लुम्बिनीका ११ क्षेत्रमा एमाले अगाडि रहँदा अरु कहाँ कहाँ ? – Nepal Press

लुम्बिनीका ११ क्षेत्रमा एमाले अगाडि रहँदा अरु कहाँ कहाँ ?

रुपन्देही । लुम्बिनी प्रदेशका २६ प्रतिनिधिसभाका क्षेत्रहरुमध्ये ११ क्षेत्रमा नेकपा एमालेले अग्रता कायम राखेको छ । अहिलेसम्म १ क्षेत्रको मात्रै नतिजा आएको छ । बाँकेको क्षेत्र नं २ मा राप्रपाका धवलशमशेर राणा विजयी भएका छन् ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले ६ स्थानमा अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रले ३ स्थान तथा राप्रपाले २ स्थानमा अग्रता लिएको छ ।

यसैगरी नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र एक स्वतन्त्र उम्मेदवार १/१ स्थानमा अगाडि रहेका छन् । गुल्मीको क्षेत्र नं १ मा भने मतगणनाको तयारी हुँदैछ ।

रुपन्देहीका पाँच क्षेत्रमध्ये एमालेले तीन क्षेत्रमा उम्मेदवारी दिएको थियो । क्षेत्र नं १ मा एमालेका सचिव छविलाल विश्वकर्माले अग्रता लिएका छन् । उनले ४ हजार ४१२ मत प्राप्त गरेका छन् । दोस्रोमा सत्ता गठबन्धनका घनश्याम भुसालले त्रिभुजमा ३ हजार ४१८ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्तिका धनीराम चौधरीले ३ हजार १३७ मत पाएका छन् ।

रुपन्देही २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता लिएका छन् । जारी मतगणनामा पौडेलले ७ हजार ५५५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ६ हजार ८६९ मत प्राप्त गरेका छन् ।

रुपन्देही ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले अग्रता लिएका छन् । जारी मतगणनामा खाणले ९ हजार १८२ मत प्राप्त गरेका छन् । राप्रपाका दीपक बोहोराले ८ हजार ४७९ मत प्राप्त गरेका छन् ।

रुपन्देही ४ को प्रतिनिधिसभातर्फ लोसपाले अग्रता लिएको छ । उक्त दलका सर्वेन्द्रनाथ शुक्लाले १४ हजार २५१ मत प्राप्त गरेका छन् । कांग्रेसका प्रमोद यादव दोस्रोमा छन् । उनले ११५९४ मत प्राप्त गरेका छन् ।

रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरेले अग्रता लिएका छन् । उनले यसअघि सोही क्षेत्रबाट सांसद रहेका कांग्रेसका भरत शाहसँगको मतान्तर बढाउँदै लगेका छन् । घिमिरले १५ हजार ८४७ मत प्राप्त गर्दा शाहले १४ हजार २६६ मत प्राप्त गरेका छन् ।

दाङ १ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभातर्फको जारी मतगणनामा मेटमणिले कलम चिन्हमा ५ हजार ३४४ मत प्राप्त गरेका छन् । एमालेकी शान्ता चौधरीले ३ हजार ७२३ मत प्राप्त गरेकी छन् ।

दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायम राखेकी छन् । शर्माले १२ हजार २९४ प्राप्त गरेकी छन् । एमालेका महासचिव शंकर पोखरेलले १० हजार ५९१ मत प्राप्त गरेका छन् ।

दाङ ३ मा प्रतिनिधिसभातर्फको जारी मत गणनामा कांग्रेसका दीपक गिरीले अग्रता लिएका छन् । जारी मत गणनामा गिरीले ८ हजार ४३५ मत प्राप्त गरेका छन् । एमालेकी कोमल वलीले ६ हजार ६५२ मत प्राप्त गरेकी छन् ।

पाल्पा १ को प्रतिनिधिसभातर्फ जारी मतगणनामा एमालेका नारायण आचार्यले अग्रता कायम राखेका छन् । आचार्यले ९ हजार ७१७ मत प्राप्त गर्दा दोस्रोमा रहेका कांग्रेसका ज्ञानबहादुर गाहाले ४ हजार ५४९ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा आचार्य दोब्बर मतका साथ अगाडि छन् ।

प्रतिनिधि सभातर्फ पाल्पा २ को जारी मतगणनामा नेकपा एमालेका ठाकुर गैरेले अग्रता लिएका छन् । गैरेले ९ हजार १६४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयले ६ हजार ९५६ मत प्राप्त गरेका छन् ।

कपिलवस्तु १ मा एमालेका बलराम अधिकारीले अग्रता कायम राखेका छन् । अधिकारीले ९ हजार ८९८ मत प्राप्त गर्दा माओवादी केन्द्रका चक्रपाणि खनाल बलदेवले ५ हजार ४०१ मत प्राप्त गरेका छन् ।

कपिलवस्तु २ मा कांग्रेसका सुरेन्द्रराज आचार्यले अग्रता लिएका छन् । आचार्यले १० हजार ६१८ मत प्राप्त गर्दा एमालेका बृजेशकुमार गुप्ताले ९ हजार ४४ मत प्राप्त गरेका छन् ।

कपिलवस्तु ३ को प्रतिनिधिसभातर्फ जारी मतगणनामा एमालेका मंगलप्रसाद गुप्ताले अग्रता लिएका छन् । उनले ५ हजार २९७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले ४ हजार ७४० मत लिएर दोस्रो स्थानमा छन् ।

बाँके १ को प्रतिनिधसभातर्फ जारी मतगणनामा एमालेका सूर्यप्रसाद ढकालले अग्रता लिएका छन् । उनले १२ हजार ४२३ प्राप्त गर्दा माओवादीका महेश्वर जंग गहतराजले १० हजार ८८३ मत प्राप्त गरेका छन् ।

बाँके २ मा राप्रपाका धवलशमशेर राणा विजयी भएका छन् । उनले जसपाका मोहम्मद इस्तियाक राईलाई पराजित गरेका हुन् ।

बाँके ३ मा जारी मतगणनामा सुरुवाती अग्रता लिएका एमालेलाई पछि पार्दै कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका किशोरसिंह राठोरले १५ हजार २६९ मत प्राप्त गर्दा एमालेका किस्मतकुमार कक्षपतीले १२ हजार ७५० मत प्राप्त गरेका छन् ।

नवलपरासी १ मा जारी मतगणनामा प्रतिनिधिसभातर्फ कांग्रेसका विनोद चौधरी अगाडि छन् । उनले ९ हजार ९०१ मत प्राप्त गरेका छन् । राष्ट्रि स्वतन्त्र पार्टीका महेन्द्रसेन ठकुरीले ९ हजार ५६५ मत ल्याएर चौधरीलाई पछ्याइरहेका छन् ।

नवलपरासी २ मा राप्रपाका ध्रुवबहादुर प्रधानले अग्रता लिएका छन् । प्रधानले १३ हजार ३५३ मत प्राप्त गर्दा कांग्रेसका देवेन्द्रराज कँडेलले ६ हजार ५१५ मत प्राप्त गरेका छन् ।

गुल्मी १ मा मतगणनाको तयारी हुँदा क्षेत्र नं २ मा एमालेका सचिव गोकर्ण विष्टले अग्रता लिएका छन् । उनले २४ हजार १५० मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाक्रीले २१ हजार ९३९ मत प्राप्त गरेकी छन् ।

बर्दिया १ मा जारी मतगणनामा प्रतिनिधिसभातर्फ कांग्रेसका सञ्जय गौतमले अग्रता लिएका छन् । उनले १३ हजार ७२८ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारुले १३ हजार ४९२ मत प्राप्त गरेर दोस्रोमा छन् ।

बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले अग्रता लिएका छन् । रेशम चौधरीका बुवा लालवीरले चापाकल चिन्हमा २५ हजार ८१२ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका माओवादी केन्द्रका सुरेश पन्तले २१ हजार ३८८ मत प्राप्त गरेका छन् ।

अर्घाखाँची प्रनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका टोपबहादुर रायमाझीले अग्रता कायम राखेका छन् । जारी मतगणनामा रायमाझीले २० हजार २०२ मत प्राप्त गरेका छन् । दोस्रोमा रहेकी कांग्रेस नेतृ पुष्पा भुसालले १८ हजार ३१९ मत प्राप्त गरेकी छन् ।

प्यूठानमा एमालेका सूर्य थापाले अग्रता लिएका छन् । थापाले २० हजार २४१ मत प्राप्त गरेका छन् । दोस्रोमा रहेकी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले १६ हजार ४०४ मत प्राप्त गरेकी छन् ।

रुकुम पूर्वमा माओवादी केन्द्रका नेता पूर्णबहादुर घर्तीले अग्रता लिएका छन् । लुम्बिनी प्रदेशसभाका निवर्तमान सभामुखसमेत रहेका घर्तीले ९ हजार १३१ मत प्राप्त गर्दा एमालेका कैलाशकुमार मल्लले ३ हजार २१४ मत प्राप्त गरेका छन् ।

रोल्पामा माओवादी केन्द्रका नेता वर्षमान पुनः भारी मतका साथ अघि छन् । उनले १६ हजार २१९ मत प्राप्त गर्दा एमालेका पूर्ण बुढामगरले ६ हजार ६१९ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *