पाल्पाका दुवै क्षेत्रमा एमालेको फराकिलो अग्रता
रुपन्देही । प्रतिनिधिसभामा दुई क्षेत्र रहेको पाल्पामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् । यहाँ एमाले एकल रूपमा चुनावमा गएको थियो भने सत्तारुढ दलले गठबन्धन बनाएर गएका थिए ।
क्षेत्र नं १ मा गठबन्धन गरे पनि एमाले बलियो अवस्थामा भए पनि क्षेत्र नं २ मा गठबन्धनको मतका आधारमा एमाले कमजोर देखिएको थियो । तर अहिले आएको मत परिणामले क्षेत्र नं २ मा पनि धेरै अग्रता बनाएको छ ।
क्षेत्र नं १ मा एमालेका उम्मेदवार नारायण आचार्यले फराकिलो मतान्तरले अग्रता लिएका छन् । अहिलेसम्म आचार्यले १३ हजार ३०६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले ८ हजार १३९ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ६४ हजार ४९१ मत खसेको छ ।
क्षेत्र नंं. २ मा एमालेका उम्मेदवार ठाकुर गैरेले पनि फराकिलो मतान्तर कायम गरेका हुन् । उनले १३ हजार ५४३ मत प्राप्त गरेका छन् भने उनका मुख्य प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेले १० हजार ३७७ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ६४ हजार २०३ मत खसेको थियो ।