ति पार्टी बनाएका रेशम चौधरीका बुबा हुन् । यो क्षेत्रमा जेलमा रहेका रेशमले नै उम्मेदवारी दिएका थिए तर अन्तिम समयमा उनको उम्मेदवारी खारेज भएको थियो । तर पहिले नै रेशमले आफ्ना बुबा लालवीरलाई स्वतन्त्र उम्मेदारी दिन लगाएका थिए । अनि रेशमको उम्मेदवारी खारेजीमा परेपनि उनको पार्टीले बुबालाई समर्थन गरेर चुनावमा गएको थियो । लालवीले ६१ हजार ९७० मत गणना हुँदा २२ हजार ४२३ मत ल्याएका छन् भने माओवादीका सुरेश पन्तले १६ हजार ६०० मत ल्याएका छन् । त्यसैगरी, एमालेका पंकजसिंह राठोरले १०१८२ र राप्रपाका विनय रावलले ६९९९ मत ल्याएका छन् । यहाँबाट ९३ हजार ४९ले मतदान गरेका छन् ।

०६४ देखि ७४सम्मका तीनै निर्वाचन जितेको माओवादीले यो क्षेत्रलाई आधार इलाका मानेको थियो तर यसपटक नयाँ अनुहारलाई प्रतिस्पर्धामा पठाएको थियो । थारु बाहुल्य रहेको यो क्षेत्रमा यसअघि लगातार जितेका सन्तकुमार चौधरीलाई माओवादीले उम्मेदारी नदिएर सुरेश पन्तलाई उम्मेदार बनाएको थियो ।

क्षेत्र नं १ मा पनि नागरिक उन्मुक्तिका ठाकुरसिंह थारुले निरन्तर अग्रता कायम राखेका छन् । यहाँबाट यसअघि तत्कालीन एमाले नेता बामदेव गौतमलाई हराएर चर्चामा आएका नेपाली कांग्रेसका संजय कुमार गौतमले उनलाई पछ्याईरहेका छन् र बामदेवका बहिनीज्वाई एमालेका लक्ष्मण ज्ञवाली तेस्रो स्थानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *